हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

जगदीशदाइलाई मेरो नाम थाहा भएन,(शर्मिला खड्का दाहाल)


गुरुकुलमा कवि ठाकुर बेलबासेको कविता सङ्ग्रह
'अचानक एक साँझ'को कार्यक्रम सकेर म वरिष्ठ साहित्यकार जगदीश घिमिरेज्यूसँग उहाँको गाडीमा साहित्यकार  झमक घिमिरेको घर जाँदै थिएँ ।

गुरुकुलमा चारवटा सीटमा एउटामा राष्ट्रकवि माधव घिमिरेज्यू, अर्कोमा जगदीश घिमिरेज्यू र अर्कोमा कवि द्वारिका श्रेष्ठज्यू हुनुहुन्थ्यो भने एउटा सिट खाली थियो । पुस्तक विमोचनको प्रतीक्षामा सबै साहित्यकारहरू उठेर नै गफ गर्दै थिए ।त्यो खाली सिट देखेपछि कतै सिटले नै आफ्नो अपमान भएको महसुस गर्ला कि भनेर मैले उहाँसँग बस्ने अनुमति मागेँ । उहाहरूले 'बस्नुहोस् न' भनेर भन्नुभयो । म माधव घिमिरेज्यूको छेउमा बस्न पुगेँ । म बस्न लाग्दा उहाँले सिट आफूतिर तान्दै नजिक बसाउनुभयो । उहाँले जगदीश घिमिरेज्यूलाई संकेत गर्दै भन्दैभयो- "हामी दुवै बालसाहित्यकार-बालसाहित्यकार एकै ठाउँमा बसौं हुन्न ।"

मैले- "हुन्छ" भनेँ ।

यसो त माधव घिमिरेज्यू (मबुवा भन्छु) ले मलाई देख्नेबित्तिकै हातले तानेर धेरै आशीर्वाद दिनुहुन्छ । अनि वरिपरि फोटो खिच्नेहरू छन् भने 'हाम्रो फोटो खिच' भन्नुहुन्छ । यदि अरू नै मानिसहरू छन् भने 'उहाँ राम्रो बालसाहित्यकार' भनेर परिचय गराउन थाल्न हुन्छ । उहाँको यो आशीर्वचन मेरा लागि सधैँ हौसला र प्रेरणाका प्रेरक तत्व बनेका छन् ।

म उहाँको छेउमा बसेर अब चूप लाग्न सकिनँ । मैले उहाँको स्वास्थ्यको बारेमा सोधेँ । उहाँले 'राम्रो छ' भन्न् भयो ।' मैले क्रमश गफको पोटरी खोल्न थालेँ । मैले भने- "मेरो सासू चौरानब्बे वर्ष हुनुहुन्थ्यो । मसँगै हुनुहुन्थ्यो । अहिले बित्नु भयो ।"

उहाँले भन्नुभयो- "म ब्यानब्बे वर्ष भएँ ।"

यसरी हामी बीच वार्तालापको श्रृङ्खला सुरु  भयो । मैले आफूसँगै भएको पुस्तक 'समयको क्यानभासमा' देखाएँ । जगदीश घिमिरेज्यू मन लागि नलागि हाम्रो गफ सुन्दै हुन्थ्यो । साथै प्रशंसकहरूको शुभेच्छा र अभिवादन लिन पनि व्यस्त हुनुहुन्थ्यो ।

मैले जगदीश घिमिरेज्यूलाई फोकस गरेर भने- "दाइ, यो समयको क्यानभासमा रिलेटेड भएर मेरो ठूलो पुस्तक कथोपन्यास आउँदैछ ।"

जगदीश दाइले भन्नुभयो- "कस्तो, उपन्यास र कथा मिलेको ?"

मैले 'हो' भने । जगदीश दाइले यसरी चासो लिएर बेाल्नुभएपछि म अलिक हौसिँदै कथोपन्यासको बढाइं गर्न थालेँ- "यो पुस्तकलाई मैले महाआख्यान भनेको छु । यसभित्र कथा, कविता, समालोचना निबन्ध सबै हुनेछन् ।"

मैले यसो भन्दा जगदीशदाइले खासै प्रतिक्रिया दिनु भएन । मैले पनि अलिक बढी खोकेकी जस्तो लाग्यो अनि चूप लागेँ।

यसरी वरिष्ठ व्यक्तित्वहरूसँग कुर्सी बसेर गफ गर्न पाउदा आफूलाई निकै गौरवानुभूति हुँदोरहेछ । केही समयपछि कार्यक्रम सुरु भयो ।

कार्यक्रम सकिएपछि 'झमक घिमिरेकोमा सानो कार्यक्रम छ बहिनी जानुपर्छ है ।' भनेर गोविन्ददाजुले भनिरहनु भएको थियो । गोविन्ददाजुलाई कार्यक्रम सुरु हुनअघि एक झलक देखेको थिएँ त्यसपछि देखिनँ । उहाँहरु गइसक्नु भएको मैले अनुमान लगाएँ । जगदीशदाइसँग झमक घिमिरेकोमा जाने कुराअगाडि भएकोले म निर्धक्क कार्यक्रमभरि बसेँ किनभने जगदीशदाइ मञ्चमा हुनुहुन्थ्यो । कार्यक्रम सकिएपछि उहाँसँग जाउला भन्ने अघि गरेको निर्ण्रय मलाई बल्छी बनाएर अल्झाइ रहेको थियो ।

कार्यक्रम सकियो । म केहीसमयअघि निस्किएर खाजा खाएर जान तयार भएँ । कार्यक्रम सकिएपछि जगदीशदाइ बाहिर निस्किनु भयो । तुलसीदाइसँग भेट भयो । मैले उहाँलाई 'झमक घिमिरेकोमा जानुहुन्छ दाइ ?' भनेर सोधेँ उहाँले 'अहँ, मलाई निम्तो छैन भन्नुभयो ।'

एकछिन पछि जगदीशदाइ मनिर आउनुभयो । मैले भनेँ- "दाइ, जाने हो?" 

उहाँले भन्नुभयो- "तपाईले झमककोमा देख्नु भएको छ ?"  मैले 'अँह देखेको छैन' भनेँ । उहाँले फेरि भन्नभयो - "देख्नु भएको छैन भने चढनुहोस् गाडीमा सँगै जाऔ ।"

जगदीशदाइले यसो भन्नुहुदा मलाई कताकता नरमाइलो लाग्यो । आखिर मैले देखेको भएपनि 'जाऔँ सँगै' भन्दा के हुन्थ्यो ?

अहिले मेरो मन राजनीति विचारधारा नमिलेर दुइ गुटमा बाँडिएझैँ बाँडियो ।  विपक्षी मनले भन्यो- "देखिस् शर्मिला, तँ 'अर्न्तमनको यात्रा' पढेर खूब फ्यान हुन्थिस् नि जगदीश घिमिरेको, जगदिश घिमिरेलाई आदर्श व्यक्तिको रूपमा मान्थिस् नि देखिस् । आखिर तँ पनि त सानो तिनो साहित्यकारको परिचय पाएको मानिस हो ठाउँ देखे पनि नदेखे पनि एकै ठाउँ जाने सँगै जाऔँ भनेको भए के हुन्थ्यो ?"

पक्ष मनले भन्यो- "नकरा जो पायो त्यही अपरिचित मानिसलाई जाऔ कसले भन्छ र ?- फेरि जगदीशदाइसँग मेरो खासै हिमचिम पनि छैन । यस्ता झिनामसिना कुराले मेरो दिमाग खराब नगर ।"

विपक्षी मनले भन्यो- "झिना मसिना कुरा भन्छेस् ! यही झिनामसिना कुरामा जीवनको गाडी चलिरहेको हुन्छ तै भन्थिस्, मेरो लघुकथा 'झिझाको कथा'मा जीवनको ठूलो दर्शन लुकेको छ भनेर कसरी खोक्थिस् । यत्रो ठूलो जीवनलाई झिझाले मूढो सल्काएझैँ सानातिना कुरा भनौ झिनामसिना कुराले सल्काइरहन्छ भनेर । खोई तेरो दर्शनले हावा खायो त ?"

फेरि पक्ष मनले भन्यो- "नकरा, तँ पनि ठाउँ वेठाउँ यस्ता कुरा ल्याएर टाउको दुखाउँछेस् । जगदीशदाईले यति भएपनि आफ्नो साथमा मलाई ल्याउनु भएको छ । नत्र म कति दुःख पाउँथे । यस्तो सुविधा जनक गाडीमा सजिलो पुग्न पाएको छु । चुप लाग् ।"

गाडीमा कुनै हिन्दी गजल लागेको थियो । विपक्षी मनले भन्यो - "के यस्तो अल्छी लाग्दो गजल लगाएको होला ।"

जगदीशदाइले विपक्ष मनको कुरा बुझेझैँ  ड्राइभरदाइलाई गजल बन्द गर्न लगाउनु भयो । मलाई अचम्म लाग्यो ।

जगदीशदाईले खाना गाडीमा ल्याउनु भएको रहेछ । खाना खाइसकेर मसँग बोल्न मूडमा देखेर होला मेरा पक्ष र विपक्ष मनले केही समयको युद्ध विरामको घोषणा गरे ।

जगदीशदाइ महादेवथान कहाँबाट जाने भनेर ड्राइभरदाइसँग सल्लाह गर्न थाल्नु भयो । उहाँहरू सल्लाह गर्न थाल्नु भएको थाहा पाएपछि मैले झसङ्ग भएर सोधेँ- "हामी झमक घिमिरेको घर जाने हो दाइ ?"

जगदीशदाइले भन्नुभयो- "हो । तपाईँले देख्नु भएको छ ?'

मैले भनेँ - "अँ देखेको छु ।"

गोविन्ददाइले 'झमक घिमिरेको घरमा जानुपर्छ' भन्ने कुराले अहिले म झल्याँस्स भएँ । अघि त मैले जगदीशदाइलाई ढाटेको जस्तो भयो । मैले जगदीशदाइलाई स्पष्टीकरण दिँदै भने- "मैले त कतै होटलमा कार्यक्रम होला भन्ने सोचेको थिएँ दाइ । कस्तो भुसुक्क बिर्सेछु "

जगदीशदाइले भन्नुभयो-"राम्रै भयो अब हामीलाई बताउनुहोस् न कताबाट जाने भनेर ।"

मलाई अहिले निकै लाज लागेर आयो । मेरा दुइ मन फेरि युद्धको घोषणा गरेर मनो युद्धका लागि तम्तयार भए ।

पक्ष मनले भन्यो- "देखिस् म कति झुट भएँ । मैले अघि ढाटेजस्तो भयो । मानिसका मनस्थिति सधै एउटै कहाँ हुन्छ र ?

पक्ष मनले भन्यो- "यो ढाटेको हो र? बिर्सेछि के लाग्छ । मान्छेले बिर्सन पाउदैन र? यदि नबिर्सेको भए जगदीश दाईले नल्याउन सक्नुहुन्थ्यो अनि जगदीश दाइलाई ठाउँ नचिनेर आपत पर्न सक्थ्यो । एक प्रकारले राम्रै पनि त भयो ।"

पक्ष मनले भन्यो- "भो भो छोड दे । जगदीशदाइले कुन मुडमा भन्नुभएको थियो अब त फिलिङ्ग गर्नुभयो होला । नकरा अब म जगदीशदाइसँग केही समय कुरा गर्छु ।

जगदीशदाइले मलाई त्यति चासो दिनुहुन्न किनभने उहाँलाई मेरो बारेमा त्यति थाहा छैन । फेरि आफै विरामी र प्रशंसकहरूको त्यत्रो धुइरोमा मजस्ता कति हुन्छन् कति ? कतिलाई ठम्याउनु ? मैले मेरो पुस्तक 'समयको क्यानभासमा' उहाँलाई धेरै अघि दिएको थिएँ । तर उहाँले यस बारेमा केही भन्नुभएको थिएन ।

सायद पढनु भएको थिएन होला नत्र पढनुहुने जति धेरैले राम्रो प्रतिक्रिया दिनुभएको थियो

त्यस्तै फोनबाट, एसएमएसबाट, भेट हुँदा आफूले पढन थालेपछि छोडन नै मन नलागेको प्रतिक्रिया दिनुभएको थियो । सायद जगदीशदाइले पनि प्रेरणास्वरुप केही वाक्य भन्नुहुन्थ्यो होला । तर उहाँ यी सब कुराबाट अनविज्ञ हुनुहन्थ्यो । र्सवप्रथम त उहाँले मेरो पुस्तक नै पढनुभएको थिएन ।

मैले दाइको ध्यान आफूतिर आकर्षगर्दै संवादको ढिकुटी फोडेँ - "दाइको सबै पुस्तक मैले पढेको छु । मलाई निकै मनपर्छ ।"

यस अभिव्यक्तिले जगदीशदाइ अलिक पगर्नु भएछ क्यार र मेरो बारेमा जानकारी लिन थाल्नु भयो । मैले मेरो पहिलो पुस्तकले पुरस्कार पाएको सन्दर्भ उघारेँ । सामान्य जानकारी बताएँ । अरू कुरा भन्नु छोडे पनि सधै रटन लगाउने एसओएसको जागिर छोडेर तीन वर्षेखि साहित्यमा समर्पित भएको कुरा भन्न पटक्कै छुटाइनँ । उहाँले सामान्य प्रतिक्रिया दिनुभयो ।

जगदीशदाइसँगको मेरो वार्तालापमा अवरोध ल्याउन विपक्षी मनले बेलाबेलामा धम्की दिँदै थियो । तर जतिसुकै विरोध, धम्की, आक्रमण भएपनि जगदीशदाइप्रतिको मेरो आर्दश र आस्था कहित्यै पग्लने छैन । नेपालमा मैले मान्नुपर्ने थोरै आदर्श व्यक्तिमा उहाँ पर्नुहुन्छ । उहाँले माओवादीले काठमाडौ कार्यकर्ता ल्याएर गरेको बन्दको बेला टि.भीमा दिनु भएको इन्टरभ्युले मेरो हृदय हल्लिएको थियो । उहाँको भावुक र संवेदनशील विचारले म निकै मर्माहत भएको थिएँ ।

फेरि सोही दिन म श्रीमानसँग काठमाडौँ मोडल हस्पिटल जानुपरेको थियो । हस्पिटल पुग्दा हस्पिटलको करिडर, आँगनभरि अस्थागी बेड बनाउँदै घाइतेहरुलाई रगतको धारा बगाउँदै ल्याएको दृश्यले म अवाक् बनेको थिएँ । त्यो बेला प्रदर्शनी मार्गमा आन्दोलनकारी र प्रहरीबीच जोडदार भिडन्त भइरहेको थियो । धेरैजसो घाइतेहरुलाई सोही हस्पिटलमा ल्याएर उपचार गरिदै थियो । ती घाइतेहरुको अवस्था देखेर मलाई राजनीत्तिप्रति नै घृणा लागेको थियो । गाउँघरको सोझासिधा जनतालाई काठमाडौँ ल्याइ एउटा पालको भरमा राखिएको थियो । कतिदिन देखि ननुहाएका, लुगा पनि नधोएका, कपाल पनि नकोरेका ती घाइतेहरु परदेखि नै डुङ्डुङ्ती गन्हाइरहेका थिए । बेलुका जगदीशदाइको इन्टरभ्यु सुन्दा त्यो दृश्य झलझली आँखामा आएको थियो अनि मलाई मेरो एउटा मेरो काल्पनिक कथा 'के सारो हाउ' याद आएको थियो । जुन कथामा मैले नेपालीको भाग्य किन यति सारो भयो भनेर काल्पनिक कथा बुनेको थिएँ । साँच्चै त्यो बेला एउटै नेपालीआमाका सन्तान हामी सुकिलामुकिला र झुत्राझाम्रामा विभाजित भएका थियौँ । मलाई त्यो बेला अति सुरक्षित मानिने काठमाडौ शहर पनि असुरक्षित महसुस भएको थियो । त्यसबेला राजनीतिकसंकटले कस्तो मोड लिने हो भन्ने निकै त्रास जनतामा थियो । तर पछि त्यो समस्या कुनै ठूला दुर्घटना नभई टर्यो । त्यो बेला जगदीशदाइ जस्ता बुद्धिजीवीले खेलेको भूमिका महत्वपूर्ण थियो ।

त्यस्तै समाजसेवाको क्षेत्रमा उहाँले दिनु भएको योगदानलाई म विशिष्ट मान्छु । 'अर्न्तमनको यात्रा' पढदा तामाकोशी समाजसेवाबाट गर्नु भएको सेवाको वर्णन पढ्दा म भावविभोर भएको छु । पुट्टापर्ती जाँदा साइबाबाले त्यस क्षेत्रमा गर्नुभएको समाजसेवाबाट म अत्यन्त प्रभावित भएको थिएँ । त्यस बेला मैले सोचेको थिएँ 'हाम्रो देशमा पनि यस्ता भगवान् भनेर पूजा गरिने समाजसेवी होलान् त ' पछि 'अर्न्तमनको यात्रा' पढेपछि मैले उहाँलाई प्रतिस्थापन गरेको थिएँ ।  अनि मनमनै मन्त्र जपेको थिएँ - "ओहो नेपालमा साइबाबा भन्न मिल्ने मान्छे रहेछन् । यस्ता महान् व्यक्तिको दर्शन गर्न पाइएला र ?"

अहिले तिनै महामानवको साथमा हुदाँ पक्ष मन निकै गमक्क परेको थियो ।

अर्न्तमनको यात्राको साहित्यिक कलात्मकता, मृत्युबोधको चिन्तन, दर्शन र लेखन शैलीले मलाई उहाँप्रतिको आर्दशलाई चुल्याएर सगरमाथा पुर्याएको थियो । दुइ, तीन पटक पुस्तक पढेर भावुक हृदय थाम्न नसकेर मैले एउटा लामो मेल लेखेर झण्डै तीन वर्षअघि पठाएको थिएँ । तर दाइको धेरै प्रशंसकको मेलको लाइनमा मेरो मेल बाटो विराएको यात्री भएको थियो । किनभने मैले मेलको कुनै प्रतिउत्तर पाइनँ ।

जगदीशदाइसँगको मेरो अर्को सस्मरण गुञ्जन पुरस्कार पाउँदाको क्षण सचित्र भएर मेरो सम्झनाको क्यानभासमा अहिले उत्रियो । गुञ्जन पुरस्कार लिनेबेलाको क्षण दाइप्रतिको आस्था र श्रद्धाले त्यो पुरस्कार दाइको हातबाट नै पाउन पाए हुन्थ्यो भन्ने आत्माकाङ्क्षाको पालुवा मभित्र पलाएको थियो । जसलाई मैले सभाध्यक्ष दिदी गीता केशरीको सामु यसरी फक्राएको थिएँ -"दिदी जगदीशदाईलाई मञ्चमा बोलाऔ न ।"

दिदीले भन्नुभयो-"मञ्चमा ठाउँ नै छैन बहिनी ।"

एकछिन पछि दाजु उठेर हिँडनुभयो । मेरो प्रतिरुप दाइको पछिपछि लागेर 'दाइ, पुरस्कारको समयभरि बस्नुहोस् न ।' भन्न पुग्यो । तर त्यो त प्रतिरुप थियो । त्यो प्रतिरुपको आवाज निस्क्रिय भएर मतिर नै फर्कियो । मेरो आकाङ्क्षाको पालुवा फुल्न नपाई असम्भावनाको आँधीले हुत्याइदिएको थियो ।

 

यस्तो महान् र आर्दश व्यक्तिको छवि बनेको मेरो हृदयले जगदीशदाइप्रति नकरात्मक धारणा कहिल्यै पाल्न सक्दैन । मेरो पक्ष मनको यिनै विचारको ब्रहृमस्त्रले विपक्ष मनलाई पराजित गरिसकेको थियो । अहिले दुवै बीच शान्तिसम्झौता कायम भइसकेको थियो । आदर्श जहिले पनि आदर्श हुन्छ । सत्य जहिले पनि सत्य हुनुपर्छ यो मेरो मान्यता भनौ वा दर्शन भनौ जे भने पनि यो मसँगै बाचिरहने मेरो अमर विचार हुन् ।

अहिले गाडी कोटेश्वर आइसकेको थियो । मैले महादेवथान जाने बाटो बताए । गाडी सोही अनुरुप अगाडि बढ्यो ।

उहाँ मोबाइलमा बोल्दै हुनुहुन्थ्यो- "म एक जना बहिनीसँग आउदै छु । उहाँले देख्नु भएको छ रे' " मलाई लाग्यो उहाँ गोविन्द दाइसँग बोल्दै हुनुहुन्छ अनि मलाई भन्नु मनलाग्यो - 'दाइ म शर्मिलाबहिनीसँग आउँदै छु भन्नुहोस् न ।'

तर मलाई उहाको संवादलाई विग्रह गर्न मन लागेन म चुप लागेँ ।

महादेवथानमा गाडी रोकाएर हामी झमक घिमिरे प्रतिष्ठान जान आरालो लाग्यौँ । "तपाईँ नभएको भए म कहाँ भटकिन्थे होला ।" दाइले कृतज्ञता व्यक्त गर्नुभयो । म नतमस्तक भएँ । दाइको लागि यति गर्न सकेकोमा मनमनै म ज्यादै हर्षित थिएँ

झमक घिमिरे प्रतिष्ठानमा गोविन्ददाइ, कुमारदाइ र अन्य साहित्यकारहरू झमकघिमिरेको साथमा प्रतिष्ठानलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल गरिरहनु भएको थियो । हामी पनि सहभागी भयौँ ।

कार्यक्रम सकेर हामी सबै बाहिर निस्क्यौ । विदावारीको व्यस्ततामा गोविन्दाजुले जगदीशदाइ 'कसरी आइपुग्नुभयो?' भनी सोध्नुभयो । किनभने गोविन्ददाजुलाई पनि त्यो बहिनी को होला भन्ने जिज्ञासाले निकै लखेटेको हुनुपर्छ । उहाँले फेरि पनि भन्नुभयो- "एकजना बहिनीसँग आएँ ।" घरजान को कताबाट जाने भन्ने व्यवस्थापन कार्य सकिएपछि जगदीश दाइ र म महादेवथानको उकालो लाग्यौ । एकछिनपछि गोविन्ददाजु आउनुभयो । म पछाडिपटि्ट थिएँ । गोविन्ददाजुले अहिले पनि सोध्नुभयो - "तपार्इँ यो बाटो कोसँग आउनुभयो ?"

जगदीशदाईले अहिले पनि 'एउटा बहिनीसँग आएँ ' भन्नुभयो ।

मलाई लाग्यो जगदीशदाईलाइ अझै पनि मेरो नाम थाहा थिएन । सायद गोविन्ददाजुले पनि यो सस्मरण पढेपछि मात्र त्यो बहिनी म हुँ भनेर थाहा पाउनुहुनेछ । तर यथार्थमा उहाँले थाहा पाइसकेको पनि हुनसक्छ । तर मेरो अर्न्तर्मनको यात्रामा यही विचार कोरिएको छ । मेरो साहित्यिक यात्रामा यो कुरा रहस्यमय भएर रहनेछ यदि त्योबेला जगदीशदाइलाई मैले देखेको छु भनेको भए आफ्नो साथमा ल्याउनुहुन्थ्यो कि हुँदैनथ्यो । किनभने उहाँलाई बाटो थाहा नहुने होइन थाहा हुने मान्छे चाहिएको थियो र मैले कार्यक्रम यो ठाउँमा हुदैछ भनेर नबिर्सेको भए के हुन्थ्यो ?

 

shakhadasahitya@gmail.com

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |