हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

नयाँघरेको एक हातको तालीमा मुलुकको नियति,(सन्तोषी अधिकारी)

बौद्धिकता र एकोहोरो प्रस्तुतिले निबन्ध पाठकहरुको दृष्टिमा बोझिलो विषय मानिन्छ । तर सामयिकता फरक शैली रोचक प्रस्तुति र ससाना कलात्मक वाक्यहरुको संयोजनले निबन्ध पठनीय पनि हुन्छ भन्ने कुरालाई निबन्धकार युवराज नयाँघरेले साबित गरिदिएका छन् । उनको पछिल्लो निबन्ध संग्रह एक हातको ताली यसैको एउटा सशक्त नमुना हो । यस कृतिले मदन पुरस्कार पाउनु पनि निबन्धकार नयाँघरेले रोजेको शैली प्रयोग गरेका झर्रा र ठेट नेपाली शब्दहरुको सुन्दर संयोजन र द्वन्द्वग्रस्त नेपाली चेतनालाई मार्मिक ढंगले व्यक्त गर्ने अभिव्यक्ति कौशलले पाएको मान्यता हो ।

निबन्धकार नयाँघरेको सातौं निबन्धसंग्रह हो 'एक हातको ताली' । एक हातको तालीमा आइपुग्दा उनको शैली निकै कसिएको वैचारिक परिपक्वता र संवेदनाको संम्प्रेषणमा सहज प्रवाह आएको प्रष्ट हुन्छ । एक हातको तालीमा भएका २३ वटा निबन्धहरु व्र्तमान समयका द्धन्द्धग्रस्त चेतना मुलुकमा व्याप्त अन्योल र निराशा मानवीय अवमूल्यन राजनीतिक विसंगति बढ्दो ढाँट प्रवृत्ति तथा सामयिक जीवनका अन्य सन्दर्भहरुमाथि लेखिएका छन् ।  
निबन्धलेखनमा नयाँघरेको आफ्नै विशेषता छ । उनी छोटा छोटा वाक्य तथा वाक्यांश मार्फत जीवनका सन्दर्भलाई कोट्याउने काव्यात्मक बिम्बको झलक दिने शब्दहरुको संयोजन गर्ने तथा पाठकलाई तान्ने खालको कलात्मक वाक्य प्रयोग गरी निबन्धको प्रारम्भ गर्छन् ।    
संग्रहको पहिलो निबन्ध अठार हजार जाबो सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुहरुप्रति ड्राइभर र कन्डक्टरले गर्ने िहंसालु व्यवहार अनि बाटो हिड्ने तथा बाटो काट्ने पैदल यात्रीप्रति हेर्ने दृष्टिकोणमाथि लेखिएको छ । ड्राइभरको हिंसालु उदण्डता, मानिसको ज्यानलाई १८ हजारमा तौलने उसको मानसिक प्रवृत्ति अनि नियम कानुन भए पनि व्यवहारमा लागू नहुने दण्डहीनताको बढ्दो उछ्रिंखलताको नमुना पनि हो '१८ हजार जाबो' शीर्षकको निबन्ध । मानिसको प्राणपखेरु उडाएर १८ हजार तिरेपछि दण्डबाट मुक्ति दिलाउने देशको औचित्यहीन कानुनमाथि व्यंग्य गरिएको छ ।
यर्थाथता बोध गराउने उनको अर्को निबन्ध हो 'एक हातको ताली' । निबन्धको प्रात्र न्याङरुङे कटुवाल गरिब जनताको प्रतिनिधि पात्र हो । उसको एक हातले ताली राजनीतिक पार्टीलाई सघाउने गर्छ भने अर्को हातले चिया बनाएर जनताको सेवा गर्छ । उसले चिया खुवाएको र ताली बजाएर सघाएको व्यक्ति जब ठूलो पदतिर पुग्छ  त्यसबेला उसलाई फर्के्रर पनि कोही हेर्दैन । यसरी राजनीतिक विसंगतिलाई केन्द्रित गरी रचिएको छ यो निबन्ध । दुवै हात गुमाउने कटुवाल जस्तो सोझो व्यक्तिको दिन कहिल्यै नफिर्ने अवस्थालाई विम्बित गर्दै राजनीतिक विसंगतिप्रति तिखो सियो रोपेको छ एक हातको तालीले ।
नयाँघरेको अर्को निबन्ध 'सडक स्वाद'मा भोकमरीको कारण विचलित फुटपाथका बच्चाहरुको कारुणिक अवस्था फोहोरको रासबाट खानेकुरा खोजी खानुपर्ने बाध्यता अनि भोककै कारण अर्काले बमन गरेको खाना पनि आफ्नो बच्चालाई खुवाउँदै र खाँदै गर्नुपर्ने एक महिलाको स्थितिलाई देखाइएको छ । यसरी भोक मेट्नका लागि मानिसले के मात्रै गर्दैनन् भन्ने विषयलाई यस निबन्धले उजागर गरेको छ । तथा भोक मिठो कि भोजन मिठो भन्ने उखानलाई पनि चरितार्थ गरेको छ निबन्धले ।
यसैगरी बाढी र बाउन्ने बुद्धिजीवी प्रलयको नाम होइन सुनामी एक भज्याङ पीर पैराको धावा आदि निबन्धमा मुलुकको स्थिति अन्योल र प्राकृतिक विपत्तिबारे लेखिएका छन् । हिमाली तथा पहाडी भेगमा बस्ने बासिन्दा जसलाई हातमुख जोर्न धौधौ छ रातदिन बाढीपैरो जस्तो प्रकोपमा त्राहित्राही भएर बस्नु परेको छ । कति परिवार पहिरोको शिकार भए कतिलाई बगायो त्रिशुलीले । जसको पीडा र वेदनालाई निबन्धकारले आफ्नो निबन्धमा कैद गर्न सफल भएका छन् ।
जयमाया अर्थात् नेपालीहरु निबन्धमा प्रवासी नेपालीहरुले भोग्नुपरेको गहिरो पीडा र शरणार्थी समस्याको कुरा उठाइएको छ । तिम्रो घरमा देउता निबन्धमा सोचे जस्तो केही नहुनु र भत्काउनेहरुकै मात्र जगजगी भएको अवस्थाको चित्रण छ । भेटौंला कफ्र्युमा पनि मुलुककै विकृति र विसंगति तथा दयनीय अवस्थालाई नै केलाइएको छ । किरियाबाजको दैनिकीले पनि मुलुकमा बढेको राजनैतिक विसंगति र ढँटुवापनको चकचकीले नै स्थान पाएको विषयलाई छोइएको छ । टाउकापर्वको श्रोतामा जनता मूक नियतिको शिकार भएको र चुराको छलाङमा नारीमाथि हुने शोषण द्धन्द्धको मार बढी महिलामाथि नै परेको तथा यस्तो विषम परिस्थितिले ल्याएको परिवर्तन चित्रण गरिएको छ ।
निबन्धकार नयाँघरेले एक हातको तालीमा रहेका प्रायः सबै निबन्धमा मुलुकको द्धन्द्धग्रस्त वर्तमान नियति र त्यससित जोडिएका मानवीय समस्यालाई नै टिपेका छन् । यी निबन्धहरु समयको तीब्र अनुभूति र संवेदना जगाउन सक्षम छन् । निबन्ध विश्लेषण र व्याख्याको  क्षेत्र भए पनि कतिपय प्रसंग दोहोरिएर आउनु र शैलीको नाउँमा तन्काउन खोजिनु जस्ता कुराले केही ठाउँमा बोझिलो पनि लाग्छ । तथापि मुलुकको द्धन्द्धग्रस्त अवस्था सचेतता संवेदना र मानवीय नियतिहरुको सशक्त अभिलेख भन्न सकिन्छ यो कृतिलाई ।
 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |