हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

कविडाँडा र साहित्यिक भव्यता,(धनराज गिरी)

धन भएरमात्र केही हुँदैन, मन पनि चाहिन्छ भन्ने कुरा मानवसमाजमा पटकपटक प्रमाणित भएको छ । कात्रोमा गोजी हुन्न भन्ने कुरा सबै धनीहरुलाई थाहा छ, तर व्यवहारमा उतार्ने धनीहरु कति छन् ? पूर्वी चितवनमा जीवा लामिछानेसरह आर्थिक हैसियत हुने धनाढ्यहरुको कमी छैन तर अर्को जीवा प्रकट हुने लक्षण देखिन्न । मान्छे साँच्ची नै मान्छे हो भने, यदि ऊ समर्थ छ भने इज्जतका लागि पैसा खर्च गर्दछ । पैसाका लागि इज्जत खर्च गर्ने मूर्खहरु समाजमा प्रशस्त भेटिन्छन् । दुनियाँ यस्तै छ । बुद्धिमान्लाई सम्झाउनु पर्दैन, मूर्खलाई जति सम्झाए पनि हुँदैन । जसले अरुलाई सम्मान गर्दछ उसले समाजमा स्वतः सम्मान पाउँछ । सुन्तलाको बोट रोपेपछि खुर्सानी फल्दैन । समाजलाई दिन जान्ने पात्र कहिल्यै कंगाल हुँदैन । ३४ वर्षअघि नवलपरासी जिल्लाको पहाडी भेग रूचाङ गाविसको एउटा प्राथमिक विद्यालयमा शिक्षक थिएँ म । पराजुली परिवारमा बस्दथें, मीतज्यूको घरमा । मितिनी आमा सारै दयावती हुनुहुन्थ्यो । भौतिकताको कमी थिएन । त्यो पहाडमा पनि दुई सय मुरी धान भकारीमा आउँथ्यो । घरमा कहिल्यै पाहुना नटुट्ने । कथम् पाहुना आएनन् भने आमाले मलाई एउटा पाहुना खोज्न लगाउनु हुन्थ्यो र भन्नुहुन्थ्यो– “मास्टरबाबु पाहुना हामी गृहस्थीका लागि लक्षिन हुन्छन् । दिएर, खुवाएर, कन्जुश नभएर धन सकिँदैन; सह आउँछ । म त्यतिखेर कुरा बुझ्दैन थिएँ । स्थायी पाहुना म स्वयम् थिएँ । आज आएर मितिनी आमाको जीवन–दर्शन छर्लङ्ग भइरहेछ ।
 आज जेठ ६ गते । हामी चितवनका स्रष्टाहरुको चाड । यस्तो दिनलाई म चाडपर्व नै ठान्दछु । ‘कविडाँडा’ हाम्रो साहित्यिक धाम । दाजु एलबी क्षेत्रीको मन, यो साहित्यिक लगानी । पोखराबाट दाजु सरुभक्त आउने कुरा छ । काठमाडौंबाट मित्र श्रीओम रोदन, प्यारे मधुपर्क । हामी सबै जम्मा हुने छौं । एलबी दादाको बारेमा म केही पनि बोल्दिनँ । उहाँको कर्मयोग बोलिरहेछ । फगत् साथ खोज्नुहुन्छ दाजु, दिलदार क्षेत्री, यत्ति भनौं । अर्का क्षेत्री रामबाबु घिमिरे, आजका दुलाहा ! अहा, रामबाबु सर दुलाहा ! हामी जन्ती । यी क्षेत्रीका बारेमा, रामलीलाका बारेमा, मैले अझै लेख्नै सकेको छैन । म लेख्ने प्रयासमा छु । लेख्न नपर्ने कुराहरु धेरै लेखें, समयले लेखायो । अब लेख्न पर्ने कुराहरु लेख्ने मुडमा छु । ‘निबन्ध शिरोमणि’, हाम्रा लागि, चितवनका लागि, रामबाबु घिमिरे आफ्नो निबन्धमा कसरी प्रकट हुन्छन्, उनको शैली कस्तो छ र के लेख्छन्– हामी सबैलाई थाहा छ । आफैँलाई उदाङ्ग पारिदिन्छन् । असत्य लेख्दैनन् । पढ्दापढ्दै अझै पढिरहन पाए हुन्थ्यो भन्ने बनाउँछन् आफ्ना पाठकहरुलाई । उनको लेखनशक्तिका बारेमा समीक्षा गर्ने काम मेरो होइन– विद्यावारिधि गौतम, मीतवा पोखरेल र भविष्यवक्ता मित्र कपिलज्यूलाई म अपिल गर्दछु । पूर्णप्रसाद अधिकारीलाई बिर्सिएँ भने यो लेख पूर्ण नहुन सक्छ । छोरी ज्ञानु अधिकारी पनि मैदानमा उत्रिएकी छिन् । म उनीभित्र अपार सम्भावना देखिरहेको छु । उनै ‘अनर्गल प्रलाप’लाई आज हामी माया गर्दैछौं । पुरस्कार र सम्मान दया होइन, माया हो । लेखक योग्य भएमा उसले जिउँदो छँदै यो सम्मान पाउनुपर्दछ । शतवार्षिकी, सालिक, स्मृतिग्रन्थ, शोकसभा फगत् नाटक हुन् । बाउ र आमाको नाममा गरिने श्राद्ध पनि निरर्थक हो, चारतारेहरुले बीपी. लाई र लालबहादुरहरुले पीएललाई स्मरण गरेझैँ । मरेपछि अध्याय समाप्त ! जे हुनुपर्छ त्यो हाताहाती हुनुपर्दछ । उधारो कारोबारमा कमसेकम, मलाई कत्ति पनि विश्वास छैन । आजै भन्दछु– धनराज स्मृति दिवस आवश्यक छैन । म मरेपछि मलाई कसैले पनि सम्झनु पर्दैन । तपाईंहरुले संझिएको कुरा म थाहा पाउँदिनँ, निरर्थक भएन त !
 एउटा रोचक प्रसङ्ग– मित्र रोदनले रामबाबु सर पढ्नुभएको रहेनछ । रामबाबु सरका निबन्धहरु पढेपछि उहाँले मलाई झन्डै भौतिक कार्बाही गरेको । भन्नुहुन्छ– ‘गिरीजी, यो के गरेको ? यस्तो प्रतिभालाई चितवनमै लुकाएर राख्ने ! यति राम्री निबन्ध सुन्दरीलाई बुर्का लगाइदिने ! मसँग भेट गराउनु पर्दैन ? चितवनले आफ्नै हिरालाई चिनेन हौ । छिट्टै रामबाबु सरको एउटा निबन्ध पठाइदिनुहोस्, मधुपर्क बेचैन छ ।’ के उत्तर दिऊँ ? मैले रामबाबु सरका लागि केही गर्नै सकिनँ । रोदनजीसित क्षमा मागें । विकल्प थिएन । संप्रेषण पञ्च वर्षीय योजनाभित्र प¥यो । संविधान र संप्रेषण एकैचोटि । बिचरा रामबाबु ! खैर, आज म अलि बेग्लै कुरा गर्छु । रामबाबु सर अब जाग्नुहुन्छ । फ्रिजभित्र बस्दाबस्दा दिक्क मान्नुभएको छ । जे होस्, काठमाडौंमा घिमिरे कान्छाका बारेमा चर्चा भएछ । आखिर घिमिरे हुन्, चर्चा भइहाल्छ । माधव बूढा, जगदीश दादालाई सम्झिन पुगें ।
 ‘कविडाँडा’ आज ‘कविडाँडा’ जस्तै भएको छ । वर्षमा आठ– दस पटक कविडाँडा पुग्न पाइएन भने कस्तो–कस्तो लाग्छ । कविडाँडा माइती र मेरो मन नियास्रिएकी चेली भएको छ । म पुग्छु, कैलाशनगर । सन्यासी र कैलाशको बीचमा पौराणिक नाता छ । त्यसमाथि एलबी दादाको दैवी–स्नेह ! कसरी नजाऊँ ? रामबाबु सर, हार्दिक बधाई ! वर्षमा कमसेकम एक पटक यसरी नै बधाई दिन पाइयोस् । चितवन मदन पुरस्कारबाट धेरै टाढा रहेको छ । यो ‘आइस—ब्रेक’ पनि सरबाटै भइदिए कति राम्रो हुने थियो ! प्रज्ञामा, आजसम्म चितवनले प्रवेश पाएको रहेन छ । विनोदीज्यू, नन्दनज्यू र सरमध्ये कोही त्यहाँ पुगे हामी कति रमाउँथ्यौं ! रामबाबु सर, जीवन गतिशील भएमा मात्र गन्तव्यसम्म पुग्छ कि ? अरु के भनौं ? आज म सारै खुसी छु । यो लेख लेख्दै गर्दा म डराएको पनि छु । आजभन्दा ठीक चार दिनअघि अर्थात् जेठ २ गते मैले यो लेख लेखेको हुँ । ६ वर्षअघि ठीक त्यही दिन म टुहुरो भएको हुँ । जेठ २ गते र ३ गते आए पछि म झस्किन्छु । मदन भण्डारी र जीवराज आश्रितलाई पनि सम्झिन पुग्दछु । मन न हो, जता पनि पुग्छ । मन हो पीर मान्छ । मन आनन्दितमात्र हुन जान्दैन । जीवनमा फूलैफूलमात्र कहाँ हुन्छ र ?
 एलबी दाजु, हृदयले ‘लेख्’ भन्यो लेखें । दाजुले चाल्ने हरेक सत्कर्ममा यो भाइको साथ रहने छ, यो पक्का भयो । रोदनज्यू, अब तपार्ईंले रामबाबु सरलाई चिन्नुभयो । अब मोतीराम बन्ने जिम्मा तपाईंको, रामायण तपाईंकै जिम्मा । यति भन्दैमा म मौन रहने छैन । यो मेरो स्वभावै होइन । साहित्यिक मित्रहरु, हामी सबै पुरस्कृत भएको दिन हो आज । आउनुहोस्, यो चाडलाई अझ रमाइलो पारौं । म गजल गाउने छु, गीत गाउने छु, झुम्ने छु, रामबाबु सरको खस्रा गाला चुम्ने छु ।
 एलबी दाजु नै अध्यक्ष रहेको संस्था ‘कविडाँडा साहित्य समाज’ले एक हप्तापछि नै अर्को कार्यक्रम पनि भव्यतापूर्वक सम्पन्न गर्दैछ । कवि एवं निबन्धकार भाइ सङ्गीत आयामको ‘शरणार्थी उज्यालो’ कवितासङ्ग्रहको विमोचन कार्यक्रमको आयोजक हो ‘कविडाँडा साहित्य समाज’ । कवि आयाम कविडाँडाकै हुन्, उनलाई यस अवसरमा कसरी भुल्नु ! जेठ १४ गते शनिबार भरतपुर नगरपालिकाको सभाहलमा हुने यो कविताकृति विमोचन कार्यक्रमलाई पनि आजजसरी नै हामी सबै मिलेर सफल बनाउनु छ । यस्ता एकभन्दा एक कार्यक्रम गरेर नाम र पहिचान कायम गर्ने कविडाँडा धन्य छ आफैँमा । एलबी दाजु र अरु सहकर्मीहरुलाई पनि आज हुने कार्यक्रमको पूर्वसन्ध्यामा बधाई दिन मैले कन्जुस्याइँ गरेको छैन र गर्दिनँ पनि ।
 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |