हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गालिबको चिहानमाथि श्रद्धानत उभिएर,(सुवास खनाल)

मलाई सपनाजस्तो सुन्दर यथार्थ र सत्यजस्तो सुन्दर सपना सर्वाधिक प्रिय लाग्छ । यस्तै यस्तै कल्पनामा रम्दै रहनु मेरो दैनन्दिन पनि हो । यति नै पूर्ण छ ? यो म जान्दिन । म यतिखेर भावातिरेक आनन्दित छु – गालिबको चिहानमाथि फक्रिरहेको सुन्दर फूलको परिदृश्य निहार्दै । यो कविता सङ्ग्रह हो,नामाङ्कित छ –गालिबको चिहान र अरू कविता । फेरि मलाई फूलका पत्रहरूझैँ यो सुन्दर पनि लागिरहेछ ।

प्रकाश सायमी कविताको अर्को अर्थ पनि बाँच्दैरहेछन् । यो उनको विशिष्टिकरणको अर्को पहिचान हो ।

कहीँ मैले नै लेखेँ – एक सफल नाटककार,फिल्मकार,कवि,कथाकार,निबन्धकार,गीतकार,समीक्षक आदि । एक शव्द अलराउन्डर । म उनको ईष्र्यालाग्दो स्मरण क्षमतासँग एकदमै प्रभावित छु । उनी एउटा लोभलाग्दो बौद्धिक व्यक्तित्व हुन् । उनको बारेमा बढि नलेखौँ ,प्रकाश प्रकाश हुन् .....,यत्ति । समीर जोशीले यही पङ्क्तिलाई जोड दिएर प्रकाश सायमीको कविता मन पराउँदै सायमीलाई गरेको टिप्पणी कविता सङ्ग्रहमा पनि समावेश गरिएको छ ।

पहाड कहिलेकाहीँ
हेमानको पहाडभन्दा एक्लो हुन्छ
उसका समस्या पहाड नै भए पनि ऊ तराई झर्न मान्दैन
त्यसैले ऊ अझै पहाडकै बाटो चढ्छ                     
                                                     पृ.२९,पहाडको बाटो

यो कविता उनकै आवाजमा उपेन्द्र सिंहको सुमधुर पियानो सङ्गीतमा पनि सुन्ने अवसर प्राप्त भयो र निकै लामो समयसम्म यसले मनमा झङ्कार दिइरह्यो । कविता अध्ययनपश्चात फेरि अर्को यसको एउटा मीठो ह्याङ्ओभर ममा जीवित छ ।

पछिल्लो समय केही अङ्ग्रेजी उपन्यासहरू चितवनका उदय अधिकारी सरको हुटहुटी र आफ्नो रहरमै पढिकरहेको छु । साथमा नेपाली साहित्यमा आइरहेका पछिल्ला स्तरीय किताबहरू सँग पनि अपडेट नै छु । आख्यानका किताबहरू अलिक बढी अध्ययन गर्नाले बोझिल हुँदै पनि गइरहेको थिएँ । मनले खोजिरहेको थियो –एउटा गतिलो कविता सङ्ग्रह पढूँ र फ्रेस बनूँ ।

सायमी किताबको कभरपृष्ठमा गर्जनका साथ कविता पढिरहेका थिए । मैले खुसुक्क गोजीबाट आवश्यक रुपैयाँ निकालेँ र पसलेलाई बुझाएँ । उसले पनि मलाई कविता सङ्ग्रह बुझायो । मलाई पसल अगाडि नै खोलेर पढ्न थालूँझैँ भइरहेथ्यो तर मैले यो खालको असामान्य परिस्थितिबाट छुटकारा लिनु उचित सम्झेर घरै आएर कविता सङ्ग्रह  एक बसाइमा पढेर सकिदिएँ । मलाई कविताले तानिरह्यो भने म पनि कवितासँग उसैगरि लहसिइदिन्छु । थाहा छैन यो मेरो कमजोरी वा सबल पक्ष ।

सायमीका कविताहरू ,गीतहरू,अन्तवार्ता ,उनको कविता कार्यक्रमका समाचार र टिप्पणीहरू,साथै इमेल र फेसबुकमा आएका क्रियाप्रतिक्रिया समावेश गरिएको यो पुस्तक सुन्दर बन्न पुगेको छ । यस पुस्तकले सायमीको कविता र गीतको वजन कत्तिको छ भन्ने जानकारी सामान्य पाठकसम्मलाई पनि दिलाउन सक्छ ।

कथाकार , निबन्धकार ,संस्मरणकार र रङ्गमञ्च कलाकार समेत रहेका अमेरिकी कवि विलियम्स कार्लो विलियम्सबारे अक्टोभियो पाजले गरेको टिप्पणी –ती सबै उसका कविताकै विस्तार हुन् ,भन्ने अभिव्यक्ति सम्झिँदै डा.राजेन्द्र भण्डारी लेख्छन् प्रकाशका क्रियाकलापहरू पनि कविताकै विस्तरण हुन् । मलाई यो धेरै अर्थमा न्यायोचित लागिरहेछ ।

उनको कविता हृदयको प्रेम पनि जान्दछ र घृणापनि । कहीँ उनी विद्रोही  उभिन्छन् र कहीँ कोमल । समय जस्तो बन्दै रह्यो त्यसको सही सम्बोधन र आवश्यक प्रतिरोध समय बोध गर्ने  हैसियतका कविहरूले मात्र गर्न सक्दारहेछन् र सायमी पनि एक समयसचेत कवि हुन् । यस अर्थमा समयको सम्बोधन यिनको कविताको मूल मन्त्रझैँ बनेका छन् । लिबियाको गृहयुद्धले त्यहाँ काम गर्न पुगेका नेपाली कामदारहरूमा ठूलो समस्या ल्यायो । कोही त ट्वाइलेटको पानी खाँदै बाँच्नुपरेको दारुण यथार्थ मिडियामा आइरह्यो । यस क्रममा नेपाल सरकारले त्यहाँ रहेका नेपालीको उद्दार गर्न पनि लामो समय लगायो ।

 यही समयको हाराहारीमा सायमीले लिबियाको पीडा सम्झिँदै  सुनाएको ‘विचाराधीन’ कविता–

यो समय
केवल मेरो हृदय जान्दछ
म किन घर फर्किन चाहन्छु ?

यतिबेला
विस्तारपूर्वक भन्नुको अर्थ
अझ अस्पष्ट हुनसक्छ

यतिबेला पछिल्लो वाक्यले
अघिल्ला वाक्यसित
कुनै मेल राख्दैन

भन्ने नै हो भने
यतिबेला
एकको संवेदनाले
अर्कोसित सहानुभूति राख्दैन
म यसकारण
घर फर्किन चाहन्छु

                                                 पृ.३७ , विचाराधीन

सायमी नेपाली साहित्यमा यो युगको बलशाली हस्ताक्षर हुन् । उनी सबै क्षेत्रमा उस्तै जमेका छन् । उनका केही उल्लेख्य गीतहरू  पनि यस सङग्रहमा समावेश छन् । नेपाली गीतकारहरूको नाम लिँदा सायमी पनि एक उर्जाशील गीतकारका रुपमा देखा पर्दछन् ।

कहिले देखेँ घाम मैले कहिले देखेँ पानी
आधाआधी भिजेपछि सुक्छ जिन्दगानी
                                                 पृ.८१,कहिले देखेँ

जीवनको नियतिलाई सहज तर सघन रुपमा प्रस्तुत गर्ने सायमी एउटा गजलमा यसरी भाव प्रवाह गर्छन्–

म आपदमा तिमीसित हिँडे
म सापटमा तिमीसित हिँडे
हिँड्नेहरू कहाँ कहाँ पुगे खै
म राहतमा तिमीसित हिँडे

                                               पृ.९८,म आपदमा

मिर्जा असद् अल्लाह खाँ अर्थात् गालिब सायमीको लेखन अनुष्ठानमा कहीँकतै प्रेरकजस्तो देखा पर्दछन् र सायमी गालिबको अघिअघि ÷ पछिपछि कहीँ पुग्न चाहिरहेछन् । गालिब समयको निष्ठावान् प्रवक्ता थिए । सायमी सायद् गालिबलाई यहिँदेखि सम्झिन चाहिरहेछन् । गालिबले मृत्युको पाटोलाई सहज आँकलन गरेको एक शेर यहाँ उदृत गरिएको छ –

गालिब– ए –खस्ता के बगैर कौन से काम बन्द हैं
रोइए जार जार क्या कीजिए हाय हाय क्योँ ।

सायमीले गालिब संबद्ध जम्मा एक कवितामात्र यस सङ्ग्रहमा समावेश गरेका छन् तर सङ्ग्रहको नामकरण भने गालिबकै नामबाट शुरु गरेका छन् । यसको मतलब कहीँ न कहीँ सायमी गालिब प्रभावदेखि मुक्त छैनन् भन्ने प्रष्ट गर्छ । तर यो उनको कमजोरी भने ठहर्दैन । एकाध शुद्धाशुद्धीमा देखिने कमजोरी र कविता तथा गीतलाई फरक सङ्ग्रहमा समावेश नगरी एकै ठाउँमा प्रकाशन गर्नुको अप्ठेरोपनाबाहेक सङग्रहलाई खोट लगाउने ठाउँ खास फेला पर्दैन । यो पुस्तक नेपाली साहित्यको एक पठनीय र सङग्रहणीय पुस्तक बनेको छ ।

अन्तमा उनकै ‘गालिबको चिहान’ कविताबाट एक टुक्रा –

त्यहाँ कुनै मन्त्री भनिरहेका हुनेछन्
“...गालिब
गत शताब्दिका महान् चित्रकार !”

अनि बोल्दाबोल्दै उनका झरेका
आँसुलाई
क्यामेरामा कैद गर्न
टिभी च्यानलका लेन्सहरू
तेस्रो विश्वयुद्ध गरिरहेका हुनेछन्
तर कसैलाई थाहा हुने छैन
जहाँ त्यो गजल गाइँदैछ
जहाँ त्यो दीवान –ए–गालिब बेचिँदैछ
जहाँ त्यो स्मृतिसभा हुँदैछ
त्यही भवनको जगमा
गालिबको चिहान छ भनेर ।

                                                     पृ.१९,गालिबको चिहान

Comments

शिव प्रकाश

यो आलेखको राम्रैसँग रसस्वादन गरेँ । आहा !

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |