हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

'संवत्-अफिस' लघुकथासङ्ग्रह-लघु समालोचना,(महेन्द्र भण्डारी)


विषय प्रवेश

आधुनिकताको उपल्लोतह उत्तरआधुनिकताको हुरी चलेका बेला नयाँनयाँ विधा र पुराना विधाको पुनर्लेखन, पात्रीकरण, विद्याभञ्जन साहित्यका खुराक हुन् आजका । कथा अकथा भएको छ, उपन्यास अउपन्यास भएको छ  | यस्तैमा कृतिकार बन्न गाह्रो छ । समालोचनाका धेरै विधा, वाद, प्रणाली, प्रवृत्ति हुर्किएर चोखो सबैतिरबाट सम्मान योग्य कृति जन्माउन सकेका छैनन् । कृतिकार स्वयंम् समालोचकको दशगजामा खुकुरीको सीनालगाएर हिँड्छ, बाटो बिराउने समालोचकले साहित्यकारलाई सिस्नो पानी हान्छ, लाटो बनाउँछ । यदि फेरि त्यही समालोचक कृतिकारको आँखामा कसिंगर बन्छ ।

शर्मिला खड्का (दाहाल-२०२३) नेपाली लघुकथा बालउपन्यासमा उदाएकी नारी प्रतिभा हुन् । उनका कलमले 'सानीबालउपन्यास धारावाहिक रूपमा लेख्यो र सफलता पनि प्राप्त गर्यो । उनमा विशेषगरी बालमनोविज्ञान बुझ्ने र उनीहरूको रुचीअनुसार आफ्ना कृतिमा आकर्षित गर्ने क्षमता छ । उनका उपन्यासले बालमनोस्थाअनुसार उनीहरूको खेल्ने अवसर अनुरुप 'चिँमुसी चिँ' भाँडाकुटी खेलीखेली सभ्यतातिर दोहोर्याउने काम गर्छन् । अबोध बालकको मनमा आएका भावना, प्रतियोगी बन्ने र सफल बन्ने चाहना 'सानी' मा छ । 'सानीको साहस'मा ऊ ठुली भएकी छे र रात्रिवसको यात्रा गरेर बाबाको आगमन घरमा गराउँछे । उनको यो सफल उपन्यास हो बालमनोविज्ञानका दृष्टिंले उपयोगिताका दृष्टिले |

 

संवत्-अफिस-लघुसमालोचना

बालबालिका र युवायुवती तथा पौढ सबैलाई तान्न खोज्ने उनको अर्को कृति 'संवत्-अफिस' लघुकथासङ्ग्रह हो । संवत-अफिस समय सेतु हो । यसले पुरानो पुस्ता र नयाँ पुस्ता, पुरानो विचार र नयाँ विचार, भूत वर्तमान, नारी-पुरुष, संगति-असंगति, गाउँले र शहरीया परिवेश, व्यङ्ग्य र यथार्थ, नयाँपन र पुरानोपन बीचको द्धन्द देखाएको छ । अझ परिष्कृत हुन बाँकी रहेको उनको कलम संगति र विसंगतिभित्र संगति र आदर्शको पक्षपोषण गर्छन् र उत्तरआधुनिकताको ढोल उनका कथामा पनि बज्छन् ।

वर्तमान विश्व एउटा गाउँ भएको छ । यो समयको सानो क्षणमा हामी त्यही गाउँमा बाँच्ने निरीह बनेका छौँ । समय अंकमा दौडन्छ उसको नियम कुनै मापदण्ड र विधानको आधारमा नबनेको यस विसंगत अवस्थामा हामी उसको अफिसमा काम गर्ने र मृत्यु कुर्ने कामदार भएका छौँ । हामी जन्मन नचाही जन्मेका रहेछौँ भन्ने भाव 'संवत्-अफिस'मा छ । अबका भावी सन्ततीको शून्य संसार र वर्तमानको संकट यसकथामा उतारिएको छ । मानिसले आफ्नो गाउँमा भविष्यमा हुने योजना केके रहेछन्  भन्ने कुरा थाहा पाउन चाहेका छन् तर समयज्यू २०६४ ज्यू आपनो अफिस छाडेर जानु हुन्छ । अर्को मालिकको आगमन हुन्छ यही हो विसंगत असंगत र विकृत अवस्था । सार्त्रको  भाषामा हामी जड्भावितामा छौँ यस कथामा ।

यस संग्रहका लघुकथाहरू यथार्थवादी बढी छन् । त्यस मध्येको 'मैनवत्तीको शिखा' उद्धार र अनुद्धार स्वार्थ र निस्वार्थ धन र मन र पुरानो विचार र  नयाँ विचारको द्धन्द हो । यो आजको युवा वर्गको यथार्थता र पितामाता वर्गको तिक्तता हो । स्वार्थको सत्यता विकृत विसंगत शहरीया जीवनको र गरीव उदार हृदयबीचको द्धन्दको ।

पितृसत्तात्मक समाजको स्वास्नी मानिसमाथिको बिजयलाई र्सर्वेर्सवा ठान्ने र त्यसको कुनै प्रतिकार विरोध नगरी थाप्लामा सहिरहनेको कथाको प्रतिनिधित्व 'लोग्ने र लात्ती' कथाले गरेको छ । श्रीमतीलाई यहाँ स्वयं लेखिकाले निरीह बनाएकी वा समाजले निरीह बनाएको हो । त्यो स्पष्ट भन्न सकिन्छ । वर्तमानको विकृत रुढीगतसंस्कारले युक्त भएको समाजको यथास्थितिको चित्रण यहाँ छ ।

कठोर शासकको हप्की खाएर बाँच्नु र पेटपाल्नु पर्ने, नत्र रोजीरोटी नै समाप्त हुने, खाऊँ  भने दिन भरको सिकार नखाऊँ भने कान्छा बाबुको अनुहार भएको छ  ' कर्मको फल' । जो गरीव छ उही तल्लो तहको कर्मचारी हुने र ठूलाको सामन्ती भूतले सताउनु पर्ने अवस्थाका होसप्रसाद 'कर्मको फल' मा जस्तै अवस्थामा कैयौँ छन् समाजमा । विरोध वा विद्रोह गर्न नसके पनि कुनै न कुनै अवस्थामा कुनै न कुनै रूपले विद्रोहको फल देखा पर्छ भन्ने भाव 'कर्मको फल'मा छ । हैकमवादी मान्छेको निर्दयीपना, अरूको अस्तित्व मेटेर आपनो स्वार्थ पूर्ति गर्न चाहने, गरिब निमुखा र्सवहारावर्गको प्रतिनिधि प्रतिकात्मक व्यङ्ग्य व्रि्रोह हो 'मौन विरोध' । राजनिति र परिवेशले विश्वपरिवेशमा साम्राज्यवादीहरूले देखाउने हैकम न त गरिवले सहन सक्छ, न त गरिब राष्ट्रले सहन सक्छ त्यसैको प्रतिनिधित्व भ्यागुताले गरेका छन् । मानिस असहाय छन् । मानिस, भ्यागुता र माछा बीचको त्रिकोणात्मक द्धन्द हो कथा हो 'मौन विरोध'

आपनै स्वार्थमा निर्लिप्त रहने र अरूको हृदयमा परेको असरको ख्यालै नगर्ने, अन्धाले जीवनको जरा छामे जस्तो मानिस अफिसको हात्ती हुनुपर्ने 'यो कुन लीला हो -' हो । ठूलाको कुरा सुनिदिनै पर्ने, हाकिमको चिप्ला भाषण उसैको स्वार्थका लागि मात्र छ । ठूला वडा धमीमनीको दर्द सानो भए पनि हाउगुजी हुने र सानाको ज्यानै जाँदा पनि फुस्सा हुने तीतो यथार्थ र वास्तविकता छ 'यो कुन लीलामा' - निष्ठूर र सम्पत्तिको स्वार्थमा फसेको सहर र निस्वार्थ तर वेसहारा गाउँले बीच हुने संस्कारगत भेदभाव र यथार्थता 'अतिथि सत्कारको परिभाषा' भित्र अटाउँछ । वर्गीय द्धन्द र सामन्तिप्रवृत्ति बोक्न सकेको छ 'अतिथिसत्कारको परिभाषा'ले । इतिहासको कालो कालखण्डमा रुग्ण र असहाय बनेको, गृहयुद्धले खग्रास भएको र सामाजिक आर्थिक अवस्थाले कमजोर हुँदै गएको नेपालको यो अवस्था 'दुर्भाग्यको चोट' हो । नेपालको पुरावस्था नेपालीको करुणावस्थाको यथार्थ र सटिक दपर्ण बनेको छ 'दुर्भाग्यको चोट' । स्वतन्त्रतापे्रमी, स्वाभिमानी इमान्दार र दायित्वबोधको एक न एक ठाउँ सम्मान हुन्छ भनेर थोरै आशा थपि दिएको छ 'उपहारको मूल्याङ्न'ले बाँच्नका लागि न त विदोह गर्ने सक्ने न त र्समर्थन न त राजीनामा दिन सक्ने अवस्थामा अपमानित र अपहेलित भएर बाँचेका निजी संघ संस्थाका कर्मचारीको वास्तविकता उतारिएको छ 'उपहारको मूल्याङन'मा । त्यही निष्ठूर र क्रुर समाजलाई सजायको भागीदार बनाउनु पर्छ निमुखा मर्न हुँदैन दुर्जनलाई सजाय हुनुपर्छ भन्ने भाव 'सजायको भागिदार'मा छ ।

सत् र असत् छुट्याउन नसक्ने परम्परागत मूल्य मान्यता लाई फुटाएर अरूको नक्कलमा लाग्ने बुहारीलाई र विचारणीय आमा वर्ग र दुवैको चपेटामा परेका छोरा वर्गको प्रतीकात्मक व्यङ्ग्य हो 'तीन गमला' । राजनैतिक समाजिक, संस्कृति हरेक दृष्टिले उत्कृष्ट कथा छ 'तीन गमला' आफूलाई पछाडि हुदाहुँदै पनि अझपछाडि पार्ने नारीहरूको हुतिहारा प्रवृत्ति हो 'अस्थायी सम्झौता' । घरैमा मात्र नारीलाई सीमितपार्ने र पुरुषको हैकममा आवाज नउठाइ चुपचाप नारीलाई थुनिएको छ 'अस्थायी सम्झैाता'मा । यो मानिसले वर्तमान त चकनाचुर पार्यो पार्यो भोलिका कलिला बच्चाको सुन्दर भविष्यलाई पनि होटल र रेष्टुराको हीस्कीमा पिइदिएको छ । भविष्यका सुन्दर साहित्यको युगलाई कालो श्रृङ्खलामा हाल्ने र त्यो वास्ताको मूल्य नचिन्नेहरूले संसार नै ठेककापट्टा चलाएका छन् भन्ने तीतो यथार्थता 'त्यो वास्ताको मूल्य' मा छ । सत्यको वास्तै नगरी असत् कार्य गर्ने हरूको अराजक प्रवृत्ति चलाउनेहरूको मात्र यो संसारमा अस्तित्व छ भन्ने विसंगतिवादी भाव 'समयको माग'मा छ । त्यसैमा वा त्यही अराजकहरूको समाजमा मानिसले कुकुरको जतिको सम्मान पनि पाउन सकेको छैन धनीको र शासकको कुकुरको जतिको सम्मान गरिव असहाय र र्सवहारा वर्गले पाउन सकेका छैनन् भन्ने यथार्थभित्रको विसंगत अवस्थाको दारुण चित्रण 'मूल्यहीन मृत्यु'मा छ ।   त्यही मूल्यहीन जीवनमा एकले बालबालिका पनि मागिखाने भाडा भएका छन् 'बालविकास कोठाभित्र-कोठाबाहिरमा' । उच्च गुणस्तरीय शिक्षा दिने भाषण मात्र गर्ने र सारा अधिकारबाट बन्चित गराउने र बालबालिकाको सून्दर भविष्य माथि तुसारापात गरिरहेको सत्य कोठाभित्र र कोठाबाहिर देखिएको छ । राज्यको फितलो नीति, दाललीहरूको स्कुल भट्टी योजना र विकासको नाममा हुने चोखो भ्रष्टाचार कोठाभित्र र कोठाबाहिर जताततै देखिएको छ । चाँडै विश्वास गर्ने नारी र सुन्दरता सिद्धिएपछि नहेर्ने पुरुष वर्गको सामन्तीप्रवृत्तिले ढाकेको समाजमा नारीले आफ्नो अस्मिता को खोजी गरेकी छे 'अस्तित्त्वको खोजी' मा । गाउँले र शहरीया जीवनको बेमेल अवस्था, पितृसत्तात्मक सोचको पराकाष्ठ दुर्गम र सुगमको भेद, नारीको ओर्लदै गएको  र पुरुषको उक्लदै गएको अधिकारको मापदण्ड हो  'अस्तित्वको खोजी'

इच्छा र आकांक्षाको दास भएको मानिसलाई उसैले बनाएको विज्ञान आज अभिसाप बनेको छ र ऊ उसैमा जलिरहेको छ धुवाँधुवाँ भइरहेको छ । भौतिकता र विलासितासंगै मानवीय चाहना, इच्छा, आकंक्षा बढदै छन् । तिनै चाहनाहरू आजको विज्ञानको उपहार बनेको छ त्यहीबाट मानव समुदाय जलिरहेको छ । ठूला राजनैतिक शक्ति वा विश्व साम्राज्यको शक्तिहरूको , अन्यायले पराकाष्ठको अवस्थामा चरमचुली चुमेको अवस्था छ । र तिनीहरूको पतनको बाटो उनीहरूकै व्यवहार भएको छ भनी मूढालाई प्रतीक बनाइएको छ 'झिँजा को कथा' मा । असीमित अस्तित्वको खोजी गर्ने मानवीय स्वभाव झिँजाभन्दा कम लाग्ने छैन । मानिसलाई झिँजा र शासकलाई मूढासँग उपमा उपमेय बनाइएको छ । झिँजा र मूढाको सम्बन्धबाट शासक र जनताको सम्बन्ध देखाइएको छ 'झिजाको कथा'मा । 'महत्त्वपूर्ण सम्पत्ति' आजको मानवीय संकटग्रस्त अवस्थामा स्वार्थी र निस्वार्थी बीचको द्धन्द हो। सम्पत्तिको महत्त्वलाई र्सर्वेपरि ठानी मानवीय नाता र सम्बन्ध चट्क्क भुल्ने आधुनिक सभ्य मानिसहरूको नाङगो छायांकन हो 'महत्त्वपूर्ण सम्पत्ति' । आमा बाबुको मन छोरा छोरी माथि छोरा छोरीको मन ढुङगामूढा माथि भन्ने भनाइको र्सार्थकता हो 'महत्त्वपूर्ण सम्पत्ति' । आमा बाबुले छोरा छोरीमाथि गरेको त्याग र बलिदान स्वार्थको हुरीले उडाइ दिएको छ । अव सम्पत्ति ऐस आराम नै मानवको इश्वर भएको छ भन्ने नाजुक जर्जर र टिठलाग्दो मानव सम्वेदना  भएको छ  'महत्वपूर्ण सम्पत्ति' । यो पुरानो र नयाँ पुस्ताबीचको फरकफरक चाहनाको फरकफरक द्धन्द हो ।

आजभोलि सच्चा र उत्कृष्ट साहित्य नभएर वजारमा रेलिङ्मा टाँसिएका साहित्यको मूल्य बढ्दैछ भन्ने भाव 'भारी र महंगो' को हो । यो गुणस्तरीय रचना नरची धनका भरमा ठूला मोटा किताब बजारमा ल्याउने साहित्यकार भनाउँदाहरूको तीतो झपड हो । साहित्यको वास्तविक मूल्य र महत्त्व घट्दैन भन्ने साहित्यकारप्रतिको झिनो आस्था बाँचिरहेको छ । सून्दर, ठूला र आकर्ष ठेलीमात्र पुस्तक छैनन् र नयाँ स्रष्टा साहित्यकार पनि उत्कृष्ट साहित्य रचना गर्ने सक्छन् भन्ने भाव यसमा व्यक्त गरिएको छ । जो नारीहरूले नारीमाथि गरेको अन्यायको चित्रण हो ।

सुविधा सम्पनता, विलासिता र भोगी बन्दै गएको क्षणिक जीवन जिउन चाहने र जेहेन्दार, भुद्र, विवेकशील र लगनशील राष्ट्रभक्त साहित्यकारको तुलनात्मक र सफलताको कथा हो  'जीवनको प्राप्ति' । जीवनको प्राप्ति केवल भोगविलास हैन अमर रहनु र राष्ट्रको हितका लागि केही न केही गर्नु नै जीवनको प्राप्ति हो । अबको गणितीय बन्दै गएको मानिस क र ख भएको छ अमूर्त भएको छ त्यस्तो अवस्थामा पनि केही न केही मूल्यवान काम गर्नै पर्छ भन्ने अभ्रि्राय हो 'जीवनको प्राप्ति'

यसैगरी छोराछोरी र सन्तानप्रतिको लघावको परिणति र छोराछोरीले दिने दुर्गतिको  चित्रण हो 'अकल्पित भोगाइ' । दस वर्ष जनयुद्धकालमा धेरै युवाहरू हराएका छन् हाम्रो देशमा । धेरै निरमायाहरूको यथार्थ कथा हो 'अकल्पित भोगाइ' । जीवन जस्तो सोचेको हुन्छ त्यस्तो हुन सक्दैन  भन्ने भावको चित्रण हो 'अकल्पित भोगाइ' । यो विसंगतिवादी कथा हो ।

यो एककाइसौँ शताब्दी उत्तर आएर पनि भाग्यवादी बनाउने र फटाहाहरूको मात्र विजय निश्चित छ भन्ने निरासावादी र अन्धविश्वासका् युग कथा हो 'भाग्यको खेल' । अर्को शब्दमा भन्नु पर्दा सत् पौरख र लगनशीलता देखाएमा अवश्य सफल बन्न सकिन्छ भन्ने भाव हो 'भाग्यको खेल' । उच्च शिक्षा हासिल गरे पनि त्यसको केही औचित्य छैन राजनितिको पछ्यौरा समाउने मात्र सफल हुन्छन् भन्ने यथार्थभित्रको तीतो सत्य हो यो कथा । अलिअलि मनोविज्ञानका प्रभाव देखाउन खोजे पनि त्यो असफल भएको कथा हो 'भाग्यको फल' । यो लेखिकाको प्रारम्भतिरको लघुकथा हो ।

निष्कर्ष

निष्कर्ष हेर्दा संवत्-अफिस एउटा नारी हस्ताक्षरित लघुकथाहरूको सङ्ग्रह हो । यथार्थवादभित्र बढी मुस्कान राखेर खिचिएका लघु नाटक हो यो संग्रह । मानवीय जीवन भोगाएका यथार्थ प्रस्तुति यहाँ देखाइएको छ । भाग्यवादी, अन्धविश्वासवादी, प्रतीकवादी, मनोवैज्ञानिक, यथार्थवादी र विसंगतीवादी यस कृतिका विशेषता हुन् । पच्चीस लघुकथामध्ये सम्वत्-अफिस, मौन विरोध, तीन गमला, मूल्यहीन मृत्यु, झिँजाको कथा जस्ता उत्कष्ट कथा हुन् । जीवनलाई विसंगत आँखाले हेरे पनि शर्मिलाका कलम भाग्यमा विश्वास गर्ने र सत्यको विजय गराउन लागि परेका छन् । मानिसलाई बढी अफिसमा व्यस्त पार्ने खड्काको विशेषता देखिएको छ यस कथासङ्ग्रहमा ।

 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |