हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गालिबको चिहानमाथिको एउटा फूल,(राजेन्द्र भण्डारी)

 प्रकाश सायमीको विहेमा म एक्लो जन्ती थिएँ |
 समूहवाचक सँज्ञा थिएन 'जन्ती' शब्द त्यो दिन |
 
त्यसै दिनदेखि उनीसित मेरो आत्मियताको डोरी गाँसिएको हो |

 

फेरि धेरैचोटि उनी गान्तोक आए । म काठमाण्डौँ गएँ । यो क्रम रहिरह्यो । हामी सँगै एकपल्ट श्री सत्य साईबाबाको आश्रम प्रशान्ति निलयममा दशदिने सेवा कार्यमा पनि जुटयौँ । मेरो स्मृतिमा एउटा राम्रो पृष्ठ ओगटेर बसेको छ त्यो सम्झना । हामी आखिर सम्झना मात्रै त रहेछौँ । बोर्खेसको कविता सम्झिन्छु:

           

            We are our memory

            We are that chimerical museum of shifting shapes,

            that pile of broken mirrors

 

काठमाण्डौको भैँसेपाटीस्थित उनको घरमा म दुई तिनचोटि गईसकेको छु । हरेक पल्ट चार पाँच दिनसम्म बसिसकेको छु । उनि शँकर लामिछानेका अनन्य भक्त । लामिछानेको निबन्ध सँग्रह 'गोधुली सँसार'को नाउँमा उनले आफ्नो गाउँको नाउँ नै राखेका छन् । उनले जति मलाई माया दिएका छन् त्यसको योग्यता ममा छ कि छैन त्यो बेग्लै कुरा हो । तर धेरैलाई धेरै माया गर्न सक्ने क्षमता उनमा छ । आफुलाई लुकाउने अनि अरुको प्रशँसामा उदार बन्ने त उनको बानी नै हो । धेरै धेरै अवतार र चिन्हारीहरुमा छरपष्ट व्यक्तित्वको नाउँ हो प्रकाश सायमी । साहित्य, सँगीत, कला, रेडियो, टेलिभिजन, सभा सँगोष्ठि वा यस्तै कुनै न कुनै क्षेत्रको अनुसन्धान र उन्नयनको हुटहुटी बोकेर हिँडिरहेका हुन्छन् उनि । उनिभित्रको सृजनधर्मिताले उनलाई मुम्बई, काठमाण्डौ, पोखरा, चितवन धेरैतिर डुलायो । जुनसुकै क्षेत्रमा हात हालेपनि उनि मूलतः कवि हुन् । यहाँनेर म कथाकार, निबन्धकार, सँस्मरणकार र रँगमँच कलाकार समेत बन्न पुगेका अमेरिकी कवि विलियम्स कार्लो विलियम्सबारे अक्टाभियो पाजले ती सबै उसका कविताकै विस्तार हुन् भनेको सम्झन्छु । प्रकाशका क्रियाकलापहरुपनि मलाई उनका कविताकै विस्तारण जस्तो लाग्छ । उनले मञ्चमा अभिनय गरे । उद्घोषणा र कार्यक्रम निस्पादन गरे । निबन्ध र सँस्मरणमा कवितामय भएर तरंगिए । वास्तवमा प्रकाशले चाहेको थोक हो कवितात्मक न्याय र न्यायपूर्ण कविता ।

प्रकाशका कविता अनुभूतिका व्याख्या होइनन् । ति अनुभूति नै हुन् । यसैले उनको बाटो जटिल छैन । उनी कवितामा सँग्लो पानी झैँ तरल छन्, बहावदार छन् । उनी चीजहरुबारे केही भन्दैनन्, बरु सोझै चीजहरुलाई औँल्याउँछन् । उनी आँखाले सोच्छन् र दृश्यावली निर्मित गर्छन् । उनको गद्य कविताको नजिकमा छ, कविता गद्यको धारमा छ ।

 

            तिम्रो स्वरलाई

            आज मैले

            शहरसम्म खोजेँ

            त्यो जुलुसमा हरायो

- भन्दै उनी एउटा सार्थक स्वर, लययुक्त खोजमा लागी पर्छन् । अव्यवस्था र विसँगतीहरुबीच कुनै न कुनै लय, कुनै सँगतिको आभाष, मनहरुलाई जोड्ने सेतु अथवा आस्थाको मन्दिरसम्म पुग्ने भर्याँग उनी खोजीरहन्छन् । एउटा कवितामा कतै उनी भन्छन्:

            तिम्रो सरकारमा

            मन्दिरै मन्दिरपनि छ

            तर मन्दिर पुग्ने

            एउटा पनि सिँढि छैन ।

 

प्रकाश सायमीको अर्को कविता सँग्रह 'गालिबको चिहान' निस्कन लागेको सुनेर म हर्षित छु, उत्तेजितपनि छु । नामै मीठो पुस्तकको- 'गालिबको चिहान' । चिहानै त हो यो युग । गालिबको, देवकोटाको, हार्दिकताको, कोमलताको चिहान । प्रकाशको 'ईःसलाईका काँटिहरु' लाई जस्तै सुह्रद पाठक समाजले 'गालिबको चिहान' लाईपनि खोजी खोजी पढ्नेछन् । यसले सर्वत्र स्वागत पाउने छ भन्ने अपेक्षा राखेको छु । कविलाई बधाई ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |