सवल जीवनको आधार: स्वस्थ रगत,(अनिल पाण्डे)
त्यस बेला म काठमाडौंमै थिएँ । एकदिन बिहान मेरै टोलका अजय कार्की भाइ मेरो गेटमा देखापरे । उनलाई देखेर म ढोका खोल्न मात्र लागेको थिएँ उनी लगलग कामे र एकै डल्लो परेर भुईंमा थेचारिए । शरीर डढेर कालो भएको थियो । निधार पसिनाले छ्याप्पै भिजेको देखिन्थ्यो । उनको हातमा विवाहको निम्ताकार्ड थियो । मैले देखें त्यसमा लेखिएको थियो- अनिल पाण्डे चुले निम्तो । मलाई थाहा थियो केही दिनपछि उनको दाजुको विवाह हुँदै थियो ।
मैले अजयलाई उठाउन खोजें तर उसको खुट्टाले कुनै भर गरेन । मैले जसोतसो गेटभित्र पुर्याएँ र चउरमा बसाएँ । उसको घरमा फोन गरें- (अजयको आमा) भाउजू कुद्दै आइन् ।
"बरु यो पुर्लक्क मर्यो भने सुख पाउँथ्यो । घरिघरि यसरी नै मर्दै बाँच्दै गरिरहेको छ !" भाउजूले आँखा भिजाइन् "यसको मुटुले रगत छान्न सक्तैन, चाल्नोजस्तो छ यसको मुटु !" एकछिन पछि अजय बौर्यो । मैले गाडी निकालें र आमा-छोरालाई राखेर सिधै गंगालाल हृदयरोग केन्द्रमा पुर्याएँ । इमर्जेन्सीमा जाँचेपछि डाक्टरले भने- "यो मान्छेको रगत महभन्दा बाक्लो छ, मुटुले काम गरिरहेको छैन । रगत स्वस्थ गराउन सक्नुभएन भने ऊ अब केही दिनको पाहुना मात्र हो !" भाउजू रुन थाल्नु भो । अजय निरीह बनेर मलाई हेरिरहेको थियो- परेबाको असहाय चल्लाजस्तै ।
जीवन के हो मेरो मस्तिष्कमा प्रश्न मडारियो । जीवन र मृत्युका बीचको सीमारेखा के यही रगतले खिचेको हुन्छ ? जीवित मानिसको शरीर काट्ने हो भने रगत आउँछ । तर मृत व्यक्तिको शरीरमा रगत हुँदैन । के कुनै जीवको शरीरमा सधैं रक्त साचार गराइरहन सक्ने हो भने मानिस अमर हुन्छ त ? हुनसक्छ त्यसैले जान्नेहरु रगतलाई जीवनको पर्यायका रुपमा लिने गर्दछन् जो एकदमै उपयुक्त मान्यता हो । रगतबाटै जीवन बनेको हुन्छ- त्यसैले त १० महिनासम्म आमाहरुको रक्तश्राव बन्द हुन्छ । गर्भमा रहेको बालकको पोषणका लागि । मेरो अगाडि उभिएकी भाउजूले पनि आफ्नो शरीरको रगत सँचय गरेर अजयलाई जन्माएकी हुन् । अहिले ऊ २०-२२ को भयो तर त्यही रगत अस्वस्थ भएका कारण मर्दैछ !
अजयको मूल समस्या रगतमा नभएर मुटुमा थियो । तर पनि मेरो ध्यान भने रगतमै केन्द्रित भैरहेको थियो । चाल्नोजस्तो यसको मुटु टाल्न सकिएन भने यसलाई बचाउन नियमित स्वस्थ रगत दिने र पुरानो जमेको लेदोजस्तो फोहोर रगत फाल्ने काम गर्नुपर्ने हुन्थ्यो । मैले त्यसै बेला लामो सास तानें र स्वस्थ रगतका लागि कुनै काम गर्नुपर्छ भनेर अठोट गरें । सायद त्यसको प्रभाव पनि हुनसक्छ आफु अध्यक्ष रहेको संस्था मदरल्याण्ड नेपालका तर्फबाट मैले रक्तसंकलन शिविरहरु चलाएको छु । केही महिनाअघि मात्र यही २००९ को अगष्ट ७ का दिन काठमाडौंको शङ्करदेव कलेजमा रक्त शिविर राखेका थियौं । स्थानीय मेडियाको सह-आयोजनामा सम्पन्न सो शिविरमा ६१ पिन्ट रगत सङ्कलन भएको थियो । काठमाडौंका अस्पताल र ब्लडबैंकहरुमा रगतको अभाव भयो भनेर आम संचार माध्यममा समाचार आएको देख्नासाथ मैले अजय र तिनै भाउजूलाई सम्झें र रक्तसंकलन शिविर संचालन गर्न नेपालस्थित मदरल्याण्डका प्रतिनिधिलाई फोन गरिहालें । निकट भविष्यमा यस्ता शिविरहरु पुनः चलाउने तयारी पनि भैरहेकै छ ।
हामी नेपाली प्रायः लापर्वाहीकै कारण आफ्नो रगत प्रदूषित बनाइरहेका हुन्छौं । चिल्लो, पिरो, मसलायुक्त खानाआदिका कारण हाम्रो रगत र यसलाई ठीक तरिकाले परिचालन गर्ने ड्राइभर मुटुलाई हामी बिगारिरहेका हुन्छौं । यस सम्बन्धमा अर्को हाम्रो कमजोरी के छ भने नियमित रुपमा स्वास्थ्य परीक्षण गराउने र रक्तदान गर्ने (जसले गर्दा शरीरमा नयाँ उर्जाशील रगत तयार हुनसकोस्) गर्दैनौं । यसले गर्दा एकातिर जानीजानी हामी आफ्नो जीवनलाई नै असामयिक अवसानतिर पुर्याइरहेका हुन्छौं । यस विषयमा हामीले आजैबाट गम्भीर हुनु र स्वस्थ रगत बनाउन र रक्तदान गर्न सक्रिय हुनु आवश्यक हुन्छ ।
हाम्रो सक्रियताकै कारण निभ्न लागेको जीवनको बत्ती पुनः सजीव भएर आउन सक्छ । जस्तो डाक्टर भगवान कोइरालाको कुशल अपरेशनका कारण अजयको मुटुको जटीलतम अपरेशन सफल भयो । त्यसले रगत शुद्ध पार्न थालेपछि अजयको रुप-रंग विस्तारै फेरियो । २०६५ सालमा काठमाडौं गएका बेला 'नमस्ते अंकल' भन्दै अभिवादन गर्ने सबल युवक अजय नै हो भनेर मैले अनुमानसम्म गर्न सकिनँ ।