हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

ध्रुवचन्द्र गौतम र जन्तुजस्तो लाग्ने मनुष्य,(गोविन्द गिरी प्रेरणा)


यो विसं २०४१ सालको कुरा हो ।

तानसेन पाल्पामा लेखनाथको शतवार्षिकीमा भाग लिएर त्यतैवाट हेटौंडा फर्किएको थिएँ । मैले भीमदाई अर्थात् भीम विरागलाई भनें दाई हेटौंडामा पनि लेखनाथ शतवार्षिकी र देशव्यापी कवि सम्मेलन गर्न पाए हुन्थ्यो ।

भीमदाईले भन्नुभयो हो त ? ल हिंड भनेर उहाँले मोटर साइकलमा राखेर मलाई लैजानु भयो । कहाँ ? उहाँले त सिडियो अफिस पो पुर्याउनुभयो । पंचायतको जगजगीको वेला थियो । तर भीमदाई स्थानिय प्रशासनको एक अनिवार्य र अविभाज्य अंग हुनुहुन्थ्यो । उहाँ सवैको भीमदाई हुनुहुन्थ्यो ।

सिडियोले भीमदाईलाई आदरपूर्वक स्वागत गरे ।  

भीमदाईले मेरो परिचय दिंदै भन्नुभयो "उहाँ गोविन्द गिरी प्रेरणा, यहीं हुप्रको चौरमा घर छ । काठमाडौं वस्छन् | अहिले पा
पाल्पावाट लेखनाथको शतवार्षिकी मनाएर फर्केका ।"

"अनि भन्नोस् के गरौं भीमदाई" ? सिडियोले सोधे ।

"यो भाई भन्छ यौटा देशव्यापि कवि सम्मेलन यही लेखनाथ शतवार्षिकीका अवसरमा यहाँ पनि गरौं ।"

"वढो राम्रो कुरो । अरु म जान्दिन, मलाई साहित्य थाहा छैन, कति पाहुना, कवि डाक्ने हो ? खान वस्न म व्यवस्था गरिदिन्छु । अलिकति पैसा चाहिए त्यो पनि खोजौंला ।" सिडियोले भने ।

"हवस् त हामी लाग्छौं ।" भीमदाइले विदाइको भाषामा वोल्नुभयो ।

"हुन्छ भीमदाई तयारी थाल्नोस् मेरो पूरा सहयोग हुन्छ ।" सिडियोले वीट मार्दै भनेका थिए ।

यो सव भीमदाइकै कारणले भएको थियो । उहाँ स्थनिय प्रशासनका सवैको भीमदाई भएकोले सम्भव थियो ।

साँझ समिल रोडको प्रख्यात भट्टीमा मोमो छोइला र ठर्रासँग रमाउँदै थियौं हामी अर्थात् भीमदाई र म ।

भीमदाईले भन्नुभयो काठमाडौंवाट साहित्यकार ल्याउने जिम्मा भाइको, यता वन्दोवस्त गर्ने काम मेरो ।

यसरी हेटौंडाको इतिहासमा पहिलो पल्ट मेरो पहलमा काठमाडौंवाट साहित्यकारको टोली हेटौंडा पुगेको थियो राष्ट्रव्यापि कवि सम्मेलनका लागि र भीमदाइले स्थानिय तवरमा आतिथ्यको व्यवस्था मिलाउनु भएको थियो ।

कार्यक्रम वढो भव्यतापूर्वक सम्पन्न भयो ।

वास्तवमा पाल्पाको कार्यक्रमले गर्दा मैले यो कार्यक्रमको परिकल्पना गरेको थिएँ ।

कार्यक्रमको समाप्ति र खाना पनि सकिएपछि सवै आआफ्नै ढँगले घुमघाम र सुत्ने वा टहलिने कर्ममा लागे ।

त्यस कार्यक्रममा सहभागी ध्रुवचन्द्र गौतमले भीमदाईलाई घाँटी रसाउने कर्मका लागि आग्रह गर्नु भयो । अनि भीम दाईले हेटौंडा वजारको यौटा वन्द कोल्ड स्टोर ढकढकाउनु भयो र हामी भित्र पस्यौं ।

खाना त खाइसकिएको थियो । घाँटी भिजाउने मनसाय मात्र थियो तैपनि कोल्ड स्टोरमा उपलव्ध दालमोठकासाथ पेय हामीले शुरु गर्यौं । दिउँसो सम्पन्न कार्यक्रमको चर्चा गर्दै साहित्यका गफादि चल्दै थियो र अन्तिम चरणमा भीमदाई र ध्रुवचन्द्रका गीतले यो अनौपचारिक जमघट सक्ने मनशाय थियो ।

यसै वीच स्टोरको सटर ढकढकियो र स्टोरवाला मित्रले सटर खोल्नुभयो र एक तरुण वयका ठिटा प्रस्तुत भए र हामीसँगै वस्न आग्रह गरियो । उनी वसेपछि उनलाई पनि पेय लिन आग्रह गर्यौं । तिनले भने पिकनिक गएर आएको टन्न छु । यसो गफ गरौं भनेर मात्र ।

हाम्रो गफको सिलसिला भङ्ग भएको थियो । तिनले डा. ध्रुवचन्द्रको नाम प्रशस्त सुनेको वताए । म हेटौंडाकै भएकोमा प्रशन्नता जनाए । अनि आफू वन विज्ञान क्याम्पसको शिक्षक भएको वताए । उनी डा. साहेव भन्दै ध्रुवचन्द्रसँग वात मार्दै थिए । वास्तवमा तिनी छेउ न टुप्पाको कुरा गरिरहेका थिए । यो हुनमा शायद उनले पिकनिकमा टन्न भएर आएको तत्वको भूमिका विशेष हुँदो हो ।

एक्कासी तिनले हाम्रो सामुन्ने टेवुलमा भएको भोड्काको वोतल च्याप्प समाते र मुख लाएर घुटुक्क पिइदिए ।

तिनको यो व्यवहारले ध्रुवदाई क्रुद्ध भएर भन्नु भो "अघि गिलासमा दिन खोज्दा नलिने यस्तो वेसोमती ताल गर्नु त ठिक भएन ।"

तिनले गल्ती महशूश गर्नुको साटो उल्टै यसो भने मलाई वोतलवाटै पिउन मन लाग्यो ।

अव ती वेशोमती महोदयको वेशोमतीपनाले पूरै आकार लिएको थियो ।   

वाहियात मान्छे भनेर ध्रुवदाईले त्यसलाई हपार्नु भयो । हामीले शान्तपूर्व पिउँदै गफ गर्दै गरेको वातावरण विथोलेको मात्र थिएन हामीले पिइरहेको रक्सी जूठो वनाइदिएको थियो ।

तर त्यस वेसोमती त झन् उग्र भएर झगडा गर्न तम्सियो र ध्रुवदाइलाई गाली गर्न थाल्यो । साहित्यको डाक्टर भनेको पशु डाक्टर पो रहेछ ।  

स्थिति विग्रेला भनेर भीमदाई र कोल्डस्टोर वालाले ती वेसोमती महोदयलाई घिच्याउँदै सटरवाट वाहिर निकालि दिए । सटर खोल्न र पछि वन्द गर्न मैले पनि सघाएँ तर त्यसलाई छुनसम्म पनि छोईंन ।

अव वातावरण पूरै बिग्रिएको थियो । गीत गाउने साहित्यिक गफ गर्ने मूड सवैको वेपत्ता भएको थियो ।

ध्रुवदाईले भन्नुभयो "म यसको वारेमा अखवारमा लेखिदिन्छु ।"

भीमदाइले भन्नुभयो "ध्रुव यो लेख्ने काम नगर ।"

ध्रुवदाइले भन्नुभयो "यस्ताको वारेमा लेख्नै पर्छ ।"

अव विवाद लेख्ने र नलेख भन्नेमा भयो ।

अन्तमा ध्रुवदाइले भीमदाईको हात समातेर भन्नुभयो "भीमदाइले भनेपछि अव ध्रुवचन्द्रले लेख्दैन ।" कार्यक्रमको भोलिपल्ट सवै लाखापाखा लागे ।

एकहप्तापछि काठमाडौंको एक साप्ताहिकमा पृथ्वी घुम्दैछ स्तम्भमा पृथ्वी नामक स्तम्भकारले एउटा टिकाउ अंचलाधिसका विशेषता वा यस्तै केही शिर्षकमा त्यो घटनाको विषयमा पनि केही हरफ लेखेको थियो । साँझ भीमदाइ गोविन्द गिरी र म रसमय वातावरणमा थियौं यौटा जन्तुजस्तो लाग्ने मनुष्य आएर विथोलिदियो ।

भीमदाइसँग ध्रुवदाइले भनेका थिए ध्रुवचन्द्रले लेख्दैन । साँच्चै ध्रुवचन्द्रले लेखेका थिएनन् पृथ्वीले लेखेको थियो त्यो पृथ्वी अरु क्वै नभएर ध्रुवचन्द्र गौतम थिए ।

भीमदाई म र ध्रुवचन्द्रले मात्र वुझ्ने गरी लेखिएको त्यो प्रसंगले ती वेसोमती महोदयलाई पक्कै झस्कायो होला ।

वास्तवमा यौटा लेखकको जीवनमा जन्तुजस्तोलाग्ने मनुष्य आइरहन्छन् । यदाकदा मैले पनि त्यस्ता वेसोमतीहरुवाट त्यस्तै व्यवहार पाउँदा ध्रुवचन्द्रले लेखेको सम्झन्छु जन्तुजस्तै लाग्ने मनुष्य भन्छु मनमनै र चूप लाग्दछु ।

 

२५ जनवरी २०११

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |