हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

बाइकमा बिन्दासः काठमाण्डौ-हेटौँडा,(घनश्याम शर्मा)

नियात्रा

२०६५ साल मार्ग महिनाको तीन गते मंगलबार काठमाडौंमा आजको बिहान पनि सदा झैं धुम्मिएको आकासको घुम्टोसँगै ब्युँझियो । काठमाडौँमा जाडोको शुरुवात भैसकेको छ । हिउँदका दिनहरु काठमाडौंमा एक पछि अर्का अर्थात् हरेक अघिल्लो दिन थप जाडो बोकेर आउने गर्छ । बुढा पाका मानिसहरु भन्ने गर्छन् ।

 

'उहिले जस्तो जाडो अहिले कहाँ छ र काठमाडौंमा हुस्सु पनि सिमेन्टका पर्खालमा पो ठोकिन्छ । शीत खाली जमीनमा  कहाँ पर्न पाउँछ र  भएपो ! खाली जग्गा कतै  पहिले जसो कठ्याङ्ग्रिने जाडो त हराई सक्यो अचेल'

 

होला, हुनसक्छ मैले आफूले नभोगेको त्यो जाडोको बखान सुन्दा लाग्छ त्यो समय यो काठमाडौं खाल्डो बेस्सरी चिसो थियो होला अचेल जस्तो थुप्रै जाडो छल्ने प्रबिधि र लत्ता कपडाको विकास भैनसकेको अवस्थामा मानिसहरु निकै नै जाडोले कठ्याङ्ग्रिय होलान् । तिनका हात गोडा जाडोले पट्पट्टी फुटे होलान् । केही त्यस्ता कर्मशील मानिसहरु जो निकै कडा परिश्रम गर्छन् जाडो चिसो नभनेर  तिनका हातगोडा फुटेर चीराचीरा परेका अचेल पनि त देख्न सकिन्छ । म २०३९ साल ताका क्याम्पस पढ्दा धेरै पटक बालाजु उद्यानमा अवस्थित बाइसधारामा जाडो महिनामा नुहाउन र लुगा धुन समेत गएको थिएँ । यहाँ सम्म कि पाटन नःटोलमा डेरा गरेर बस्दा बस र टेम्पो गर्दै झोलामा लुगा बोकेर बालाजु पुग्थें र दिनभर तातो घाममा नुहाउने र लुगा धुने काम गरेर साँझ पख डेरामा फर्किन्थें  उसबेला सबै धारामा पानी आउँथ्यो । अचेल जस्तो पानीको अनिकाल काठमाडौंले व्यहोरेको थिएन ।

 

 आज हेटौंडा जानुपर्ने योजना मुताविक विहानै झोला मिलाउन थालें । हेटौंडा सरुवा भएर गएको पुग नपुग तीन वर्ष भयो । यस कारण काठमाडौं हेटौंडा धेरै पटक यात्रा गर्नु पर् यो । कहिले कार्यालयकै गाडीमा कहिले सार्वजनिक ुटाटा सुमोु गाडीमा हेटौंडा हुँदै भीमफेदी-देउराली- कुलेखानी- सिस्नेरी- फर्पिङ- दक्षिणकाली हुँदै काठमाडौं । यो रुटमा चार घण्टामा हेटौंडाबाट काठमाडौं यात्रा गर्न सकिन्छ । मन मिल्ने साथीभाइसँग बाइकको लामो यात्रा रमाइलो हुनेगर्छ मेरा निम्ति ।  

मित्र कवि अनिल पौडेल र म काठमाडौं गजुरी बाइकमा ओहोर दोहोर गरेका छौँ अझै गजुरी देखि जवाङ खोलासम्मको पृथ्वीराजमार्गको सडकलाई बाइकमा नापेर हिंडेका छौँ । वहाँसँग हिँडदाको अनुभूति अत्यन्त सम्झनलायक बनेको छ धेरै पटक, धेरै ठाउँमा यसरी ।

 

अर्का मित्र गजलकार ललिजन रावल वहाँसग पनि धेरै ठाउँमा बाइकमा यात्रा गरेको छु । टाढा बाइकमा यात्रा गरेपछि खुला ठाउँमा बसेर हामीले सुख दुःख साटासाट गरेका छौँ । मनका कुरा सुन्ने र सुनाउने गरेका छौँ । कतिपय प्रसङ्गहरु केही यस्तै आत्मीय साथीहरुसँग मात्र ब्यक्त गर्न मिल्ने हुन्छन् जुन हामीले गर्छौं कहिले काहीँ ।

 

यस पटकको काठमाडौं बसाईंमा म मङ्सीर २५ गते बनेपा धुलिखेल हान्निएँ । पाँचखालसम्म नै तान्निने क्रममा पाँचखाल र धुलिखेलबीचमा बाटोको चौरमा बसेर घामतिर ढाड फर्काएर एक दाना मौसम खाइयो । एक दाना हलुवावेद टर्रो भए पनि खाएर पाँचखाल लागियो । सूर्य पश्चिमतिर तिव्र गतिमा हानिए जसरी म पनि काभ्रे र सिन्धुपाल्चोकको पहाडी रमणीय दृश्यलाई अघाउन्जी आँखामा अटाएर दोलालघाटसम्म पुगेँ  र स्वादिष्ट माछाको खाजा खाएर हतार हतार काठमाडौँ फर्किईयो । धन्न बाटोमा कतै बाइकले धोका दिएन ।

 

अर्को दिन ककनीसम्मको यात्रा गरेर ट्राउट माछा बोकेर हामी दम्पत्ति घर फर्कियौँ । घादिङ रसुवा र नुवाकोटका पहाडहरु थुम्काहरु खोला खोल्सी र पहाडका सिरानमा बसेका आकर्षक गाउँ अनि हरिया जङ्गलको चित्र हाम्रा आँखामा कहिल्यै नमेटिने गरी टाँसीएकै छ ।  

बाइक मेरो जीवनसँग अत्यन्त निकट भएर आएको छ । दैनिक जसो केही न केही दुरी मैले बाइकमा यात्रा गरिरहेको हुन्छु यसर्थ बाइक मेरो जीवनसँग घनिष्ट रुपमा गाँसिएर आएको छ । एउटा अत्यावश्यक साधन । भोजन लत्ता वासस्थान पछि यसले मलाई पछ्याई हाल्छ । हिँड्न दिँदैन पैदल कतै पनि ऊ टक्रक्क आफ्नो सिङ्गो ढाड तेसा्रएर मलाई बोकेर कुदाउन तम्तयार हुन्छ । म सर्लक्क आफ्नो सिङ्गो जीऊ उसैलाई बोकाइदिन्छु र ऊ मेरो गन्त्यव्यतिर कुद्छ । काठमाडौंभित्रका र अन्य छोटा छोटा यात्राहरु दैनिक कार्यबोझ र दैनिकी हुन् ती उतिसारो उल्लेख्य पनि हुँदैनन् र उल्लेख गर्न सम्भव पनि हुँदैन ।

 

बाइकमा गर्मीमा लामो यात्रा राम्रो हुन्छ । चिसो हावा सरर जीउलाई स्पर्श गर्छ । रोक्दा गर्मी भएपनि हिँड्दा शीतल अनुभव हुन्छ । चिसोमा भने बाइक यात्रा र त्यो पनि लामो यात्रा केही कष्टप्रद हुनेगर्छ । हातका औँला चिसोले कठ्याङ्ग्रिन्छन् जीउ चिसोले कठ्याङ्ग्रीएर असहज हुन्छ केही ता पनि धेरै चिसो स्थान छैन र मौसम धेरै जाडो छैन भने बाइक यात्रा उपयुक्त लाग्छ मलाई । वर्षात् याममा भने बाध्यतामा बाहेक बाइकको यात्रा रोज्दिन म ।

 

रबरको दुईटा अँकुसे भएको डोरीले बाइकको पछाडी सानो झोलालाई बाँधे । दिउँसोको एघार बजिसकेको छ । नगरकोटबाट उदाएको सूर्य मध्ये काठमाडौंमा देखा परिरहेको छ । म काठमाडौंको ककि्रटको जङ्गललाई विस्तारै पार गर्दै नागढुङ्गा पुग्छु । नागढुङ्गाबाट देखिएको काठमाडौंको दृश्य उकुस मुकुश लाग्छ मलाई । कसरी हरिया फाँटहरुमा ककि्रटका बिसालकाय भवनहरु ठड्याइँदै छन् । विना मापदण्ड र पूर्वाधार विकास भैरहेका अनियमित बस्तीहरुले कसरी उपत्यकालाई साँघुरो बनाइरहेछन्  विना योजना थालिएका निजी रियल स्टेटहरुले ठूला ठूला सयौँ रोपनीका हरिया खेतका फाँटहरुलाई चिरा चिरा पार्दै खण्डिकरण गर्दै तीन आने र चार पाँच आने घडेरीमा अनुवाद गर्दैछन्  प्रकृतिमाथिको यो निर्मम प्रहारलाई खै काठमाडौंले कहिले सम्म थेग्न सक्ला र ?  

 

टिर्र टिर्र महिला ट्राफिकको इशारा । नागढुङ्गा चेकपोष्टमा मोटरसाइकल इन्ट्रि गराउ । आदेश । म झस्किन्छु ए बा ! मसँग त यो बाइकको कागजपत्र नीलो किताब आदि छैनन् । ता पनि भाग्नु भएन, बाइक रोक्छु र दुई जना ट्राफिक भाइहरुलाई यसरी अनुनय विनय गर्छु वास्तविक कुरो-

 

'यो बाइक ठेकेदार कम्पनीले कार्यालयलाई सप्लाई गरेको हो । त्यसकारण यसको कागजपत्र सम्बन्धित कम्पनी जिम्मा छ । मसँगबाट अस्ति भर्खर मात्र माँगेर नविकरण गर्नुछ भनेर लिएर गएको हो । एक पटकलाई छाडिदिनुस् गल्ती भो ।' 

 

मेरो यस्तो अनुनय विनयले उनीहरुलाई कुनै प्रभाव नपारेको म बुझ्छु । उनीहरुले मेरो इजाजतपत्र राख्ने र नीलो किताब लिएर आएपछि मात्र फिर्ता गर्ने प्रस्ताव गर्छन् । म अप्ठेरोमा पर्छु । मलाई हेटौंडा जानुछ नागढुङ्गामा इजाजतपत्र छाडेर जानु फेरि कहिले लिन आउनु आदि समस्या मेरो मथिङ्गलमा फेरो मार्छन् । म उनीहरुबाट उम्किने उपायका बारेमा सोच्न थाल्छु तर मेरो इजाजत पत्र उनीहरुको हातमा छ कानुतः गल्ती मेरो छ सजाय मलाई हुन्छ ।

 

मैले मेरो परिचयपत्र देखाएँ र भनें - 

'भैगो एकपटक छाडिदिनुस् भाई आर्को पटक आउँदा बरु बोकेर आउँछु र तपाइलाई देखाउँछु ।' 

'उसो भए दुईसय जरिवाना काट्नुस' एकजनाले च्याठिन्दै भन्यो । म दोधारमा परें के गरौँ  कुरा सानो थियो झंझट ठूलै आईलाग्न खोजे जस्तो भयो । मैले थुप्रै ट्राफिकहरुलाई चिनेको थिएँ गजुरी बस्दा र सोचें ती मध्ये मैले कुनै चिनेको नामधारी यहाँको इन्चार्ज रहेछ भने त सानो कुरा मिलि हाल्थ्यो । म निरीह भएर उनीहरुका अनुहारमा हेरिरहें । उनीहरुले अन्य अन्य गाडीका अनुमतिपत्रमा छाप लगाए । अन्य बाइकवालाहरुका इजाजतपत्र र नीलो किताबहरु जाँचे । मैले पुनः सोधें-

ए भाई यहाँको इन्चार्ज को हुनुहुन्छ ?  

यो मेरो अन्तिम अस्त्र थियो काम लाग्न पनि सक्थ्यो नलाग्ने सम्भावना उत्तिकै थियो र काम नलाग्दा जरिवाना तिर्नु र इजाजतपत्र छाडेर जानु बाहेक अन्य विकल्प मसँग रहने थिएन । 

………॥ इन्चार्जको नाम सुनेपछि मैले भनें -  

'के गरौँ त अब तपाईलाई पनि अप्ठेरो पर्ने भए तपाईँको इन्चार्ज नै भेट्छु नि त'
यसो भन्दा उसले मलाई -

'अब तपाईँहरु नै यस्तो गर्नु हुन्छ भने अरुलाई हामीले कसरी नियम पालना गराउने  कागजपत्र नहुने एउटालाई पनि नछाड्नु भन्ने माथिको आदेश छ । अझै तपाइँको त बाहिरको नम्बर रहेछ ।' 

उसले यसो भन्दा मैले अब त्यो झंझटबाट उन्मुक्त हुने उपाय नदेखेर भनें -

'उसो भए तपाइँलाई जे उचित लाग्छ गर्नुस् म के भनौँ ?' 

यसपछि उसले के सम्झ्यो कुन्नि यत्रोबेरसम्म हातमा समातीरहेको मेरो सवारी चालक अनुमतीपत्र मलाई फिर्ता दियो र म आफ्नो बाटो लागें ।

 

यस घटनाले मलाई नीलो किताब वा त्यसको प्रतिलिपी नै भएपनि बोकेर नहिँडेकोमा आफैले भोग्नु परेको तनाव सम्झेर दिक्क लाग्यो र आफूलाई तत्कालै सामान्य बनाउने प्रयास गरें । नागढुङ्गादेखि त्रिभुवनराजपथको नौबिसे सम्मको यात्रा धेरैपटक बाइकमा गरेको छु  गजुरी बसेको बेलामा । नागढुङ्गादेखि ओरालो झर्दा देखिने नागबेली सडकले झाप्रेखोलालाई धादिङ्ग जिल्ला र काठमाडौं जिल्लाको सिमाना कायम गरेको छ भौगोलिक रुपमा ।  


पिपल्लामोडको 'टावर भ्यू रेष्टुरेन्ट' को छेउबाट देखिने धादिङको हिमालको दृश्य अत्यन्त मनोरम देखिन्छ । नेपालको प्राकृतिक सौन्दर्यको रसास्वादन गर्न धेरै टाढा राजधानीबाट पुगिरहनु पनि पर्दैन । एक घण्टाको दुरी राजधानीबाट पार गरेर हिँड्दा नै पनि मनै आनन्दित हुने दृश्यहरु आँखाको चारैतिर ठडिने गर्छन् । नागढुङ्गाबाट ओरालो झर्ने बित्तिकै म यस्तो महसुस गर्छु ।

नीलो आकाशमा बादलका एउटा दुईटा टुक्राहरु फाट्टफुट्ट देखिरहेको छु । गाडीहरु उसो धेरै गुडिरहेका छैनन् । राजमार्गहरु कतै न कतै बन्द भएका होलान् । देशमा लोकतन्त्र आएपछि राजमार्गहरुले जस्तो अथाह पीडा अरु कुनै भौतिक संरचनाले सायद भोगीरहेका होलान् ! सानो निहुँमा पनि यातायात बन्द भईरहन्छ । राज्यको उपस्थिति राजमार्गमा निरीह बन्दो छ । राज्यलाई कमजोर संयन्त्रमा रुपमा रुपान्तरण गर्दै हामी बलिया हुने अभ्यास पो गर्दैछौँ कि  यस्तो सोच्न थाल्छु म ।  

झ्याप्रे खोला ! उफ ! यो ठाउँमा पुगेपछि मेरो मुटु सधैँ चिसो हुन्छ एक पटक । यहाँ हावा पनि उसैगरि चिसो भएर बग्छ । केही छाप्राहरु छन् यहाँ चिया र नास्ता पाइन्छ । उकालोको लगभग सिरान भएकाले तातेको गाडीका रेडिवाटरूमा चिसो पानी थप्छन् ड्राइभरहरु ।

 

२०५९ सालको वर्षायाम यस झ्याप्रै खोलामा ठूलो विनासकारी भएर आयो । सडकको तलदेखि माथि अर्काे सडकसम्मको भाग पूरै पहिरोमा रुपान्तरण भयो एकै रातमा । खोल्साको छेऊमा छाप्रामा जीवन निर्वाह गरिरहेका एउटै परिवारका आमा बाबु छोरा छोरी बुहारी समेतका पाँच जनालाई पहिरोले पुरेर एउटै चिहान बनायो । घरका जवान मानिसहरुको जीवन त सकियो तर सो छाप्रामै बस्ने सोही परिवारकी माऊ बुढी अन्दाजी सत्तरी वर्ष थिइन उनलाई भने पहिरोले उछिट्याएर पाखामा पारिदियो उनको ज्यान बच्यो !

 

त्यो नरसंहारकारी पहिरो खसेको भोलीपल्ट मैले डोजर लगाएर पुरिएका लासहरु झिक्न लगाएको थिएँ । यातायात समेत अबरुद्ध थियो । ती बृद्धाले पहिरोको छेऊमा उभिएर डोजरका डर लाग्दा दाँतले आफ्नो परिवारका मान्छेका लास झिकेको दृश्य हेरिरहेको मलाई सम्झना छ । त्यसबेला म अन्यमनस्क अवस्थामा टोलाई मात्र रहेँ । एकजना महिलाको पेटमा आज भोली नै जन्मिने बालक समेत थियो जुन पछि पेट चिरेर निकालेर छुट्टै गाडियो बाँकी पाँच बटा शव छुट्टा छुट्टै झ्याप्रेखोलामा नै चिता बनाएर आगो सल्केपछि म आफ्नो बाटो लागें तर त्यो रातभर म निदाउँन सिकंन राम्रो सँग खाना खान मन लागेन शरीर असामान्य बनिरह्यो ।

 

यो बाटो हिँड्दा यो घटना सम्झिने गर्छु । नौबिसेसम्म मलाई ओरालो झर्नुछ । मेरो पछि पछि पोखरा जाने एउटा माइक्रोबस छ । अगाडिको सिटमा दुईटा मंगोलियन संभवतः थकाल्नी/गुरुङ्सिनी महिला अनुहार ऐनाबाट हेर्छु । मेरो गती उसकै हाराहारीमा छ । नागढुङ्गाको एकछिनको कचिङ्गलले मलाई केही ढीलो भयो यसकारण पनि म तिब्र गतिमा बाइक कुदाउँछु पचास र साठी किलोमिटर प्रतिघण्टाको गति । ओरालो छ बाटो फराकिलो भएका कारण सुरक्षित नै महसुस गर्छु ।

 

कानाकोटबाट तल्तिर झर्छु । सडकको तलमाथि पहेंलपुर धानखेत मन रोमान्चित हुन्छ । बाइकको ब्रेकमा ध्यान छ । आँखा तल र माथिको प्राकृतिक सुन्दरतासँग नजिक हुन खोज्छन् । मनले त घण्टौँ एउटा चौतारीमा बसेर बिताउँ भन्छ । तर लक्ष्य भने काठमाडौँ- हेटौंडाको यात्रा छ । नौबिसे- दामेचौर- टिस्टुङ- पालुङ- दामन- सिमभंज्याङ्ग- झीरघारी - अघोर- लामीडाँडा- महाभीर- चुनियाँ- भैंसे हुँदै हेटौंडा पुग्नुछ । एकसय चालिस किलोमीटर पहाडी बाटोका यात्रा । घाम पश्चिमतिर सर्ने क्रम छ । म पनि सूर्य अस्ताउने दिशातिरै उन्मुख छु । सूर्यका किरण छेक्न कालो चस्मा र हेल्मेटको ुभाइजरु उपयोगी हुन्छ मलाई यात्रामा ।

 

नौबिसे   खाना खाने होटेल रेष्टुरेन्टहरु भएको चोक । गाडीहरु मर्मत गर्ने 'वर्कसप'हरु भएको स्थान ।  एउटा पूल छ जसले खोलामाथि विजय गरेर गाडी र मानिसहरु तार्ने गरिरहेको छ । त्यो पुलसँगै तल्लोपट्टि पुरानो फलामको पुल थियो  यसलाई ुकतै प्रयोगमा ल्याउन पाएु मैले धेरै पटक यस्तो सोचिरहन्थेँ मेरो कार्यक्षेत्र बाहिरको काम मेरो निर्णयबाट नहुने काम मेरो सुझावले मात्र नहुने काम म वर्षौंदेखि यो बाटो हिँड्दा सोचिरहेको काम अहिले हुँदै रहेछ ।

 

खुशी लाग्यो । प्रयोगहीन अवस्थामा रहेको यो फलामे पुल धमाधम खोलर पाखामा राखिएको रहेछ सम्भवतः यसले कुनै अर्को खोलामा तेर्सिने मौका पाउँछ होला र मानिसहरुले यसबाट सेवा प्राप्त गर्नेछन् वा यो लिलाम भयो अर्को सम्भावना  के भएको होला  मलाई भने थाह भएन ।

 

दामनमा पुगेर खाजा र चिया खाने विचारले नौबिसेमा म अडिन्न । हेटौँडाबाट काठमाडौं आउँदा भने पछिल्लो पटक मैले नौबिसेमा खाजा खाएको थिएँ । भित्ताको ब्नेपालीको होटेल खसीको मासुको निम्ति प्रसिद्ध छ यहाँ । मनकामना जाने आउने र अन्य ठाउँका यात्रीहरु खचाखच खाना र नास्ताको निम्ति यहाँ भरिएका हुन्छन् ।

 

पृथ्वीराजमार्गको नौबिसे- पोखरा खण्डको ठूलो चौडा सडक नौबिसेबाट तलतिर सलल बगेको  लाग्छ गाडी र मोटरहरु बगाउँदै आफ्नो छातीमाथि एक प्रकारको रोचक यात्रा तिव्र गतिको यात्रा गर्न सकिन्छ यो चौडा सडकमा । मलाई भने अब सिमभंज्याङ्ग नपुगुन्जेल उकालो उक्लिनु छ । दुई नम्बर र तीन नम्बर गियरमा कानमा 'एम.पि.थ्री. को हेडफोन लगाएको छु । केही नेपाली केही हिन्दी गीत र गजलहरु सुनिरहेको छु । बाइक चलाउँदै यसरी बिन्दास हिँड्नु हुँदैन खतराको नजिक पुग्न सकिन्छ   थाह छ तर पनि लामो यात्रामा एक्लै बाइक  त्यसैले बिन्दास गुडिदिन मन लाग्छ   बिन्दास भइदिन मनलाग्छ । जीवनका केही क्षणहरु त बिन्दास होऊन् यस्तै सोच्छु ।  

 

नागढुङ्गादेखि हेटौंडासम्मको सडकमा काम गर्ने सबै सडक कामदार र तिनका नाइके सुपरभाइजरहरुलाई म चिन्छु उनीहरु पनि मलाई राम्रोसँग चिन्छन् र हाम्रो बीचमा धेरै आत्मीयता छ । यस्ता केही नामहरु लेख्न र उल्लेख गर्न मन लाग्यो जसको नाम कुनै संचार माध्यममा आउँदैन । अहोरात्र हिँडीरहने गाडीका लस्कर र तिनका यात्रीलाई थाहा हुँदैन् । पहेंलो र हरियो आधा ज्याकेटमा सडकतिर निहुँरिएर सडक सफा गरिरहने यस्ता कर्मशील हातहरुलाई भने मैले बिर्सन सकिरहेको छुँइँन ।

 

बद्रीप्रसाद भट्ट नौबिसे हरिबहादुर विष्ट सात घुम्ती ज्ञानेन्द्र पालुङ कुमार थपलिया ऋषि थपलिया रुपाखेती हस्त बहादुर अधिकारी हरि घिमिरे कुमार कँडेल  नौबिसे- जवाङखोला -धादिङ र चितवन जिल्लाको सिमाना । नौबिसेबाट मास्तिर लागेपछि मेरा आँखाले गौरुङ जेठालाई खोज्छ । पोहोर सालसम्म उसलाई आउँदा जाँदा भेट्थेँ यसपटक भने उसको ठाउँमा एउटा महिला अनुहार देख्छु-

'गौरुङ जेठा खै नि ?' मेरो प्रश्नको जवाफमा महिला अनुहार झस्किन्छ । त्यो अनुहारले धेरै कुरा भन्न खोजेको भान हुन्छ मलाई ।

'विरामी हुनुहुन्छ । त्यसैले काममा म आ कि ।' 

तामाङ समुदायको गौरुङका तीन वटा श्रीमति थिए । यो सबैभन्दा कान्छी हो क्यार ! दुईटी मध्ये एउटा मरेको र आर्काे पोइल हिँडेको यस्तै केही भनेको थियो उसले मलाई । ऊ लगभग पचहत्तर वर्ष भयो ! यसपटक ऊ विरामी छ भन्दा मैले त्यो सोझो निरीह र कर्मशील गौरुङ जेठालाई अब धेरैदिनसम्म भेटीरहने आशा मारेर अगाडि बढेँ ।

 

उमेर पाको भएपनि लगभग सत्तरी टेकेको भवनाथ गोविन्द प्रसाद लामीछानेलाई एकपटक मैले-"तपाईँ बृद्ध हुनुभयो अब युवक मानिस कामदार राख्नुपर्छ तपाइँको सट्टा भन्दा जवाफ दिएको थियो-  

'सर काम हेर्नुस् । मैले कुनै तीस वर्षे युवकले भन्दा थोरै काम गरेछु भने त्यति बेला भन्नु होला' 

त्यसपछि मैले उसको सट्टा अर्को मानिस राख्ने विचार परिवर्तन गरेको थिएँ र उसले साँच्चिकै कुनै युवाले भन्दा कम काम गरेर देखाएको थिएन ।

 

छेउमा पहेंलो झण्डा गाडेर ठेलामा माटो ओसार्दै गरेको लामीछाने बुढालाई के छ भनेर सोधें । छोटो भलाकुसारी पछि म सात घुम्तिको उकालो चढ्न थालें । धादिङका गाउँहरु । अग्लो डाँडाका काखमा अवस्थित केवलपुर । थुम्कामाथि झुरुप्प कागको बथान जस्तै खाँदिएका घरहरुको सौन्दर्य बल्लो डाँडाको टुप्पोबाट आँखाले भ्याइन्जेल हेरिरहुँ । हिमालका चुचुरामा टेक्ला टेक्ला जस्तै गरेर हवाईजहाज काठमाडौंतिर उडेको दृश्य मनमोहक देखिन्छ । बादलका टुक्रा छुँला झैं उडेको सेतो जहाज ठूलो चरा जस्तै देखिन्छ ।

यो बाटोमा अत्यन्त कम मात्रामा गाडीहरु चल्ने गर्छन् । भारतीय इन्जिनियरहरुले सन् १९५३को जनवरीबाट शुरु गरेर भैंसे दोभान देखि थानकोट सम्मको बहत्तर माइल सडक सन् १९५६ मा सम्पन्न गरेका थिए । जसको निर्माणमा भारत सरकारको कोलम्बो योजनाले आर्थिक र प्राबिधिक सहायता गरेको लेखोट धादिङ र मकवानपुरको सिमानाको भित्तामा टाँगिएको छ ।


दामेचौरको छेऊमा हरिबहादुर बिष्ट भेटिन्छ । म बाइक रोक्छु ।

'सर चिया खाउँ । आज त म सरलाई चिया नखुवाई कहाँ पठाउँछ र  बेला छँदैछ के को चिन्ता उजेलैमा हेटौँडा पुग्नुहुन्छ ।' 

उसको आत्मियताले मेरो हृदय आल्हादित हुन्छ । धन सम्पत्ति र पैसाले किनेर पाइने भौतिक बस्तुभन्दा मान्छेले दर्शाउने सदभाव आत्मीयता र सहृदयता कति ठूलो हुँदोरहेछ भन्ने म अनुमान गर्छु । उसको अमूल्य एक कप चिया म पिइदिन्छु । उसले मलाई चियाको पैंसा तिर्न दिँदैन भन्छ- 'म कहाँ सरलाई तिर्न दिन्छु । मेरो ठाउँमा गाउँमा मेरो कार्यस्थलमा मैले एक कप चिया सरलाई खुवाउन पाउनु मेरो अहोभाग्य ठान्छु । तपाईं कहाँ आएको बेला खुवाउनुहोला नि ।' 

मलाई थाहा छ ऊ हेटौंडा आउने पनि छैन र मैले उसलाई चिया खुवाएर त्यो आत्मीयता देखाउन पनि पाउने छैन ।

'मैले विहे गरि नि सर ।'

उसको यो भनाइले म छक्क परें । पचास नाघेको उसले किन फेरि अर्को विहे गर्यो उसले मेरो अनुहारको भाव पढेर भन्यो ।

'होइन सर पहिले त छोरीको गरें नि ! त्यसपछि छोराले धेरै कर गर् यो अर्को बिहे गर्नुस् भनेर । छोराकै लागि भएपनि अर्को बिहे गर्नु पर्यो । कुबेलामा श्रीमतिले परमधामको बाटो समातेर दुःख पाइयो नि !' 

मैले उसको समस्या बुझें । मोटर साइकलमा बोँधेको डोरी चुँडिएर झोला झुण्डिन थालेकाले उसले छिमेकको पसलबाट एक मुठा ल्पास्टिकको डोरी किनेर झोला बलियो गरि बाइकमा बाँधी दियो । उसको सहयोगले म कृत कृत भएँ ।   

अहिले मेरो टाउको माथिको आकाश स्नीग्ध सफा छ । घाम पारिलो छ । म यसबेला धादिङ जिल्लालाई छाडेर मकवानपुर जिल्लामा पुगिसकेको छु । म सँगसँगै दुईवटा अन्य बाइक घरि अघि र घरि पछि गरेर हिँडेको देखिरहेछु । कहिले म ती दुईटा बाइकलाई उछिन्छु कहिले उनीहरु मलाई ।

कतै कतै एउटा दुईटा माइक्रोबस र जीपहरु फेला पर्छन् । दामेचौरको पाखोबाट पारिपट्टि पश्चिमतिरको पाखोमा बसेका वस्तीहरु नियाल्छु । घामको कीरणले तिनका छानामा लगाइएका जस्ता पाता टलक्क टल्किएका छन् । परिश्रमी मेहनती मानिसका अनुहार जस्तै ! श्रम गरेर पनि अनुहार टल्काई रहनु सुखपूर्ण जीवनयापन हुँदो रहेछ । पहिलेको जुग जमाना र पूराना मानिसहरु सँधै टल्किरहेका अनुहार लाग्छन् मलाई तनावहीन जीवन भोगाई ल्पेटोनिक सुख एक प्रकारको भौतिक सुखानभूति भन्दा माथि आत्मिक सुख कठै ! अहिलेको पुस्ताले कहा भोग्न पाउनु यस्तो जीवन ।

घुम्ती अनि मोड क्रमसः घुम्ती अनि मोड पुनः यीनै घुम्ती र मोड हुँदै म टिस्टुङ पुग्छु । पाखोबारी बाटो मुनि मास्तिर जंगल मेलापात गर्ने ठाउँ । कतै बारी कतै करेसो खोल्सो जंगल पानीका मुहान सर्वत्र सबै हेर्दा जीवन यतै गाउँमा सुखमय होला यस्तो सोच्छु म बाइक कुदाउँछुँ हँइय मेरा सोचाइहरु बाइकसँगै बाइककै गतिमा कुद्छन् ।

 

साहित्यकार मित्र नकुल सिलवाल र विदुर गौतम बाइकमा खुबै नेपाल घुमियो  धेरै ठाउँ पुगियो भनेर सुनाउनु हुन्थ्यो । बाइकमा एक्लै बिन्दास िहंड्नु वा दुईजना मिलेर गफिँदै यस्तो बाटोमा गुडिरहनु कुदिरहनु दैनिक जीवनको गति एउटा मीठा अनुभूति हो । मित्रहरु ललिजन रावल र उदय निरौला काठमाडौंदेखि बुटवल भैरहवा हुँदै हेटौंडाबाट यहि बाटो पुनः काठमाडौं फर्किनु भएको थियो । मैले उसबेला वहाँहरुलाई गजुरीमा भेटेको थिएँ र छोटो भलाकुसारी पछि वहाँहरु त्यो दिन चितवन पुगेर विश्राम लिनु भएको थियो । 

बाइक असाध्यै खतरा सवारी साधनहरुमध्ये पर्छ । जीवनमा खतरा बोकेर हिँड्नु खतरा मोलेर हिँड्नु पनि अर्को एउटा खतरा हो । 

टिस्टुङबाट केही ओरालो झर्नुपर्छ पालुङ पुग्न । पालुङ उपत्यकाले नेपालको राजधानी काठमाडौंलाई तरकारी र खाद्यान्न उपलब्ध गराउँदै आएको छ । विशेषगरि पालुङको आलु प्रख्यात मानिन्छ । चिसो उपत्यका  ससाना पहाडहरुको फेदिमा अवस्थित यस रमणीय र उर्वर उपत्यकाको प्राकृतिक सुन्दरताको जति धेरै बयान गर्दा पनि कम लाग्छ ।  

टिस्टुङमा चिसो बतासले घाँटी र जिउलाई स्पर्श गर्छ । देवदारका रुखहरुबाट निस्केको हावाले एक प्रकारको बासना बोकेर ल्याइदिन्छ नाकसम्म । कटुस र चिलाउनेका रुखहरु सडकतिर मुन्टो फर्काएर नतमस्तक झुकेका छन् । घँगारु चुत्रो र ऐँसेलुका झाङबाट तल र माथितिर कसैको प्रतिक्षामा बाटो कुरेरै बसेका हुन् कि जस्तो लाग्छ ।  

 

पालुङ खोलाको नजिकको बजार तरकारीका थोक विक्रेताहरु   केही खाना र खाजा खाने होटेल  दोकानहरु कुनै दैनिक घरायसी प्रयोगमा आउने सामानहरु बेच्न राखिएका किराना पसलहरु ! मानिसहरु गाउँमा तरकारी, घिउ, दूध लगायतका कृषि उपज उत्पादन गरेर यस्ता सडक छेऊका स-साना बजारहरुमा पुर्याउँछन् । ती साना बजारले देशका काठमाडौँ पोखरा आदि ठूला बजारमा ती उपभोग्य बस्तु पुर्याउँछन् । उत्पादक कृषकहरु आफूले बेचेको पैसाबाट चाऊ चाऊ चुरोट रक्सी र अन्य सूर्तिजन्य पदार्थमा धेरै रकम खर्च गर्छन् । गाउँ गाउँमा चाउ चाउ विस्कुट पुगेको छ । भटमास र चिउराको खाजा हराउँदै गएको अवस्था छ ।  

 

मोबाइल र फोनले गाउँबाट ठूलो रकम संकलन गर्छ । पूँजिवादको विकासमा हामी अभ्यासरत छौँ । गाउँहरुमा पनि पूँजीबजार सक्रिय हुन थालेका छन् । सहकारी र समूहहरु   पूँजि निर्माणका प्रक्रियाहरु द्रुत बन्दा छन् । पालुङबाट उकालो लाग्छु । पालुङ र दामनको बीचको एउटा रमणीय मोडबाट यो मनमोहक पालुङ उपत्यकालाई अघाउँजी हेर्न मन लाग्छ । मोडमा बाइक रोक्छु । डिजिटल क्यामेराबाट केही तस्बिर उतार्छु । कवि गीतकारमित्र रमेश पौडेललाई सम्झिन्छु । उनलाई यी केही तस्विरहरु विजुली डाकबाट पठाउने विचार बनाउँछु मनमा ।

उत्तर मोहडा फर्किएको यो डाँडा उक्लिँदा उत्तिसको बाक्लो जंगल देख्छु  एक ठाउँमा उत्तिसका रुखहरुको बीच बीचबाट घाम टाटे पाटे हुँदै छिरेको छ । बाँकी जंगल ओसिलो छ । देशको जैविक विविधता गमेर मन आल्हादित हुन्छ । यसको पूर्ण सदुपयोग हुँदा कति समुन्नत राष्ट्रमा हामी गनिने थियौँ होला ।

 

बाटोको छेउमा एउटा गुम्बा छ । गुम्बामा फहराईएका झण्डाहरु रंगी चंगी छन् । यो घना र सुनसान जंगलको बीचमा यसले एउटा छुट्टै शान्ति प्रदान गर्छ बटुवा एवम् यात्रीहरुलाई । त्यो शान्ति एकछिन भए पनि मैले प्राप्त गरेँ यतिखेर

 

यतिखेर म दामन पुगिसकेको छु प्रतिध्वनी एफ.एम.ले गीतहरु बजाईरहेको छ पालुङमा पनि एउटा एफ.एम. स्टेशन छ । हाल देशभर दर्जनौं एफ.एम. स्टेशनहरुले हामीलाई सूसूचित एवम् मनोरंजन प्रदान गरिरहेका छन् । यो एफ.एम. स्टेसनको आडैको होटेलमा मैले खाजा खाने ठाउँ हो । मासु चिउराको लागि भन्छु, एक कप चिया पिउँछु । थकाई केही कम हुन्छ । दिन ढल्दैछ । कानमा गीत बज्छ   एउटा मीठो गजल-

"ढल गया चाँद गई रात चलो सो जायँ  

हो गई उनसे मुलाकात चलो सो जायँ ।"

 

यतिखेर दिन ढलेर रात परे पनि मैले आफ्नो गन्तव्य पुग्नै पर्छ सुत्नको निम्ति । यस्तो सोचर गुनगुनाउँदै अघि बढ्छु ।

सिमभंज्याङ्ग दुईजहार चारसय अठासी मिटरको उचाईँमा छ । मलाई त्यहाँसम्म उक्लिनु पर्छ । त्यसपछि ओरालो झर्ने क्रम शुरु हुन्छ । 'पानोरमा' होटेलको मोडमा एउटा जर्मन रेसिङ कार बिग्रेको छ । मेकानिकहरु कार बनाउन तल्लीन छन् । यस्ता पूराना मोडेलका कारहरुको र् याली विश्वभ्रमणमा नेपाल आइपुगेका थिए भुटानबाट केही दिन अघिमात्र  छेऊमा एउटा ल्यान्डरोभर जीप छ । ब्रिटिश ल्यान्डरोभर जिपहरु अत्यन्त बलिया गाडीमा पर्छन् ।

 

घाम विस्तारै गाउँ वस्ति पाखा पखेरा छाडेर हिमालका चुचुरातिर उक्लिँदैछ । म सिमभंज्याङ्गको उक्कालोमा बाइकका दुईटा कान पक्डेर चढ्दैछु  अनि घुटघुट बाइकको आवाज जंगलतिर हराउँछ म गीतमा गजलमा हराउँछु यसरी एउटा गजलमा-

"खुदाका शुक्र है वरना गुजरती कैसे शाम  

 शराब जिसने बनाई उसे हमारा सलाम ।"

-शेख आलम आवुआला

चिसो ठाउँ चिसा साँझहरु पिउनेहरुका निम्ति उपयुक्त वातावराण हुन्छ यसैले यतिखेर म ती पियक्कड हरिभक्त कटुवाललाई सम्झिन्छु -

"सपना बोकेर आइदिने रातहरुलाई एउटा सलाम  

सपना खोसेर लैजाने प्रभातलाई पनि सलाम  

सजिलैसित जिउँने एउटा मीठा निहँ पाइएको छ

 रक्सी बनाइदिने पहिलो स्रष्टालाई अर्को सलाम"
-हरिभक्त कटुवाल

 

सिमभंज्याङ्ग साँझलाई ओढ्ने तयारीमा देख्छु । डाँडाको टुप्पोमा अवस्थित नेपाल दूरभाषको अजङ्गको फलामे लिङ्गो छाता ओढेर ठडिएकै छ । सिमभंज्याङ्गबाट ओरालो झरेपछि हिमालहरु ओझेल पर्छन् । मधेशको फाँट लमतन्न सुतेको देखिन्छ । लहरै ठडिएका पारिपट्टिका हिमाल छाडेर म अब अर्काे कुइनेटोमा बतासिन्छु ।

 

ओरालोमा बाइक हुत्तिन्छ । केही तल पुगेपछि यी कालापत्थर लाग्ने चट्टानहरुको तस्विर खिच्छु । मकवानपूरको भित्रि मधेसको भागलाइ कुहिरोले छोपेको छ । सेता बादलका डल्लाहरु कपासको खात जस्तै देखिन्छन् । सिमभंज्याङ्गलाई कुहिरोले छोपेको छैन । एक किलोमिटर तलदेखि कुहिरो माथि माथि दगुर्दैछ मेरो बाइक भन्दा धेरै तिब्र गतिमा । म कुहिरोसँग एकाकार हुने प्रयासमा बत्तिन्छु । बाइक कुदाउँछु । गीतले कानलाई स्पर्श गरिरहेछन् । नारायण गोपालदेखि अनिलिसं सम्मले मन्नाडे तलत महेमुद देखि मुकेस हुँदै वर्तमानका भारतीय पप गायकहरु अदनान सहानीसम्म । महेन्द्र कपुरको यो श्वरले जीवनभर पछ्याइरहेको छ मलाई ।

"तुम अगर साथ देनेका वादा करो……।"

 

यतिखेर भने पातलो कुहिरोले मलाई बिन्दाससँग लखेटीरहेछ म भागीरहेछु बाइकले साथ दिईरहेको छ । माइलस्टोनमा पढ्दै जान्छु ूलामीडाँडा- १८ कि।मि।ू

'लामीडाँडा- १६ कि.मी.

'लामीडाँडा- १५ कि.मि.

 

अघोरमा केही घरहरु छन् । झीरघारीको छेऊमा पसलहरु छन् । दुई चारवटा पसल ।  एक दुईवटा घर छन् जहाँ चियासम्म पिउन पाइन्छ । जंगलको बीच बीचैबाट सडक बनाईएको छ । बस्तीहरु सडक भन्दा धेरै टाढा छन् । त्यहाँसम्म पुग्ने सहायक मार्गहरु निर्माण हुन सकेका छैनन् यसर्थ गाउँले जनजीवन कष्टकर छ अझै पनि ।

 

सूर्य रातो डल्लोमा परिवर्तन भइरहेछन् पश्चिमतर्फ गोधूलीमा  केही घरका छानाबाट निस्केको धूवाँले साँझको र विस्तारै रातको संकेत गरिरहेछ । म जंगलको बीचबाट बत्ती रहेकोछु हेटौंडासम्म ओरालो नै झर्नुपर्छ । बाइकले अहिलेसम्म धोका दिएको छैन नदेओस् भन्ने कामना गर्छु मनमनै । जंगलबाट झ्याउँकिरीको चिरविर सुन्छु । एकप्रकारको आनन्दानुभूति हुन्छ । चिसोले पटक पटक लघुसङ्का गर्न बाध्य पार्छ । औंलाहरु चिसोले कठ्याङ्ग्रिन्छन् पंजाले पनि उति सारो काम गर्दैन ।

 

चुनियाँको सल्लाघारी पनि अँधेरोमा बेरिन खोजेजस्तो देखिन्छ । बाइकले बत्ति माग्छ म स्वीच थिच्छु मेरो अघिल्तिर पुतली र किराहरु सल्बलाउँछन् । बाइकको हेडलाईटमा ठोकिएर ज्यान उत्संर्ग गर्ने पुतली र किराहरुलाई म समवेदना मात्र व्यक्त गर्न सकुँला बचाउँन सक्दिन   मेरो बाध्यता ।

 

कुलेखानीको दोश्रो प्रकाशगृह भैंसे उजेलोमा आकर्षक देखिन्छ । भैंसेको पुल तरेपछि लाग्यो अब हेटौंडा दश  पन्ध्र मिनेटमा पुगिन्छ ।  

 

तेसा्रे बाटो । विस्तारै बुलबुलेको पहिरो छिचोल्छु भित्ताको मीराको होटेल अघिल्तिर सदाझैँ बाइकहरुको घुँइचो छ । हेटौंडा र वीरगंजदेखि रक्सी र खाजा खान आउने मानिसहरुको भीड । मीराको आमाले आत्मीयतापूर्वक मलाई खुवाएको सिस्नो र भात कहिल्यै बिसर्िन सक्दिँन । उनीहरु अत्यन्त आत्मीय छन् । सफा टेबुल र कुसर्ी । अत्यन्त सौहार्दपूर्ण वातावरणमा खुवाउँछन् सेवा गर्छन् । उनीहरुको आतिथ्यले सबैलाई बसौँ बसौँ खाउँ खाउँ लाग्छ । त्रिखण्डीको मोड काटेर बागझोरा पुग्दा शिव . थापा सुपरभाइजरको घरमा बलेको लाल्टिनको उजेलो देखेर लाग्यो कुलेखानी तेश्रो जलबिद्युत परियोजना तयार हुँदा त उसको छाप्रामा एउटा बल्ब बल्ला कि  किनभने यो परियोजना उसैको घर आँगनमा बन्दैथियो र यो कर्मशील शीव बहादुर थापा पनि मेरो मस्तिष्कमा बसिरहेको सोझो इमान्दार पात्र पनि हो ।

 

सुपारीटार सामरी चौकीटोल हुँदै राप्ती रोडको मेरो निवासमा पुग्दा सिङ्गो हेटौंडा बजार विजुलीविहिन अन्धकारमा सुत्ने प्रयत्न गर्दै थियो म पनि बाइक आँगनमा अड्याएर त्यसैगरी बिन्दास मस्त भएँ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |