हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

बेल्जियममा अन्तर्राष्ट्रिय साहित्य सम्मेलन सम्पन्न,(खसखस डट कम समाचारदाता )

बेल्जियमको लुभेनमा दुई दिने ‘अन्तर्राष्ट्रिय साहित्य सम्मेलन’ सोमवार ६ बुँदे घोषणा-पत्र जारी गर्दै सम्पन्न भएको छ । दोस्रो दिनको सम्मेलनमा नेपाली भाषा-साहित्यसम्बन्धी विभिन्न कार्यपत्र प्रस्तुत भएका थिए भने युरोपमा भएका विभिन्न साहित्यिक गतिविधिहरूबारे चर्चा गरिएको थियो ।

सम्मेलनका प्रमुख अतिथि संगीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानका कुलपति सरुभक्तले साहित्यको मूल्यांकन हतारमा नहुने धारणा राख्दै पछिल्लो समयमा प्रवासमा भएका साहित्यिक गतिविधिहरू उल्लेखनीय रहेको र नेपाली साहित्य विश्वभर फैलँदै गरेको बताउनुभयो । उहाँले यूरोपमा नेपाली साहित्यप्रेमीको उत्साहजनक उपस्थितिले आफू प्रभावित भएको बताउनुभयो ।

कार्यक्रममा एनआरएन पूर्वअध्यक्ष जीवा लामिछानेले नेपाली कृतिहरूको अनुवादको आवश्यकता औंल्याउँदै यसका निम्ति सँस्थागत रूप मै पहल गर्नुपर्छ भन्नुभयो ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुवेदीले संस्था स्थापनाको रजत जयन्ती मनाउने तयारी गरिएको बताउनुभयो । वर्तमान अध्यक्ष पदम विश्वकर्माले सेप्टेम्बरमा जापानमा चौथो अन्तर्राष्ट्रिय साहित्य सम्मेलन हुन लागेको जानकारी दिनुभयो ।

कार्यक्रममा प्रा.डा. खगेन्द्रप्रसाद लु्इँटेलले डायस्पोरा साहित्यको योगदान बारेमा कार्यपत्र प्रस्तुत गर्दै नेपाली डायस्पोराको मानक के हो भन्ने बारेमा स्पष्ट हुनुपर्ने र डायस्पोराको साहित्यक योगदानको नेपालका विश्वविद्यालय र प्रज्ञा-प्रतिष्ठानहरूले उच्च मूल्यांकन गर्नुपर्छ भन्नुभयो ।

त्यस्तै मधुपर्क साहित्यिक पत्रिकाका सम्पादक श्रीओम श्रेष्ठ रोदनले नेपाली साहित्यमा साहित्यिक पत्रिकाहरूको भूमिका र समस्याहरूबारे कार्यपत्र प्रस्तुत गर्दै लेखकहरू स्वयंले पढ्ने बानी बसाले साहित्यिक पत्रिकारिता फस्टाउने विचार व्यक्त गर्नुभयो ।

त्यस्तै ‘प्रवासमा नेपाली भाषा-साहित्यको अमरत्व, हामी सबैको साझा दायित्व’ शिर्षकमा कार्यपत्र प्रस्तुत गर्दै बेल्जियमका उपन्यासकार पंचम अधिकारीले नेपाली भाषा-साहित्यको विकास र विस्तार विश्वब्यापी रूपमा भए पनि डायस्पोरिक साहित्यको स्तरियताको प्रश्न पेचिलो रहेको र धेरै लेखिंदै जाँदा स्तर पनि उकासिने आशा व्यक्त गर्नुभयो ।

कार्यपत्रहरूमाथि केही विद्वान सहभागीहरूले टिप्पणी गरेका थिए । त्यस्तै, पोर्चुगलको साहित्यिक डायस्पोराका बारेमा मोहन आचार्य जलद, बेल्जियमको साहित्यिक डायस्पोराका बारेमा अनेसास बेल्जियमका संस्थापक अध्यक्ष कृष्ण बजगाईं र युरोपको साहित्यिक गतिविधिहरूका बारेमा अनेसासका युरोप क्षेत्र हेर्ने उपाध्यक्ष समलकुमार गुरूंगले प्रकाश पार्नुभएको थियो ।

सम्मेलनले जारी गरेको ६ बुँदे घोषणा-पत्रमा नेपाली भाषा-साहित्यको स्तरिकरण र एकरूपताको पहल, राष्ट्रिय-अन्तर्राष्ट्रिय सँस्थाहरूमार्फत कृतिहरूको अनुवाद र प्रकाशन, डायस्पोरिक साहित्यको मानक परिभाषा, साइबर साहित्यबाट प्रचार-प्रसार, डायस्पोरिक साहित्यको अभिलेखीकरण र डायस्पोरिक कृतिहरूको नेपालमा मूल्यांकन नभइरहेको अवस्थामा त्यसका लागि पहल गरिने कुराहरू उल्लेख छन् । अनेसास बेल्जियमका अध्यक्ष दीपेन्द्र केसीको सभापतित्वमा भएको सो कार्यक्रममा अनेसास बेल्जियमका महासचिव दीपकज्योति पौडेलले सहजकर्ताको रूपमा कार्यक्रम संचालन गर्नुभएको थियो ।

यसअघि, सम्मेलनको पहिलो दिन उदघाटन सत्रमा यूरोपभरका झण्डै ५० जना साहित्यकारले रचना वाचन गरेका थिए । दुई दिने सम्मेलनमा स्रस्टा र साहित्यप्रेमीहरूको उल्लेखनीय सहभागीता रहेको थियो ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |