हालसालैका लेखहरु : लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ ) दशैँ ,(सुशील शाह)

माओवादी द्वन्द र युरोपेली उद्दण्डले सनसनीपूर्ण डायास्पोरिक उपन्यास ‘पथिक,(दीपकज्योति पौडेल)


नेपाली उपन्यास  बिधामा नितान्त नयाँ बान्की र नौलो कथावस्तु सहित डायास्पोरा नेपाली साहित्यबाट 'पथिक प्रवासन' ले आफ्नो उपस्थिति जनाएको छ।  उच्च शिक्षा अध्ययनका लागि वर्षेनी हजारौं नेपाली युवा पश्चिमी मुलुकहरुमा विदेशिन्छन । विदेश मोहनी र सपना बोकेका यी युवाको यात्रा सजिलो र सीधा रेखामा हिंड्दैन । अमेरिका, अष्ट्रेलिया र युरोप जस्ता पश्चिमी संस्कृतिका देशमा पुगेका नेपालीहरुले भोगेका कथा, तिनको नियती र मनोदशालाई केन्द्र बिन्दुमा राखेर बुनिएको यात्रा उपन्यास हो- पथिक प्रवासन। पुस्तकमा माओवादी द्वन्द उत्कर्षमा पुगेको बेलाको नेपाल र वर्तमान युरोपेली समाजको मजाको चित्रण छ । नायक पथिकको नेपालदेखि सात समुद्रपारिको रोमाञ्चकारी आरोह अवरोहलाई चाखलाग्दो यात्रात्मक शैलीमा लेखिएको छ । लेखक पंचम अधिकारी पुराना पत्रकार हुन । विगत एक दशकदेखि बेल्जियममा बस्छन् । नेपालका सर्वाधिक प्रतिष्ठित संचार संस्थाहरुमा रहेर काम गरेका उनले आफ्नो लेखकिय सकसकीलाई एक कुशल पत्रकारले झैं उपन्यासका पटाक्षेपहरु एकपछि अर्को चैतन्य रुपमा खोल्दै साहित्यिक रुप दिएका छन् । उनले मौलिक र प्रष्ट दिशानिर्देश गर्नसक्ने पुस्तकको प्रकाशन गरेर आफ्नो गहन ज्ञान र योग्यता प्रमाणित गरेका छन् । आफ्नो अनुभव, अध्ययन र युरोपेली समाजप्रतिको अन्तरदृष्टिलाई समेटेर उनले पथिक प्रवासनका रूपमा जुन आख्यानको रचना गरे, त्यो विषयवस्तुको मौलिकता र पृष्ठभूमिको दृष्टिले उच्चतम छ । पथिक अध्ययनको सिलसिलामा युरोप पुग्छ र त्यहाँको जनजीवनको अभिन्न अंग बन्छ । 
डायास्पोरिक जीवन तेस्रो जीवन हो । तेस्रो संस्कृति । त्यहाँ दुर्इ भिन्न संस्कृतिको मेल हुन्छ । त्यस संयोगले नयाँ संस्कृति निर्माण गर्छ । ‘युरोपेली नेपाली’ यस्तै तेस्रो संस्कृति हो । यही मिश्रित संस्कृतिको मनोवृत्तिलार्इ पथिक प्रवासनमा देखाइएको छ । नेपाली डायास्पोरा साहित्यमा 'पथिक प्रवासन' युरोपबाट प्रकाशित पहिलो उपन्यास हो । दुई पृथक सांस्कृतिक पहिचानका बीचको सम्बन्धबाट उत्पन्न हुने जटिलताहरूको जाँच गर्ने प्रयत्न अधिकारीले उपन्यासमा गरेका छन् । तत्कालिन माओवादी युद्धका समयमा साधना, श्याम, अनिता जस्ता जीवन्त पात्रहरुको माध्यमबाट लेखकले राजनैतिक द्वन्दकै कारण सृजित परिस्थितिलाई भन्न ‘नहुने कथा र गाउन नमिल्ने गीत’ भनि गरेको कटाक्षले तत्कालिन समयको राजनीतिक, सामाजिक र आर्थिक परिस्थितिहरूको चित्रण गर्दछ । सामाजिक विकृतिको स्वाभाविक चित्रण गर्न प्रयोग गरिएका घटना, पात्र, विषयवस्तु, परिवेश, चरित्र चित्रण र भाषाशैलीबाट समाजलाई स्वस्थ बनाउने सन्देश सम्प्रेषण गरी उपन्यासकार उन्नतिशील समाज निर्माणमा जीवन चेतना, कला चेतना र सौन्दर्य चेतनाको प्रस्तुतिबाट अगाडि बढेका छन् । डायास्पोराबाट प्रकाशित यो उपन्यास नितान्त फरक कथाबस्तुका  कारण समकालिन नेपाली साहित्यमा विशेष कथनीय कृति बनेको छ । पथिकको शाब्दिक अर्थ हुन्छ- यात्री । यो पुस्तकमा लेखकले नायकका रुपमा 'पथिक' पात्रलाई उभ्याएका छन् ।  नायक पथिकको नाम जस्तै कर्म बन्छ, जीवन संघर्ष बन्छ । हुन त लेखक पनि लामो समय प्रवासमा नै जीवन बिताएका कारण यात्रात्मक अनुभूतिकाका रुपमा सृजित यो उपन्यास यथार्थ कहानीमा रचिएको भान पर्छ । लेखकले पहिलो पटक श्यामको मृत्यु मात्र नसुनेर आफ्नै आँखा अगाडि बिभत्स हत्या देखे, त्यहाँ उनले तत्कालिन समयको लय, गीत र रङ्ग विनाको निरस बाटो देखे, जहाँ झ्याउँकिरीका रुङरुङतीमा शोक ध्वनि मात्रै सुने । आफ्नै आमा र जन्मभूमिको काखमा आफ्नो जीवनको मूल्य नपाईने यस्तै यस्तै थुप्रै कुराको अन्तरद्वन्द्वमा लेखक समयसंग सम्झौता गर्न बाध्य छन । भयको कारण लेखक आत्तिन्छन् । मृत्युको घेराभित्र जीवन जिउने आँट पथिकसँग हुँदैन । यी जटिलता र मार्मिकतालाई शब्दले समेट्न सकिंदैन ।  एक दिन एकको अकाल मृत्यु सही नसक्नुको हुन्छ भने यस्तै मृत्यु हरेक दिन भैरहँदा कस्तो हुन्छ ?  यो प्रत्येकका मनमा सम्झिने कुरा नै हो ।  यस्तैमा तर्सिएको पथिक भन्छ- "धन्यवाद भगवान्- हजुरको परम अनुकम्पाले- मेरो बचावट भयो। तिनले मलाई पनि घिसार्न खोजेका थिए ।"  त्यही सन्दर्भमा पथिकका पिता भन्छन्- "फौजीको पालो सकिए पछि, माओवादी पुन:सलबलाउँछन् । तिनका आँखा पनि तैं जस्ता बलियाबाँगा तन्नेरी माथि गाडिन्छ।" यी दुई यथार्थपरक वाक्यले नेपाली द्वन्दकालिन अवस्थाको जुन चित्र उतारेको छ त्यसले पाठकको मन सिधै छुन्छ । यसरी लेखक पाठकको मनभित्र पस्न सफल भएका छन। उपन्यासको नायक पथिकको सगरमाथा क्षेत्रमा अवस्थित खुमजुङ् गाँउमा साधनासँगको रोमान्टिक भेटबाट शुरु भएको  कथाबस्तु उसको युरोपेली गर्लफ्रेण्ड टिनासंगको संम्वन्धले रंगीन बन्छ । साधनासंगको वार्तालाप यौनवादी चेतनाको रुपमा आए जस्तो देखिए पनि उपन्यासको अन्त सम्ममा शाश्वत प्रेमको रुपमा प्रकट भएको छ । अर्कोतर्फ, टिनासंगको संम्वन्धमा दुई संस्कृतिबीचको जटिलताको कारण त्यो शाश्वत माया भेटिंदैन । त्यो केवल क्षणिक मानसिकताको उपज जस्तो लाग्छ ।
 अर्को तर्फ माओबादी द्वन्दले आक्रान्त नेपाली समाजमा नजानेको सुखद भविष्यको खोजीमा पथिकलाई विदेश मोहनीले युरोप पुर्‍याउँछ । जर्मनीबाट बेल्जियम हुँदै स्पेन र अफ्रिकाको केन्या र कंगोसम्मको यात्रा जति रोमाञ्चकारी छ त्यति नै भत्केका र बिग्रेका बाटाहरुमा हण्डर र ठक्कर पनि खेप्नु पर्छ । कथा भित्रका अन्य उपकथा, घटना, उप-घटना र पात्रको विविध चरित्र रमाईलो पाराले लिपिबद्व गरिएको छ । साधारण भाषा तर बिम्ब र प्रतिकको प्रशस्त प्रयोगले पुस्तकलाई असाधारण रुपमा पठनीय बनाएको छ । परदेशी नेपालीको तथ्य-कथाको रुपमा आएको यो यथार्थवादी उपन्यासमा कुनै सीप, ज्ञान, कला र भाषाको अभावमा परदेशी भूमिमा सहनु परेका कतिपय कुराहरुलाई परिस्थितिको उपजको रुपमा लेखकले प्रस्तुत गरेका छन् । प्रवासमा प्रतिकूल वातावरणका कारण नेपालीहरू समय र परिस्थितिसंग सम्झौंता गर्न बाध्य छन् । यस्तो परिस्थितिमा जीवनलार्इ लेखक यसरी बुझ्छन्- ‘जीवन थुप्रै ढोकाहरूको कोठा जस्तो रहेछ । कहिले ती सबै ढोका खुलेका हुन्छन् त कहिले सबै ढोका बन्द । म यस्तै सोच्छु । उनी भन्छन्- 'घरमा छिर्नु छ । ढोकामा ताल्चा छ । झ्याल खुल्ला छन् । कहाँबाट जान्छौ ?’ यसरी प्रयोग गरिएका बिम्बहरूले कृतिलाई गहन बनाएको छ ।  ‘जीवन खराब देखिंदैन । पैसा कमाएकै छु । के यो गरिबी र पैसा-कमाउने-धूनको 'साइड ईफेक्ट' हो ?’ प्रवासमा रहेका पहिलो पुस्ताका नेपालीको जीवनवृत्तिलार्इ उपन्यासकार यसरी छर्लङ्ग पार्छन् । उनले प्रवासका दोस्रो पुस्ताका कतियप नेपालीहरूमा देखिएको समस्यालार्इ पनि छरपस्ट पारेका छन् ।  सिद्धार्थको छोरा दीपक राना गाँजा जस्तो लागू पदार्थको दुर्व्यसेवनमा फँस्छ । जसले विदेशमा हुने बित्तिकै छोराछोरीले प्रगति गर्छन् भन्ने भ्रमलार्इ चिरेको छ । प्रवासमा अविभावक सचेत नहुने हो भने पहिचान गुम्ने चिन्ता रहन्छ । आप्रवासन बसाईंका उत्पिडनमा आशा र जीवनको अन्वेषण भित्र राष्ट्रप्रेम र भातृप्रेमले ओतप्रोत पार्इन्छ । अर्कोतर्फ, मानव अधिकारको उच्च मुल्याङ्कन रहेको समाजमा अझै पनि "प्रवेश निषेधको असली कारण तिम्रो कालो कपाल हो" जस्ता भोगाइको पीडा सहनुपर्छ । स्वदेशमा जातिपातिवाद र प्रवासमा रंङ्गभेद नीतिप्रति आक्रोश ब्यक्त गर्दै लेखक एक अन्वेषणकर्ताको रुपमा पनि प्रस्तुत भएका छन् । घटनाक्रममा पश्चिमी संस्कृतिको भिन्नतामाथि व्यङ्ग गर्दै उनी आत्मबोध गर्छन्- "रङ्ग निरपेक्ष हुन्छ । त्यसलाई अर्थ्याउने मन वा चित्त हो । गार्डको आँखाको झिनो भेदले समानताको चेतनामा फराकिलो दूरी राखेको छ ।" यस्ता वाक्यांशले ब्यङ्ग्य गरे पनि दुई देश बीचको संस्कृति साटासाट र राम्रा कुराको अनुकरण प्रस्तुतिमा  उपन्यास सफल छ । डायास्पोरा साहित्यको समावेशी सौन्दर्यमा केन्द्रीत संवेदनाले कथालाई मार्मिक बनाएको छ । उपन्यासमा सुदिप थापा नामको पात्र चित्रणका माध्यमबाट लील?बहादुर क्षेत्रीको बसाईं उपन्यासमा चित्रण गरिएको रिकुटे पात्र जस्तै खलनायकको प्रस्तुति भएको छ । मनोरोगी सुदिपको भूमिकाले उपन्यासको पछिल्लो भागलार्इ सनसनीपूर्ण बनाएको छ ।
 उत्तर आधुनिकतावादी धारको यो उपन्यासमा घटनाको सर्सती वर्णनमा आत्म चिन्तनको संश्लेषण पाइन्छ । विचारको आग्रह भन्दा कलावादी गतिशिलता देखिन्छ । उत्तर आधुनिकवादमा देखिने पाठक र लेखक वा कृतिकार औपन्यासिक रुपमा कथानक बन्ने प्रवृत्ति यहाँ पाइन्छ । हाल हामीले मानेका वास्तविकताहरु वर्तमान सोचका परिणति मात्र हुन् । समय र स्थान बदलिंदै जाँदा ती परिवर्तित हुँदै जान सक्छन् भन्ने आलोकन उत्तर आधुनिकतामा पाइन्छ ।उत्तर आधुनिकवादका हस्ती फ्रेन्च दार्शनिक जँ फ्रँस्वा ल्योतारले सिकाउने वा उपदेश दिने भन्दा विभिन्न सामाजिक रीति र काइदाहरुबाट नयाँ कुरा पहिल्याउने वा चाल पाउने र त्यसको ब्याख्या गर्ने अभिष्टका रुपमा सिर्जनालाई लिएका छन् । उनले आख्यानलाई भाषिक खेल र कथा भित्रको कथा मानेका छन । जुन क्रमिक रुपमा विकसीत हुन्छ । उपन्यासकार पंचम अधिकारी पनि त्यही मान्यताका लेखकका रुपमा देखिएका छन् । अन्य पुस्तकहरुको तुलनामा यो नितान्त फरक छ, यसको विषयवस्तु र लेखनशैली दुबै कारणले । कथा बग्ने गति र संघर्ष मिसिएको रोमाञ्चपूर्ण घटनाक्रमले पाठकलाई हरेक क्षण तरङिगत बनाउँछ । भावानाको उथलपुथल, आसक्ती, रोमान्स, रोमाञ्च, विषाद र सन्दिग्धताले अर्को पानामा के होला भन्ने खुल्दुली पाठकमा रहिरहन्छ । अंग्रेजीका अलवा फ्रेन्च लगायतका युरोपेली भाषाहरुले मौलिक शब्दहरुको प्रयोगले पुस्तकलाई बढी पठनीय र आनन्ददायी बनाएको छ । जसरी आञ्चलिक उपन्यासमा स्थानिय लोक भाषाको प्रयोग गरिन्छ, त्यसरी नै डायास्पोरिक उपन्यासमा विदेशी भाषाको प्रयोग स्वाभाविक हुन्छ । बाह्य संरचना, शब्द सङ्ख्या र प्रयुक्त टुक्काले कथ्य र लेख्य भाषिक अभिव्यक्तिलाई कसिलो  तुल्याउनका साथै अर्थलाई प्रस्ट र चमत्कारी तुल्याएको छ । सामान्य, सरल, बोलीचालीका स्थानीय कथ्य भाषालाई प्रयोग गरेर उनी पात्रका भावनामा संगै बग्न सफल भएका छन् ।यो कथा नेपाली युवा र पाठकका लागि युरोप यात्राको सहयोगी र यूरोपेली संस्कृतिको अन्वेषण र खोजीको मार्ग पनि हो । सांसारिक मोजमस्ति र आत्मिक-सुखको सन्तुलन पत्ता लगाउने जीवन यात्राका रुपमा यस उपन्यासलाई लिन सकिन्छ । तसर्थ, यो पुस्तकमा डुब्दा आत्मज्ञान मौलाउँदछ । "न भाषा, न संस्कृति, न समाज । सधैंको नियास्रो- काम, काम, काम । आठ दश वर्षमा जो कमाइयो, मेरो हैसियतमा काफी छ । कति कमाएर खुशी हुने ? एउटा हदमा चित्त बुझाउनुपर्छ । मलाई त आफ्नै ठाउँ रमाइलो लाग्छ" जस्ता वाक्यांशले साँच्चिकै सबैलाई सोचनिय बनाएको छ । मानिस जहाँ रहे पनि आफ्नो भाषा र संस्कृतिबाट टाढा रहन र देश भन्दा बाहिर जस्तोसुकै अवस्थामा रहेपनि खुशी हुन सक्दैन भन्ने कुराको उठानले कर्ण शाक्यले श्रीमतिलाई नेपाल बोलाए जस्तै कथालाई वास्तविक धरातलमा मार्मिक बनाएको छ।उपन्यासमा प्रयोग गरिएका बिम्व, प्रतिबिम्व र प्रतिकहरु कतिपय साधारण पाठकले नबुझ्न पनि सक्छन् । भाषाको प्रयोगमा अघिल्ला परिच्छेदहरु सलल बगेका छन् भने पछिल्ला परिच्छेदहरुमा कथाको संवेदनाशिलताका कारण हुन सक्छ फरकपन भेटिन्छ। स्वाभाविक जस्तो लाग्ने कथावस्तुलाई घटनाक्रमका आधारमा रचिएका र त्यसमा थाहा नपाइँदो पाराले गहिरो प्रभाव दिने संवादहरूले ज्यान भरेका छन् । सरल र सरस भाषाको प्रयोगले पाठकलाई गम्भीर चिन्तन मननमा पुर्‍याउनु लेखक अधिकारीको विशेषता मान्न सकिन्छ । परिवेश, प्रकृति आदिको चित्रात्मक, रसात्मक वर्णन र लालित्यमय प्रस्तुतिले वर्णानात्मक शैलीमा सजिएको  पथिक प्रवासन उत्कृष्ट यात्रात्मक कृति बनेको छ ।समकालिन डायास्पोरिक नेपाली साहित्यमा उपन्यासको क्षेत्र संख्यात्मक दृष्टिले विपन्न छ  । साहित्यकारहरु जहाँ जे जसरी रहे पनि नेपाली भाषा साहित्यकै बिषयमा संघर्ष गर्दछन् जसले साहित्यलाई नै फाईदा हुन्छ । जीवन र जगतलाई नजिकैबाट देखेका साहित्यकारहरु जीवन र जगतकै शाश्वत कुराहरु नजिक हुन्छन् र तिनैलाई विषय बस्तु बनाएर कथा बुन्दछन् । दुःख, पीडा, मर्म र भावानासंगै रमाउने साहित्यकारहरु यीनै विषयमा कलम चलाएर सु-संस्कृत समाज निर्माणमा मार्गनिर्देशित गर्दछन् । द्वन्दबाट पीडित भएर परदेश जाने होडमा विदेशिएको पथिक पात्र अन्ततः स्वदेश नै फर्कन्छ । "उप्रान्त"मा उल्लेख गरिएको "उज्यालो भविष्य घर"ले उपन्यासलार्इ सकरात्मक बैठान मात्र गरेको छैन प्रवासी नेपालीको लागि शिक्षाका रुपमा लिंदा अनुपयुक्त नहोला । विश्व भू-मण्डलीकरणको यो समयमा प्रवासी जीवनको आरोह अवरोहको विषयमा यथार्थवादी उपन्यास दिन सकेकोमा पंचम अधिकारीलाई धन्यवाद दिनै पर्छ । डायास्पोराबाट लेखिएका यस्ता कृति नेपाली साहित्यका गौरव हुन् ।अवसरको खोजीमा होस् वा बाध्यताको कारण होस् जे जसरी विदेशिए पनि समग्र प्रवासी नेपालीहरुको प्रवासी पिडालाई समेटेर तयार पारिएको यो कृति थुप्रै समालोचकहरुको लागि अध्ययन र अनुसन्धानको विषय हुने नै छ। यस कृतिलाई चामल, कनिका र भूस जस्तै एक एक गरेर केलाईनेछ । मुखपृष्ठ पथिकको र पुश्चपृष्ठ स्रष्टाको आकर्षक तस्बीरले शोभायमान भएको छ । १७६ पृष्ठको पुस्तकमा 'उप्रान्त' कथासहित ३१ परिच्छेद रहेका छन् । जय प्रकाशन काठमाण्डौद्वारा प्रकाशित पुस्तकको मूल्य नेपालमा १५० रुपैयाँ र विदेशमा ५ यूरो राखिएको छ । पाटन बुक सप पाटनढोका वितरक रहेको छ ।
समग्रमा, पंचम अधिकारीको पथिक प्रवासन नेपाली युवा पाठकहरुको लागि सनसनीपूर्ण खुराक हुनेछ। यस वर्षका पठनीय उपन्यासहरुको गिन्तीमा यसको गणना औंलामा हुनेछ । डायास्पोरिक साहित्यको एक कोशेढुंगाको रुपमा आएको यो कृति नेपाली साहित्यमा अत्यन्त चर्चायोग्य रहनेछ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |