हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नारायण गोपालको 'बेबी' र साक्षी ,(मंजु निरोला)

   -    नारायण गोपाल घमण्डी छन्, स्वाभिमानी छन् | जो कोहीसँग उनको ग्रह मिल्दैन |

-    उनि रक्सी नपिई गीत गाउन सक्दैनन् | रक्सी पिएर श्रीमतीलाई कुट्छन् |

-    नारायण गोपाल भारतमा संगीत पढ्ने बेलामा बम्बैका संगीतकारले फिल्मकोलागी गीत गाउन अनुरोध गर्दा अस्विकार गरी नेपाल फर्किए |

-    नारायण गोपाललाइ राजा महेन्द्रले दरवारमा गीत गाउन बोलाउँदा भुइँमा बसेर गाउन भन्दा उनि मानेनन् | राजाको व्यवहारले उनको अहममा धक्का लागेछ |

-    रानी ऐश्वर्यको 'एउटा मान्छेको मायाले..' गाएपछि रानीले 'तिमीले मलाई अमर बनाई दियौ' भनिछन |

-    गीतकार गोपाल योन्जनसँग मीत लगाएपछि उनले नाच घरमा 'मीतेरी साँझ' कार्यक्रम गरेपछि उनको गीतले प्रसिद्धि पाउन थाल्यो |

-    डाएबिटिज रोगले समाए तापनि रक्सीको अधिक सेवन र मासुको परिकार नभई नहुने नारायण गोपाल किड्नीको खराबीले मृत्यु भयो |

-    बसन्त चौधरीले नेपाल टेलिभिजन मार्फत नारायण गोपाल साँझको सांगीतिक कार्यक्रम प्रसारणपछि उनि झन् अजर अमर बने |

माथिका भनाईहरु नारायण गोपालको चर्चा चल्दा सुनिने गरिन्छ |

संसार अचम्मको छ | स्वर सम्राट नारायण गोपालसँग मेरो व्यक्तिगत परिचय नभएपनि किलागल चोकमा डेरा गरी बस्दा हामी उनको छिमेकी बन्न पुगेका थियौं | नारायण गोपालका दुइ बहिनीहरु मेरा साथी भए | नारायण गोपालको बुवाको नाम र मेरो बुवाको नाम आशा गोपाल परेकोले हाम्रो चिट्ठी उनको घरमा पुग्थ्यो भने त्यताको चिट्ठी हाम्रो घरमा पुग्थ्यो | उनको घरमा बजेको सङ्गीतको ताल हाम्रो घरबाट सुन्न सकिन्थ्यो | उनि त्रिचन्द्र कलेजमा बिद्ध्यार्थी हुँदा कलेजको एक कार्यक्रममा उनले गाएको गीत 'आँखाको भाका आँखैले...', 'स्वर्गकी रानी, मायाकी खानी..' हेर्न सुन्न पाएकी थिएँ | केटाकेटी देखि नै म उनको प्रशंसक बनिसकेकी थिएँ | त्यसै बेला किलागल छेउमा खिउल भन्ने टोलमा सिक्किमबाट भर्खर आएकी बेबी दिदीसँग मेरो परिचय भयो | कुनै पनि कलाकारको केहि न केहि प्रेरणाको श्रोत बनेको हुन्छ | त्यस्तै पछि नारायण गोपालको प्रेरणाका श्रोत बनिन यी बेबी दिदि | र उनीहरुको प्रणय लिला कसैबाट लुकेको थिएन |

नारायण गोपालसंग भेट्ने लालसामा म बेबी दिदीको पछिपछि लागेर खिचापोखारीनिर खोलिएको कला कुन्ज संस्थामापनि पुग्थें | चिया निम्की मगाउने, नारायण गोपालले बेबी खाऊ भन्दै निम्कीको टुक्रा बेबीको मुखमा हालिदिन्थे | छड्के नजरले म ति दुबैको माया प्रितिका क्षणहरु हेर्दथिएँ | तर उनीहरुको माया प्रेममा केको ग्रहण लाग्यो कुन्नि पछि दुवै जनाको बोलचाल बन्द भयो | कारण जान्ने कौतुहलता मेरो मनमै रह्यो |

२० वर्षपछि त्यहि बेबी दिदिलाईअमेरिकाको न्यु योर्कमा भेटें | स्वभावत: नारायणगोपालको कुरा चलिहाल्यो | सिक्किमबाट झरेकी स्मार्ट केटीलाई काठमाण्डौको त्यसबेलाको समाजले वहाँहरुको मिलन गराउन सकेन | धेरै रक्सी पिएर खिउल टोलमा हल्ला गर्ने, बेबी बेबी भन्दै बहुला झैँ कराउने नारायण गोपालसंग बेबीको मिलन जुरेको थिएन | पछि दार्जिलिंगमा पेमलासँग भेट भएपछि पेमलासंगै बिहे गरे | तर प्रेमी नारायण गोपालले बेबीको मायामा भाव विभोर भइ 'तिम्रो जस्तो मुटु मेरोपनि..', 'मलाई नसोध कहाँ दुख्छ घाउ...','पर्खी बसें आउला भनि...', 'मलाई छाडी मेरो छायाँ कतै झरेछ..' आदि गीत कम्पोज गर्दै आधि रातमा यो गीत सुन त भन्दै फोनबाट सुनाउने गरेको तिनै बेबी दिदिले सुनाइन् |
यहि भेटमा बेबी दिदि र म नियाग्रा फल्स घुम्न गयौं | बसमा बाटोभरि नारायण गोपालका गीत गुनगुनाउँदै गयौं | मैले 'नारायण गोपालको बिहे अरुसँग नभई तपाईंसँग भएको भए यति छिट्टै बित्ने थिएनन होला र अझ अमर हुन्थे होला हगी' भन्ने जिज्ञासा बेबी दिदि सामु राख्दै वहाँको अतितमा केहि पाना थपें | बेबी दिदिले 'घमण्डी स्वभाव, रिसाहा, धेरै रक्सी खाने बानीले नै गर्दा मेरो परिवार उनको विरोधी बनेको चाहिं हो | तर पछिपनि नारायण गोपाल त्यहि वीर अस्पतालमा भर्ना हुँदा मेरो श्रीमानपनि त्यहीं भर्ना हुनुभएको थियो | माया लाग्यो र हेर्न भनि गएँ | तर म त्यहाँ पुगेको उनकी पत्नीलाई मन परेको थिएन अनि जानै छोडें' भन्दै वेदना पोखिन् |

त्यस भ्रमणको क्रममा मैले 'डु यु स्टिल लाभ हिम' भनेर सोद्धा चसक्क मुटु दुखे झैं गरी वहाँले भन्नु भयो- "अझैपनि सपनामा उ आइ रहन्छ, मलाई पिछा गरिरहन्छ |"

अहिले सम्झंदा नारायण गोपालका कतिपय गीतहरुमा बेबी दिदिको सम्झना र विछोडका वेदनाहरु भएको मैले अनुभूति गरेको छुं | किनकि उनीहरुको मायाको क्षणको साक्षीको रुपमा मपनि सम्मिलित थिएँ |
'सबैले आफुले चाहेको, सोचेको रोजेको र खोजेको पाउंदैनन | त्यस्तै व्यथा नारायण गोपालले आफ्नो गीतमा पोखेका छन् र त्यो तपाईंकै लागि हो | तर यो कुरा भिनाजुले थाहा पाउनु भयो भने नराम्रो मान्नु हुन्न?' भनेर मैले एकपटक फोनमा सोध्दा बेबी दिदिले 'वहाँलाई सबै कुरा थाहा छ, र यो कुरामा हाम्रो राम्रो अन्डर स्ट्यान्डिंग छ' भन्दै शायद जीवनको नियती नै यहि रहेछ, उ गीतमा तड्पियो, म उनको सम्झनामा जीवनभर तड्पि रहें" भन्नु भयो |

Comments

UJJ Bhatarai

ramra ra nathahapayako kura thaha paiyo mero buba sanga Narayan gopal MA ko tayari ma ghar ma padhna aunuhunthyo tesaibela waha le mutu mathi dhunga rakhi hasnu parya 6 bhanne geet gaunu bhayako thiyo...................bastav ma tyo bela mutu mathi dhunga rakhi hasnu parya 6 bhane ko malai thaha pani thiyana........

Anjana Nyupane

Yauta manchhe ko maaya le kati farak pardachha jindagi ma...................

Chudamani Khanal

Touchy!!!

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |