हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

\'पत्रैपत्र\' उपन्यासको संक्षिप्त चर्चा,(गोपाल प्रसाद भण्डारी)


(अनुष्टुप छन्द)

 

पत्रैपत्र मिलाएर उपन्यास छ निर्मित ।

घनिष्ठ मित्रताभित्र छ विधा परिवेष्टित ॥१॥

नेपाल सुस्मिताको र ढकाल रजनीसुत ।

द्वैमातुर भयो ग्रन्थ उपन्यास प्रतिष्ठित ॥२॥

निवेदिता निवेदी हुन् एक पात्र प्रकल्पित ।

निलू नीलाञ्जना अर्की पात्र हुन् भावसिर्जित ॥३॥

पत्रैपत्र मिली अन्य पात्र छन् प्रतिपादित ।

प्रज्ञा मन भिजाएर ग्रन्थ हुन्छ प्रकीर्तित ॥४॥

अवतार छ पत्रैमा मायाभित्र विमोहित ।

पत्रै प्रणवसन्सार पत्रैमा छन् स्वचालित ॥५॥

जन्मिन्छ पत्रमा ग्रन्थ पत्रमा हुन्छ वर्द्धित ।

पत्रै हुन् यसका गात्र पत्रैमा यो छ वर्तित ॥६॥

पत्रै हुन् प्राण औ आत्मा पत्रैले हुन्छ वन्दित ।

पत्रैमा घुम्न यो सक्छ पत्रैमा हुन्छ बन्धित ॥७॥

पत्रै हुन् मित्र आफन्त पत्रैमा हुन्छ अन्वित ।

पत्रैमा साधना गर्छ पत्रैमा हुन्छ स्पन्दित ॥८॥

पत्रमन्दिरमा सुत्छ पत्रैले यो छ पूजित ।

पत्रैको घरमा उठ्छ पत्रैले हुन्छ भूषित ॥९॥

पत्रैमा खान्छ औ खेल्छ पत्रैमा हुन्छ हर्षित ।

पत्रैमा सम्झना गर्छ पत्रैमा बन्छ कर्षित ॥१०॥

आदि मध्य तथा अन्त पत्रैमा छन् निमन्त्रित ।

विचित्र मित्रताभित्र चित्र हुन्छन् नियन्त्रित ॥११॥

आधार छयसट्ठी हुन् पत्र सद्‌भावशोभित ।

प्रतिष्ठा पत्रमा हुन्छ स्नेहमा हुन्छ शोधित ॥१२॥

उदारता छ पत्रैमा धर्मकर्म समर्थित ।

प्रथा चलन विश्‍वास पत्रैमा छन् सुचर्चित ॥१३॥

दुष्ट्याइँ अन्धविश्‍वास डाह छन् पत्र दुर्गत ।

मानवता दया श्रद्धा आदि छन् पत्रनिर्गत ॥१४॥

अनन्य मित्रता धारी पत्रै छन् त्यागदीपित ।

पत्रमा एकता देखी मन हुन्छ प्रभावित ॥१५॥

गाउँठाउँ सबै पत्रपत्रै हुन्छन् समन्तत: ।

पत्रैमा प्रकृति हाँस्छिन् बाँड्दछिन् प्रेम सर्वत: ॥१६॥

चिठ्ठीचिठ्ठी मिसाएर उपन्यास छ पालित ।

चिठ्ठीचिठ्ठी फुकाएर दिलले यो छ लालित ॥१७॥

पत्रैमा स्मृति साटिन्छन् पत्रैमा छन् सुबोधित ।

पत्रैले ग्रन्थ यो फुल्छ फल्छ हुन्छ सुगन्धित ॥१८॥

रमाउँदछ पत्रैमा पत्रैमा हुन्छ अर्पित ।

सन्तति जननी हाँस्छन् वात्सल्य हुन्छ अर्चित ॥१९॥

पत्रैमा कृति यो रुन्छ भई माया विखण्डित ।

दुर्भाग्य हुन्छ पत्रैमा पत्रैले हुन्छ दण्डित ॥२०॥

पत्रैमा यो युवा हुन्छ पत्रैले हुन्छ मण्डित ।

पत्रैमा सत्य यो बोल्छ पत्रैमा बन्छ पण्डित ॥२१॥

धरा सलिल आकाश तेज पवन पर्वत ।

प्रकृति चाँदनी सूर्य गर्दछन् दिलमर्मत ॥२२॥

विवेक प्रेम पाएर पात्र बन्छन् सुशिक्षित ।

उन्नति प्रेममै गर्छन् प्रेममै छन् सुदीक्षित ॥२३॥

विवाह प्रममै हुन्छ प्रेममै छ समर्पित ।

सन्तति प्रेममा हुन्छन् प्रेम हो यो उपार्जित ॥२४॥

समाज प्रेममा अड्छ विश्‍वस्त हुन्छ साधित ।

हरि हुन् प्रेमका स्रोत ग्रन्थ छ प्रेमभासित ॥२५॥

वल्ली पादपमा जस्तै प्रेम हुन्छ सुरक्षित ।

शान्ति मानवता प्रेम यसमा छन् सुलक्षित ॥२६॥

तर यी सर्वदा हुन्नन् द्वन्द पार्छ अनिश्चित ।

युद्ध विद्रोह चम्कन्छन् देश नै हुन्छ कम्पित ॥२७॥

मारिन्छन् पशुझैँ मान्छे मार्ने बन्दैन पीडित ।

षड्यन्त्रमा परी राजा मर्दछन् को छ रक्षित ॥२८॥

परिवारहरू मर्छन् माटो छ रक्तरञ्जित ।

उपन्यास सबै देख्छ जनता छन् उपेक्षित ॥२९॥

सुस्मिता रजनी माता पवित्रा छन् स्वभावत: ।

सङ्कल्प हरिका जस्ता दृढ छन् औ अकुण्ठित ॥३०॥

साईबाबा र विश्‍वास भक्ति छन् पनि वर्णित ।

पत्रैमा सब यो हुन्छ पत्रैमा हुन्छ मोटित ॥३१॥

पत्रैपत्र छ सन्सार पत्रैमा चल्छ शाश्वत ।

मित्रैमित्र भए राम्रा धर्ती हुन्छ सुशासित ॥३२॥

चित्रैचित्र मिलाएर बह्माण्ड हुन्छ नर्तित ।

उत्रैउत्रै छ सद्‌भाव सुस्मिता रजनीसित ॥३३॥

दुवैको ममता पाई उपन्यास छ पुष्पित ।

दुवै मिलेर जन्माए दुवै छन् अति मोहित ॥३४॥

पढ्दा पट्यार लाग्दैन उपन्यास छ उन्नत

तीनसय अठासीका पृष्ठले यो छ पोषित ॥३५॥

नेपालभित्र यो बन्छ देशमा यो छ तोषित

थोरै समयको लागि पुग्छ छिमेक भारत ॥३६॥

शिशु युवा तथा वृद्ध नारीपुरुष मिश्रित ।

नेपाली पात्र छन् धेरै कृतिमा अनुमोदित ॥३७॥

जापानी पनि देखिन्छन् मैत्रीभाव सुसेवित ।

उदारता र आदर्श प्रेममा छन् प्रचोदित ॥३८॥

नारीसुलभ छन् त्याग भक्तिभाव सुसज्जित ।

माटाका ममता गन्ध कृति पार्छन् सुभावित ॥३९॥

पात्रविधान राम्रो छ शृङ्खला छन् अखण्डित ।

ज्यादै सुन्दर उक्ति छन् अलङ्कार अलङ्कृत ॥४०॥

भाषा सरल पाइन्छ शैली छन् साधनाञ्चित ।

जननी भूमिमायाले उपन्यास छ सिञ्चित ॥४१॥

आनन्द यसले दिन्छ यो छ पाण्डित्यवर्जित ।

सुखान्त छाप छोडेर आराम लिन्छ अन्तत: ॥४२॥

अनुकरणका शब्द कतै छन् अर्थबाधित ।

कतै कुरा अपूरा छन् सूचना हुन्छ वाञ्छित ॥४३॥

अङ्ग्रेजी शब्दले गर्दा नेपाली हुन्छ लज्जित ।

नेपाली छ स्वयं पूर्ण भाषा यो छ परिष्कृत ॥४४॥

संस्कृत आदि भाषाले नेपाली छ पुरस्कृत ।

नेपाली शब्द नै लेखौँ विन्ती यो छ विशेषत: ॥४५॥

शब्दविन्यासमा केही सुधार छ अपेक्षित ।

त्रुटी भाषिक छन् केही भाषा पारौँ सुसंस्कृत ॥४६॥

अझै समय पाएर कृति हून् सम्परीक्षित ।

प्रकाशित हुने हाम्रा रचना हून् जनामृत ॥४७॥

संयुक्त रचना यस्तै जन्मिऊन् हून् सुमार्जित ।

नेपाली भावना बोक्ने कृति हुन् कीर्तिउर्जित ॥४८॥

सुस्मिता रजनी बाँचून् भएर जनतादृत ।

रीता गोपालको हो यो शुभेच्छा दिलचिन्तित ॥४९॥

सान्दर्भिक शब्दार्थ

 

अञ्चित - पूजित, भूषित

अन्वित - भरिएको, अन्वयमा मिलेको

अर्चित - पूजित, आदृत

आदृत - पूजित, आदर गरिएको

उर्जित - बर्द्धित, समुन्नतितिरको

उपार्जित - आर्जन गरिएको

कर्षित - आकर्षित, खिचिएको

जनतादृत - जनताले आदर गरिएको

दीक्षित - पुरापूर तालिम भएको

दीपित - प्रज्वलित, प्रकाशित

दुर्गत - दुर्गतिमा परेको, दीनदु:खी

नर्तित - नचाइएको

निर्गत - निस्केको

द्वैमातुर - दुई आमाबाट जन्मिएको व्यक्ति

तोषित - प्रसन्न तुल्याइएको

धरा - क्षिति, पृथिवी, धर्ती

पवन - वायु, अनिल, हावा

प्रचोदित - प्रेरित

परिवेष्टित - घेरिएको, परिष्कृत

प्रकीर्तित - खूब बयान गरिएको

मण्डित - सिँगारिएको

मार्जित - संशोधित, मार्जन गरिएको

मोटित - कुश आदि बाटेर पवित्र बनाइएको

भासित - चम्केको, झल्किएको

भूषित - अलङ्कृत, सुसज्जित

रञ्जित - रङाइएको

सम्परीक्षित - समीक्षित

सुभावित - सुगन्धित, सुसंस्कृत

सुसंस्कृत - राम्ररी शुद्ध पारिएको

स्पन्दित - फरफराएको, स्फुरित

 

Comments

komal

अत्यन्तै सुन्दर l

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |