हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मदारी,(कृष्ण प्रसाई)


टोकियो टावरमा चढेर आँखाले भ्याएजति सवै दृष्यहरुमा आँखा र मनलाई मनोराजन दिएर मानावुसान सँगै म के तल उत्रिएको थिएँ मेरै अगाडि बडेमाको लेण्डक्रुजर गाडी आएर रोकियो । लेण्डक्रुजर गाडी त मैले प्रसस्त देखेको थिएँ तर यसअधि देखिएका लेण्डक्रुजर गाडी भन्दा मैले देखिरहेको गाडीको वनोट र प्रकृतिमा केही भिन्न थियो । स्वभाविक लेण्डक्रुजर गाडी भन्दा आकार र आयतनमा केही ठूलो गाडीबाट मैले हेर्दाहेर्दै एउटा अचम्मको ज्यान भएको बाँदरलाई उसका मलिकले वडो इज्जत पूर्वक गाडीको पछाडि पट्टिको ऊ वसिरहेको सुविधा सम्पन्न सिटबाट निकाल्यो । म भने अचम्म र उदेक मानेर वाँदरलाई हेर्न थालेँ । त्यति मोटो वाँदरलाई मैले यस अधि कहिलै देखेको थिइन । सुनेको थिएँ जनकपुरको रामजानकी मन्दिरको आसपासमा एउटा अजंङ्गको वाँदर छ जस्लाई स्थानीय भाषामा बौवा हनुमान भन्दछन् र सामान्य अरु वाँदर भन्दा उसको वजन निकै वढी छ । भक्तहरुले खुसी भएर उसलाई हनुमानकै सगोत्री सँग दाँजेका हुँदाहुन् । हेर्न मन हुँदाहुँदै जनकपुरको बौवा हनुमान विते पछि मलाई धेरै पछि सम्म थक्थक् लागेको थियो आफ्नै देशमा भएको त्यति ठूलो बाँदरलाई भेट्न नपाएकोमा । मेरो मनमा त्यो बाँदरलाई देख्ने वित्तिकै एक्कासी बौवा हनुमानको याद आयो । स्वदेशमा देख्न नपाएको बौवा हनुमानको भाई यति लामो समुन्द्र काटेर कसरी जापान सम्म आई पुग्यो मलाई अचम्म लाग्यो । किनभने मेरो अगाडि मैले कल्पना गरेकै बौवा हनुमान प्रत्यक्ष खडा थियो । जस्लाई म अति सुविधा सम्पन्न टोकियो सहरमा भेटिरहेको थिएँ । तर उ मेरो देशमा स्वर्गे भइसकेको बौवा हनुमान जस्तो कुनै मन्दिरमा थिएन । उ त करोडौ रुपैयाँ पर्ने अति सुविधा सम्पन्न गाडीमा विषेश रुपले उसका लागि वनाईएको गाडीको सिटबाट आफ्ना मालिक मदारीको सहयोगले उत्रिन लाग्दै थियो । मैले त्यो बाँदरलाई गाडीबाट उत्रिएपछि पनि बिभिन्न कोणबाट हेर्न थालेँ । पक्कै त्यो सामान्य थिएन । म सँगसँगै उसलाई हेर्ने मान्छेहरुको क्रमशः भीड पो लाग्न थाल्यो । टोकियो टावर चढ्न आएका मान्छेहरु पनि टावर चढ्न छाडेर उसलाई हेर्न थाले । गाडी चलाएर वाँदरलाई ल्याउने मदारी उसको मलिक भएको पक्का हुन बेर लागेन । नभन्दै सयौं दर्शकहरुलाई भेला पारेर मदारीले त नचाउन पो थाल्यो बडेमानको त्यो बाँदरलाई । बाँदरको कला हेर्न दर्शकहरुको भीड बाक्लिदै गयो । बाँदरले आफ्ना नाचहरु मदारीको आज्ञा अनुसार देखाउदै गयो । बौवा हनुमानले आफ्नो करामत् देखाउने क्रममा मदारीले उसलाई उनिहरुको जापानी भाषाबाट जे जे भन्यो सोही अनुसार उस्ले गर्दै गयो । यस क्रममा आफ्नी प्रेमिकालाइ माया कसरी गर्नु पर्छ, बुढो भएपछि आफ्ना आमाबाबुलाई कसरी स्याहार गर्नु पर्छ लगाएत्का कर्महरु मदारीकै आज्ञाअनुसार उसले सबै दर्शकलाई देखायो । लामो उफ्रने कला माथि उफ्रने कला, टोकरी लिएर बिरामी आमाका लागी चन्दा संकलन गरेको कला निकै उत्कृष्ट थिए उसका । मैले थाहा पाएँ मदारीले बाँदरलाई राम्ररी रत्याएको रहेछ । आम मान्छेले सोच्ने भन्दा फरक खालको कर्ममा रत्तिएर अनुसासन पालन गरेकैले दुबै नङ्ग र मासु जस्ता भएर बाँचेका रहेछन् । अनुशासित भएर रहदा बाँदर र मदारी दुबैको भलो भएको पाँए मैले त्यो चटकबाट ।

एक घण्टा जति हामीले उसका भएभरका सवै कला हेर्यौ । उसका कला सँगसँगै मदारीले पैसा पनि उठाउन थाल्यो । पाँच सय एक हजार दुई हजार जापानिज येनका थुप्रा लागे । मेरो साथीले पनि दुई हजार येन फाल्यो वाँदरको खेललाई । मैले पनि गर्हौ मनले एक हजार येनको नोट फलिदिएँ मेरो देशको बौवा हनुमानको भाइलाई । एकै छिन पछि उसको चटक सकियो र पैसा बटुलेर बाँदरलाई अघि आएकै गाडीको पछिल्लो सिटमा बसाएर सवैलाई सायोनारा गरेर उ कोनी कता बेगियो ।

मदारी त वाँदर लिएर गयो तर एक हजार रुपैयाँको चोट मेरो मनमा निकै वेर बिझाइ रह्यो । हिसाव गरेको झण्डै नेपाली सात सय रुपैयाँको हाराहारीमा थियो त्यो मैले फालेको पैसा । तर त्यो जापानका लागि दशरुपैयाँ नेपालीको महत्व राख्दथ्यो त्यसले किनभने केही दिन अधि मात्र कियोप्लाजा होटलमा म सहित अरु दुई जना जापानिज साथीहरुले सामान्य तीन कप चिया र स्पगेटी खाए बापत तिरेको चानचुन आठ हजार येनको नगदी बिल मेरै गोजिमा हाँसिरहेको थियो अझैसम्म । झण्डै एक हजार नेपाली रुपैयाँ कप चियाको हाराहारी दाम तिरेर पहिलो पटक मैले पनि रेकर्ड राखेको थिएँ । जुन रकम तिर्ने कुरा मेरो हैसियत र ल्याकत भन्दा कयौ गुणा कम थियो तर साथसाथै एउटा अनुभव पनि थियो जीवनमा । पैसा तिर्नुको नमिठो सँगै कहिल्यै नबिर्सने अनुभवको झोला बोकेको थिएँ मैले । बाँदर त गयो उसको खेल सकेर तर उसले धेरै तरङ्गहरु उठाएर गयो मनभरि । झण्डै नेपाली एकलाख आम्दानीको हाराहारीमा आफ्नो खेललाई सकेको हुनुपर्छ मदारीले । उसले करिव एक घण्टाको लगानीमा उठाएको रकम म साधारण नेपाली भएर सोच्दा अनौठो नै थियो तर यथार्थ के थियो भने उ जापानिज बाँदर थियो जस्को कमाइ नेपालका कुनै पनि ओहोदामा काम गर्ने कर्मचारीको भन्दा कयौं गुणा वढी थियो । कुनै घुस्याहा कर्मचारीले टेवल मुनिबाट उठाउने रकम भन्दा पनि संभवतः ज्यादा थियो । जावो वाँदर भनेर के गर्ने ?

त्यसो त नेपालमा झै जापानमा पनि बाँदरहरु नभएका होइनन् । फुजीसान छेउछाउका पहाडहरु र साइतामा प्रान्तका पहाडी इलाकाहरुमा निकै बाँदरहरु देख्न पाइन्छ । तर तिनीहरु नेपाल वा भारतका जस्ता आसे बाँदरहरु छैनन् । कसैले दिइ हाल्छ र खाइहालुँ भनेर तिनीहरु बाटो कुरेर बसेका पनि हुदैनन्। तिनीहरुका लागि सरकारले जंगल सुरक्षित रुपमा छोडिदिएको हुन्छ र बाँदर निस्फिक्री रुपमा जंगलमा भएका फलफुल खाएर रमाएका हुन्छन् । त्यहा प्रविधि र बिकास ढकमम्क फुलेकैले होला मानव समुदायबाट जंगल र प्राकृतिक सम्पदामा अतिक्रमण हुँदै हुँदैन । बरु सुरक्षा र संरक्षण हुन्छ । सार्वजनिक ठाँउ लगायत सरकारी वनजंगलमा जति फुल फुलुन् कसैले टिप्दैनन् त्यहाँ । फलहरु फलेर जंगलै ढाकियोस तर कसैका चोर हातहरु पर्दैनन् त्यसमा । कसैका नजरहरु त्यो देखेर आक्रमणमा जाँदैनन् । यस्ता धेरै दृष्य र उदाहरणहरु जापान यात्राको क्रममा मैले प्रसस्तै देखेको र भेटेको छु । जतिखेर चिचिवु र ओगानो (साइतामा प्रान्त) का बाटामा भेटिएका जंगलहरुमा जामुना र फडिर पाकेर बाटै कालाम्य हुने गरि झर्दथे मैले कुनै यात्रुले गाडी रोकेर फल टिपेको देखिन । जहिले पनि फल पाकेको मौसममा दिनहुँ हिडिरहनु पर्ने ती बाटाहरु भएर जब म गुज्रन्थे सधै आफुले सानो छँदा जीतन राजवंशीका वगैचामा फलेका चिचिला आँपहरु चोरेर खएको मात्र संझिन्थेँ । नेपालमा त सार्वजनिक ठाँउमा फलेका फलहरु पाक्नै नपाई चिचिला अवस्थामै मानव आक्रमणमा परेर सकिन्छन् तर जापानमा देखेँ पाकिसकेको जंगली फलहरुपनि कसैले टिप्दैनन् । त्यसैले म संझन्छु जापानका जंगली जन्तुहरु चरा चुरुङ्गीहरु नेपालका भन्दा कयौँ गुणा भाग्यमानी छन् । तिनीहरुले कुनै खाद्यान्न अभाव झेलेर मानव वस्ती र वाटाघाटातिर भौतारिरहनु पर्दैन । भोकमरीको समस्या नझेलेकैले होला तिनीहरु स्वस्थ्य छन् मोटा घाटा छन् र मान्छेहरुका प्रिय छन् ।

घरपालुवा जनावर कुकुर र विरालाहरुको समेत जापानमा नियमित स्वास्थ्य परिक्षण हुन्छ । मान्छेहरुमा गरिए जस्तै रोग परिक्षणवाट महंगा खाले शल्यकिया गरेर रोग निको पारिन्छ । आखिर यी सवैकुरा हुने र नहुनेमा विकसीत र अविकसित देशका चिनारी हुन भन्दा हुन्छ ।

जापानिज वाँदर लेण्डक्रुजर भित्र वातावरणकुलित अवस्थामा कतै सयर गरिरहेको हुँदो हो अहिले तर मैले मेरा देशका बाँदरहरु सम्झे । पशुपति गुहेश्वरी र स्वयंभूमा भएका लुतो लागेका बाँदरहरु सम्झे । तिर्थालुका हातबाट फलफुल र अन्न झम्टेर आफ्नो जीविकोपार्जन गर्ने भोकमरि पिडीत मेरा राजधानीवासी ती वाँदरहरु सम्झे । कहिलेकाँही विजुलीको करेन्ट लागेर सामुहिक रुपमा मर्ने पशुपतिका बाँदरहरु सम्झे । यति सम्झाइमा मात्र सिमित हुन नसकेर मैले प्रयोगसालाका लागि परिक्षणमा जान लागेका नेपाली बाँदरहरु सम्झे । त्यतिले मात्र पुगेन मलाइ सिमाना काटेर पारि सिक्किमको यात्रा गर्दा बाटैभरि बाटाका यात्रुहरुको आसमा बचेका बाँदरहरुको दयानीय अवस्था सम्झे । फ्रायडका पुर्खाहरुको विजोग हेर्दा यता र समुन्द्रपारिको तुलाना नै हुन सक्ने थिएन । "कहाँको राजा भोज कहाँको गंगु भैया ।"  मलाई लाग्यो मेरा देशका बाँदरहरुको समस्या केबल बाँदरहरुको मात्र थिएन त्यो सम्पुर्ण देशकै समस्या थियो । देशका मदारीहरुको पनि थियो ।

जापानको बाँदर नचाउने मदारीको बुद्धि र कलालाई मैले प्रसंसा गर्नै पर्ने हुन्थ्यो । मान्छेले मान्छे चलाउन नसक्ने भईसकेको मेरो देश एकाध जापानका मदारीलाई नेपाल झिकाएर कला सिके कसो होला भन्ने सोचे मैले । बाँदरनै हुनु छ भने जापानका झै किन नहुने ? मदारीनै हुनु छ भने जापानको झै किन नहुने ?

तर यो मेरो नितान्त र व्यक्तिगत विचारभित्रको आग्रहगत सोचाइ मात्र थियो ।

Email:krishnaprasai@yahoo.com             

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |