हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

विद्रोही लप्काहरुको बकपत्र,(कुमारी लामा)





"मेरो र कविताको नाता
न व्यङ्ग्य न वाङ्मय
हुन सक्ला बाध्यता
रहर होइन"

भन्दै कवि ध्रुवसत्य सुरुवात गर्छन् ३१ वटा कविता अटाएको उनको कविता संग्रह " बकपत्र "  बाट । यी पक्तिहरुको मर्मलाई बुझ्ने हो भने सिर्जनाको सिङ्गै कथा लेखिएको पाउँछौ । सिर्जना पक्कै पनि रहर होइन बाध्यता हो ध्रुवसत्यले स्वीकारेको सत्य जस्तै । यस संग्रहभित्र संग्रहित उनका कविताहरु बाध्यताका पोखाइहरु हुन् । उनले समाजमा भइरहेको अन्याय, अत्याचार, जातीय भेद, असमानता, क्रान्ति अनि मनभरि उम्लिरहेको विद्रोहका ज्वालाहरुलाई बाहिर नल्याइ रहनै सकेनन् । अनि त्यही बाध्यताले उनलाई घचघच्यायो ३१ वटा उत्कृष्ट कविताहरुलाई एकमष्ठ बाहिर ल्याउन ।

उनका कविताहरुमा समाजले तोकिदिएको तल्लो जातको दर्जाले दिएको पीडा र यो असमानताको अन्त्यको लागि विद्रोह छ । उनका कविताहरुमा मानवशुलव इच्छा, चाहना, प्रेम, घृणा र आशाहरुको संगालो साथै अहिलेको विषम परिस्थितिले उब्जाएको निसास्सिंदो गाह्रो साह्रो परिस्थितिको यथार्थ चित्रण पनि छ ।
" मेरो जात" शीर्षक कविताले सभ्य भनाउँदा मानिसहरु आफैले सिर्जना गरेका जातीय भेदले दिएको असीम पीडालाई छर्लङग्याउँछ-

"मेरो जात
मैले पहिरिएको पहिरन भइदिए
खोलेर कालीमा बगाइदिन्थे"

मुटुमा चसक्क घोच्ने यी भावनाहरु त्यसै पलाएका होइनन् कवि ध्रुवसत्यभित्र । उनले आफ्नो जातलाई लुगा भइदिएको भए फुकालेर फाल्न चाहेको कुराले नै प्रस्ट हुन्छ उनलाई तल्लो जात हुनु र समाजले गरेको विभेदले कति घोचेको रहेछ । जात भनेको आफ्नो पहिचान हो । जो कोही पनि आफ्नो अस्तित्व र पहिचान खोज्दै गरेको आजको संसारमा कवि आफ्नो अस्तित्वलाई नै मेटाउन चाहन्छन् । यो उनको रहर हैन बाध्यता हो । तथाकथित जात र धर्मको विभेदले उनलाई दिएको दुःख र पीडाको निकास खोजेका हुन् उनले ।

उनी अदृश्य पर्खालहरु भत्काउन चाहन्छन् रुढीबाद र परम्पराको असमानता र अन्यायको अनि उच र नीचको । उनको " बहुलाएको बुहारी" शीर्षक भएको संवादात्मक कवितामा परम्परागत मान्यता र बर्तमान जागृत सोचाइ वीचको द्वन्द छ ।

"अगाडि बढ्ने अरे
स्वस्थानी पाठ नगरेर
त्यो खै के जाति
' शिरिशको फूल'  पढ्ने अरे
खुरुक्क खर काट्न खरबारी नगएर
गोठ छाउन धुरी चढ्ने अरे"

 
यी हरफहरु मार्फत हामी सजिलै पढ्न सक्छौं कवि ध्रुवसत्यको परिवर्तनशील आजको समयको मागप्रतिको चेतना । यहाँ "बुहारी" एउटी नारी पात्रलाई उभ्याए पनि यो बिम्बले प्रत्येक पिछडिएको जाति, वर्ग, धर्म, संस्कृतिका व्यक्तिलाई प्रतिबिम्बित गर्दछ । अहिलेको अवस्थामा राज्यले, समाजले र शक्तिकेन्द्रले बेवास्ता गरेका, लत्याएका जाती वर्ग लिङ्ग धर्मका सबैजना अलि जागृत भई आफ्नो हक अधिकार र अवसरको लागि अगाडि वढिरहेको अवस्थामा अरु जाति वर्ग र लिङ्गलाई अगाडि वढेको देख्न नसक्ने निरंकुशहरुले उनीहरुलाई बहुलाएको बुहारीको संज्ञा दिनु कुन ठूलो कुरा हो र यो दैनिक घटिरहेको सत्य घटना हो जसलाई कवि ध्रुवसत्यले ज्यादै कुशलतापूर्वक आफ्नो कवितामा पोखेका छन् ।

उनी मानवताको सन्देश दिन चाहन्छन् यो निसास्सिंदो परिस्थितिबाट गुज्रिरहेका प्रत्येक दुःखी हृदयलाई । उनले प्रेमलाई नै त्यो कसिको रुपमा पाउँछन् जसले हारलाई पनि जित बनाइदिन्छ । प्रेमले हामी मानिसलाई मानिस हुनुको अर्थ बुझाई दिन्छ अनि स्वतन्त्रताको बाटोमा डो-याइदिन्छ । उनका कविताहरुमा आशा पनि छ निराशा पनि । यो विषम परिस्थितिको चित्रण गर्दै जीवन चिनी नपुगेको फिका चिया जस्तै नमीठो हुँदै गएको अवगत गराउँछन् । हामी प्रायः जसोले भोगेको अभावग्रस्त र महङ्गीको मारले थिचिएको निराशाजनक जीवनको दुरुस्तै चित्रण गर्छन् यी हरफहरुमा -

"एउटा भाडाको कोठामा
मेरा भावना भड्किरहेछन्
मेरो आदर्श अलापिरहेछन्
फिका चियाको चुस्किसँगै
चिनीको मूल्य वृद्धिसँगै"

उनीभित्र पलाइरहेका आशाका मुनाहरुलाई पनि सहजै महसुस गर्न सकिन्छ उनको कविता "भाग्य" मार्फत । यस कवितामा उनी ज्योतिष बाले भविष्यवाणी गरेको भन्दा फरक बनाउन चाहन्छन् आफ्नो भाग्य । ज्योतिषीले भनेजस्तो उनको छोरा विदेश दुःख गर्न र छोरी बम्बैको कोठीमा बेचिन होइन उच्च शिक्षा हासिल गर्न जानॆछन् भन्ने उनको भनाइले उनीभित्र उभिएको दृढताको स्तम्भ र सुखद भविष्यको आशाका लहरहरुलाई देख्न सक्छौँ ।

"बक पत्र"  कविता संग्रह कवि ध्रुवसत्यको भोगाइ खुसी पीडा विद्रोहरुपि अक्षरहरुले लेखिएका पत्रहरु हुन् । यी पत्रहरु मानवीय आशा, निराशा, भावना, प्रेम र असन्तुष्टि भन्दा पर पटक्कै छैनन् । अझ यी पत्रहरुमा कोमल हृदयको कोमल स्पन्दन भन्दा पनि भेदभावले प्वालै प्वाल बनाइदिएको मुटुबाट परिवर्तन र क्रान्तिका लागि निस्किएका विद्रोही लप्काहरु बेसी छन् ।

                              


 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |