हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

'नृशंस पर्खालहरु' : सम्झनाको इजेलमा जीवनको क्यान्भास,(प्रकाश सायमी)



विश्वको सबभन्दा नयाँ गणतन्त्र मुलुक नेपाल घोषणा भएको दिन म एउटा नयाँ पुस्तकमा भूमिकाबद्ध छु । व्यूनो आइरिशमा जन्मेका कवि बोर्खेस् मेरा प्रिय  अति प्रिय लेखक हुन् । म उनलाई पढेपछि अरुलाई स्पर्श गर्न डराउँछु- त्यो उनको पुस्तकमा रहेको छन्द र गन्ध मर्ला भन्ने डर यथावत् रहन्छ । त्यही डरका बीचमा मैले बहिनी गीता त्रिपाठीको नव्यत्तम कृति नृशंस पर्खालहरु पढेँ ।

२०६५ जेठ १५मा पर्खाल ढलेपछि मैले त्यो नृशंस पर्खालको कथा विवृत्ति अतीतमनले दोहोर्याएर पढेँ तर समयको तस्वीरमा त्यो पर्खालको कथा- कथाजस्तो भइसक्यो ।
र म त्यही कथा पढ्दैछु- २०६३ बैशाख ७ गतेको । र त्यो कथामा नेपालको विगतका आन्दोलनको चित्र विचित्ररुपले प्रकाशमान छ । म पढ्दैछु-
'जुरुक्क उठेर
बतासले
आगोको कान फुक्यो
बतास बतासमात्रै रहेन अब
आगो आगोमात्रै रहेन अब
                    (नृशंस पर्खालहरु)
हुरी, बतास, आगोका सम्वाद नै गीताका कविताका पुँजी हुन् स्वीकारोक्ति हुन् । कवि बोर्खेस्ले कहीँ भने झैँ गीताका कविताका शक्ति-स्रोत पनि 'शब्दको ऐन्द्रिकता' हो । जीवनको केन्द्रीयशक्ति पनि त्यही हो (The central fact of my life has been the existence of words and possibility of weaving those words into poetry- Jorge Luis Borges_ .

गीताले कवितामा शब्दहरु कुँदेकी छिन्- बाँसुरीका प्वालहरु कुँदेजस्तै लयबद्ध ! झन् लयबद्ध !
गीताले कवितामा विचारहरु उनेकी छिन्-
'तस्वीरका प्रेमहरुजस्तै
भयमुक्त !
प्रदर्शनी छ अक्षरको
सार्वजनीन शक्ति छ सत्यताको ।'

कविता त सर्वत्र हुन्छ तर विषयलाई बुन्ने क्षेत्र र अधिकार कविको निजी हो र त्यो नीजता नै कविको नीति हो जसका कारण उनी ओतर (स्रष्टा/प्रभु) भनिन्छन् । यहाँ गीता त्यस किसिमको निजीपनको पहिचान राख्छिन्-
'हिजोआज
डिको नभएका हरफहरु झैँ
बिथोलिइरहन्छन् मेरा पंक्तिहरु
के यो युगमा
म सुन्न पाउँदिन फेरी
मेरो बाल्यकालजस्तै सुन्दर
मेरो जीवनको धुन एकचोटि
                    (निस्तब्ध धुनहरु)

उद्गीत कविता कवितांशको शक्ति स्मृति मात्र होइन स्मृतिको बलमा गुञ्जित यसको स्वरमा जीवनको उज्यालो र जगत्को सौम्यता छ; सहजता र सादापन नै यस्ता कविताको सार र अंश हुन पुगेका छन्- 'निस्तब्ध धुनहरु र 'नृशंस पर्खालहरु' कविका दुई फरक विचार हुन् प्रतिवेदन-निवेदन हुन् । जीवनको मायालुपन र त्यही मायालुपनमा पहिल्याएको कठोर बाटो त्यस सपनाका स्वरुप हुन् । कविता सर्वत्र छ तर त्यसमा 'कवि'को उपस्थिति अनुभौतिक होस् वा भौगर्भिक मायावी होस् वा बोधवादी । त्यो जरुरी छ त्यसैले पोल्याण्डका महाकवि ज्बीग्नीयेब हेर्वेत भन्छन्- "कविताको खाका हमेशा हावामा तैरिरहन्छ र कोही कवि त्यसलाई जमीनमा उतारेर त्यस्तो आकार दिन्छ जुन मनुष्यका लागि परिचित होस्, उसले बुझोस ।"

हेर्वेतले भने झैँ कविताको पहिलो शर्त 'सहजता' हो बुझिने कविता । त्यसैले हाम्रा महाकविले भनेका हुन्- "नलेखिएका कविता अझै सुन्दर हुन्छन् ।" त्यस्ता धेरै कविताको खोजमा गीता भ्रमणशील छिन्, परिचित छिन् । उनले बनाउने क्यान्भासमा उनकै विश्वासको इजेल प्रतिस्थापित छ र त उनी भन्छिन् सम्वादी स्वरमा-
'रगतको अभिलेखमाथि उभिएर
शहीदहरुको सपना पर्खिरहने
क्यान्भासको बलियो किनारा हो- चक्रपथ ।
                    (क्यान्भासको बलियो किनारा)
वा
'तिम्रो चोर झ्यालबाट
अलिकति चियाएर हेर त !
त्यो उज्यालो अहिले
तिम्रै ढोका ढक्ढकाइरहेछ ।
                (समानान्तर उज्यालो)

'सपना' र 'उज्यालो' यहाँ एस्सोनान्स् बन्छन्- एस्सोनान्स् जसलाई हामी कविताको सौन्दर्य बुझ्छौँ । भनिन्छ- Where have you been my long lost lover. । यस  पंक्तिमा एल ( L) ले त्यो भाव बोक्छ- constant sound has been repeated. Similarly, long, lost, lover (o) sound repeated producing assonance- The Theory of Poetry(2005,Pg 9) .

'सपना' 'उज्यालो' त्यस्तै शब्द भए हुनन् हाम्रा निम्ति । झन् ६३-६४ को आन्दोलनपछि त्यसले व्यापकता राख्छ । नगर-प्रशासन व्यक्ति-व्यष्टि समाज-धर्म कानुन-राजनीति सूचनाचक्र-समयदर्शन सबै-सबैतिर यसको भावदशा एउटै र यथता एवम् अर्थवत्ता पनि एउटै रह्यो तर यही सपना यही उज्यालो कविका निम्ति आगो हुन्- यही आगोले कैँयन् अवतारका श्रीपेच डढाए हुनन् । आगोलाई निभाउने कर्मकाण्डी करतुत धेरै फ्र्याङ्को, धेरै जियाउल हक, धेरै द'गालले नगरेका होइनन् । तर आगोलाई निभाउन खोज्दा त्यो धूवाँ बन्छ धूवाँलाई थुन्न वा लुकाउन मिल्दैन । त्यसले भित्तामा रेखी कोर्छ- त्यही रेखीको स्वरुप हो हाम्रा समकालीन कविका चिन्ताहरु ।

कवि स्रष्टा गीताका कवितामा धूवाँका ती रचना प्रस्ट र प्रख्य छन्- उनी कवितामा बोल्छिन् तर उनको बोली सामान्यजनको लोलीबाट लाभान्वित छ । उनको कविता विम्बित् छन् आमजनको आक्रोशबाट । उनका कतिपय तर विशेष कवितामा नेपाल र नेपालीको अनुहार छ औँलाको छाप-पहिचान छ ज्यूँदो-जाग्दो शहीदको जीवनदान छ । कविता सायद त्यही हो नलेखिए पनि नदेखिए पनि । १०४ वर्ष अगि चिलीमा जन्मेका कवि पाब्लो नेरुदाका अनुसर्गहरु सम्झिन्छु । भन्छन्- "मैले कवितामा हमेशा आम मान्छेको हात देखाउन चाहेँ । मैले यस्तो कविताको आश गरेँ जसमा औँलाको छाप देखियोस् । माटोको गारोका कविता जसमा पानीले गुन्गुनाउन सकोस् । रोटीको कविता जहाँ हरेकले खान सकोस् ।"

उनलाई सोधियो- "तपाईँ किन लेख्न चाहनुहुन्छ?"
उनको उत्तर थियो- "म एउटा वाणी बन्न चाहन्छु ।"

नोवेल पुरस्कार प्राप्त गरेका नेरुदा साँच्चैका विश्व नागरिक थिए- उनी कहिले राजदूत भए कहिले राष्ट्रपतिका उम्मेदवार त कहिले राजनीतिक शरणार्थी तर उनी सदैव एक 'कविता-लेखक' भनी चिनिए । उनका कविता स्पेनी भाषामा मात्र होइन विश्वका हरेक भाषाका 'वाणी' भए । यो एउटा उपहासास्पद प्रसङ्ग नै भयो- उनका कवितालाई पनि राजनीतिक लेपमा नबुझिने बनाइएको छ । उनले एकपटक दुःखवश भने- "मलाई थाह छैन मलाई बुझ्ने कोसिस पनि भइरहेको छ कि छैन ।"

समयको स्वर अस्पष्ट हुन्छ- यहाँ बुझ्ने कुरा नबुझिने बनाउने सञ्जाल  छ । कविता गर्नेहरु भित्रै पनि त्यो जालो छ । त्यो सञ्जाल  नेपाली जनस्थानमा पनि सक्रिय  छ । कविस्रष्टा गीताले १०४ वर्ष राणाशासनको छायामा टिकेको २४० वर्षको जर्जर शाहीशासन ढलेको र ढल्न अगिको पूर्वसन्ध्यामा जीवन र जगतलाई बुनेर लेखेका कविता उनका कठिन समयका शीर्षकहरु हुन् यसलाई बुझ्न गाह्रो छैन तर गीताका कठिन समयलाई दुःसाध्य बनाउने कसरत नहोस् यही कामना छ मेरो ।

गीतालाई मैले सोध्न पाएको छैन- उनी कविता किन लेख्न चाहन्छिन् तर उनले मलाई दिने उत्तर शतप्रतिशतवादी रुपमा यही हो भन्ने मेरो आत्मीय ठहर छ जहाँ उनी भन्छिन्-

'म समयको वृत्तभित्र
फैलाएर
साङ्लाहरु भर्खरै चुँडालिएका
हातहरु
चक्रव्यूहबाट बाहिरिने
कोसिस गरिरहेछु'
                (एक ऋतु)

यदि गीताको उत्तर यही हो भने गीतालाई गीताका गुरुजनलाई गीताका असङ्ख्य अनाम पाठकलाई लाख-लाख सलाम मेरो ।
समय शक्तिको स्रोत बनोस्- यो पुस्तक जसका लागि समर्पित छ; गीताको जीवन लेखन सङ्घर्ष उनको निम्ति एउटा सुन्दर किताब बनोस् । यही कामनासहित-प्रथम गणतन्त्र दिवस- २०६५
 


Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |