हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

प्रयोगशीलताको मोहमा उदाएको 'पानीको घाम',(रजनी ढकाल)


समीक्षक रजनी ढकाल


युवा आख्यानकार अमर न्यौपानेको पानीको घाम आख्यानकृतिको अन्तिम कभरपृष्‍ठमा आफ्नै आख्यानबारे व्यक्त भएको लेखकीय विचार यस्तो छ -
अचेल एउटै सानो मेसिनमा मोबाइल, रेडियो, टिभी, इन्टरनेट, सिडी, भिसिडी, एमपीथ्री, क्यामेरा, रेकर्डर... अरू पनि थुप्रै समावेश भएको जमाना भोग्दा, आफू जमानाभन्दा धेरैपछि परेको भान भइरहेछ । एउटै कृतिभित्र दिन खोजिएको विविधताको स्वादलाई यसले संकेत गर्दछ ।

 

पानीको घाम आख्यान हो । कथा हो अनि उपन्यास पनि हो । कथा मात्रै पनि होइन, उपन्यास मात्रै पनि होइन । यसैले लेखकले यसलाई आख्यान भनेका छन् । विधामिश्रण र शैलीगत आधारमा हेर्दा यो कविता हो, निबन्ध हो, नाटक हो, पत्रकारको स्थलगत रिपोर्ट पनि हो । योभन्दा धेरै के के हो र यसको विधामिश्रण कसरी भएको छ भन्ने कुरा त पाठक नै यसमा प्रवेश गरेपछि महसुस गर्छ । कथाहरू पढ्दै जाँदा पाठले थाहा पाउँछ, कतै रिपोर्टिङको ढाँचामा कथा बनेको छ कतै निबन्धगत चिन्तनमा घटनाक्रम बुनिएको छ । कतै सत्य पात्रहरूको यथार्थ जीवनकथाले दुख्‍नेगरी चिमोटेको छ ।

 

उन्नाईसवटा कथाक्रमको सिंढी उक्लिएर पानीको घाम आख्यानले उपन्यासको कथारम्भ गरेको छ । कथान्तमा आरम्भ भएको लेखकीय कर्मको यात्रा सालिक, ऊ असुरक्षा माग्छे, अस्तित्वदावी, स्वीकार अस्वीकार, चुकुल, ईश्‍वरसँग मुद्दा, हरियो प्रेम, हिंडिरहेको बाटो र कुहिरोको रूख, काँचको गिलास, साटिएका फूल, रिमिक्स, नदीको गति र किनारको नियति, खुसीको पीडा, बादलमुनि, तेसोभए म आउँदिनँ, हेराइ, दृष्‍टिकोण जस्ता शीर्षकहरूमा कथात्मक स्वरूपहरू लिंदै विविध शैलीगत र विधागत वैशिष्‍ट्यलाई अँगाल्दै कथारम्भमा पुगेको छ । लेखक लेखनमा सामाजिक प्रभाव र स्थानीयताको रङ दिन जति सचेत छन् लेखकीय मौलिकता दिन र प्रयोगशील बन्न पनि उत्तिकै आतुर देखिन्छन् ।

 

कथान्तले कथा लेख्‍न नसक्दाको छटपटी पोखेको छ । तिनै छटपटीभित्र मानक पात्रका पात्रतालाई उभ्याउन सफल भएको छ । यो कथाको झलक र उसको जीवन आफैंमा नेपाली समाजको एउटा घतलाग्दो र कहिल्यै नबिर्सिने बिम्ब हो । कथाका पात्र खोज्दै जाँदा भोगेको तिक्त भनुभूतिलाई सघन विचारमा लेखक पोख्छन् मेरा पात्रहरू आफ्ना बारेमा केही भन्दैनन् । अरूका बारेमा भन्न पटक्कै हिच्किचाउँदैनन् । थाहा हुने त आफ्नै बारेमा पो हो, अरूका बारेमा कसरी जान्ने ?... (पृ. २०) कति व्यङ्ग्यात्मक टिप्पणी छ यो अभिव्यक्तिमा । यसले मान्छेको आम चरित्रलाई चिनाउँछ । कथा भएर पनि लेखकीय हस्तक्षेपले यहाँ यो निबन्ध बनेको लाग्छ तर पनि पाठकलाई उसैगरी तान्छ चिन्तनगत प्रवाहशीलताले ।

 

हो, अपरिभाषित (भूमिका)मा अमरले भनेझैं उनी कथैकथाको हरियो मैदानबाट हात उठाएर भाग्न सकेनन् र त नेपालगञ्जको चोकको सालिकलाई स्तम्भबनाएर अब्दुल अलिको जीवन बचाइको साक्षीप्रमाणबाट नेपालको आम राजनीतिक परिवर्तनको झलकको बक्यौता लेखे । कुरूपताको सुन्दर चिन्तन गर्दै एउटी असहाय नारीको मार्मिक चित्रण खिचे । यौनको भोकमा असुरक्षा माग्ने नारीको अन्तरनिरीक्षण गर्न सफल भए । सामाजिक कारणले आफ्नो परिचय दिन नचाहने सुन्दरीको अस्तित्वदावी गरे । स्वीकार अस्वीकारमा ११-१३ वर्षका बालबालिकाबीच गरिएको सर्वेक्षणबाट सुखनीको पीडाको पराकाष्‍ठा देखाउन सफल भए ।

 

चुकुल चिडिमार जातिको विहेका पाँच चरण र सानैमा बिहे भएको किशोरको यौन जिज्ञासालाई केन्द्रमा राखेर लेखिएको तराई संस्कृतिको घतलाग्दो कथा हो । ईश्‍वरसँग मुद्दाले आर्थिक दुरावस्थाले निम्याएका पीडाहरूलाई चिमोटिनेगरी खोतलेको छ ।

 

हरियो प्रेममा घँसियाहरूको जीवन, श्यामवतीको कहिल्यै नओइलाउने (घाँस)प्रेम, विदेशी पुरुषसँग विवाह गरेर पनि आफ्नै समाजमा बस्न सफल महिलाको अधिकार र जीवनको सर्वोच्चता आदि धेरै कुरा अभिव्यक्त भएको छ । पत्रकारले सोधेको प्रश्‍नमा श्यामवतीको उत्तर हुन्छ- तपाईँहरू मैनबत्ती बनाउन सिकाउनुहुन्छ । मैनबत्ती जलेपछि फेरि पलाउँदैन । सिलाइकटाइ सिकाउनुहुन्छ । लुगा काटेर कहिल्यै पलाउँदैन । ...घाँस जति काट्यो त्यति पलाउँछ । तेति जीवन बोकेर आउँछ ।... (पृ. ८६) यसले रुसोको प्रकृतितर्फ फर्कभन्ने दर्शनलाई पनि अँगालेको छ ।

 

हिंडिरहेको बाटो र कुरिरहेको रूखले प्रेमपताहरूको जीवनको मर्मवोध गरेको छ । बिरथजस्ता बाटो बिराएर हिंड्ने रावणलाई रामको कल्पनामा रूखरूपी प्रेमपताहरू प्रेम गरिरहन्छन् र पर्खिरहन्छन् । प्रेमपताको पर्खाइको पीडासँग तराइ संस्कृति (रामलीला)को सुन्दर झाँकी पनि कथाले बोकेको छ । साथै जीवनका महत्त्वपूर्ण क्षणहरू थाहै नपाइ कसरी बितिरहेका हुन्छन् भन्ने गहिरो दर्शनबोध यो कथाले गराउँछ ।

 

काँचको गिलासमा रिक्सावाल बूढोको गरिबी र गरिबीले दिएको जीवनको तुच्छताप्रति व्यङ्ग्य छ ।

 

साटिएका फूलमा हिन्दू र मुश्‍लिम धर्मको मेलको सुन्दर कल्पना छ । अनि नारीको अस्तित्वको खोजी छ । बुर्काभित्र पनि मान्छे सुरक्षित हुँदोरहेनछ... (पृ. ११७)

 

रिमिक्स रिमिक्सकै शैलीमा लेखिएको प्रयोगशील कथा बनेको छ । जेलिन्दा र इतबरियाको जीवनको रिमिक्सले कथाक्रम जेलिएको छ । नदीको गति र किनारको नियतिले थारू जीवनको अनौठो संस्कृतिको उजागर गरेको छ । आफ्नै दूध खुवाएर हुर्काएको छोरोजस्तो देवरलाई फेरि लोग्नेको रूपमा अँगाल्ने संस्कृतिले त्यो संस्कृतिमा नभिजेका पाठकको मन हल्लाउँछ । सीता एक्ली भएर पनि एक्ली भइन । ऊसँग लोग्ने मरेको जीवन र पोखिएको जीवनको रङ थाप्न नसके पनि थापेजस्तो गर्ने १३ वर्षे देवर थियो । (पृ. १३०)

 

खुशीको पीडाले अनौठो घटनाको कल्पना गरेको छ । थारू महिलाको गहनाप्रेम र यौनको मनोविज्ञान यसमा छ ।

 

बादलमुनिले तराइक्षेत्रमा देखापरेको जातीय विभेदको कथालाई मर्मस्पर्शी रूपमा उनेको छ । मधिसे र पहाडेबीचको आपसी मेलले असफाक र महेशको परिवारलाई जति सुख दिएको थियो, समयक्रममा आएको द्वन्द्वले उनीहरूको मित्रताको पवित्र गाँठोलाई खरानी हुनेगरी जलाएको छ । जातीय द्वन्द्वले देशमा लागेको बादल र असुरक्षित गन्तव्यप्रति सचेत गराएका छन् लेखकले । बादलमाथिको हवाइ उडान बलियो बिम्ब बनेर आएको छ ।

 

तेसोभए म आउँदिनँ कथा व्यावहारिक जीवनको घतलाग्दो प्रस्तुति हो ।

 

हेराइको निबन्धात्मक प्रस्तुतिमा लेखकको जीवन र मान्छेका क्रियाकलापप्रतिको सूक्ष्म निरीक्षणको कथा छ ।

 

दृष्‍टिकोणमा आख्यानकार स्वयम्‌ले आफ्ना पात्रहरूको विश्‍लेषण गरेका छन् ।

 

कथारम्भले लेखनको अन्त्यमा कथा लेख्‍ने लेखकको इच्छा जगाएको छ । मान्छेको भौतिक शरीर र चिन्तगत रूपको कल्पना गर्दै लेखन गर्ने लेखकको मनलाई उसको भौतिक रूपले बोकेजस्तो देखिए पनि ती अलग अलग व्यक्तित्व भएको कल्पना गरेको छ । जीवन क्षणिक भए पनि पात्रको जीवन अनन्त रहेको कल्पना पुनर्जन्ममा जोडेर गरेका छन् लेखकले । पानीको घामको शीर्षकीय पुष्‍टि पनि बोकेको छ यसले । पानीको घाम न आफूखुशी उदाउन सक्छ, न अस्ताउन सक्छ, न चम्किन सक्छ भन्ने विचारमा लेखकीय विसङ्गतिवादी चिन्तन पोखिएको छ । पात्र कृष्णले भन्छ, सम्झ त तिमीले अरूलाई खुसी बनाउन कति पटक आफ्ना खुसीहरूलाई बलि दियौ ? र पनि तिमीसँग के तिम्रा मान्छेहरू सन्तुष्‍ट भएका छन् ? अनि पानीको घामको अस्तित्व आकाशको घामसँग जोडिएजस्तो भएन त जीवन ?... (पृ. १९१) 

 

यो पुस्तकको भूमिका वा अग्र परिचय छैन । अपरिभाषित शीर्षकमा आख्यानबाट उपशीर्षक दिएर आख्यानभित्रका आठवटा कथाका टुक्राहरूलाई ल्याएर राखिएको छ तर त्यसमा लेखकको लेखनसमयको चित्रलाई मूर्तता प्रदान गरेको छ । लेखकले यहाँनेर पाठकलाई धेरै गृहकार्य दिएको महसुस हुन्छ । भूमिका पढेर पुस्तकभित्र छिर्न बानी परेका पाठकका लागि यसले केही समय अल्मल्याउँछ ।

 

सिर्जना लेखकीय हृदयोद्‌गारको कलकल बग्ने मौलिक सङ्लो नदी हो, जहाँ पाठकले आफ्नो र समाजको अनुहार देख्छ र आल्हादित हुन्छ । यसका साथै सिर्जनामा लेखक बाँचेको र उसले देखेको समाजसँगै समयक्रममा आएका चिन्तनरूपी छहराहरू प्रवाहित भएका पनि हुन्छन् जुनकुरा पानीको घाममा अमरले देखाउन सफल भएका छन् । जीवनका गहिरा चिन्तनका इन्द्रेणीहरूले यी कथाहरूलाई ढाकेका छन् । लेखकलाई यहाँ कुनै घटनाको सपाट वस्तुपरक वर्णन गरेर कथा बुन्नु छैन, न त एउटा पात्रको पात्रताको एकतर्फी चित्रणमा मात्रै अल्झिने चाह छ । उनी समाजका यथार्थलाई आफ्नै आँखाले स्पर्श गरेर भावना र चिन्तनको रापमा पकाउँछन् अनि धेरै कुराहरूलाई समेटेर मीठो आख्यान परिकार बनाउँछन् र पाठकका अघिल्तिर राखिदिन्छन् । आफ्नै भिन्न शैली र प्रस्तुति ढाँचाले अमरलाई अन्य आख्यानकारभन्दा पृथक बनाएको छ । यो उनको आफ्नो पहिचान र शक्ति पनि हो ।   

 

पानीको घाम, यो सुन्दर विपरीतता बोकेको प्रयोगशील शीर्षकले नै कृतितर्फ धेरै प्रयोगशीलताको सङ्केत गर्दछ । कोठामा बसेर अनुभूति र कल्पनाको बुई चढेर मात्र तयार भएको कृति होइन यो । स्थलगत रूपमा भ्रमण अवलोकन गरी पश्‍चिम नेपालको मुख्य क्षेत्र नेपालगञ्ज र त्यसवरिपरिको परिवेशमा महिनौं घुलमिल भएर रहेपछि लेखिएको कृति हो । नेपालगञ्जको भदौरे तातो वातावरणमा परिश्रमको तरल, सुललित र प्रवाहशील पसिनाको सुगन्धी पानी बगेर अमर न्यौपानेले उन्नाईस रचनामा उपलब्धिको न्यानो घाम उदाएका छन् । जिटिजेङबाट आयोजना गरिएको लेखनवृत्ति पाएपछि कार्यस्थलमा पुगेर अध्ययन गरी गरिएको सिर्जनामा यथार्थ र कल्पनाको सुन्दर संयोजन छ । लाग्छ न्यौपानेको कलमले अभ्यासका थुप्रै चरणहरू पार गरेको छ ।

 

काव्यात्मक प्रस्तुति, नाटकीय संवादात्मकता, निबन्धात्मक वैशिष्‍ट अनि यथार्थ स्थलगत जानकारीले यी सिर्जनालाई कथामा मात्रै सीमित रहन दिएका छैनन् । कथाको मूल्यभन्दा माथि उठाएका छन् । यस्तो लेखन नितान्त नयाँ कलममा संभव छैन ।

 

बिम्बात्मक रूप र प्रतीकहरूको संयोजनले गर्दा कतिपय ठाउँमा भाषा अमूर्त बन्न पुगेको छ । विनिर्माणिक चेतनाले भाषिक विचलन ल्याएको छ । कथान्त र कथारम्भले पाठकलाई एकछिन अलमल्याउँछ । लेखकीय प्रयोगशीलता र लेखकको कवितात्मक शिल्पलाई यस कृतिले जति उचाइ दिएको छ, सामान्य पाठकका लागि भने अलि बौद्धिक कसरत पनि थपिदिएको छ । सामान्य पात्रहरू पनि नसुहाउँदो बौद्धिक संवाद बोलिरहेका हुन्छन् । पढ्दैजाँदा लाग्छ पात्रमा पात्र मात्रै छैन लेखक पनि मिसिन पुगेको छ ।  आख्यान लेखनमा आइपर्ने ठूलो समस्या लाग्छ यो । तर चिन्तनशीलता बुझ्ने र बौद्धिक मन्थन रुचाउने पाठकका लागि यो गतिलो खुराक पनि हो ।

 

एउटा व्यक्तिगत संस्थाले एउटा नयाँ लेखकको पुस्तकलाई यसरी छापिदिनु नेपाली साहित्यिक जगत र लेखकको लागि एकदमै खुशीको कुरा हो । पैरवी बुक हाउसका प्रोप्राइटर खगेन्द्र भट्टराई मुरी मुरी धन्यवादको पात्र बनेका छन् । तर यस्ता कृतिलाई अझ सुन्दर आन्तरिक प्राविधिक संयोजन र हार्ड कभरमा फ्ल्याप राखेर निकालिएको हेर्ने र पढ्ने नेपाली पाठकको चाहनालाई पनि आगामी दिनमा पैरवी बुक हाउसले बुझ्ला र त्यसप्रति अग्रसर होला । 

 

कुनै पनि सिर्जनात्मक कर्मको मूल्य र सीमा यही हो भन्ने हक एउटा पाठकलाई हुँदैन । न त एउटा पाठकले लगाउने अर्थले मात्रै कृति सीमित भएर बाँच्नु पर्छ । कृति त उसकै कृतित्वमा अमर हुन्छ । नेपाली साहित्य र विश्‍व साहित्यमा अमर रहेका धेरै कृतिहरू झैं पानीको घाम पनि आफ्नै कृतित्वले बाँच्छ र बाँच्नुपर्छ ।

 

 

 

Comments

Jagat Basnet

कथाको गहिराइमा पुगेर लेखिएको उत्कृष्ट समालोचना

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |