हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

लिलाम: निम्नवर्गीय जीवनको उत्कृष्‍ट उपन्यास,(रजनी ढकाल)


...नेपालमा खान पनि पाइन्न, बोल्न पनि पाइन्न । हामीलाई खान पनि पाइने, बोल्न पनि पाइने परिपाटी चाहिन्छ । (घिमिरे: २०६४) तत्कालीन पञ्चायती शासनकालको चरम अवस्थामा बाईस वर्षे युवा उमेरको जोसमा जगदीश घिमिरेको परिपक्व दिमागले बोलेको वाक्य हो यो । हो, यही खान र बोल्न नपाइने दासताका विरुद्ध युद्ध लड्ने सोचमा थिए जगदीश घिमिरे । तर साहित्यका माध्यमबाट यस्तै बलियो विचार घन्काउन उनी सफल भए लिलाम लेखेर । तर उनको लिलामको मूल पात्र बहादुरेले कुनै वर्ष पनि स्वास्नीलाई बाह्रै महिना ढिंडो पस्काउन सकेन । यो निम्नवर्गीय नेपाली समाजको यथार्थ हो । वि. सं. २०२४ सालतिर लेखिएको र वि. सं. २०२७ सालमा प्रकाशित यो उपन्यासको चर्चा नेपाली उपन्यासको इतिहासमा सामान्य रूपमा मात्रै हुनु जति दु:खलाग्दो छ, प्रगतिवादी समालोचनामा नसम्झिइनु उत्तिकै आपत्तिजनक छ ।


छैन, नून छैन, काँको सितन हुनु ? खोर्सानी मात्तै छ । ई; म त बिर्सिराकी लिलामकी बहादुरेकी स्वास्नी सेतीको संवाद हो यो । बल्लबल्ल पस्किन सकेको ढिंडोमा खोर्सानीको ढिँडी तेर्स्याउन सकेकोमा बहादुरेकी स्वास्नीको पीडाजन्य स्वाभिमान बोलेको छ । यी सीमान्तकृत जीवन बाँच्न विवश प्राणीहरू पनि आफ्नो स्वतन्त्र जीवनको सुख बाँच्न पाउँदैनन् । दु:खजिलो गरेर कमाएको एक गास पनि सन्तोषले खान सकेको छैन बहादुरेले । बहादुरेको दु:खी जीवनमा अझ बढी बेदना र दु:ख थपिएको छ, आफ्नो भएको घरबारी लिलाम हुने खबरले ।


भोलि सर्वस्व लिलाम हुनेछ । अनि यो थाल हुनेछैन । यो भात हुनेछैन । यो पिर्का हुनेछैन । कुच्चिएको कचौरा, कोखा टालेको कसौंडी, भाँच्चिएको पुन्यूँ केही पनि हुनेछैन । यो झुप्रो हुनेछैन । उसको धरतीको सुर्को हुनेछैन । केवल ऊ हुनेछ र उसलाई बाँच्ने हक हुनेछ, शान्तिप्रिय नेपाली नागरिकझैं । वरिपरि उसका जहान हुनेछन् मास्तिर मुख फर्काएर कानसम्म मुख बाएका जुरेलीका कलिला भोका बचेराहरू जस्ता बालखहरू छोराछोरीहरू र यौटी झोक्राएकी पोथी उसकी जहान । घिमिरेको आफ्नै खाले विशिष्‍ट भाषाले उपन्यासका पङ्‌क्ति पङ्‍‌क्तिमा बग्दै जान्छ पाठक । सम्पन्न घर परिवारमा हुर्केका घिमिरेले नेपाली जीवनको यस्तो निम्नवर्गीय पात्रको मनस्थितिको केस्रा केस्रा केलाउँदै गाउँले जीवनको सिङ्गो बिम्ब उपन्यासमा उतार्न सक्नु उनमा भएको विशिष्‍ट लेखकीय गुण नै प्रमुख कारण हो । समीक्षक नारायणबहादुर सिंहले भनेझैं घिमिरेले गाउँघरलाई साह्रै नजिकबाट हेरेका छन् । बहादुरे सँग त जीवनको अधिकांश समय बिताएका छन् ।


आफूले र आफ्ना बाबुले समेत नखाएको ऋणको भारी बोक्नु परेको छ बहादुरेलाई । उसका बाबुले मर्ने बेलामा नभनेको पनि होइन
–“रिन धन क्यै पनि छैन नानी... राम्ररी गरेर खाएस् । तर बाबु मरेको दुई वर्षपछि मात्रै आफू ऋणी भएको कुरो बहादुरेले थाहा पाउँछ । अनि उसले घोसेमुन्टो लगाएर ऋण स्वीकार्नु पर्छ । उसको बाबुले पाँच वर्षको मालपोत तिरेको हुँदैन । यही कुरालाई मुद्दा गर्दा गर्दा आखिर उसको हार हुन्छ । अनि अड्डाले तोकेअनुसार भोलि उसको लिलाम हुने भएको छ ।


आफ्नो सर्वस्व गुम्ने भएपछि बहादुरेका मनमा उत्पन्न विभिन्न तरङ्ग र तर्कना तथा उसका अनौठा क्रियाकलापमा सम्पूर्ण उपन्यासको कथानक बुनिएको छ । भोलि लिलाम भएपछि ऊ कहाँ जाने ? के खाने ? खाने बस्ने कुराको त केही ठेगान छैन छैन कोशी तरेर जाँदा माझीलाई तिर्ने पैसो पनि छैन ऊसँग । पाँच जनाको परिवारलाई धान्ने कुनै उपाय नभएको निर्दो बहादुरे त्यही रात तामाकोशीमा हामफालेर मर्न खोज्छ तर उसकी काखकी छोरीको च्यार्रले उसलाई रोक्छ । ऊभित्रको मानवीय मायाले सोच्छ, उसकी महिली र साँहिंली छोरीको के हालत होला ? सेतीले के गर्ली ? जति दायित्वबोध गरे पनि आर्थिक समस्याको खाडलमा जाकिएको बहादुरे केही गरे पनि उम्किन सक्दैन । यहाँनेर बहादुरेको स्थितिले बसाइँको धने बस्नेतलाई पनि सम्झाउँछ ।


भोलि लिलाम हुने भएको छ । यही कुराले रन्थनिएको छ बहादुरे । बारम्बार लिलाम शब्दले उसलाई नराम्ररी लडाउँछ । जति सम्झिन्छ, उति उसको मनमा हुन्डरी मच्चाउँछ । यही पीरले उसलाई हनहनी ज्वरो निकाल्छ । रातभरि उसका मनमा विभिन्न तर्कनाहरू ज्वारभाटा सरह आइरहन्छन् र उसको मनको धैर्यताको डिल भत्काउँदै भत्काउँदै लैजान्छन् । मनका विभिन्न तर्कना, स्मृति र आक्रोशमा मुछिंदा मुछिंदै ऊ घरको कुनामा थन्क्याइराखेको लठ्ठी समाउन पुग्छ । खुकुरीमा साँध लगाउन पुग्छ ।


भोलिपल्टको उज्यालोले उसलाई झन् पीडा दिन्छ । ऊ सेती र छोरीहरूलाई जङ्गलमा दाउरापात गर्न पठाउँछ । अनि छिमेकी हवल्दार्नी भाउजूकोमा गएर सक्तो रक्सी पिउँदै मात्तिन्छ । लिलाम गर्ने टोली घर आउने प्रतीक्षामा रहेको बहादुरेमा अनौठो आक्रोशको उन्माद भरिन्छ । घङारूको लौरोको वजनबाट ऊ विचित्र सन्तुष्‍टि प्राप्त गर्दै हुन्छ । उसले मार हान्ने खुकुरी पनि ठीक ठाउँमा राखेको हुन्छ । तर उसलाई आज बन्दुकको चाहना बढ्दै गएको छ । बाबुले जोडेको बन्दुक पनि भात खानको लागि बेच्नु परेको सम्झिन्छ । आफैंमा पछुताउँदै ऊ
मान्छे काटेको गौंडोतिर लाग्छ । जङ्गल पठाएका स्वास्नी र छोरीहरूलाई सम्झिंदै ऊ मातेको शरीर लिएर लर्खराउँदै अगाडि बढ्छ ।


यही मूल कथानकमा बुनिएको लिलाम उपन्यास पम्फीको जीवनको उपकथानकले अझ रोचक बनेको छ । बिजुले दमाई र उसकी छोरी पम्फीको कथाले गाउँघरका शोषक, फटाहा र यौनपिपासुको चरित्रलाई छर्लङ्ग पारेको छ । मङ्गलध्वज र धनप्रसादको प्रतिद्वन्द्वितामा पिसिएका घुन हुन् बिजुले र उसकी छोरी पम्फी । कुमारी पम्फी गर्भवती भएपछि मङ्गलध्वज र धनप्रसादको दुश्मनी चर्किन्छ । तर पम्फीलाई एउटा निर्दोष गरिबको साथ लगाएर गाउँ कटाएपछि बिजुले उनीहरूको स्वार्थको गोटी बन्न पुगेको तीतो यथार्थ स्पष्‍ट हुन्छ ।


बहादुरेकी ठूली छोरी पोइल गइसकेकी छ । जेठो छोरो चाहिं भारत र चीनको लडाईँमा मारिएको छ । बालखैमा बिदेशिएको जेठो छोरोको
वीरगतिलाई अदना बहादुरेले कुनै तक्मा हो भनेर दङ्ग परेको थियो । चिठी पढ्नेले पछि मात्रै त्यसको अर्थ बुझाएपछि ऊ छाँगाबाट खसेझैं भएको थियो । मस्त तरुनी भएकी माहिली छोरीको बिहा गरिदिन सकेको छैन । ऊ सोच्छ, माइली पनि पोइल गइसक्नु पर्ने। तर माहिली न पोइल जान्छे न उसले चाहेअनुसार उसको बिहे गरिदिन सक्छ बहादुरे । सेतीसँग ठाकठुक पर्दा बहादुरेको अविभावकीय दायित्व त यसरी बोल्छ, बढेकी चेली भन्दैमा कोशीमा बैता लाइदिनु पनि त हुँदैन त्यसै । तर आफ्नो आर्थिक कठिनाइले निचोरेको उसको मनले छोरी आफैं पोइल जाओस् भन्ने नै चाहिरहन्छ । बहादुरेको दायित्वबोधभन्दा उसको गरिबीको पहाड धेरै गुना अग्लो छ । बिपन्नताको तुषारोमा उसका जीवनका सम्पूर्ण सपनाहरू कहिल्यै अङ्कुराउन सक्दैनन् ।  


पुसको चिसो दिनमा न बहादुरेको पेटमा तातो माड लागेको छ न आङमा लुगा ! एक धर्को लगौंटीले धानेको छ उसको इज्जत । भरपेट खान नपाएर सारङ्गी झैं भएको छ उसको पेट अनि अलि अघिल्तिर झुक्न थालेको छ उसको शरीर । जीउमा लगाएको फाटेको ज्वारीकोटले जाडो नथेगेपछि ऊ आफ्नो नाङ्गो र कालो कत्ला बसेको फुटेको जीउ हेर्दै मुङलानको होटलमा काम गर्ने आफ्नो साथी मानेको हिंउँजस्तो सेतो कमेज, पेन्ट र फेटा सम्झिन्छ । तर उसलाई जडौरीले कति पो धान्छ र ?
जडौरी पनि त एक दिन फाटिहाल्छ नि बरू आफ्नै छाला कहिल्यै फाट्दैन, फाटे पनि फेरि पलाइहाल्छ । गरिबीले थिलोथिलो पारेको जीवनको सङ्घर्षमा बहादुरेले गर्नुपरेको सम्झौता हो यो ।


बिग्रिएका जिन्दगीका पाना च्यातेर फेरि सुकिलो पानावाल जिन्दगी बिताउन खोज्ने प्रत्येक असफल व्यक्तिको पङ्‌क्तिमा उभिएको बहादुरेको जीवनको सपना भन्नु नै एक पेट खानु र एक झुम्रो लाउनु हो । उसले आफ्ना पुर्खाले झैं ज्याला, मजदुरी र खेती गरी जीवन निर्वाह गर्न चाह्‍यो तर ऋण र साहूको पञ्जाबाट कहिल्यै मुक्त हुन सकेन । हो, उसको सम्पत्तीको नाउँमा सात तेहेरको झुप्रो छ । पुर्खाले दिएको चिनो तीन मुरी माटो खेत छ अनि दुई हलको मेलो घरबारी छ । तर भोलि यी सबै चिजको लिलाम हुँदैछ ।


चेतनप्रवाह शैलीमा लेखिएको यस उपन्यासको घटनाक्रम जति झिनो छ यसको मूल पात्र बहादुरेको मनस्थितिको विश्‍लेषण उत्तिकै विशाल र सशक्त छ । बहादुरेको जीवनको नाजुक स्थितिले पाठकलाई बारम्बार उसको स्थिति र ऊप्रति सहानुभूति जागृत गराउँछ । बहादुरेको दु:खमा पाठकलाई सहभनुभूति गराउन सक्नु नै लेखकको सफलता देखिन्छ ।
कोशी भेगको पहाडी जीवनको सामाजिक यथार्थता र घरबारी लिलाममा परेको अकिञ्चन परिवारको उद्वेजित मानसिक यथार्थ संचयन जीवित हुन दिन सक्नु नै उहाँ (लेखक) को सफलता भएको छ । (राई: २०३१)


...आजको उपन्यासमा, आजको साहित्यमा जनसाधारणले बाँच्ने सङ्घर्षमा बगाएको पसिना गन्हाउनुपर्छ र त्यसको स्वागत गरिनुपर्छ । (घिमिरे: २०३४) भन्ने मान्यता राख्‍ने घिमिरेले यस उपन्यासमा पहाडी जीवनमा बाँच्ने गरेका थुप्रै बहादुरेहरूका कथा र व्यथालाई उधिनेका छन् । वास्तवमा दलित, जनजाति, महिलासँग गाँसिएका मुक्तिका नयाँ प्रश्‍नहरू, सामाजिक न्यायका तर्कहरू, वर्गीय समानताको राजनीतिक आन्दोलन आदि विषयलाई समेट्नु नै अबको उपन्यासलेखनको वैचारिक एवम् कलात्मक चुनौती हो । ...अमेरिकी उपन्यासकार अलेजो कार्पेन्तियरले भने झैं एउटा कलाकारको रूपमा उसको दायित्व तबमात्र पूरा हुन्छ, जब ऊ आफ्नो देशका जनताको जीवनको सार्वभौमिक विशेषतालाई चिन्छ ।(ढकाल: २०६१) यस मानेमा घिमिरेको लिलाम उपन्यास खरो उत्रिएको छ ।


लिलामले मूलत: नेपाली समाजको जिउँदो अन्तविरोध र तस्बीरलाई विश्‍वासनीय ढङ्गले उतारेको छ । उपन्यासकार जगदीशले नेपाली समाजको गतिशील यथार्थलाई युगबोधको अन्तर्दृष्‍टिले टिप्नुभएको छ । ...निश्‍चय नै लिलाम नेपालीहरूको साँचो कथा हो र इतिहासबोधको जीवन्त गाथा । (ढकाल: २०६५) कसरी र कत्तिको निर्ममतापूर्वक गरिबहरू सताइन्छन् भन्ने कुराको चित्रण यो उपन्यासमा पाइन्छ । (प्रधान: २०५२)  


बसाइँभन्दा लिलाम क्रान्तिकारी छ, बढी यथार्थ पनि । ...प्रगतिवादलाई नै आधार मान्ने अन्य लेखकको तुलनामा खगेन्द्र सङ्ग्रौलालाई जगदीशले सहजै उछिनेका छन् भने पारिजात र डी.पी. अधिकारीसँग उनी पाखुरा सुर्केर उभिएका छन् ।... (बन्धु: २०३५) विषयवस्तु, चरित्रचित्रण तथा भाषाशैली जुन कोणले हेरे पनि लिलाम उपन्यासको प्रगतिवादी पक्ष सशक्त छ । नेपाली कथा, नेपाली व्यथा, नेपाली समाज, नेपाली परिवेश र नेपाली ग्रामीण पात्रहरूको दु:खपूर्ण जीवनको जीवन्त प्रस्तुति हो लिलाम । समाजका निम्नवर्गीय पात्रप्रति सहानुभूति प्रकट गर्दै वर्गीय समानताका लागि शङ्खघोष गर्नु प्रगतिवादको मूल चुरो हो भने यो उपन्यास पनि निम्नवर्गीय जीवनको उच्चतम रचना हो । यस दृष्‍टिकोणबाट यो उपन्यासको अध्यनन र विश्‍लेषण हुनु अत्यन्त जरूरी छ ।    

 

 

सन्दर्भ पुस्तक तथा लेखहरू :

 

· घिमिरे, जगदीश: अन्तर्मनको यात्रा, जगदीश घिमिरे प्रतिष्‍ठान, मन्थली, रामेछाप, नेपाल, २०६४ ।

· राई, इन्द्रबहादुर: नेपाली उपन्यासका आधारहरू, नेपाली साहित्य परिषद्, दार्जिलिङ, २०३१ ।

· घिमिरे, जगदीश: केही नेपाली उपन्यासहरू र युगबोध, रचना, दुई महिने साहित्य प्रकाशन, बैशाख-जेठ, वि.सं. २०३४ ।

· ढकाल, नारायण: नेपाली उपन्यासको बाटो, मूल्याङ्कन, कार्तिक, २०६१ ।

· ढकाल, नारायण: लिलाम: इतिहासबोधको जीवन्त दस्तावेज, लिलाम, जगदीश घिमिरे प्रतिष्‍ठान, मन्थली, रामेछाप, नेपाल, दो.सं. २०६५ ।

· बन्धु, खेम कोइराला: लिलाम, अभिव्यक्ति, पूर्णाङ्क १८, फागुन २०३५ ।

· प्रधान कृष्णचन्द्र सिंह: नेपाली उपन्यासका आधारहरू, ते.सं., ललितपुर: साझा प्रकाशन, २०५२ ।

· घिमिरे, जगदीश : लिलाम, जगदीश घिमिरे प्रतिष्‍ठान, मन्थली, रामेछाप, नेपाल, दो. सं. २०६५ ।

 

Comments

Rajani Dhakal

मैले मेरो समालोचनाको प्रतिक्रिया हेरें खुशी लाग्यो । उहाँलाई मैले गर्नसक्ने सहयोग गर्न म तयार छु । तर उहाँले के सहयोग माग्नुभएको हो अलि स्पष्ट भएन ।

Chandi prasad Subedi

आदरणिय समलोचकमा मेरो नमस्कार छ । उसो त म पनि भर्खर मास्टरको थेसिस गर्दै छु उपन्यासकार जगदिश घिमिरेको
बारेमा युनिकोडमा टाईप गर्ने बनी बसेको छैन तसर्थ म हिमाल बि मा लीलाम को बारेमा बस्तुगत अध्ययन गरेको छु साथै 
सबिती को पनि र एसको कसरी राख्ने मलाई सहयोग गर्न सक्नुहुन्छ । तपाईंको लेख राम्रो छ तेसमा पनि औपन्यासिक 
उपकरण र भाव लाई समेटेमा अती राम्रो हुने थियो । 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |