हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

विस वर्षपछिको नेपाल यात्रा-१,(बासु श्रेष्ठ)

सन् १९९४ मे ४ मा अमेरिका टेकेको झण्डै विसवर्षपछि नेपाल जाने अवसर जुट्यो । यसभन्दा पहिले खुट्टा नउचालेको त कहाँ हो र ? सन् १९९९ मा किनी सकेको टिकटपनि फर्काएर भेटिएको नयाँ कामको थालनीकोलागी भर्जिनीयाबाट पेन्सिलभेनिया गएँ । त्यहिँ परिवारहरु श्रीमति, छोरी र छोरा ग्रीनकार्डकासाथ आईपुगे । नेपाल जाने आधा कारण रोकियो । त्यसपछि २००६ मा आमा, भाई, बुहारी र भतिजी आईपुगे । फेरी नेपाल गई रहने कारण रहेन । अब कहिले जाने होला भन्ने मनशाय राख्दा राख्दै बुबा विरामी हुनुभएको खवर आयो । भाईहरुले मलाई 'हामी स्यहाछौँ, तँ आई रहनुपर्दैन' भने । गइएन । अचानक फेबु्रअरी २० को मध्यरातमा अत्याउने फोन आयो र बुबा वित्नुभएको खबर ल्यायो । रातभर सुतिएन । ज्वाई र छोरी फल्सचर्चबाट म बसेको ठाउँ उडव्रिज तुरुन्तै आईपुगे । म विचलित हुन थालेँ । उमेरले पाको भएपनि सबैको अगाडि म रुन थालेँ । उता भाईहरुले 'बुबाको शरीर तँ आउँछस् भने केहि नगरी राख्छौँ र तँलाई कुर्छौँ'  भने । त्यै अनुसार म भोलिपल्ट नै जान तयार भएँ । ज्वाईँ जीवनले अनलाईनमा टिकट हेर्न थाले । मभने गहभरि आँसु लिएर कहिले श्रीमतिको त कहिले छोरी ज्वाईँको सान्त्वना र सहानुभूतिमा समय काट्न थालेँ । दिन वितेको पत्तै नपाई बेलुका छ बजे एयरपोर्टतर्फ लागियो र यो नै थियो मेरो अमेरिका टेकेपछिको पहिलो नेपालको यात्रा ।

 

सोह्रवर्षपछि नेपालकोलागी यात्रा गर्दैथिएँ त्योपनि शुभ कार्यकोलागी थिएन । मृत्युको काखमा सुतेका बाबुको चितामा दागबत्ति दिन जाँदै थिएँ । मेरो मनले आफैंलाई कति धिक्कार्दै थियो त्यो मैलाई अनुभव भईरहेको थियो । सरासर एयरपोर्टबाट आर्यघाट पुगेर बुबाको शरीरमा दागबत्ति दिँदा कहिल्यै नछुटेको भक्कानो छुटेको थियो । एकदिन सबैले यसरी नै जानु पर्छ र यो नियति हो भनेर जान्ने म ज्ञानी जति रोकेर साहसिलो बन्ने आँट गरेपनि बुबाको मुखमा आगो हाल्दा मलाई अत्यन्तै कठिन र असैह्य भएको थियो । आफन्तजन लगायत पूलमा बसेर हेर्ने रमितेहरुको भीडलाई वास्तै नगरी मेरो भक्कानो छुटिरहेको थियो । तर गर्नुपर्ने कर्म त रोकेर रोकिन्न रहेछ । हेर्दाहेर्दै बुबाको शरीर खरानी भयो र बागमतिमा खरानी बगाईयो । हिजोसम्म सारसउँदो हिँडिरहेको मान्छे आज कता हो कता । न बोलाउँदा सुन्ने, न खोज्दा भेटिने । आफ्नै हातले खरानीमा परिणत गरिसक्दापनि बुबाभनेर बोलाउँदा हैभनिहाल्नुहुन्छ कि जस्तो लागीरहेको थियो । बागमतिमा बगेका बुबाको खरानीलाई अपत्यारिलो प्रकारले हेर्दाहेर्दै घाटबाट हिँड्ने बेला भैसकेको रहेछ । मलाई कुनै प्रक्रिया थाहा थिएन । अग्रज र अनुभविहरुले जे जे भने यन्त्रवत गर्दै गएको थिएँ । पशुपति घाटमा नै तेह्रदिनको किरिया सकेर सोह्रौँ दिनको दिन आफ्नै थातथलो अमेरिका फर्केको थिएँ । त्यसकारण यस यात्रालाई म नेपाल भ्रमणको नाम दिन चाहन्नँ र गणनापनि गर्दिनँ । यसबारे मेरो अलग्गै अनुभव र भोगाई रहेको छ जुन अलग्गै व्यक्त गर्नेछुँ ।

 

बुवाको तेह्रदिने किरिया सकेर फर्किएपछि रित्तिएको सँचिति विदा पुरा गर्न र अर्को पटककोलागी विदा सँचित गर्ने ध्याउन्नाले कतै गइएन । यथेष्ट विदा सँचित गर्ने अनि पारिवारिक कामहरु पुरा गर्न नेपाल यात्राको योजना बनाए मुताविक सन् २०१३ को अप्रैल २८ कादिन नेपाल यात्रा जुर्यो । योजना मुताविक श्रीमति तीनहप्ता अगाडि गैसकेकी थिईन् र म भने बल्ल नेपालको यात्रा थाल्दै थिएँ नितान्त नियोजित व्यक्तिगत र पारिवारिक कामकोलागी ।

 

नेपाल यात्राः

यस वासिँगटन क्षेत्रमा नेपालीहरुको सँख्यामा यति वृद्धि भएको छ कि एयरपोर्ट गयो भने एक न एकजना नेपाल जान लागेको भेटिन्छन् । तर म जाने त्यसदिन भने एयरपोर्टमा चेकईन गरुन्जेल नेपाल जाने चिनेजानेका सहयात्री कोहि भेटिएका थिएनन् । काउण्टरमा अरु केहि नेपाली हो जस्तो लागेको भएपनि अगाडि सरेर चिनाजान गर्ने मेरो आँटले रोकेको थियो । तिनीहरुसंग जहाजमा भेटघाट, चिनाजान र कुराकानी भै हाल्ला नि भन्नेमा म विश्वस्त थिएँ । नभए साथमा लगेका केहि पुस्तकहरु साथीको रुपमा छँदैथिए ।

 

तर डिपार्चर हलमा कुनै बखत राम्रै चिनजान रहेको तर हाल सम्पर्कमा नरहेका साथी अशोक भँडेल भेट भयो । लौ अब त साथी भेट भई हाल्यो नि, अजिँगरको आहारा दैवले जुराए झैँ । तर सीट भने आनका तान फरक रहेछ । मेरो अगाडी, उनको पछाडी | जे होस् चौध घण्टा लामो यात्रामा हामी आकाशमा भेटेर गफ गरौंला नि भनेर चित्त बुझाईयो । जहाजभित्र बस्ने क्रममा तोकिएको मेरो सिटमाथिको लगेज कम्पार्टमेण्टमा ठाउँ नभएकोले एयरहोस्टेसले मेरो ह्याण्ड ब्यागेज पछाडिको सिटतर्फ लगेर राखिन् । आफ्नो सामान त्यसरी छोड्न मन लागेन र तिनलाई पछ्याउँदै जाँदा ठ्याक्क अशोक बसेको सीटमाथिको कम्पार्टमेण्टमा राखिन् । त्यस सिटको लहरको झ्यालतर्फ अर्कै एकजना, विचकोमा अशोक र तेश्रो छेउको सिटमा चाहिं कोहि रहेनछ । एयर होस्टेसले अहिले यहिँ बस्दै गर्नुस, पछि मिलाउँला भनिन् । मैले 'भैगो म यहिँ बस्दा हुन्छ' भनेर सोधेँ र तिनले स्विकृती दिईन् । अब अशोक र मेरो गफ हुने क्रममा ति झ्यालतर्फका यात्रीपनि हामीसँग मिसिए किनभने तिनिपनि नेपाली नै रहेछन् । तिनको नाम विर्सेँ । टेक्ससबाट डिसी हुँदै नेपाल जान लागेका । अब के चाहियो र ? मैले बोकेको किताब त झिक्नै परेन ।

 

हामी तिनजनाको कुरा एउटै भएको देखेर एयर होस्टेसले जे मागेपनि तिनवटा ल्याईदिने गर्न थालिन् । स्न्याक्स बाँडने बेलामा मैले जे मागेको थिएँ त्यहि अशोक र ति भाईले मागेपछि र हामी मुख जोडेर कुरा गरेको देखेर होला शायद हामी तिनैजनाको कुरा मिल्छ भन्ठानिछन् । पछि त स्कच मागेपनि तिनवटा, भोक लाग्यो स्न्याक्स देउ भनेपनि तिनवटा, कोक मागेपनि तीनवटा आउन थालेपछि हाम्रो यात्रा अझ रमाईलो भयो । ति एयरहोस्टेसको हामीप्रतिको सेवा देखेर मैले जहाजमै तिनको बारेमा कम्प्लीमेण्ट्र्ी फाराम भरेर दिएको थिएँ । 'अर्को पटक डिसी आउँदा समय रहे मलाई थाहा दिनु, म डिसी घुमाईदिन्छु' भनेर आमन्त्रणपनि गरेँ ।

 

मैले जहाजको यात्रा धेरै पटक गरेको छुँ । तर यस्तो अनुभव भने पहिलो पटक गर्दै थिएँ । ति एयरहोस्टेसले हामी नै जहाजको सर्वेसर्वा यात्री भए झै महत्व दिएकी थिईन् जुन उनको पेशागत धर्म थियो । जतिबेलापनि ओठमा हाँसो लिएर उपस्थित हुने ति एयरहोस्टेस साँच्चिकै प्रोफेशनल थिइन् । महिनामा दुईवटा गन्तव्य खोल्दै जाने कतार एयरवेजलाई सफलता प्रदान गर्ने कारकहरुमध्ये शायद फिलिपिनो मूलकी तिनी पनि पक्कै एक हुन् ।

 

चौधघण्टाको उडान कतिखेर सकियो पत्तै भएन । कतारमा छ घण्टाको ट्रान्जिटमापनि हामी तिनैजना सँगै रह्यौँ तर काठमाण्डौँकोलागी प्लेन चढ्दाभने हामी छरपस्ट भयौँ । तर यो दूरी कम थियो, मात्र साढे चारघण्टाको । त्यसकारण अब मेरो साथी बन्यो राजेन्द्र थापाको उपन्यास खेलौना । तर किन हो मन तान्नै सकेन यसले । सेमी पोर्नको झझल्को दिने अनि हिन्दिको मस्तरामलाई पछार्न नसकेको उपन्यास लाग्न थाल्यो । कितावको बारेमा आशय बनाउन पुरै पढ्नुपर्छ भन्ने धारणाले जति पढ्न खोजेपनि पढ्न सकिएन र थन्क्याएर झ्यालबाट ३५ हजार फिटमुनीका दृश्य त कहिले बादलको दुई तहको विचमा उडेको आफ्नो जहाजमा बसेर कुन देशमाथि उडदै छ भन्ने फ्लाईट इन्फरमेसन स्क्रिनमा हेरेर समय विताउन थालेँ ।

 

हेर्दाहेर्दै जहाज नेपालको सीमाभित्र प्रवेश गर्यो। प...र पूर्वको आकाशमा सूर्यको लालीले सम्पूर्ण क्षितिज लालित्यपूर्ण देखिन्थ्यो । वास्तवमा क्षितिज निकै पर तर जहाजभन्दा तल देखिन्थ्यो । आफुभन्दा तल देखिएको त्यो क्षितिजसहितको मिर्मिरे बिहान निकै मनमोहक र आकर्षक थियो । दुई तहको बादलको विच देखिने त्यो लालित्यपूर्ण क्षितिजको वर्णन गर्ने शब्द मसँग छैन । यतिमात्र भन्न सक्छु त्यो अति मनमोहक र चित्ताकर्षक थियो । आईफोनको क्यामेरामा त्यो दृश्य कैद त गरेँ तर सोचे जस्तो आएन । के चाहिँ आयो भने सूर्यको आभाले भरिएको क्षितिज एउटा सानो रातो धर्सा जस्तोमात्र देखियो ।

 

जहाज जतिजति पूर्व लाग्दै थियो उतिउति मेरो मन चँचल हुँदै थियो । किनभने अब हिम श्रृँखलाहरुपनि देखिन थालेका थिए । सूर्योदयको पहिलो किरणमा चम्किएका ति हिमशिखरहरु कम लोभलाग्दा थिएनन् । मानौ कुनै हिमाल बादलभित्र लुकेका, कुनै बादलको पर्दा च्यातेर मेरो आगमनलाई नियालीरहेका, कुनै बादल पछाडी लाजले लुकेर मेरो आगमन हेरिरहेका भान पर्थ्यो । पैतिसहजार फिट तल विभिन्न रुख जँगल, नदी नालाहरु मानौ मेरो आगमनमा स्वागतार्थ या त दौडँदै छन् या त मतिर मास्तिर अभिवादनका हात हल्लाउँदै छन् । म भावुक भएँ र एउटा कविता जन्मियो ।

 

शायद सिमरा क्षेत्रबाट हुनुपर्छ जहाजले काठमाण्डौँतर्फ नाक फर्कायो । अबको दशपन्ध्र मिनेटमात्र हो जहाजको यात्रा । त्यसपछि काठमाण्डौको दर्शन पाईन्छ । विभिन्न भीर पाखामाथि हुँदै जहाज उपत्यकामा प्रवेश गर्यो । पहाडी जँगलको शृंखला सकिने वित्तिकै उपत्यकाको घर महल जँगल देखिन थाले । कतै सुईरो झैँ मास्तिर हान्निएका घरहरु, कतै तिनै घरको वरपर लिलिपुटका मानव झैँ देखिने बाउन्ने लाग्ने घरहरु छरपष्ट थिए । के भीर, के पाखा, के मैदान, के खोला नदीको तीर, घरैघर, घरैघर । वीसवर्ष अगाडि हरियो परियो र खुला मैदान छोडेर गएको मैले ति मैदान र खाली जग्गा जमीन अहिले कँक्रिट जँगलमा परिणत भैसकेको अनुभव गरेँ । मेरो मनले मलाई सोध्यो यो विकास हो कि विनास हो ? म निरुत्तर ।

 

(क्रमशः)

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |