हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

विश्व नारी सम्मेलन सम्पन्न,(खसखस सम्वाददाता)


विश्व नारी सम्मेलन सम्पन्न

काठमाडौं जेठ १७,
प्रधानमन्त्री सुशील कोइरालाले ‘त्रिमूर्ति निकेतन’बाट गठित ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’को हिजो उद्घाटन गर्नुभयो ।
जेठ १५, १६ र १७ गते राजधानी काठमाडौंमा सम्पन्न ‘विश्व नारी नेपाली साहित्य सम्मेलन’मा पाँच महादेशका २० राष्ट्रका नारीहरूद्वारा कार्यपत्र प्रस्तुत भएका थिए । सम्मेलनमा १४ अञ्चलका कार्यपत्र पनि प्रस्तुत भएका थिए ।
उद्घाटन समारोहमा प्रधानमन्त्री कोइरालाले डा.वानीरा गिरीलाई पाँच लाख रुपियाँ राशिसहित ‘विश्व नारी नेपाली साहित्य रत्न’को सम्मान प्रदान गर्नुभयो । सोही अवसरमा उहाँले जङ्गी अड्डाबाट प्राप्त रथमा डा.गिरीलाई रथारोहण गराउनुभयो ।
उपप्रधानमन्त्री वामदेव गौतमले डा.गिरीलाई बोकेर (जुरुक्कै उचालेर) रथमा चढाउनुभयो । साथै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले रथमा चढेकी वानीरा गिरीसँग हात मिलाएपछि रथ काठमाडौं नगरपरिक्रमाका लागि प्रस्थान भयो । नेपाल प्रहरीबाट प्राप्त २१ जना सम्मिलित ब्यान्ड बाजासहित उक्त रथ भाटभटेनीदेखि सहिदगेट हुँदै नारायणहिटी दरबारको पछिल्लो भागबाट भाटभटेनी स्थित अम्रपाली सभागृह पुगेको थियो ।
डा.गिरीका साथमा रथमा नगरपरिक्रमा गर्ने नारीस्रष्टाहरूमा विश्व नारी नेपाली साहित्य सम्मेलनका अध्यक्ष प्रा.डा.गार्गी शर्मा र उपाध्यक्षद्वय प्रा.डा.उषा ठाकुर र उषा शेरचन रहनुभएको थियो ।
समारोहस्थलमा रथ फर्केर आएपछि सदस्यसचिव नरेन्द्रराज प्रसाईले रथबाट बेहुली बोकेझैं पिठ्यूमा बोकेर वानीरा गिरीलाई ससम्मान मञ्चमा पु¥याउनुभएको थियो । डा.गिरी मञ्चबाट रथ र रथबाट मञ्चसम्म पुग्दा कर्तालध्वनीले स्वागत र हर्ष बढाइँ गरिएको थियो ।
समारोहमा प्रधानमन्त्रीले त्रिमूर्ति निकेतनद्वारा प्रकाशित विश्वनारी नेपाली साहित्य विषयक १५ वटा कृति सार्वजनिक गर्नुभयो ।
समारोहमा प्रधानमन्त्री कोइरालाले भन्नुभयो ‘संसारका कुनाकुनामा पुगेका नेपाली नारी स्रष्टाहरूलाई एकै थलोमा भेला पार्ने र साहित्यमार्फत राष्ट्रसेवामा समर्पित हुने नारीस्रष्टाहरूलाई सम्मान गर्ने जुन परम्परा त्रिमूर्ति निकेतनले विकसित गरेको छ, यसले नेपाली भाषासाहित्यको विकासलाई निकै ठूलो टेवा पु¥याएको मैले महसुस गरेको छु ।’
उपप्रधानमन्त्री वामदेव गौतमले ‘नइ प्रकाशनको संयोजनका कारण त्रिमूर्ति निकेतनले अति विशिष्ट काम गरेको छ । नेपाल सरकार या नेपाल प्रज्ञाप्रतिष्ठानले गर्नुपर्ने यस्तो विशिष्ट काम गरेर त्रिमूर्ति निकेतनले नेपाली साहित्यलाई अत्यन्तै ठूलो गुन लगाएको छ’ भन्नुभयो ।
मन्त्री नरहरि आचार्यले नइको नेपाली साहित्यप्रतिको समर्पणका कारण विश्वमा पहिलो चोटि यति विराट सम्मेलन नेपालमा भएको उल्लेख गर्नुभयो ।
विशिष्ट अतिथि सिक्किम विश्व विद्यालयकी प्राध्यापक डा.पुष्प शर्माले यतिको अभूतपूर्ण सम्मेलन आफ्नो जीवनमा कहिल्यै नदेखेको उल्लेख गर्नुभयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका केन्द्रीय अध्यक्ष अमेरिकाकी गीता खत्रीले नेपाली साहित्यप्रति त्रिमूर्ति निकेतन र नइ प्रकाशनबाट भएको  योगदान इतिहासमा स्वर्णाङ्कित हुने बताउनुभयो ।
नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँला, डा.मोदनाथ प्रश्रितले नेपाल राष्ट्रमा यत्तिको गौरवमय कार्यक्रम कहिल्यै नदेखेको उल्लेख गर्नुभयो ।
समारोहमा डा.वानीरा गिरीले भन्नुभयो ‘नेपाली साहित्यका विश्वनारी रत्न’बाट सम्मानित हुँदा भगवान् रामले अहिल्यालाई शिलाबाट निकालेर प्राण भरिदिए जस्तो मलाई लागेकाले म अभिभूत भएकी छु ।’
त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईले नेपाली साहित्यका नारीस्रष्टाको अभिलेख राख्ने र विश्वभरि छरिएर रहेका नारीस्रष्टाहरूलाई एकअर्काप्रति नजिक ल्याउने काम यस सम्मेलनले गर्नेछ र यसमा हामीले गौरव मान्नुपर्छ भन्नुभयो ।
दोस्रो दिन उपप्रधानमन्त्री वामदेव गौतम, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की र नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीले विश्व नारी नेपाली साहित्य सम्मेलनमा प्राप्त २० राष्ट्रका कार्यपत्रमध्ये उत्कृष्ट लेखनका लागि भारतकी प्रा.डा.पुष्प शर्मा, सम्मेलनको उत्कृष्ट अञ्चलमध्येबाट राप्तीका गायत्री घर्ती मगर, उत्कृष्ट सङ्गठन र सृजनाकारमध्येबाट बाबा बस्नेत र ललिता दोषीलाई नगद राशिसहित त्रिमूर्ति पुरस्कार प्रदान गर्नुभयो ।
सोही समारोहमा उहाँहरूले ३२ जनालाई विश्व नारी नेपाली साहित्य सम्मान, २५८ जनालाई विश्व नारी नेपाली साहित्य पदक, २६ जना पुरुष स्रष्टालाई त्रिमूर्ति पदक र २७ जनालाई त्रिमूर्ति सेवा पदक प्रदान गर्नुभयो ।
उक्त समारोहमा अमेरिकाका गीता खत्रीदेखि इजरालका भगवती बस्नेतसम्मका तीन दर्जन नारीकृत कृतिको लोकार्पण गरिएको थियो ।
प्रा.डा. गार्गी शर्माको संयोजकत्वमा भारतका डा.कविता लामा, अमेरिकाका गीता खत्री, म्यान्माका कुसुम गौतम सदस्य र नरेन्द्रराज प्रसाई सदस्यसचिव रहेको पाँच बुँदे घोषणापत्रमा प्रमुख अतिथि उपप्रधानमन्त्री वामदेव गौतम, विशिष्ट अतिथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की, नेपाली साहित्यका विश्व नारी रत्न डा. वानीरा गिरी र त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईको समेत हस्ताक्षर भएको छ ।
विश्व नारी नेपाली साहित्य सम्मेलनको पहिलो दिन जेठ १५ गते त्रिमूर्ति निकेतनमा देशदेशान्तरबाट भेला भएका विश्व नारी नेपाली साहित्य सम्मेलनका सदस्यहरूको परिचयात्मक कार्यक्रम भएको थियो ।

 (नरेन्द्रराज प्रसाई)
 सदस्यसचिव

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |