हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नर्थ क्यारोलिनामा साहित्यिक समारोह सम्पन्न,(काप्र)

सेप्टेम्बर ८, २०१५ (ग्रिन्सबोरो, नर्थ क्यारोलिना) - नेपलिज एसोसिएसन इन साउथ इष्ट अमेरिका (नासिया) तथा एसोसिएसन अफ नेपलिज इन मिडवेस्ट अमेरिका (एन्मा) को संयुक्त ११ औं सम्मेलनका अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज - नर्थ क्यारोलिना च्याप्टरद्वारा आयोजित साहित्यिक समारोह आइतवार सम्पन्न भएको छ। कविता प्रतियोगिता, पुस्तक विमोचन, अभिनन्दन आदि विभिन्न कार्यक्रमहरु समावेश रहेको उक्त समारोहमा अमेरिकामा रहनु भएका वरिष्ठ नेपाली साहित्यकारहरुले आ-आफ्नो रचना वाचन गर्नु भएको थियो। प्रमुख अतिथि अमेरिकाका लागि नेपाली राजदुत डा. अर्जुन कार्की तथा अनेसासका अध्यक्ष पदम विश्वकर्माद्वारा उद्घाटन गरिएको उक्त समारोहमा भर्खरै दिवंगत हुनुभएका वरिष्ठ साहित्यकार राजेश्वर देवकोटाको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो।

कार्यक्रममा बाल र वयस्क गरि दुई भिन्दाभिन्दै कविता प्रतियोगिता संचालन गरिएको थियो। 'महाभूकम्प २०७२' विषय रहेको वयस्क कविता प्रतियोगिता तर्फ क्रमश: चेत भट्टराई, गोमा पराजुली र अमृता अधिकारी पहिलो, दोस्रो र तेश्रो हुनुभएको थियो भने बाल कविता तर्फ सुकृति ढुंगेल, सम्पदा आचार्य र रिया श्रेष्ठ उत्कृष्ठ भएका थिए। तीन सय डलर राशिको वयस्क तर्फको पहिलो 'राधा-कृष्ण साहित्यिक पुरस्कार' विगत ४ वर्षदेखि श्रीमती राधा पौडेलले उपलब्ध गराउंदै आउनुभएको छ भने २०० सय डलर राशिको दोश्रो 'वटु-हर्क साहित्यिक पुरस्कार' यम श्रेष्ठले उपलब्ध गराउनु भएको थियो। बाल प्रतियोगिता तर्फ जम्मा  ३०० डलर राशिको 'हरेकृष्ण पाठक प्रतिभा पुरस्कार' डा. विकास पाठकले उपलब्ध गराउनु भएको थियो। प्रतियोगितामा सहभागी सबै बाल रचनाकारहरुलाई सान्त्वना पुरस्कार प्रदान गरिएको थियो। विशेष अतिथि कविहरु गोविन्द गिरि प्रेरणा, सीता पाण्डे, हेमन्त श्रेष्ठ, वासु श्रेष्ठ, ज्ञानेन्द्र गदाल, शरद निरौलाले आ-आफ्नो कविता वाचन गर्नु भएको उक्त कार्यक्रममा वरिष्ठ साहित्यकार कृष्ण धरावासी र इतिहासकार पुरुषोत्तम शमशेर पनि सहभागी हुनुहुन्थ्यो।

कार्यक्रममा प्रमुख अतिथि राजदुत डा. कार्कीले नर्थ क्यारोलिनामा बसोबास गर्दै आउनु भएका विभिन्न कविहरुका करिब ५ दर्जन कविताहरु रहेको 'देश भित्र देश बाहिर' नामक कविता संग्रहको लोकार्पण गर्नु भएको थियो। त्यसै गरि बाल कथाहरुको संग्रह 'नर्थ क्यरोलिनाका बाल कथाहरु' र गीता सापकोटाको अंग्रेजीमा अनुवादित कृति 'लिटल डार्लिंग सुनकेश्रा' नामक गीतिकथाको विमोचन पनि उक्त अवसरमा गरिएको थियो। समारोहमा साहित्यकार नगेन्द्र न्यौपानेलाई आख्यान विधामा कलम चलाएर नेपाली साहित्यको सेवा गरे वापत अभिनन्दन गरिएको थियो। त्यसै गरि सुजाता ढुंगेललाई विगत ७-८ वर्षदेखि अनवरत रुपमा नेपाली पाठशालामा भाषा शिक्षण गरे वापत अभिनन्दन गरिएको थियो। अभिनन्दित अर्का व्यक्तित्व सुन्दर जोशीलाई उनको कृति 'क्यासल रक कि अप्सरा' नामक कथा संग्रहको लागि अभिनन्दन गरिएको थियो। कार्यक्रममा मन्तव्य ब्यक्त गर्दै प्रमुख अतिथि राजदुत डा. कार्कीले विदेशमा रहेर पनि स्वदेशी भाषाको उत्थानमा अनवरत रुपमा क्रियाशील सम्पूर्णमा कृतज्ञता ज्ञापन गर्नु भएको थियो। कार्यक्रमको अन्त्यमा समारोहका सभापति तथा अनेसास-नर्थ क्यारोलिना च्याप्टरका अध्यक्ष मनोज प्रधानले च्याप्टरका गतिविधि माथि प्रकाश पार्दै सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |