घामको चुम्बन,(उत्तम भट्टराई)
नेपाली निबन्ध-नियात्रा र युवराज नयाँघरे पर्यायबाची नाम बन्न पुगेका छन् । नयाँघरेका हालसम्म ८ वटा निबन्ध - नियात्राका कृति आइसकेका छन् । उनको पछिल्लो कृति हो - घामको चुम्बन ।
घामको चुम्बनमा २३ वटा नियात्राहरु रहेका छन् । रत्न पुस्तक भण्डारले बजारमा ल्याएको उक्त संग्रहमा सुदुर पूर्व इलामको जोगमाईदेखि सुदुर पश्चिम महाकाली नदी पुग्दासम्मका अत्यन्त रसिला मीठा र स्वादिला नियात्राहरु रहेका छन् । सरल शैली गाउँले जीवनको यथार्थ बर्णन एवम् पहाल- मधेसका दृश्यचित्रलाई आकर्षक पारामा तस्बीरझैं खिचिएको छ नियात्रामा ।
असाध्यै मीठो शैलीमा नियात्रा लेख्ने नयाँघरेको कला र प्रस्तुति यस संग्रहमा अझ विकसित र समृद्ध देखा परेको छ । नेपाली समाज नेपाली प्रकृति सांस्कृतिक सम्पदा र सभ्यताको ज्यादै कलात्मक रुपमा यस संग्रहमा उतारिएको छ । पाठकलाई सजिलै डोर् याउन खुबी भएका लेखक हुन् नयाँघरे । 'घामको चुम्बन'मा पनि उनको त्यो लोभलाग्दो कला र खुबी सुस्पष्ट भेट्न सकिन्छ ।
घामको चुम्बनबारे डा. तारानाथ शर्मा मूल्यांकन गर्छन् – "यो संस्मरणात्मक र निबन्धात्मक यात्रा बृतान्त नेपालको यथार्थ चित्रण गर्न कम्मर कसेर अघि सरेको छ । सलल्ल बग्ने भाषामा कुनै स्वार्थ नराखी इमानदारीपूर्व पोखिएका अनुभूतिहरुले सिँगारिएको यो ग्रन्थ नेपालको अर्चनामा धेरै अग्रसर मात्र भएको छैन पूरै सफल पनि भएको छ ।"
२०६५ सालको मदन पुरस्कारबाट पुरस्कृत नयाँघरेको प्रस्तुत घामको चुम्बन अत्यन्त विशिष्ठ नियात्राको कृति हो । नेपालका सबै भूभागलाई सरल र सहज ढंगले लेखिनुपर्छ उनको मान्यता छ ।
'घामको चुम्बन' पाठकहरुबाट बजारमा आएको केहि दिनमा नै अत्यन्त रुचाइएको छ । यो पाठकहरुका निम्ति प्रिय पुस्तक भइरहेको प्रमाण यसको प्रत्येक दिनको राम्रो माग र चर्चाबाट प्रमाणित भएको छ । नेपाली यात्रा साहित्यको निम्ति 'घामको चुम्बन' उल्लेख्य कृति हो ।