हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

कोलोराडो घुम्न जाँदा-१,(बासु श्रेष्ठ)

मे २४ २००८

अमेरिका आएदेखि नै अमेरिकी राज्यमध्येको एक कोलोराडोले नेपालको झझल्को दिन्छ भनेको सुनेको थिएँ । तर त्यता जान भने ठिक समय आईपुग्न निकै समय लाग्यो । उता कोलोराडो निवासी दाई योग प्रसाद श्रेष्ठको निकै लामो समयदेखि 'एकपटक हाम्रो ठाउँपनि हेर्न आउ न! ' भनिरहनु हुन्थ्यो । त्यसैले 'अब त जानै पर्यो' भनि मसक्क आँटेर मे २४ मा डेल्टा एयरलाईन्सको टिकट किनें र लागें एयरपोर्टतर्फ ।

वासिँगटन डिसीबाट २.५५ मा उडेको जहाज ठिक ४.१२ बजे एटलाण्टाको विमानस्थलमा अवतरण गर्यो । यहाँबाट डेनभरकोलागी ७.00 बजेमात्र उडान भएकोले साथमा ल्याएको ल्यापटपको सदुपयोग गर्न थालें । विमानस्थलमा जहाज अवतरण गर्नेवित्तिकै मलाई एयरपोर्ट पुर्याउन आएको छोरालाई मैले फोन गरेर आफ्नो यात्रा अद्यावधि गराउँदा उ अझै घर पुगिसकेको छैन रहेछ । ट्राफिकको कारणले आधा घण्टाको बाटो एक घण्टा भन्दा बढि समय लागेछ । मैले भने झण्डै आठशय माईलको यात्रा तय गरिसकेको थिएँ । विज्ञान र प्रविधिको यस देनप्रति मनमनै धन्यवाद दिँदै अर्को उडानकोलागी प्रतिक्षा गर्दै यो संस्मरण टाईप गर्न बसेँ ।

घरबाट एयरपोर्ट जाँदा जाँदै नै दाईले कोलोराडोबाट फोन गरेर मेरो हालखबर सोध्नुभयो । मनमनै वहाँको म प्रतिको सद्भाव र प्रेमप्रति दँग परे । तरपनि भर्खर नेपालबाट आउनु भएको मित्र राजु तुलाधर र सकसजीलाई घरमा छोडेर आफु हिँड्न परेकोमा भने मन खल्लो भई नै रहेको थियो । कोलाराडोको यात्रा तय भईसकेपछि वहाँ आउने कुरा थाहा भयो जुन अलि ढिलो नै भयो मेरो यात्रा परिवर्तन गर्न । जे होस फर्केपछि धोको पुग्नेगरि कुरा गरौँला भनेर यात्रा शुरुगरेपनि मनमा कता कता नमज्जा नै लागीरहेको थियो । राजुजीलाई वहाँको भाई सुजन र सकसजीलाई वहाँको मित्र किशोरले मकहाँबाट लैजाने कुराको टुँगो लागेको थियो ।

एटलाण्टाबाट ठिक सातबजे बेलुका उडेको हवाईजहाज तीनघण्टा बीस मिनेटपछि कोलोराडोका डेनभरमा ओर्लियो । झण्डै ३७ हजार फिटको उँचाईमा प्लेन उड्दा मात्र हलुका पेय पदार्थ र झण्डै दश दाना जति भएको साना बदामका पोका दिईदो रहेछ । अनि डेल्टाको कँजुस्याँईप्रति खिन्नपनि माने । तर व्यापार भनेको नै यहि हो शायद । नत्र मुनाफा कमाउने कसरी र त डेल्टा एयरलाईन्सको सेवा विभिन्न देश तथा शहरहरुमा विस्तार भएको छ । त्यसैले होला शायद एटलाण्टाको रन वे मा म चढेको जहाज पछिपछि अरु पाँच सातवटा लहरै भुँई छोड्न आतुर थिए र म चढेको जहाजभन्दा अगाडि पनि एकपछि अर्को धमाधम भुँई छोड्दै थिए ।


जे होस् डेनभरमा ओर्लिएर आफ्नो सामान लिएपछि दाईलाई फोन गर्दा वहाँ घरबाट मलाई लिन भनि निस्किई सक्नुभएको रहेछ । कहाँ कसरी कुरी रहने भन्ने अर्हाउनु भयॊ र त्यहि बमोजिम कुरेको पाँच मिनेटपछि आईपुग्नुभयो । वहाँको भ्यानमा फ्यात्त फाले आफुलाई । बाटोमा विभिन्न प्रकारका कुरागर्दै म दाँया बाँयापनि हेर्दै थिएँ । मलाई यसरी दृश्यावलोकन गर्न मनलाग्छ । निमेषभर भएपनि हरेक स्थानमा आँखा टाँस्न मन लाग्छ । सकेसम्म त्यसको सम्झना साँच्न मन लाग्छ । चारैतिर जता हेरेपनि मैदान नै मैदान । रुख पात भनेको छँदैछैन । खुल्ला मैदानमात्र । मलाई कता कता तराईको सम्झना गरायो यसले । पथलैयाबाट विरगन्जको बाटोमा देखिने मैदान जस्तो । फेरि मेरो कल्पनाको विपरित । सोचेको थिएँ डेनभर पहाडै पहाडले घेरिएको होला । अनि कुनै पहाडको विचमा होला डेनभर एयरपोर्ट । एयरपोर्टबाट घरको बाटो घुमाउरो ओकाली ओराली होला आदि आदि भन्ने कल्पना गरेको मनले वास्तविकता अर्कै देख्दा कस्तो गलत अनुमान लगाइएको रहेछ भनेर आफै मनमनै छक्क परेँ ।

घरमा पुगी भाउजु अनि सबैसँग भेटघाट र भलाकुसारी खानपिनपछि ओछ्याउन समाउँदा रातको साढे एघार भईसकेको थियो तर मेरो घडीमा भने साढे एक भईसकेको थियो । अर्थात यदि म वासिँगटन डिसीमा हुँदो हुँ त यतिखेर मेरो एक निद्रा पुगी सक्ने थियो । तर डेनभर आईपुग्दा मैले दुईघण्टाको नाफा गरेछुँ ।

त्यसैले त एटलाण्टाबाट पश्चिम हान्निएको ल्पेन जतिजति घाम डुक्न खोज्छ उति उति घामलाई पछ्याउँदै थियो । डुब्न लागेको घामलाई पश्चिम हान्निदै समाउन खोज्दै थियो तर प्रकृतिसँग मानवको के बल ? घाम आखिर डुबेरै छोड्यो र ल्पेन डेनभरमा ओर्लदा क्षितिजमा सूर्यको केहि मधुरो लालीले भोलि भेटौला भन्दै बाई बाई गर्दै थियो ।
 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |