हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

'घामको वर्षा' मा कवि कृष्ण प्रसाई,(कुमारी लामा)


घामको वर्षा अर्थात् जीवनको वर्षा अथवा जीवनका विविध पक्षलाई उजागर पार्ने दर्शनको वर्षा । यस्तै जीवनका हरेक पक्षलाई आफ्ना गहन भावनाद्वारा एकमुष्ट रुपमा व्यक्त गर्दै नेपाली साहित्यिक माहेालका एक परिचित कवि कृष्ण प्रसाई ुघामको बर्षाु नामक ध्यान कविता सङ्ग्रह मार्फत पुनः एकपटक उदाएका छन् । 'घाम नभएको बेला' कविता सङ्ग्रह 'अनुभूतिका छालहरु' नियात्रा सङ्ग्रह आदि कृति मार्फत आफ्नो भिन्न परिचय बनाइसकेका कवि प्रसाईको यस नौलो ध्यान कविताले उनको नविनतम शैलीको खोजी र प्रयोगधर्मीतालाई प्रमाणित गरेको छ ।
जेन कविता अथवा ध्यान कविता एउटा विल्कुलै नौलो र प्रभावशाली शैली हो भावना अभिव्यक्तिको । केही हरफहरुमा नै जीवनका गहन बिषय र दर्शनलाई समेट्न सक्नु नै ध्यान कविताको बिशेषता हो । थोरै भन्दा थोरै शब्दहरुको प्रयोग गरी मनमा उर्लिएका अथाह भावना र जीवन दर्शनलाई कैद गर्न सक्नु कवि प्रसाईको जीवन माथिको गहिरो अध्ययन र अनगिन्ती भावनाको सहि अभिव्यक्तिको उपज हो ।

बाँचुन्जेल पैसा गनिरहन्थ्यो
मरेपछि हेरेको
उसको कफनमा गोजी थिएन ।( पृष्ठ ३)

कति सहजता र धैर्यताका साथ यी केवल तीन छोटा हरफहरुले जीवनको सिङ्गो यथार्थलाई समेटेको छ ! जीवनको सत्य नै यही हो हामी जसरी एक्लै नाङ्गै यस धर्तीमा टेक्छौं त्यसैगरी एक्लै र रित्तो हात फर्कन्छौँ । हामीलाई सास रहिन्जेलसम्म अनेकन मोहले छोप्दछ जो मानवजन्य गुण हुन् तर अन्तिम सत्य केवल एउटै छ । अन्तमा हामीसँग आफ्नो शरीर बाहेक केही जाँदैन ।

कस्तो कमजोर छ मान्छे
ऊ आफैले खिचाएको
कागजको फोटोजति पनि बाँच्न सक्दैन । (पृष्ठ ४)

जीवनको क्षणभङ्गुरता अर्को जीवन दर्शनलाई अति सजिलै यी सरल शब्दहरुद्वारा सहजताकासाथ प्रष्फुटित छन् कृष्ण प्रसाईका ध्यान कविताहरुमा । यी छोटा कविताहरुले पढिसक्दै गर्दा मन मस्तिष्कमा एक मीठो तरङ्ग पैदा गरिदिन्छन् । हामीलाई मुल्यास्स केही ज्ञान प्राप्त भए जस्तो हुन्छ । हामी आफ्नै दुःख खुसी भाग दौडमा हराइरहेको बखत यी कविताहरु जीवनका वास्तविक रङ्गहरु देखाई हामीलाई मुसङ्ग पारिदिन सफल छन् ।
उनका यी छोटा ध्यान कविताहरु केवल जीवनका गहिरा दर्शनहरु मात्र उप्काउदैनन् । यी कवताहरुमा अहिलेको बिछिप्त समाजको यथार्थ चित्रण मानवीय सम्बन्ध प्रेम प्रकृति र मानव वीचको अटुट सम्बन्ध युवा शक्ति बिदेसिनुको पीडा भ्रष्ट राजनीति आदि आदिलाई सहजै मर्मस्पर्शी ढंगले उतारेका छन् ।
राष्ट्रले भोगिरहेको युवाशक्तिको पलायनलाई कवि यसरी पोख्छन्:

उर्जाशक्ति वायुयान चढेर विदेसिएपिछ
हेर्नै नहुने रुखजस्तो भएर खुइलियो
मेरो देशको वसन्त ! (पृष्ट २)

कति मुटु चसक्क पारिदिने पीडा छ यी भावनाहरुमा । बाध्यताले घेरिएका हामी गरीव देशका नागरिक धनको लालसामा प्रत्येक दिन विदेसिदै छौँ । आफ्नो मातृभूमिको मुहार भने मुन् मुन् खुइलिदै छ बिगि्रदै छ । यो यथार्थ हो । बिज्छ तर पनि यो बाध्यता छ । कवि कृष्ण प्रसाई आफ्ना व्यक्तिगत भावनका दायराबाट बाहिर निस्किई सम्पूर्ण मानव मुटुमा उर्लने प्रेमको चाहना र हामी र प्रकृतिबीचको एक अटुट सम्बन्धलाई यसरी बुझाउँछन:

अलिकति उकालो
अलिकति ओरालो
पिउने पानी छहारी र स्वच्छ हावा
हरियाली फूलहरु र जङ्गली फल
पहाडले दिएको उपहार
मानिसका लागि (पृष्ठ ३४)

हो प्रकृतिका यी उत्कृष्ट उपहारहरुले नै हाम्रो मानव जीवनलाई एउटा सही मानेमा मानव भई बाँच्ने बाटो देखाएको छ । प्रकृतिका यी सुन्दर उपहारले हामीलाई सदैव एउटा इमान्दार र कर्तव्यनिष्ट भई बाँच्ने प्रेरण प्रदान गर्दछ । किन कि प्रकृतिमा एउटा निश्चित नियम दायरा र जीवन हुन्छ । हामी आफै पनि यसबाट अछुतो रहन सक्दैनौँ । कवि प्रसाईको मानव जीवन र प्रकृतिप्रतिको गहन चिन्तन साह्रै प्रशंसनीय छ ।
यस कविता सङ्ग्रहको शिर्षक आफैमा एक प्रतिक हो जीवनको । घाम उज्यालो हो न्यानोपन हो प्रकाश हो जीवन हो । तर घाम सधैं न्यानो र आनन्ददायी हुदैन । यो त कहिले काही ज्यादै प्रचण्ड तापले भरिपूर्ण एक डरलाग्दो र पीडादायी पनि भइदिन्छ । तर चाहे न्यानो होस् अथवा रापिलो दुवै बखतको सूर्यलाई हामीले आत्मसात गर्नै पर्छ जीवन जस्तै । त्यो तेजिलो र शक्तिशाली सूर्यलाई पनि बादलले ढाकिदिन्छ घरिघरि त हाम्रो जीवनमा आइपर्ने पीडाका बादल जस्तै ।
अनि फेरि त्यो बादलको घुम्टोलाई हटाई घामले आफ्नो उज्यालो मुहार हामीलाई देखाउन टुप्लुक्क आइपुग्छ हाम्रो समिप जीवनका असंख्य खुसीका इन्द्रेणी सरी । कवि प्रसाईको ध्यानमग्न मस्तिष्कले घामलाई एउटा मानिसको जीवनका प्रत्येक पलहरुसँगै महसुस गरेको छ । त्यसैले त उनी छाती फुकाएर भन्छन्:

उनै सूर्यलाई हेरेर
म धन्य भएँ
जसलाई मेरा पूर्खाले
हजारौं बर्षअघि पुजेका थिए । (पृष्ठ ८०)

'घामको बर्षा' जीवनको बर्षा हो अथवा जीवनका प्रत्येक पक्षलाई समेट्ने र जीवनका यथार्थलाई छर्लङ्ग्याउने भावनाहरुको बर्षा हो ।


१७ भाद्र २०६६
 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |