हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

क्यानभासै ‘क्यानभासमा कोरिएका कथाहरु’,(धीरकुमारश्रेष्ठ)

प्रत्येकको जीवन एउटा क्यानभास हो । जीवनको आँगनीमा पहिलो पाइलो टेक्दा रित्तो आएको क्यानभास जीवन जतिजति अगाडि बढ्दै जान्छ उतिउति विभिन्न रङहरुले रङ्गिँदै जान्छ । रङ्गिँदारङ्गिँदै क्यानभासको रङ पहिल्याउनै कठिन पर्छ र मूर्त चित्र बनाउन लागिपरेको चित्रकार अमूर्त चित्र बनाउन पुग्छ । त्यस अमूर्त चित्र अवलोकन गर्ने अवलोकनकर्ताले चित्रकारले भन्दा फरक ढङ्गले चित्रको व्याख्या गरिदिन्छ र चित्रकार अवाक रहन्छ । उसले के भनेर चित्र बनाउन थालेको थियो र चित्र बनिदियो के ? ऊ त्यसबेला झन् छक्क पर्छ जति बेला अर्को कुनै दर्शकले उसको त्यही चित्रलाई अर्को कोणले व्याख्या गरिदिन्छ । यो क्रम चल्दै जान्छ र उसको एउटै चित्रप्रति पनि फरकफरक दृष्टिकोणहरु अभिव्यक्तिने क्रम जारी रहन्छ । अन्ततः ऊ हार खान्छ र पर्यवेक्षकीय पर्यवेक्षणप्रति नतमस्तक हुन बाध्य हुन्छ । उसले स्विकार्नै पर्छ, चित्र मूर्त होइन अमूर्त बन्न गयो जसलाई प्रत्येकले आआफ्नै तरिकाले बुझ्न सक्छन् । यो स्वतन्त्रता उनीहरुसँग सुरक्षित छ । यसलाई संसारको कुनै पनि कानुनले प्रतिबन्धित गर्न सक्दैन । सबै नियमहरुभन्दा यो सर्वोच्च छ । त्यही सर्वोच्च बुझाइको अमूर्त चित्र हो जीवन ।

जीवनका क्यानभासमा अनेकौँ रङहरु पोतिन्छन् र रङहरुको संयोजन बुझ्नै नसकिने क्षणमा प्रवेश गर्छ । यसैले जीवनप्रतिको बुझाइ प्रत्येकको अलगअलग हुन्छ एउटै हुँदैन । एउटै हुँदो हो त सम्भवतः जीवनका बहुविध व्याख्या र मूल्यमान्यता कायम हुँदैनथे । सरल हुन्थ्यो जसलाई सबैले सहजै बुझ्न सक्थे र कहीँकतै द्वन्द्वको गुन्जायस रहँदैनथ्यो । जीवन बाँच्ने सर्वसम्मत एउटा सूत्र हुन्थ्यो जसलाई अथ्र्याउँदै जाँदा एउटा स्पष्ट परिभाषा सबैका सामु उपस्थित हुन्थ्यो । सबैले त्यसलाई सहजै ह्दयतः स्विकार्थे । त्यसप्रति विमति हुँदैनथ्यो केवल सम्मति हुन्थ्यो । यो एउटा आदर्श अवस्था हो जुन व्यवहारतः अव्यावहारिक छ । फलतः जीवन अमूर्त चित्रझैँ छ जसलाई अथ्र्याउनेहरु प्रशस्त थिए, छन् र रहने छन् । यही छन्को पङ्क्तिमा उभिन आइपुगेकी छन् शर्मिला खड्का (दाहाल) क्यानभासमा कोरिएका कथाहरुलिएर ।

विधाविचलनका सन्दर्भमा लेखिएका भए पनि यिनलाई कथा भन्न छाडिएको छैन । विधाविचलन यसकारण भनियो कि यसमा सङ्गृहीत दुई दर्जन एक कथालाई कथाहरुभनिए पनि कथासङ्ग्रहभनिएको छैन बरू कोष्ठकमा (कथाशृङ्खला) भनिएको छ । यसरी शृङ्खलाबद्ध कथाहरु हुँदाहुँदै पनि यसलाई उपन्यास भनिएको छैन र कथाभन्न छाडिएको छैन । यसबाट एउटा मानक स्थापित हुन्छ कि कथाहरुको रास लगाउँदैमा उपन्यास हुँदैन । उपन्यास हुनका लागि कथाहरु भएरमात्र पुग्दैन । ती कथाहरुलाई जोड्ने कुनै सूक्ष्म तन्तु हुनुपर्छ जसबाट कथाको होइन उपन्यासको निर्माण हुन्छ । यस मान्यताको डिलमा उभिएर विचार्दा शर्मिलाका कथाशृङ्खलाहरु उपन्यास नभई कथा नै हुन् तर ती विशुद्ध कथा भने होइनन् । कारण अरु पनि छन् । एउटा कथासङ्ग्रहभित्र पाइने विभिन्न स्वाद र बान्कीका कथाहरु सङ्ग्रहभित्र पाइन्नन् । फरकफरक विषयवस्तुको आस्वादन गर्न चाहने आस्वादकका लागि एउटै विषयवस्तुका कथाशृङ्खलाहरु यसमा पाइन्छन् । तिनले ग्रहण गरेको एउटै विषयवस्तु हो प्रेम । प्रेमको तार प्रत्येक कथामा कुनै न कुनै तरिकाबाट एकअर्कासँग जोडिएकै छन् । यो प्रेम प्राप्तिको तहभन्दा पनि माथि समर्पणको तहसम्म उकालिएको छ । जसले समर्पणबाट लाभ उठाइरहेको छ उसलाई पनि थाहा छैन कि उसको प्राप्ति अरु कसैको त्यागको परिणाम हो । भलै यस किसिमको प्रेमिक बलिदानका लागि उसले आफ्नो सम्पूर्ण भविष्यलाई तिलाञ्जली दिन परेको किन नहोस् । भन्नका लागि त यस किसिमको तिलाञ्जलीलाई बन्धनबाट मुक्तिको प्रसङ्गमा अथ्र्याइएको छ तर मुक्तिपछिको क्षणलाई केवल भूमिगत प्रेमसमर्पणको तहमा लगेर टुङ्ग्याइएको छ । यसकारण दर्शनका दृष्टिले विचलन देखा परे पनि सम्पूर्णतः प्रेमसमर्पणका दृष्टिले कथाशृङ्खला शृङ्खलित छ ।

कथाशृङ्खला प्रस्तुतिका दृष्टिले सङ्ग्रहलाई हेर्ने हो भने समानता फेला पर्छ । यसमा एकजना कथावाचक छन् जो प्रत्येक कथाको सुरूमा देखा पर्छन् र अर्का एकजना स्रोता छन् जो कथा श्रवण गरिरहेका (?) छन् । कथावाचक प्रायः एकलव्यसमान छन् । उनी एकालापीय शैलीमा कथा भनिरहन्छन् । उनलाई यो मतलब छैन कि उनका लक्ष्यित स्रोताले कथा सुनिरहेका छन् अथवा छैनन् । यसरी कृष्णको प्रेममा एकोहोरो परेकी राधाको जस्तो स्थिति छ कथावाचिकाको । उनी दिवाकर नेपाली भन्ने पात्रलाई कहिले आफ्नो त कहिले आफूवरिपरि ठोक्किन आएका पात्रहरुको कथा भन्दै जान्छे । कथावाचकको भूमिकामा देखा परेकी अनामिका अन्ततः आफै दिवाकर नेपालीको प्रेममा समर्पित हुन्छे बत्तीमा पुतली होमिएजसरी । आफ्नो ज्वालामा परी डढेर भस्म भएकी पुतलीका बारेमा कम्तीमा बत्तीलाई त थाहा हुन्छ होला तर यहाँ दिवाकर नेपालीका लागि समर्पित बनेकी अनामिकाको समर्पणका बारेमा स्वयम् दिवाकर नेपालीलाई थाहा छैन । यसैले यस स्तरसम्मको प्रेमको तन्तुबाट कथाशृङ्खला जोडिएका छन् । सम्बोधित (दिवाकर नेपाली) र सम्बोधक (अनामिका) का बीचको प्रेमसम्बन्धले अधिकतम उचाइ छोएको प्रमाण हो कथाशृङ्खलाभित्रका कथाहरु ।

अघि नै भनियो कथाहरुभनिए पनि विधाविचलनको अवस्था देखा पर्छ भनेर । यस किसिमको नवीनतम प्रयोगलाई सिद्ध गर्न ठाउँठाउँ काव्यात्मक अभिव्यक्तिले समेत ससम्मान स्थान पाएको छ । यी काव्यांशहरुले पनि प्रेमलाई नै उचाइमा पु¥याउन टेवा प्रदान गरेका छन् । यस अतिरिक्त ठाउँठाउँ निबन्धजस्ता लाग्ने सघन भावविचारहरु उर्लिएर आएका देखिन्छन् भने कतैकतै पात्रहरुका बीचका संवादात्मक शृङ्खलाले नाटकीयताको अवस्था सिर्जना गरिदिन्छन् । यसरी फरकफरक विधाका स्वादका लागि शृङ्खला उपयुक्त साधन हुन सक्छ ।

यद्यपि विधाभञ्जन र विधामिश्रणको प्रयोग नौलो होइन तापनि एकमा तीनको उत्तरआधुनिक रुप यस शृङ्खलामा देख्न सकिन्छ । यस अतिरिक्त समसामयिकता र नवीन सोच एवम् प्रविधिको प्रयोगले कथाशृङ्खलाहरुलाई वर्तमान जगत्सँग साक्षात्कार गराउँछन् । यसले गर्दा कथाशृङ्खला वर्तमान पुस्ताका लागि ग्रहणीय बनेको छ । यी आदि तथ्य र सत्यका साथै एकोहोरो वर्णनले उत्पन्न गर्न सक्ने पाठकीय प्रभावक्षति बेहोर्न कथाशृङ्खलाकार (?) तयार हुनै पर्छ । प्रायशः शृङ्खलामा देखा पर्ने घटनावर्णन र तिनमा देखा पर्ने नाटकीय परिवर्तनहरुले पाठकलाई झस्काउन सक्छन् । लामालामा संवादले सास फेर्ने फुर्सद नपाएर कतैकतै निसासिने अवस्था सिर्जना हुन सक्छन् । यति हुँदाहुँदै पनि जीवनका क्यानभासमा कोरिएका कथाहरुलाई लिएर दोस्रोपटक नेपाली कथासंसारमा देखा परेकी कथाशृङ्खलाकार (?) को उपस्थितिलाई स्वागत गर्नै पर्छ ।

 

(विसं २०६८ मा स्वर्णिम नव साहित्य प्रकाशनद्वारा प्रकाशित पुस्तकको आवरण केके कर्माचार्यले गरेका हुन्- सं)

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |