हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

ह्याट्रिक क्यालिफोर्निया,(गोविन्द गिरी पे्ररणा)


तेश्रो पटक क्यालिफोर्नियाका लागि उड्दै थिएँ ।

वास्तवमा अमेरिकाको विशालताको वारेमा वुझ्न अमेरिका नै आउनु पर्छ । अमेरिकाको विशालता अन्तवाट वुझ्न झण्डै सकिंदैन ।

म भर्जिनिया राज्यको मनासस नामको शहरमा वस्छु । यो भर्जिनिया राज्य नेपाल भन्दा ठूलो छ ।

अमेरिकाको टेक्सास राज्य जर्मनी भन्दा ठूलो छ ।

अमेरिकामा ३ समय चल्छ, पूर्विय समय, मध्य समय र पश्चिमी समय । अमेरिकाको पूर्व तटिय राज्य भर्जिनिया र पश्चिम तटीय राज्य क्यालिफोर्निया वीच ३ घण्टाको समय अन्तराल छ र नेपाल वाट वैंकक पुग्ने समयमा भर्जिनियावाट क्यालिफोर्निया पुगिंदैन ।

भन्छन्, यही विशालताको कारण सवै अमेरिकीहरु अमेरिकाको सवै राज्यमा पुग्न सक्दैनन् सिंगो जीवनकालमा ।

म भने अहिलेसम्म एक दर्जन राज्यमा पाइला टेक्न सक्षम भएको छु । तर संयोग नै हो म तेश्रो पटक क्यालिफोर्निया जाँदै थिएँ विशेष कारणले । त्यो विशेष कारण एक छिनपछि ।

म पहिलोपल्ट क्यालिफोर्निया मैले सम्पादन प्रकाशन गरेको नेपाली भाषाको अखवार विश्वपरिक्रमाको वजार प्रवद्र्धनका लागि आत्मिय राजेन थापाको निम्तोमा गएको थिएँ । त्यो वेलाको घुमाई एक प्रकारले पारिवारिक प्रकारको थियो । म राजेनजीकै निवासमा वसेको थिएँ । मित्र ध्रुव थापाको सौजन्यतामा वर्कली विश्वविद्यालयको सेरोफेरो मारेको थिएँ । गोविन्द शाहीको सौजन्यमा गोल्डेन गेटको दर्शन गरेको थिएँ तथा सानफ्रान्सिस्कोको चक्कर लगाएको थिएँ ।

त्यही क्रममा त हो, गोल्डेन गेट जाने क्रममा मैले थाहा पाएँ, त्यहाँको तटमा, यौटा सानो अल्कात्र्याज नामक टापूमा जेल छ भन्ने कुरा , र त्यो जेल जेल मात्र नभएर मृत्युप्रतिक्षालय हो, अर्थात् डेथ रो । त्यो थाहा पाउने वित्तिकै उदास भएको मेरो मन त्यो दिनभरि एक तमासको भएको थियो, यद्यपि मेरो यो मनोभाव ध्रुवजी र गोविन्दजीलाई छनक नहोस् भन्ने भरमग्दूर प्रयास गरेको थिएँ । तर कति सफल भएँ वा असफल म अझै अनभिज्ञ छु ।

त्यस्तो अवस्थामा पनि श्रीमतीसँग समय विताउन दिइन्छ रे । कस्तो मनोदशा हुँदो हो ती जोडीलाई ?

अझ गफकै क्रममा सुनें, मृत्युदण्ड दिन विषालु सूइको इन्जेक्सन लगाउँदा दुख्यो वा दुख्छ भनेर मानव अधिकार वादीले वकालत गर्ने गरेका छन् । मृत्युदण्डमा पनि यो कस्तो खालको मानव अधिकार हो, वाँच्न नपाउने क्रममा । अनिवार्य मृत्यृ ग्रहण गर्नु पर्ने क्रममा । यस्तै कुराले हो मेरो मनलाई एक तमासको वनाएको ।

तर साँझ रातो झोल र मासुका चोक्टा चिथोर्न थालेपछि धेरैथोक विस्मृतिमा खात लाग्न पुगेको थियो ।

दोश्रोपल्ट त म एएनए भन्ने अमेरिकाको यौटा पुरानो तर विशाल संस्थाको सम्मेलनमा भाग लिन गएको थिएँ ।

र यसपल्टको यात्रा भने ती भन्दा भिन्न मात्र होइन, एक प्रकारले अपूर्व कार्यक्रमका लागि जाँदै थिएँ । शुक्रवार दिउँसो पुगेर, शनिवार घुमघाम गरी  आइतवार साँझको त्यो विशेष कार्यक्रममा भाग लिए लगत्तै कार्यक्रमस्थलवाटै एयरपोर्ट जानेगरी समय मिलाएको थिएँ र त्यसै अनुसारको हवाई टिकटको व्यवस्था गरेको थिएँ ।

प्लेनको सिटमा वस्दा मेरो हातमा डायन डि प्राइमाको पुस्तक 'मेम्वायर अफ ए विटनिक' थियो । आख्यान भनिएको यो पुस्तक वास्तवमा संस्मरण हो र यस्तो संस्मरण विरलै लेखिन्छिन् । यो संस्मरण डायनको युवावस्थाको यौनजीवनको उदात्त वर्णनले भरिएको छ । यौनको कुनै पनि पक्ष वाँकी छैन । अप्राकृतिक यौन संसर्ग, समलिंगी यौन सम्पर्क, हाडफोरा यौन गतिविधि सव थोक उदात्त ढँगले प्रस्तुत गरिएको छ । यौटा स्वास्नी मान्छे यति धेरै पुरुषकोसँग यति धरै पटक संसर्ग गर्न सक्छे, पत्याउन गाह््रो पर्ने यथार्थले पाठकको मन मष्तिष्कलाई रन्थन्याउन सक्षम छ । मैले यो पुस्तक नै यात्राको लागि किन रोजे ? यौनको कारण ? होइन । मैले यि लेखिकाको विषयमा खोजि गरें, अमेरिकाको विट आन्दोलनकी एक सक्रिय पात्र लामो समय न्यूयोर्कमा वसेपछि सानफ्रान्सिस्कोमा वसाई सरेकी रहेछिन् र त्यहाँको पोयट लरेट पनि भैसकेकी रहिछन् । सन् १९६९मै अर्थात् ४१ वर्षअघि नै त्यस्तो विषय र विषय वर्णन लेख्न सक्ने सामथ्र्यवान लेखिका र साहसी प्रकाशक साँच्चै प्रसंशनीय हुन् ।

यो पृष्ठभूमिमा मेरो रुचि यि लेखिकाप्रति जागेको हो । र मैले खोजिको क्रममा यिनी सान फ्रान्सिस्को मै वस्छिन् भन्ने तथ्य पत्तो पाएपछि कतै यिनलाई भेट्न सकिन्छ कि भन्ने पनि लागेर सम्भावित स्थान र प्राप्त सूचनाको उपयोग गरें तर पत्तो लागेन तर पनि यिनी प्रति मेरो रुचि यथावत् रह्यो र यो पुस्तक मैले यात्राका लागि वोकेको थिएँ ।

क्यालिफोर्निया जाँदा वा पश्चिमतिर जाँदाको मजा हो, समय पछि सर्दै जानु । अतः समयसँग वग्दै जाँदा उज्यालोको उज्यालै दृष्यहरुका साथ यात्रा गर्न पाइन्छ । यस पटकको मेरो उडान सिधा नभएर एक विसौनी क्यालिफोर्नियाको लँग वीचमा हुँदै वर्कली पुग्ने थियो । यसरी वीचमा ट्रान्जिट हुँदा यौटा नयाँ ठाउँको अवलोकन गर्ने अवसर र मजा दुवैको उपयोग गर्न पाइन्छ । विदेशमा यसरी दुवाई, दोहा, मस्कट, वैंकक, ताईपेई, सियोल, भियना देख्न र ती स्थानको स्पर्श गर्न पाएको छु । अमेरिकामै पनि विभिन्न राज्यमा जाँदा आफूले पाइला नहालेका स्थानहरु यस्तै गरी कोलोराडोको डेन्भर लगायतका स्थानको स्वाद अनुभव गर्न पाएको छु ।

लँग वीचको हवाई दृष्यपानले त धीत मर्ने कुरै भएन । अहो, हामी समुद्रले नछोइएका मुलुकका भूपरिवेष्टितहरुलाई समुद्र यसै पनि रुचि र चाखको विषय हो, त्यसमाथि लँग वीचलाई हवाई दृष्यावलोकन गर्नु भनेको काउकुती लगाउनु जस्तो मात्र हो भन्ने लाग्यो मलाई ।

विमानवाट ओर्लेपछि पनि यौटा उदात्त रमाइलो के लाग्यो भने यो विमानस्थल अमेरिकाको क्यालिफोर्नियाको लँग वीचको नभएर नेपालको झापाको विमानस्थल हो । एक त विमान स्थल साँघुरो थियो, अर्काे अमेरिकाका अन्य विमानस्थलको झैं विमानवाट सिधै वन्द सुरुरुँगवाट टर्मिनल भवनमा पुग्ने होइन रहेछ । मजाले प्लेनवाट ओर्लेर जमिनमै हिंडेर टर्मिनल भवनमा जानुपर्ने रहेछ ।

टर्मिनल भवन खचाखच थियो, कारण, भवन सानो रहेछ र त्यहीं वार, त्यहीं रेष्टुँरा, त्यहीं गिफ्ट सप, त्यहीं शौचालय, अर्थात त्यहाँ सवै सुविधाहरु थिए र सानो सानो ठाउँ ओगटेका थिए ।

अव मैले यो ठाउँमा ३ घण्टा विताउनु थियो । अतः मैले वारको यौटा स्टूलमा आफूलाई विसाएर यौटा वियर अर्डर गरें र ओठमा वियरको चुस्की र डायना डि प्राइमाका यौन उत्तेजनाले लफ्रक्कै भिजेको आत्मकहानीमा आँखा विसाउने जमर्को गरें ।

 

लँग वीचवाट वर्कलीको उडान खासै लामो थिएन र वर्कली पुग्दा दिउँसोको झण्डै ३ वजेको थियो । मैले प्लेनले जमिन छोएपछि सेल फोन अन गरेर ध्रुव थापाजीलाई मेरो आगमनको सूचना दिएँ र उहाँले छिट्टै आइपुग्छु भन्नुभयो ।

वास्तवमा मेरो ह्याण्ड क्यारी मात्र भएकाले लगेजको सामान कुर्नुपर्ने कुनै कारण थिएन र म टर्मिनल भवनवाट छिट्टै वाहिर निस्केर क्यालिफोर्नियाको वर्कली अर्थात वे एरियाको शुद्ध हावापान गर्न थालें ।

छोटो प्रतिक्षापछि नै चिरपरिचित मुस्कानसहित ध्रुवजी आइपुग्नु भयो र हामी विमानस्थलवाट शाट्टूक एवेन्यूमा अवस्थित टेष्ट अफ हिमालय रेष्टुँरामा पुग्यौं र त्यहाँ खाना उदरस्त गर्ने कर्मपछि ध्रुवजीले मलाई विष्णु गुरुँगको निवासमा पुर्याउनुभयो । साँझसम्म विष्णुजी र उहाँका श्रीमानजी जसवहादुरजीको सौजन्यमा घुमघाम गर्ने अनि राती रेष्टुँराको व्यस्तता सकिएपछि ध्रुवजीले लिन आउने सल्लाह भयो । शुक्रवारको साँझ रेष्टुँरा व्यवसायीका लागि अति महत्वपूर्ण दिन हो भन्ने मलाई सन् १९९२ मा लण्डन यात्रा गर्दाखेरिदेखि नै थाहा थियो ।

विष्णुजीसँग मेरो भेट गत वर्ष अर्थात् सन् २००९ को एएनएको वार्षिक सम्मेलनको वेला भएको हो, त्यो भन्दा अघि हामीवीच टेलिफोन सम्पर्क मात्र थियो र यो सम्पर्क गराउने सेतु थियो, मैले सन् २००७ देखि सम्पादन प्रकाशन गर्न थालेको पाक्षिक पत्रिका विश्वपरिक्रमा थियो ।

एएनएको सम्मेलन सकेर फर्कने दिन विहान व्रेकफास्टका लागि विष्णुजीले घरमा निम्तो गर्नु भएको थियो र उहाँका श्रीमान म र लोक गायक रामप्रसाद खनाललाई लिन हामी वसेको सम्मेलनस्थलको होटल आउनु भएको थियो ।

विष्णुजीले हामीलाई निम्तो त गर्नुभयो, आफूचाहीं अघिल्लो रातीदेखि नै  विरामी भएर ओछ्यान पर्नु भएछ । उहाँलाई सम्मेलनको होहल्ला र भीडले विरामी वनाएछ । यो कुरा हामी उहाँको निवास पुगेपछि मात्र थाहा पायौं । हामी पुग्दा पनि उहाँ सुतिनै रहनु भएको थियो ।

जे होस् हामीले छिटो स्वास्थ्यलाभको कामना गर्दै चिया चमेना गरेका थियौं र विष्णुजीका पति जसवहादुर गुरुङले हामीलाई विमानस्थल पुर्याउनु भएको थियो ।

मनसाय त ध्रुवजीले पनि संकेत गर्नु भएकै थियो, साँझ यसो घुमघाम गर्ने तर यो घुमाई चाहीं गणेशले सुमेरु पर्वतको परिक्रमा गरेजस्तो घुमाई भयो । अर्थात केही स्न्याक्स र पेय टेवुलमा आएपछि त्यही टेवुलमा वसेर भावनात्मक घुमाई पो घुमियो त ।

जे होस् वे एरियाको मन्द चिसो हावा र विष्णुजीका परिकारमा रम्दारम्दै कामवाट जसवहादुरजी पनि आइपुग्नु भयो । अवको खानपिन र गफमा उहाँ पनि सामेल हुनु भो ।

समय कति छिटो वित्छ, रेष्टुँराको काम सकेर ध्रुव दम्पत्ती आईपुग्दा पो थाहा भयो, समय निकै घर्किसकेछ ।

अव रात्री खाना, पिना र रमाइला गफको सिलसिला पुनः अघि वढेको थियो र हामी विष्णु निवासवाट विदा भएर थापा निवासतिर लाग्यौं ।

राजेनजीसँग जाने वित्तिकै भेट भो । उहाँ कोठामा आइसक्नु भएको रहेछ ।

वास्तवमा सन् २००९ को एएनए सम्मेलनमा राजेन थापासँग परिचय नभएको भए आज म यसरी तेश्रोपल्ट उहाँहरुको निवासमा पुग्ने नै थिईंन ।

लँग वीचवाट शुरु भएको खानपानको सिलसिला र दिनभरको यात्राले शरीरलाई लाटो लाटो वनाउन थालिसकेको थियो । त्यो वुझेरै होला राजेनजीले भन्नुभयो, गिरीजी आज आराम गर्नुहोस्, कुराकानी भोलि मर्निंग वाकमा गरौंला ।

यो मेरो सधैं कफी पिउने ठाउँ हो । यहाँको कफीको स्वाद विशिष्ट खालको छ । राजेन थापाले अर्गानिक कफी पाइने फेलिनी क्याफेमा मेरो पहिलो भ्रमणको वेला दोश्रो दिनको विहान जुन कफी सपमा लानु भएको थियो यस पल्ट पनि हामी त्यहीं पुगेका थियौं र कफीको चुस्की लिंदै मर्निंग वाकका लागि पार्क गरिने ठाउँमा कार राखेर पैदल यात्रामा हामी लाग्यौं वर्कली मरिनातर्फ । स्वच्छ हावा, टाढा टाढासम्म देखिने सामुद्रिक कुनोको अथाह विशालता । निकै टाढा मधुरो देखिने गोल्डेन गेट, सिंगै डाँडामा शहर वसेको सान फ्रान्सिस्को । वास्तवमा यो ठाउँको मोहकता आफ्नै प्रकारको छ , अन्य शहर वस्तीसँग अतुलनीय ।

प्रात:कालिन भ्रमणपछि खाना खाएर सानफ्रान्सिस्को जाने योजना मैले पहिल्यै वनाएको थिएँ । त्यसको खास कारण थियो 'सिटी लाइट वुक स्टोर' । म त्यसको भ्रमण गर्न चाहन्थें । तर त्यता लाग्नु अघि यौटा अन्त्येष्टी समारोहमा सामेल हुनु पर्ने भयो । एकजना नेपालीको अप्रत्यासित निधनको समाचार मैले नेपाली पोष्टमा भर्जिनियामै पढेको थिएँ जसको समाचार प्रेषक थिए जाँगवु शेर्पा ।

अन्त्येष्टि समारोहमा जान मित्र अनिल पौडेल पनि साथ हुनुहुन्थ्यो, हामीले उहाँले काम गर्ने ठाउँवाट लिएर आएका थियौं ।

त्यहाँ अलिक लामै समय लाग्ने देखिएकाले हामीले त्यहाँवाट औपचारिक कार्यक्रम शुरु हुनु अघि नै प्रस्थान गर्यौं । वास्तवमा मृतकका परिवारले मुत्युको विषयलाई सार्वजनिक गर्ने, समाचार वनाउने विषयमा विमती जनाएकाले त्यस्को समाचार वनाउनु पनि थिएन । मात्र श्रद्धा चढाउने औपचारिकताका लागि पुग्ने हामीहरु अर्को महत्वपूर्ण कामका लागि हिंडिहाल्नु थियो ।

अन्त्येष्टी गृहवाट हामी प्रस्थान गरेपछि मैले विजय घिमिरेको सेल फोनको नम्वर डायल गरें । अनि उहाँलाई सिटी लाइट वुकस्टोरछेउ आइराख्नु भनें ।

रमाइलो गफ र ठट्टा गर्दै हामी सिटी लाइट वुक स्टोर भएको कोलम्वस एवेन्यू पुग्यौं । तर शनिवारको दिन पार्किंगको समस्या, पार्किंग खोज्दा खोज्दै केही समय ढिलो सिटी लाइट वुक स्टोर पुग्दा विजय घिमिरे हाम्रै वाटो हेरेर आँखा तन्काइरहनु भएको थियो ।

यौटा किताप पसल हेर्न मैले एक प्रकारले मरिहत्ते गरेको देखेर अनिल पाण्डे र विजय घिमिरेले सोधे, के छ विशेषता यो किताव पसलको ?

मैले जाने जति तथ्य र कुरा वताई दिएँ । अनि हामीले त्यो किताव पसल अघि थुप्रै फोटाहरु खिच्यौं । वास्तवमा यौटा सपना पूरा भएको अनुभव गर्दै थिएँ म । साहित्यको नाताले ऐतिहासिक महत्व वोकेको स्थानमा म आइपुग्न पाएको थिएँ ।

सिटी लाइट वुकस्टोर एण्ड पव्लिसर्सको लामो इतिहास छ आफ्नै र जोडिएको छ अमेरिकी साहित्यको महत्वपूर्ण पाटो पनि ।

यसका मालिक हुन् प्रख्यात वीट कवि लरेन्स फर्लिंहेट्टी । यी वयोवृद्ध कविसँग भेट्न पनि पाइन्छ कि भनेर मैले खोजखवर गरेको थिएँ । ९० वर्षका यिनी जिवित नै पो छकि छैनन् भन्ने आशंका लागेको थियो । तर थाहा भो, यिनी त यूरोप भ्रमणमा गएका रहेछन् ।

यो स्टोरको स्थापनाको कथा चाखलाग्दो छ ।

सन् १९५३ को कुनै दिन कवि लरेन्स आर्टिगुज भवन (सिटी लाइट वुक्स जुन घरमा छ ) को छेउवाट कतै जाँदै थिए । उनले देखे यौटा साइनवोर्ड पाकेट वुक सप झुण्ड्याउँदै गरेका मार्टिनलाई । लरेन्सले आफूलाई मार्टिनको पत्रिका सिटी लाइट्सको एक लेखकको रुपमा परिचय प्रस्तुत गरे र भने उनी पनि कहिले देखि यौटा वुकस्टोरको वारेमा सोच्दै थिए । पछि मार्टिन र लरेन्सले जनही ५०० डलर हालेर साझेदारीमा व्यवसाय शुरु गरे । तर २ वर्षपछि मार्टिनले आफ्नो शेयर १०००  डलरमा लरेन्सलाई वेचेर न्यूयोर्क प्रस्थान गरेपछि यो स्टोर उनको एकल स्वमित्वमा आयो ।

सिटी लाइटस् वुकस्टोरले प्रकाशनको काम लरेन्सकै पुस्तक प्रकाशनवाट थाल्यो तर एलेन गिन्सवर्गको हाउल कविता प्रकाशनले चर्चा र विवाद दुवै एकसाथ कमायो । यो पुस्तक प्रकाशनवापत मुद्दा लाग्यो जसले चर्चाको शिखरमा पुर्याइदियो ।

सन् १९७१ मा न्यान्सी पिटर्सले लाइव्रेरी अफ कांग्रेस छाडेर सिटी लाइट्समा लरेन्सको आग्रहमा पूर्णकालिन काम गर्न थालेपछि यसले अझ व्याप्ति पायो । तर आर्थिक संकट टार्न सन् १९८४ मा पिटर्सले यसको आधा स्वमित्व किनेपछि यसले नयाँ जीवन पायो ।

कुनैवेला यो पुस्तक पसल वीट कविहरुको  तीर्थस्थल जस्तै थियो । कविहरुले समय विताउने अड्डा थियो ।

म पुस्तक पसल भित्र छिरें र लाग्यो यौटा अभूतपूर्व स्थानमा पुगेको छु । शुरुमा यौटा कोठावाट शुरु भएको सिटी लाइटस् अरु वहालवालाहरुले छाड्दै जाँदा र त्यसलाई सकार्दै जाँदा पछि सिंगो भवन नै सिटी लाइटस्को हुन पुग्यो ।

युरोपवाटसमेत यो पुस्तक पसल हेर्न आउँछन् भन्ने तथ्य पत्तो लागिसकेको मलाई गर्ववान्वित हुनुको विकल्प थिएन ।

वेसमेण्ट, वीच र माथिल्लो तल्ला गरी ३ तल्ला भएको यो पुस्तक पसलको माथिल्लो तलामा वीट जेनरेसन सम्वन्धी पुस्तकहरुको वेग्लै दराज रहेछ । म केहीवेर त्यो दराजमा अल्मलिएँ । वीचको तल्लाको भित्री ढोकामाथि एलेन गिन्सवर्गले आफ्नो गुप्ताँग हातले छेकेको ठूलो पोष्टर साइजको तस्वीर टाँगिएको थियो जसका वारेमा मैले  पहिले नै पढिसकेको थिएँ । तर अहिले प्रत्यक्ष देख्ने अवसर पाएको थिएँ ।

मन त थियो यस पुस्तक पसलमा घण्टौं घण्टा विताउँ, यहीं साँझ पारुँ, यहीं रात पारुँ । तर मित्र अनिलजीलाई आफ्नो काममा पुग्नु थियो । ध्रुवजीलाई पनि भरेको केही काम गर्नु थियो र भोलिको कार्यक्रमको लागि तयारीमा जुट्नु थियो । त्यसैले उहाँहरु हतारिइसक्नु भएको मैले चाल पाई सकेको थिएँ । अनि केही थान पुस्तक किनेर म पुस्तक पसलवाट वाहिरिएँ जहाँ विजय, अनिल र ध्रुवजी गफिइरहनु भएको थियो ।

अव जाउँ, हतार भैसक्यो भन्ने शव्दावली उच्चारण हुन नपाउँदै मैले भनें, ध्रुवजी यसो गरौं, म विजयजीसँग यतै घुम्छु र साँझ फर्कन्छु, यसो गर्दा तपाईको कामलाई पनि वाधा भएन र मैले पनि समय दिएर घुम्न पाउने भएँ ।

मैले सोचेको तर भन्न नसकेको कुरा यही थियो । विजयले मुख खोल्नुभयो ।

वस् यही तय भएपछि ध्रुवजी र अनिलजी वर्कलीतिर लाग्नु भो, विजय घिमिरे र म चाहीं सान फ्रान्सिस्को चहार्न थाल्यौं 

 

 

सान फ्रान्सिस्कोमा जान चाहेको सिटी लाइट वुकस्टोर भ्रमण गरिसकिएको थियो । मैले विजयजीलाई भनें, तपाईं त यहाँको रैथाने भैसक्नु भएको छ, अव तपाईंले यहाँका दर्शनीय ठाउँ घुमाउनु होस् ।

उहाँले भैहाल्छ नि भन्नु भयो र सिटी लाइट वुकस्टोर सामुन्नेवाट हामी अघि वढ्न थाल्यौं ।

अचानक मेरो आँखामा विट म्युजियम लेखेको साइनवोर्ड ठोक्कियो । अनि विजयजी र म त्यसभित्र प्रवेश गर्यौं । नाम म्युजियम राखे पनि रहेछ त्यो वीट जेनरेशनसँग सम्वन्धित सामाग्रीहरु, पुस्तक, अडियो, भिडियो, पर्चा पोष्टर लगायत सामाग्री पाइने स्टोर ।

त्यहाँ वीट जेनरेशनसँग सम्वन्धित थुप्रै चाखलाग्दा सामाग्री अवलोकन गर्न पाइयो । कि त मोल महँगो भएर अथवा त्यो पुस्तक आफ्नो संग्रहमा पहिल्यै भएर मैले केही पनि किनिंन र त्यसलाई म्युजियमको रुपमै उपभोग गरियो, निःशुल्क ।

विजय घिमिरे अघिल्लो पटक अमेरिका आउँदा पनि वाशिंटन डिसीमा जम्काभेट भएको थियो । यसपल्ट उहाँ आउँदा नेपाली दूतावासमा भेटघाट कार्यक्रम पनि भएको थियो । मित्र विष्णु शितलजीको निवासमा नायिका पूजाचन्दसहितको उपस्थितिमा विजयजी र हामीले मोमो खाएका थियौं र त्यसपछि तत्कालिन मेरो निवास फेयरफ्याक्स गएर रेडवाइन पिउँदै साहित्यिक गफगाफ गर्ने अवसर प्राप्त भएको थियो  र आज अव हामी दुई उदात्त गफ गर्दै सान फ्रान्सिस्को घुम्ने क्रममा थियौं ।

अव हामी कोयर स्तम्भ चढ्न उकालो लाग्दै थियौं । विजयजीले भन्नुभयो, म धेरैपल्ट चढिसकें किन अनावश्यक प्रवेश शुल्क खेर फ्याँक्नु, वरु म तपाईंको पुस्तक हेर्दै वाहिर कुर्दछु । उहाँको भनाई ठिकै लाग्यो तर माथि पुगेपछि लाग्यो मैले ठिक ठानेर गल्ती गरेछु । किनभने मेरो फोटो लिईदिन अपरिचितहरुलाई गुहार्नु पर्यो । उहाँ साथमा भैदिएको भए विभिन्न पोजमा थुप्रै फोटो खिच्न सकिन्थ्यो । तर अव ढिलो भैसकेको थियो ।

वास्तवमा कोयर स्तम्भवाट सानफ्रान्सिस्कोको चारैतिर अवलोकन गर्न पाउँदा, विभिन्न कोणवाट शहर नियाल्न पाउँदा र सामुद्रिक गल्छीलाई त्यो उँचाइवाट सुम्सुम्याउन पाउँदा यौटा अपूर्व आनन्दको अनुभूति भयो ।

स्तम्भवाट तल ओर्लिएपछि हामी डाउन टाउन वरालिन थाल्यौं । वरालिंदै जाँदा यौटा वारको ढोकामा ह्याप्पी आवरमा सस्तो पेय पाइने सूचनाले हामीलाई आकर्षित गर्यो र भित्र पस्यौ, वस्यौं र ह्याप्पी आवरलाई सदुपयोग गर्न थाल्यौं ।

त्यहाँवाट निस्केपछि हामी चाइना टाउनको चक्कर लगाउन थाल्यौं र निरुद्देश्य केही पसलमा पसेर सामान सुम्सुम्याएर फर्कियौं, किन्नु जो थिएन ।

त्यसपछि पुन हामी विजयजीको रोजाइको यौटा भव्य चिनियाँ रेष्टुँरामा छिर्यौं र चिनियाँ स्वादका खाना र यूरोपेली स्वादका पेय उदरस्थ गर्दै नेपाली साहित्य र विविध विषयका गफ र चर्चामा अल्झियौं ।

त्यहाँवाट निस्केपछि वार्ट अर्थात् त्यहाँ चल्ने स्थानिय रेल चढेर वर्कली जान चाहें । तर विजयजीले भन्नुभयो, भाई संजयले वोलाएका छन्, एकै छिन् वसांै अनि जानुहोला ।

मैले नाईं भन्न सकिंन । संजयजी वाल्टिमोरमा वस्ने क्रममा राम्रो परिचय भएकाले भेट्दिन भन्न म कसरी सक्थें ।

संजयजीको एपार्टमेण्टमा पुगेपछि कुशल क्षेम पश्चात पुन वाइनको सिलसिला शुरु भयो, नाई भन्न सक्ने अवस्थानै रहेन । अझ थोरै भए पनि खाना नखाई जान नदिने उहाँहरुको स्नेहको म कसरी अवज्ञा गर्न सक्थें ।

त्यसपश्चात् विजयजीले वार्ट स्टेशनसम्म आएर मलाई वाटोको विषयमा वताएर फर्कनु भयो ।

विजयजी फर्कनु भएपछि सेल फोन हेर्छु त दसौंपल्ट धु्रवजीले फोन गरिसक्नुभएको रहेछ । मैले तत्कालै ध्रुवजीलाई फोन गरें । उहाँ त झण्डै आत्तिइसक्नु भएको रहेछ । साँझ निकै गहिरिईसक्यो , फोन उठ्दैन, आत्तिने कुरा पनि हो, आफ्नो घरको पाहुना ।

म वार्टमा चढिसकेको थिएँ । तर यौटा स्टेशनमा रेल चेन्ज गर्नु पर्ने थियो, त्यो पनि ध्रुवजीवाटै सुझाव लिएर वल्ल टुँगोमा पुगें, अनि पो वल्ल ध्रुवजीले लामो सास फेर्नु भो ।

भोलिको विशेष कार्यक्रमका लागि आएको म, ख्यालख्यालमै हराएछु सम्पर्कवाट र केही समय चिन्तामा पारिदिएँ । त्यसका लागि सरी भन्दै एपार्टमेण्टमा पुग्यौं र पुन साँझको खाना पिनामा लागियो ।

त्यसपछि यस पल्टको क्यालिफोर्नियाको अन्तिम रातको मिठो निद्रासँग अंकमाल गर्न पुगें ।

अव अन्तिम दिनको विहान पनि सामुन्ने आइसकेको थियो । हिजो झैं आजको दिन पनि विहान राजेनजी र म प्रातःकालिन भ्रमणका लागि निस्कियौं र उही चीरपरिचित फेलिनी क्याफेमा गएर कफी लिएर पैदल यात्राका लागि हामी निर्धारित स्थानमा पुग्यौं ।

अव आजको दिनको मुख्य कार्यक्रमको लागि तयार यसरी हुनु थियो, व्यागहरु कार्यक्रमस्थल लैजाने र कार्यक्रम समाप्त भएपछि उतैवाट एयरपोर्ट हान्निने ।

यसैवर्ष म नेपाल जाँदा यौटा काम गरेको थिएँ , ध्रुव थापाको कविता पुस्तकको सम्पादन तथा मुद्रण । पुस्तक सम्पादन र भूमिका लेखन मवाट भएको थियो भने मुद्रणको जोहो पनि मैले मिलाएको थिएँ । पुस्तक तयार गरेर मैले केही प्रति साथमा ल्याएको थिएँ र अव आज यस पुस्तकको विमोचन हुँदै थियो, दुई जना नोवेल पुरस्कार विजेताको हातवाट । यो वडो अपूर्व अवसर थियो । म यही अवसरका लागि निम्त्याइएको थिएँ । आफ्नो नाम जोडिएको पुस्तकको विमोचन आफ्नै सामु नोवेल पुरस्कार विजेताहरुवाट हुनु मेरो लागि समेत विशिष्ट अवसरको अवस्था थियो ।

मैले यो निम्तो सहर्ष स्वीकारेको थिएँ र तेश्रो पटक वर्कली आएको थिएँ ।

कार्यक्रम साँझ ५ वजे थियो, अतः विहानको खानापछि म नजिकका पुस्तक पसल चहार्न थालें । अघिल्लो पटक मैले चिनियाँ कविहरुको हजार वर्षका कविताहरुको दुर्लभ संस्करण भेटेको थिएँ । एक हजार वर्षको चिनियाँ कविका कविताको त्यो महत्वपूर्ण संकलन झण्डै २५ वर्ष अघि काठमाडौंमा झोंछेंको यौटा क्यूरियो कम प्रयोग भैसकेका पुस्तकको पसलमा भेटेको थिएँ । पुस्तक देखें, पाना पल्टाएर मोल हेरें, ३५० थियो मोल, तर मेरो खल्तीमा त्यति रकम थिएन र भोली किनौंला भनेर गएँ र भोलिपल्ट पूरा पैसा वोकेर झोछें पुग्दा त्यो पुस्तक कसैले उडाइसकेको थियो । यो कुरा मैले त्यस पुस्तक पसलेलाई भनें र उसले जवाफमा भनेको थियो, त्यस्तो कुरा हिजो भन्नु भएको भए म तपाईंको लागि सुरक्षित राखिदिन्थें । तर जे हुनु भैसकेको थियो र त्यो पुस्तक मेरो स्मृतिमा सुरक्षित थियो जुन अघिल्लो पटक किन्न पाएर म दंग थिएँ ।

यसपाली भने यौटा अनौठो, सुखद आश्चर्यपूण पुस्तक भेटें ।

क्यालिफोर्नियाकै एक कवि नेपाल गएका रहेछन्, नेपालका कवि शैलेन्द्र कुमार सिंहसँग भेटेका रहेछन् र उनकै चाँजो पाँजोमा साहित्यिक जमघट भएको पनि रहेछ । त्यो सवको तस्वीरहरु र कविताको पुस्तक मलाई लाग्यो, यसपल्टको क्यालिफोर्नियाको उपहार यही हो ।

त्यो पुस्तकसहित थप केही आफ्नो रुचिको पुस्तक लिएपछि शाट्टुक एवेन्यूमा अवस्थित टेष्ट अफ हिमालयाजतिर पाइलो लतारें ।

क्रमसः रेष्टुँराभित्र चहलपहल वढ्न थाल्यो र आमन्त्रितहरु आउन थालेपछि रेष्टुँरा गुल्जार हुन थाल्यो । अधिकतम १०० डलरसम्मको टिकट राखिएको सो कार्यक्रममा नोवेल पुरस्कार विजेताहरु डा.चाल्र्स टाउन तथा डा. मैथिली ऐयर यथासमय नै आईसकेका थिए । परिचय आदानप्रदान तथा फोटो लिने कामहरु भए । मैले यस अघि एक जना नोवेल पुरस्कार विजेतासँग भेट्ने अवसर पाएको थिएँ । उनी थिए क्यारेवियनका महाकवि डेरेक वाल्कट । यिनले नोवेल पुरस्कार पाउँदा म लण्डनमा थिएँ । यिनको ओमोरस महाकाव्यलाई विशेष चर्चा गर्ने गरिन्छ । यिनीसँग मेरो भेट वाशिंटन डिसीमा अवस्थित जर्ज वाशिंटन विश्वविद्यालयमा भएको थियो । यिनी त्यतिवेला सो विश्वविद्यालयका आवासिय प्राध्यापकका रुपमा निम्त्याइएका थिए । उनीसँगको छोटो भेट र छोटो तर अविस्मरणीय सम्वादको सम्झना सदा ताजा छ । मैले भेटेको पहिलो नोवेल पुरस्कार विजेता साहित्यकार यिनी नै थिए ।

अव यसपल्ट २ जना नोवेल पुरस्कार विजेतासँग एकसाथ भेट भएको थियो । भलै यी प्रतिभाहरु साहित्यका नहुन् तर नोवेल पुरस्कारले सम्मानित, विभुषित हुन्, के यो चानचुने कुरा हो ?

कार्यक्रम अर्ध औपचारिक थियो । दुवै नोवेल पुरस्कार विजेताले ध्रुव थापाका कविता र गीत पुस्तकको विमोचन गरे जुन पुस्तकको मुखपृष्ठमा सम्पादकको रुपमा मेरो नाम पनि अंकित थियो । यो मेरो अहम् पनि मान्न सकिएला, तर यथार्थमा यो मेरो विनम्र यथार्थ प्रस्तुति मात्रै हो ।

पुस्तक विमोचनपछि दुवैले आआफ्नो क्षेत्रको संक्षिप्त प्रस्तुति गर्दै आज पुस्तक विमोचन गर्न पाएकोमा प्रशन्नता जाहेर गर्दै कविलाई शुभकामना र वधाई ज्ञापन गरे ।

 

कार्यक्रमको दोश्रो चरणमा डिनरपछि रेष्टुँराको माथिल्लो तल्लामा अवस्थित योगाकुला हलमा कार्यक्रम शुरु भयो जसमा अमेरिकन कवि डेभिड सिवोर्गको कविता वाचन तथा ध्रुवजीको पुस्तकवारे विवेचना थियो । झण्डै २ घण्टा पुस्तक चचार्, कवि गोष्ठी , मन्तव्य लगायत कार्य गरेपछि कार्यक्रम समापन भयो र ध्रुवजीले मलाई हतार हतार एयरपोर्टतिर लिएर आउनु भयो ।

अस्ति दिउँसो झलमल्ल घाममा ध्रुवजी यही एयरपोर्टमा लिन आउनु भएको थियो र आज राती उहाँनै विदाईका लागि आउनु भएको छ । यस्तो लाग्छ, जीवन भनेकै स्वागत र विदाईको उपक्रम हो । जन्म स्वागत हो भने मृत्यु विदाई ।

ध्रुवजी मलाई विदा गरेर फर्किसक्नु भएको छ । म एयरपोर्टका वन्द वार र रेष्टुँराहरु हेर्दै सुरक्षा जाँच सकेर सकसकाई रहेको मुखलाइ स्टार वक्सको तात्तातो कफीले डाम्ने उपक्रममा लागें, किनभने वन्द हुन त्यही स्टोर मात्र वाँकी थियो । त्यो पनि स्टारवक्सका ती थकित कर्मचारीहरु हाम्रो अर्डरलाई अन्तिम अर्डर भन्दै वन्द गर्ने तर्खर र सुरसार गर्दै थिए ।

मध्यरातको उडान भएकाले होला, यात्रुहरुको त्यति चाप थिएन । व्याग प्रतिक्षालयको गद्दादार मेचमा राखेर स्टारवक्स कफीको चुस्की लिंदै टहलिन तथा झ्याल वाहिरको अँध्यारोमा वलेको वत्तीले उज्यालो पारेको संसारको अवलोकनमा लागें म र वेलावेलामा काँचको पर्दामा उडान समय नियाल्न थालें । तर कुन सड्को उडान त एक घण्टा पर सरिसकेछ । हरे, यो पहिल्यै थाहा पाइएको भए ध्रुवजीलाई त्यतिसारो धपेडी गर्नुपर्ने थिएन । तर हुनु भैसकेको थियो, थकथकी मान्नुको कुनै प्रयोजन थिएन ।

ढिलो भएको घण्टा वितेपछि विमानले उडानकालागि स्वागत ग¥यो र विमानभित्र प्रवेश गरें ।

हाते व्याग टाउको माथिको कम्पार्टमेण्टमा राखेपछि क्यामरा व्याग सिटमुनि घुसारेर मेम्वायर अफ अ विटनिक पुस्तक पल्टाउन थालें  । कफी विमानमा प्रवेश गर्नु अघि नै सकेर ट्र«यासविनमा खाली कप फ्याँकिसकेको थिएँ ।

पुस्तकको मुखपृष्ठमावेवास्तासँग मिलाइएको ओछ्यानमा शर्ट र हाफ पाइण्ट लगाएकी डायनको फोटो छ । यो फोटो हेर्दा लाग्छ, उनले अनेक पुरुषसँग सहवास गरेको यही ओछ्यान हो र उनी हल्का मिठो सम्झनासहित हातमा रहेको कुनै वस्तु समातेर वसेकी छिन् । मुख पृष्ठमा न्यूयोर्क टाइम्सले लेखेको टिप्पणी छापिएको छ, वीट पुस्तालाई हेर्ने यौटा दुर्लभ अवसर......यौटी महिलाको आँखाले ।

अमेरिकाको आन्तरिक उडानमा चिया, कफी, जुस र चिसा मदीरारहित पेय निशुल्क पाइन्छ, तर मादक पदार्थ भने किनेर पिउन पाइन्छ । आजको डिनरमा पेयको अवसर पाइएको थिएन र अव विमानमा सशुल्क रातो जाँड अर्थात् रेड वाइन पिउँदै डायनको  यौन चर्तिकला पढ्न थालें ।

एक होइन धेरैपल्ट मैले रेड वाइनको अर्डर गरिरहें र डायनका विभिन्न मुद्राका यौन खेलको वर्णन  पढिरहें ।

विमान पूर्वतिर हान्निएर आकाशमा रजाईं गर्दै थियो ।

म १२५ औं पेजमा पुग्दै थिएँ, उ ममाथि चढ्यो, मैले मेरा खुट्टाहरु उसका काँधमा राखें र उसको मभित्रको प्रवेश विस्फोटक थियो...

अरु हरफमा आँखा पु¥याउनुको साटो मैले आँखा चिम्लिएँ र सम्भावित थप दृश्य र चरणहरुको कल्पना गर्न थालें । विमान आफ्नै गति र उँचाइमा मग्नमस्त थियो, म पनि निद्रालु भएर विमानको झ्याल वाहिर आँखा पु¥याउन थालें ।

वाहिर निष्पट्ट अँध्यारो थियो विहानीको शुभ प्रतिक्षामा ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |