हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

सृष्टिको निरन्तरता,(शर्मिला खडका (दाहाल))


प्रकृतिले सृष्टि गरेको जीवमध्ये मानिस मात्र यस्तो जीव हो जसले सृष्टिको निरन्तरता निर्वाधरूपमा आफ्नै ढङ्गले परिष्कृत गर्दै लगेको हुन्छ । जीवनको भोगाइमा सृष्टिको नयाँनयाँ रूपमा मानिस साक्षात्कार गर्दै जान्छ । सृष्टिको निरन्तरतामा यस्ता भोगाइहरू नभोगिने भए मानिसले आफनो जीवनलाई परिष्कृत गर्दै लानको सटटामा सृष्टि नै विनाश हुने सम्भावाना रहन्थ्यो । तर मानव जीवनको यति ठूलो निरन्तरतामा अहिले मानवले आफै परिष्कृत गर्नको बदला विकृत बनाउँदै लगेको छ । आज मानव जीवनको सृष्टिको निरन्तरतामा नै ठूलो प्रश्नचिन्ह खडा भएको छ । सृष्टिको वृक्षको रुपमा रहेको नारीजाति यस्तो एउटा जीवन हो जसले अनेकौँ अनुभूतिको भन्डार बोकेर जीवनको यात्रामा दौडिरहेको हुन्छ ।  निबन्धकार कृष्ण धरावासीले
नारीभित्र त्यस्तो के छ हजुर भनेर नारीको रूपलाई व्याख्या गर्न खोजेको केही वर्ष बिते । तर नारी जीवनको रङ्ग, आकार रूप भोगाइ कति हुन्छन् भन्ने कुरा अनादिकाल देखि नै व्याख्या गर्न खोजेपनि अव्याख्यातित रहेको छ । नारी सृष्टिका संवाहक हुन् । नारीकै कोमल हृदयले आजसम्म सृष्टिलाई निरन्तरता दिइआएको छ । म पनि सृष्टिकर्र्ता नारीको एक अश हु।

           अहिले म अस्पतालको पोस्ट ओपरेटिभ कक्षको बाहिर छु । छोरीको प्रसुति नर्मल हुन नसकेपछि डाक्टर चन्दा कार्कीले सिजरिङ्ग गरेर बच्चा निकाल्नुपर्ने सुझाव दिनुभएको थियो । अहिले उसलाई अप्रेशन थिएटरमा लागिएको छ । मलाई अचम्म लाग्छ । सृष्टिको निरन्तरता म मेरी छोरीसम्म आइपुगेकी छु । म आफूसँगै सृष्टिलाई निरन्तरता दिई यहाँसम्म ल्याइपु¥याउने मेरी आमा, मेरी हजुरआमालाई सम्झन पुग्दछु ।

करीब चौध महिना अगाडिको मेरो घरमा हुन लागको छोरीको विवाहको चहलपहलमा आफूलाई डुबाउँछु    घरभरि बिबाहको रमाइलो वातावरण छ । सबैभन्दा ठूलो चटारो मलाई परेको छ । छोरीको विवाहले  विवाहसम्म आइपुग्नुपर्ने सबै धर्म पुरा गरिसकेको छ । सबैभन्दा ठूलो धर्म छोरीले केटो मन पराएपछि र केटाले छोरीलाई मन पराएपछि विवाहरूपी गाडीले इन्जिन स्टार्ट गरेको थियो । विवाहसम्बन्धि सम्पूर्ण प्रस्ताव, मान्यता र सामाजिक रितिथितिले दुवैतिरबाट मान्यता भनौ वैधानिकता पाएपछि आत्मीयता र भावनात्मक सम्बन्धको सडकमा विवाहरूपी गाडी निर्धक्क दौडन थालेको थियो । प्रायः सबैको छोरीको विवाहमा हुने क्रियाप्रतिक्रियाले हाम्रो छोरीको विवाहमा पनि औपचारिक मान्यता पायो र यसले पूर्णविराम लियो । जन्माएर कति दुःख गरेर आफूले  हुर्काएको छोरीलाई कहिल्यै नदेखेको र नजानेको ठाउँमा पठाउन त्यति सजिलो थिएन । त्यसमा पनि आमा जो सबै किसिमको भोगाइबाट भुक्तमान भएर आएको हुन्छ उसलाई ठूलो पीडा हुन्छ । पूर्वीय समाजमा नारीले भाग्नुपर्ने सबैभन्दा चुनौतिपूर्ण र महत्वपूर्ण भोगाइ नै यही हो भन्ने मलाई लाग्छ । आफू जन्मेर , हुर्केर बढेको ठाउँलाई चटक्क माया मारेर बग्लै किसिमको वातावरणमा पुगेर त्यस वातावरणमा घुलमिल भई त्यसलाई आफनो बनाउनु कुनै चानचुने कुरा होइन । सामाजिक मानयताको कुरा, रितिथिति, चालचलन, लवाइखुवाइ र बेग्लै परिवेशको वातावरणसँगै भिजेर उनीहरूको विचारमा आफूलाई ढाल्न त्यति सजिलो हुन्न । धेरैजसो नारीहरूले यसलाई आफूले भोग्नुपर्ने जीवनको एउटा पाटो सम्झेर सम्झौतागर्न पुग्छन् तर कतिपयले आफूलाई ढाल्न नसकेको अवस्थामा घरेलुहिंसाको शिकार हुन पुगेका छन् । घर परिवारले सुरुको अवस्थामा बुझिदिएनन् भने नारीलाई गारो हुन्छ । यी सब कुरा भोगिसकेको मलाई छोरीको विषयमा चिन्ता लाग्नु स्वभाविक थियो । तर केटाको विषयमा भएका कुरा निकै गहकिला थिए । एउटा प्रतिष्ठित शिक्षण सस्थामा सहायक प्रोफेसर भई प्राविधिक विषय पढाउनु भनेको बौद्धिकताको उच्च मूल्याकन थियो । गाउँघरमा साथीभाइले उहाँको विषयमा गरेको चर्चाले उहाँको व्यक्तित्वमा थप बढी अक थपिदिएको थियो । यसरी सबै किसिमको छनौटमा जुवाइको मूल्याकंन उच्च भएको थियो । जीवनमा धेरै किसिमको भूमिका निर्वाह गरिसकेको मलाई किन हो सासूको भूमिका निकै चुनौतिले भरिएको लाग्दथ्यो । विवाहको चहलपहल चलिरहदा अरूले भन्ने यो कुरा आइरहन्थ्यो कि छोरीको घर बन्न र बिग्रनमा आमाको ठूलो भुमिका  हुन्छ । के छोरीको सासूको भूमिका चाहिँ रहन्न र मलाई सोध्न मन लाग्थ्यो । हाम्रो समाजले छोरी र छोरीको आमालाई पितृसतात्मका सोचको भारी बोकाइएको देख्दा नारीहरूले आफूले नै ठूलो क्रान्ति गर्नुपर्ने आवश्यकता मैले देखेको छु । उमेरले सासू बनिहाल्ने भइ नसकेपनि व्यवहारले पक्कै यो भूमिका सफलताका साथ निर्वाह गर्न सक्छु भन्ने लाग्दथ्यो । यसको लागि अरूहरूले आफ्नो जुवाइलाई गरेको व्यवहार सम्झन्थे ।  सबैभन्दा बढी मेरी आमाले मेरा श्रीमान्लाई गरेको व्यावहार सम्झन्थे अनि मेरी हजुरआमाले मेरो बुबालाई गरेको धमिलो सम्झनालाई उघार्थे । हुन त समयको घरातलमा  व्यवहार, विचार रहनसहन, जीवन बाँच्ने शैली ने फरक परिसकेको छ तर पनि प्रमुख कुरा उही केबुलकारमा घुमेको कारझै हाम्रो जीवनमा घुमिरहेको छ त्यो हो सृष्टिको निरन्तरता ।

छोरीको विवाहको कुरो छिनेपछि म आफ्नो विवाह भएताकाको संस्मरणमा डुब्न थालिसकेकी थिए । मेरो विवाह छोरीको जस्तो थिएन । म धेरै कुरालाई तुलनात्मक रूपले विवेचना गर्दथे । मेरो विवाह मेरो राजीखुसीमा भएको थिएन । म पढन चाहन्थे तर म मुनिका सातजना भाइवहिनी र दाजुहरूको भविष्य सोझै मेरो भविष्यसँग गाँसिएको थियो । दुई दाजुको विवाह गर्ने बेला बितिसकेको थियो । दुई आमाका दस जना सन्तानमा पालो लाग्न कसैलाई हतार भएको थियो भने कसैलाई बाध्य पारिएको थियो । परिवेशको परिवन्दले विवाह गर्नुपर्ने बाध्यता थियो मेरो । विहे अघि मैले दुलाहाको अनुहारसम्म देख्न पाएकी थिइन । त्यसबेलाको समय अहिलेको जस्तो थिएन ।  अहिले मेरी छोरी विवाहका लागि निकै उत्साहित थिई भने मोबाइलमा आउने जुवाइको फोनले रोमान्चित हुने गर्दथी । मबाट मेरी छोरीसम्म आइपुग्दा समयको धारमा धेरै परिवर्तन आइसकेको छ । छोरीलाई जुवाइले राम्रोसँग बुझ्नसक्नुहुन्छ भन्ने विश्वासको दरिलो खम्बो मनमा गाडिएपछि सम्पूर्ण तवानबाट मुक्त भएझै लाग्यो मलाई । छोरीको विवाह त्यति सजिलो हुन्न सबैको लागि । धेरै कुराको तालमेल, मौद्रिक व्यवस्था, मनोवैज्ञानिक असर, चालचलन र भावनाका कुराहरू आउँछन् । म यी सबै कुरामा सतर्क थिएँ । अझ आफन्त र इष्टामित्रको भूमिका महत्वपूर्ण हुँदोरहेछ । छोरीको बिदाइको क्षण निकै कठिन हुन्छ । यो भोग्नेलाई मात्र थाहा हुन्छ । माउले चल्लालाई आफूसँगै लिएर चारो चर्न लगाएर अरू पनि धेरै कुरा सिकाएपछि चिलले च्याप्प चेपेर लगेको जस्तो हुँदो रहेछ ।  इटहरीको गर्मीमा हातमा डो¥याउँदै आफूसँगै स्कुल लिएर जाने गर्दथे छोरीहरूलाई । छोरीको हाँसो, खुसी, भोक प्यास, दुःख बिमार सबैलाई जीवनले आत्मादेखि नै सम्झौता गरको थियो । उसको हासो मेरो खुसी हुन्थ्यो भने उसको दुख मेरो रोदन । सबै संस्मरण नोस्टाल्जिक बनेर मस्तिष्कमा घुमिरहदो रहेछ । छोरी बिदाइ गरेर घर आएपछि घर नै रित्तो भएझैँ लाग्यो । घरभरि विवाहका लागि आएका पाहुना भएपनि आफनो साथबाट छाया कतै अल्झेर झरको जस्तो भइरह्यो । छोरीको सम्झना घरभरि आफूसँगै डुलिरहरयो । छोरीले यो बेला के गर्दै होली भन्ने सम्झनाले झस्काइरहयो । जीवनको एउटा ठूलो उत्सर्ग मान्छु म छोरी बिदाइ गर्नुलाई । सायद यो उत्सर्गबाट पाइने पीडा र वेदनालाई पनि छोरी बिदाइ गर्नेहरूले जीवनको अनुभूतिसँग खेल्ने रमाइलो क्षण मानेर स्वीकार गर्नुपर्छ । किनकि यस पीडालाई सकरात्मक रूपमा लिन सकिएन भने मानिसले आफूलाई मात्र होइन भोलि छोरीलाई पनि दुखित बनाउन सक्छन् । छोरीको घर बिग्रन सक्छ । यस उत्सर्गलाई धार्मिक विचारधारा अनुसार पनि जीवनमा कमाइने ठूलो धर्मको रूपमा पनि हेर्नुपर्छ । सृष्टिको निरन्तरताका लागि दिइने ठूलो त्याग र बलिदान हो यो । आज मलाई मेरी आमाले जन्माएर हुर्काएर विहे गरी मेरा श्रीमान्को हातमा नदिएको भए मैले चारवटा सन्तान जन्माइ सृष्टिलाई निरन्तरता दिने थिइन हुलाँ । त्यस्तै मैले पनि छोरी जन्माएर हुर्काएर सृष्टिको निरन्तरताका लागि योग्य बनाई जुवाइको हातमा नसुम्पेको भए मेरी छोरी सृष्टिको संवाहक हुने थिइन । त्यसैले यस्ता कार्य मेरो मात्र होइन मजस्ता कर्म गर्न सौभाग्य पाउनेहरूको महानता हो । तर यस्तो महान कार्यलाई आज नारीप्रति हेरिने हेय दृष्टिले तुच्छ कार्य र बोझिलो कार्य बनाइदिएको छ । आज कतिपय छोरीहरू पेटमा नै भ्रुण अवस्थामा नै हत्या गरिन्छ । यो एउटा ठूलो सामाजिक विडम्बना भएको छ । आज हामी कोही छोरी चाहँदैनौं । हामी आमा, दिदीबहिनी, काकी, भाउज्यू चाहन्छौ तर छोरी भन्ने बित्तिकै स्वयम् हामी सृष्टिका संवाहक नै आखा चिम्लन्छौँ । आज भारत र चीनमा सयौँ बालिकाहरू भ्रुणमा नै हत्या गरिएको हुनाले त्यहाँ छोराहरूको विवाहको लागि ठूलो समस्या देखिइसकेको छ । छोरीको भ्रुण हत्याको दर्दनाक कहानी भारतीय सुपरस्टार अमीर खानले चलाएको रियालिटी शोको 'सत्यमेव जयत'भन्ने कार्यक्रममा दिइएको थियो । एउटी भारतीय महिलाको गर्भमा रहेको बालिकाको भ्रुण छैठो पटकसम्म उनका श्रीमान् र सासूले हत्या गरेपछि उनको अर्को पटक विद्रोह गरी छोरी जन्माइ श्रीमान्लाई डिभोर्स दिइएकी थिइन ।  यसरी यहाँ आएर भ्रुण हत्या गरिनुमा स्वयम् नारीको अवस्था नै दयनीय देखिएको छ । हामीले छोरी नचाहनुमा समाजमा छोरीप्रति गरिने व्यवहार हो । सृष्टिको यति ठूलो निरन्तरता गर्भमा तुहिएपछि भोलिको मानव जीवन के हुन्छ ? हामी कोही सोच्दैनौ भोलिको हाम्रो मानव वंशका निरन्तरताको लागि ।  आज यस विषयमा धेरै वहस भइरहेको छ र हुन पनि पर्नेछ । नत्र भोलि मानव वंश नै लोप हुने अवस्था आउँछ ।

विशेषगरी हस्पिटलमा यो दृश्य देख्न पाइन्छ जहाँ छोरा र छोरीको जन्म हुन्छ । छोरा जन्मियो भन्ने बित्तिकै श्रीमान् र आफन्तहरूको अनुहार बेग्लै हुन्छ । छोरी जन्मियो भने कुनै ठूलो युद्धमा हारेर जीवन नै बन्दकी भएझै व्यवहार गर्छन् । यतिसम्म कि मृत्युको मुखमा पुगेर जन्माएकी सुत्केरीलाई समेत वेवास्ता गर्छन् । आज समाजमा दुई छोरी पाउने आमाको हालत अत्यन्त दयनीय पीडादायी हुन्छ जुन कुरा मैले दुई छोरी जन्माउँदा भोगकी थिएँ । हुन पनि हो छोरालाई हुर्काउन जतिको सजिलो हुन्छ छोरीलाई हुन्न । छोरीलाई हुर्काउन  धेरै कठिन हुन्छ । विभिन्न किसिमको तनावबाट बुबाआमा गुज्रिनुपर्छ । छोरीलाई सुरक्षित प्रकारले हुर्काइ राम्रो संस्कार दिई श्रीमान्को घर पठाउन्जेलमा बुबाआमाले धेरै ठूलो लगानी लगाउनुपर्नेछ । यति गरेर पनि भोलि छोरीको जिन्दगी के हुने हो ? श्रीमान् र घर परिवारले के कस्ता व्यवहार गर्ने हुन् भन्ने मनको संतापले पिरोलिरहन्छ । अझ पत्रपत्रिका छापिने नारीहरूलाई मारिएको घटनाले अझ बढी तनाव दिन्छ । विशेषत नारीको असुरक्षित भविष्यको संतापले बुबाआमालाई चिन्ताको चितामा जलाइरहन्छ । यी सबै कारणले गर्दा पनि आजको अति व्यस्त र भौतिक सुविधामा रमाउन चाहने धेरैजसो बुबाआमा छोरी चाहदैनन् । त्यसैले पनि आज समाजमा नारीप्रति हेरिने दृष्टि र व्यवहारमा धेरै परिवर्तन आउनुपर्छ । यसको लागि नारीहरू स्वयम्ले क्रान्तिकारी पाइला अघि बढाउनुपर्ने आवश्यकता भएको महसुस मैले गरेकी छु ।

एकछिन पछि नर्सले भित्रबाट बोलाइन् हातमा बच्चा लिएर । उनले बच्चाको तौल र लिङ्ग बताइन् । ओहो ! मेरी नातिनी ! मेरो मुखबाट निस्कियो र अर्को सृष्टिको निरन्तरता सुरु भयो उही केवुलकारमा घुमेको कारझैँ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |