हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

'ताल-हृदयभित्रको' गहिराइ,(नरेश शाक्य)

कवयित्री सुस्मिताको ' ताल-हृदयभित्रको ' प्रेमिल भावनाहरूको काव्यात्मक अभिव्यक्तिको सँकलन हो जुन साह्रै उदात्त छ। यसमा सङ्कीर्णताको, तुच्छताको गन्ध छैन। भन्नुको तात्पर्य यसमा हिंसा, हत्या, क्रोध र वैमनस्यताजस्ता भावनाले स्थान पाएका छैनन्। कवयित्रीले आफ्ना प्रेमिल भावनाहरूलाई अनुभूतिका विभिन्न रङहरूमा रङ्गाएकी छिन्। मूर्तता, मूर्त रूप दिएकी छिन्। यी रङहरूको परिवेश व्यापक छ र छ विस्तीर्ण। विभिन्न समयका फरक फरक अनुभूतिहरूलाई मञ्चित गरेकी छिन काव्यमा। तर सबैको जरामा रहेको मूल तत्व हो प्रेम। एउटै तालभित्र एउटा सङ्ग्रहकै स्वरूप तयार पार्नु कवयित्रीको काव्यिक दक्षता हो। सिर्जनशीलताको परिचायक हो। 

तालको एउटा गहिराइ हुन्छ, निश्‍चित गहिराइ। तर हृदयको तालको गहिराइ अनिश्‍चत र असीम, जति डुब्दै गए पनि त्यसको फेद फेला पर्दैन। मानवीय संवेदना, सजीव होस् वा निर्जीव, ले काव्यिक फूलहरू मगमगाएका छन्। कवयित्रीको  हृदयको तालको सीमाना र साँध भेटिँदैन। कवयित्री प्रेम गर्छिन्- आफ्नो प्रेमीलाई, पतिलाई, आमा हुनुको अनुभूतिलाई, मातृत्वको सुखलाई, गौरवलाई, बालकहरूको निश्‍छल मुस्कानलाई, क्रीडालाई । उनको प्रेम यतिमै सीमित छैन। आफ्नो गाउँको, पहाडको हिमालको सौन्दर्यको प्रेमको वास्ना पनि छरिएको पाइन्छ। राष्‍ट्रलाई पनि उनी उत्तिकै अगाध माया गर्छिन्। उनको संवेदना गहन र घनीभूत छ। नारी जातिका शोक, आँसु,र पीडासित उनी त्यतिकै परिचित छिन् र त्यसलाई नजिकबाट अनुभूत गरेकी छिन्। देशको प्रकृतिले पनि उनको कवितामा मनग्य स्थान पाएको छ। कमजोर वर्गप्रतिको उनको संवेदनशीलता पनि कवितामा स्पष्‍ट देख्‍न पाइन्छ। तालको एउटा कवितांश म यहाँ उदघृत गर्न चहान्छु जसले नारीको दु:ख र पीडालाई झल्काउनमा मद्दत गर्दछ –

उनी
दु:खको गाग्री बोकेर
पानी भर्न गइन् पँधेरामा....

यो कवितांशले ग्रामीण जीवनको झझल्को त दिन्छै दिन्छ, ग्रामीण नारीले पाएका , भोगेका पीडाहरूलाई, उनीहरूको दिन चर्यालाई स्पष्‍ट व्याख्या गर्दछ। कवयित्रीका बिम्ब र प्रतीकहरू पनि ग्रामीण जीवनबाट नै साभार गरिएका छन्। स्वदेशी लाग्छन्, विदेशबाट आयात गरिएका होइनन्। 

कवयित्रीका प्रेमिल भावनाहरूमा स्वार्थान्धताको कुनै गन्ध छैन। अथवा यी यस्ता वासनात्मक प्रेमका उदाहरणहरू होइनन्। एकपटक उपयोग गरेपछि फ्याँकिने । उनी माया गर्छिन् सबैलाई निश्‍वार्थ, निष्‍कलंक हृदयले। त्यही माया गर्दै जानुमा, मायामा रमाउँदै जानुमा उनी आफ्नो जीवनको सार्थकता र सम्पूर्णता भेट्छिन्। राष्‍ट्रको प्रेम झल्काउने उनको कविताको अंश यस प्रकार छ –  

उसले एउटै क्षणमा
आफूभित्र बोकेको छ
हिमाल
हृदयभित्रको गाउँ.....
 

अभाव, पीडा र कष्‍टमा बाँचेका जनहरूप्रति पनि कवयित्रीको कोमल मन पग्लित हुन्छ। पग्लन्छ उनी लेख्छिन्-
 

अभावको तालमा
जाल फ्याँक्दा
आधाहरू जालको प्वालबाट
झरेछन्
त्यसैसँग पीडाका आँसुहरू पनि....
 

वात्सल्य प्रेमका कविताहरू पनि यस कविता सङ्ग्रहमा समावेश छन्। एउटा नमूना- 

मुस्कानको तालभित्र
तिम्रा
याँ उँ आँ
आवाजहरू तैरिँदा
स्वर्गको एक भाग यही खसेजस्तो लाग्छ....
 


बालबालिकाहरू देवताका अवतारहरू हुन्। उनीहरूको क्रीडामा स्वर्ग निहित हुन्छ भन्ने तथ्यलाई यस कविताले पुष्‍टि गर्दछ। प्रकृतिको दर्शन नपाएका उनका कविताहरू विरलै छन्। प्रकृतिसित उनले सामीप्यता नै गाँसेकी छिन्। एउटा उदाहरण-
 

सर्रर सर्रर हावाको तालमा
पातहरूको आवाज
पौडिरहेछन्
रूखका हाँगाहाँगामा बस्ने
चराहरूको आवाज
कीराहरूको किर किर आवाज....

कवयित्रीका लागि यस संसारका प्रत्येक वस्तु एउटा ताल। प्रत्येक अनुभूति एउटा ताल। हृदय लिएका ताल। घाम, पानी, हावा, रूख, पहाड, पीडा, हर्ष सबै सबै। आफ्नो काव्य पुरुषप्रतिको उनको भावना सुकोमल र सवल छ। आफ्नो प्रेरणा पुरुषको सानिध्यता पाउनलाई उनी जति आतुर छिन्, व्यग्र छिन्, त्यसको अभावमा उनी दुखित बन्दछिन्। 

तिम्रा सुकोमल स्पर्शले
नछोइँदा
पीडाको तालभित्र डुबेकी
रहिछु म
 
शब्द शब्दहरूमा उभिएका
प्रश्‍नहरूको जवाफले
निथ्रुक्क हुन्थेँ
 ....


उनको प्रेममा समर्पण छ। समर्पणको भाव, प्रेममै उनी आनन्दको बोध गर्छिन्। सुखको अनुभव । उनको हृदय सुखको स्रोत हो जहाँबाट असंख्य भावनाका नदी नालाहरू प्रवाहित हुन्छन्। एउटी नारी विभक्त हुन्छे असंख्य भूमिकामा, प्रेयसी, पत्‍नी, आमा, सखी र दिदी बहिनीहरूमा। त्यस्तै कवयित्री सुस्मिताको हृदयको ताल पनि अनेक स्वरूपमा विभक्त छ। आफू जन्मेको थलो वा मातृभूमिप्रति पनि उनको अनुरागको भावना तीव्र छ। यो प्रशंसनीय कुरा हो। अनेक परिवेशका अनेक अनुभूतिलाई एउटै हृदयभित्रको तालमा समेट्न सक्नु उनको काव्यगत वैशिष्‍ट्यता हो। ताल हृदयभित्रको एउटा स्वादिलो रचना हो। यति मीठो व्यञ्जना पस्केकोमा कवयित्रीलाई धन्यवाद । हृदय र ताल बीचको यति सुन्दर सन्तुलन सुस्मिताबाट सम्भव भएको छ। सुस्मिताबाटै सम्भव हुन सक्छ। हृदय‌ = ताल, ताल= हृदय ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |