हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

पूजाको “बिक्रिमा यो जिन्दगी”,(शिव प्रकाश)


कहिले प्रेम अवतार धारण गर्दै, कहिले प्रेमपीडामा विह्वल भई पीडा अवतार ग्रहण गर्दै, कहिले आँखा चिम्लेर असहमतिका पाइलाहरु अघि बढाउँदै, कहिले शून्यताको आँचलभित्र लुक्दै, कहिले धर्तीको धूलोमा आफुलाई मिसाउँदै अब इतिहास रुँदैन भन्छन् उनी  अनि वाचाल ओठहरुका कुटिल स्वाभावहरुलाई अनुभूत गर्दै कथा, कविता, उपन्यास, गीत सृजना गर्ने ती सर्जकले अहिले जिन्दगीलाई बिक्रीमा राखेका छन् र घोषणा गरेका छन् –  “बिक्रीमा यो जिन्दगी ”
मैले उनलाई यहाँ गजलकार भने, प्रशङ्ग गजलको भएकोले । हुन त उनलाई कथामा कथाकार भेटिन्छ, उपन्यासमा उपन्यासकार, कवितामा कवि र गजलमा गजलकार सानो उमेरमा धेरै विधामा धेरै लेखेर, धेरै पुरस्कार र सम्मान पाउने यी स्रष्टा हुन गोवर्धन पूजा ।
साहित्य सिर्जनाको पाटो र बाटो हिड्दै जाँदा यस अघि नै एक कथा, एक गजल तथा तीन कविता संग्रह र दुई उपन्यासको बिट मारिसकेका पूजाले “बिक्रीमा यो जिन्दगी” गजल संग्रहको पनि भरखरै बिट मारेका छन् ।
गजलकार पूजाको पछिल्लो प्रकाशित कृति “बिक्रिमा यो जिन्दगी” भित्र कसका लागिबाट शुरु भएर चवन्नौ गजल खुट्टा तान्नेहरुका लागिमा गएर टुङ्गिएको छ । गजलहरुको यो सूचिकरण संयोग पनि हुन सक्छ अथवा संयोजित पनि ! यसको अर्थ गजलकारमा नै निहित छ ।
करिव डेढ वर्ष अघि अमेरिका प्रवासको भासमा भासिएपछि नै लेखिएका धेरै गजलहरुको यो संग्रह नून लिन परदेशमा पस्नेहरुलाई अनि अलिनो खाई घरदेशमा बस्नेहरुलाई सर्मपण गरिदिएका छन् सर्जकले ।
कलम र कुची दुबैको जोडी बाँधेर कला र कृतिमा सशक्त सृजनाका विम्बहरु लेख्ने र पोत्ने सर्जक रमेश पौडेलको आवरणमा बासुशशी प्रतिष्ठानद्वारा प्रकाशित यस संग्रहमा गजलकारले जीवन भोगाइका रोहण–अवरोहण भित्र मूलतः प्रेम र पीडा आवश्यकता र उत्सर्ग अनि देश र यथार्थताको परिवेशलाई समेटेका छन् । नेपाली काव्य फाँटमा गलजका फूलहरु भरखर भरखर फुल्न थाल्दादेखि गजल लेखनमा आफ्ना भावनाका फूलहरु फुलाउँदै यो विधालाई सुवासित गराउन लामो समयदेखि लागी परेका पूजा यो जिन्दगी कसका लागि बाँच्छौ भन्दै यसरी प्रश्न गर्छन् –
कसका लागि एक्लिएर, बाँच्दै छौं हामी ?
केका लागि धनसम्पत्ति, साँच्दै छौं हामी ?

परदेशिनुको लहर केहीका लागि रहर भए पनि आम नेपालीहरुका लागि वाध्यता बनेको कटु यथार्थलाई उनले पनि बुझेका छन् । यथार्थमा बुझेका मात्र हैन, धेरै चेतनशील मस्तिष्कहरु जस्तै उनले पनि भोगेका छन् । विभिन्न विम्बहरुसँग जिन्दगीका भोगाईहरुलाई जोड्दै माता, मातृभूमि र परिवारजनबाट टाढिनुको मर्म, पीडा र वेदनासँगै गजलमा यसरी व्यक्त हुन्छन् उनी–
एक्लै किन हिजोआज? भनि सोध्यो जूनले
मैले भने– जिन्दगीलाई, गर्नु गर्यो नूनले
मातृभूमि  पराई हुन्न, टाढा  रहे  पनि
रुन्छ मन सुक्छ घाँटी, त्यो आमाको गुनले ।
जीवन संघर्षको समरमा समर्पण जित नहोला तर हार पनि होइन भन्ने उनको ठम्याई रहेको देखिन्छ । अहंकारपूर्ण जिताइ भन्दा संयमपूर्ण समर्पण नै जित हो । अर्थात जित्नु मात्र जित होइन हार पनि जित हो । उनी जिन्दगीमा कहिले काँही हारेर जित्न चाहन्छन् । हारेर बाँच्न चाहन्छन् । त्यो जितमा भन्दा यो हारमा रमाउँछन् । यस्तै हारलाई नै जित ठान्छन् र गजका शेरहरु कोर्न थाल्छन्–
जति गाली गर तिमी, चुपचाप सहिदिन्छु
बन तिमी सधैं आगो, म त पानी भइदिन्छु ।
अनि जीवनका रंगहरुलाई पनि उनले राम्रैसँग अनुभूत गरेको प्रतीत गजलमा विम्बित छन् । दिनको अर्थ घाम मात्र हैन, छायाँ पनि हो । उज्याले पनि हो र अँध्यारो पनि हो । जीवनको परिभाषाभित्र छायाँ मात्र छैन, माया पनि छ, रंग पनि छ ,राग पनि छ, अनुभूति पनि छ, आभाष पनि छ, उन्माद पनि छ, अनि उन्मेष पनि छ, होस पनि छ र मदहोस पनि छ । पीडामात्र छैन, प्रेम पनि छ । त्यसैले त–
तिमी सुरामा नशा देख्छौं, म सुन्दरीमा मात देख्छु
ताराहरुको भीडमा हैन, एक्लो जूनमा साथ देख्छु

उनी मान्छेका यावत् चरित्रसँग परिचित छन् र यी विविध वित्रिच चरित्रप्रति गजलकार असहमति जनाउछन् । मान्छेको यो भीडमा गर्नेभन्दा नगर्नेहरुको लाम, नगर्नेभन्दा खुट्टा तान्नेहरुको झन् लम्बेतान देख्छन् । मानवीय स्वभाव र चरित्रमा आएको स्खलनको बाढीले उनलाई पनि बगाएको भान हुन्छ । घात र चोटहरुले घाइते बनाएको प्रतीत हुन्छ । जीवनका यावत् भोगाईहरु विर्सन र यस्तै हो भनेर चित्त बुझाउन सायद गाह्रो हुन्छ नै । अनि त उनी गजलमा पोखिन्छन्–
खुट्टा तान्ने हरुको लाम मात्र देखेँ
स्वार्थीहरुको छलछाम मात्र देखेँ
दिक्क भै सकेँ यो सांसारिक रीत देखेर
यहाँ कपट गर्नेहरुको काम मात्र देखेँ ।
तिकड्म, जालझेल, कपट र छलछाम नै अहिलेका धेरै मान्छेको काम भएको छ भन्ने ठान्दै दिक्क मान्छन् र अन्त्यमा चित्त बुझाउँछन् गजलकार गोवर्धन पूजा पनि ।

डिसेम्बर १४, २०१०

Comments

Ramesh alone

हजुर को कथा त धेरै राम्रो लागो नी मलाई

ashafal gautam

तपाईंको समीक्षा भन्दा पनि गजलका शेरहरु राम्रा लागे । नमीठा लाग्दा कुरा भनेका गोर्वधन पुजा सानो उमेरमा धेरै लेख्ने भन्नुभएको छ । होला त्यहाँ उमेर नखुलाएको पनि त्यो आफ्नो ठाउँमा छ तर समीक्षा भएका कारण पुस्तकको नाम पृष्ठ संख्या मूल्य प्रकाशक जस्ता कुरालाई राम्रोसँग खुलाउन सकेको खण्डमा र लेखकले कहाँबाट कलम चलाउदैछ र अहिले कहाँ छ त्यो खुलाएको खण्डमा सुनमा सुगन्ध छाउने थियो की हजुर 

असफल गौतम पोखरा

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |