हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

ह्वाइट हाउसमा एक रात,(धनराज गिरी)

शीर्षक देखेर धेरै पाठकहरु झस्किन बेर छैन । 'लौ यो मान्छे त अमेरिकी राष्ट्रपतिलाई गजल सुनाउन अमेरिका पुगेछ' भन्नुहोला । न आत्तिनुहोस् म पनि तपाईंहरुजस्तै माटोप्रेमी हुँ । यो देश छोडेर उड्नेवाला छैन । उडे पनि फर्किन्छु । म अन्त रमाउन्न- पक्का हो । यो ह्वाइट हाउस नेपालमै छ- कैलाशनगर चितवनमा । अझ लहडीहरुले कविडाँडा नाम राखेछन् । 'न त्यहाँ डाँडा छ, न त भनेजस्तो कवि' कसरी कविडाँडा भनेर एकजना धोबीले मसित प्रश्न गर्यो । उसको काम नै जे कुरामा पनि खोट देखाउनु थियो । मलाई झोंक चल्यो । तुरुन्त जवाफ दिएँ 'हे नकारात्मकताका पुजारी तिम्रो अनन्त दृष्टिकोणलाई म कुन नाम दिउ,  अनिल सिग्देल त्यहीं छन् । फगत् साहित्यलाई आफ्नो जिन्दगी ठान्ने प्यारो भाइ राष्ट्रिय पहिचान बनाइसकेको पात्र सङ्गीत आयाम पनि त्यहीं छन् । अरु पनि कति छन् कति ! पढेनौ १५ गते शनिबारको चितवन पोष्ट ? त्यो भावनात्मक बिम्ब हो के स्वर्णीम बस्ती भौकाहा चितवनमा सुनै सुन छ 'डाँडा' प्रतिको सम्मान हो त्यो । गुलाफबागभरि गुलाफै गुलाफ मात्र छ र ? नारायणगढमा नारायणै नारायण मात्र बस्छन् ? भरतपुरमा फगत् भरतहरुको मात्रै डेरा छ र ? धोबिजी टाप । कविडाँडा आई लभ यू ।
  
 तीनजना विशेष क्षेत्रीहरुको संगत गरें मैले जीवनमा । रामबाबु सर, हरिप्रकाश बुढाथोकी सर र एल.बि. क्षेत्री । तीनजनाको धेरै विशेषताहरु अनुरुप नहोलान् । त्यो बेग्लै कुरा हो । एउटा कुरा मिल्दछ । यी क्षेत्रीहरु कर्मले नै दिलदार छातिको लम्बाइ चौडाइ उचाइ अपरिमेय भन्या । अनुभूत तथ्य वर्षौंको संगत पछि हृदयले ठम्याएको सत्य । दुईजना क्षेत्रीहरुका बारेमा होइन म आज एल.बि. दादाको बारेमा बोल्ने छु । यी क्षेत्रीसित मेरो हृदयको तार कसरी जोडियो 'पता नही' । ना …। ना…ना…। धनराज भाइ ना …।'  दादाको यही अदा मलाई सदा मन पर्यो । हक्की स्वभाव मलाइ मन पर्छ । झन् वीरेन्द्र क्याम्पसको नवनिर्मित पुस्तकालय भवनले मेरो एल.बी प्रतिको सम्मान दोब्बर बनाइदियो । मलाई थाहा छ एल.बी. दादालाई नेपथ्यमा धारे हात लगाउनेहरुको अनिकाल छैन । मलाई थाहा छ हैसियत हुने मान्छेकै बिरोध हुन्छ । यो दुनियामा काम गर्ने इच्छाशक्ति भएको मान्छेले काम गर्छ त्यसको विपरित स्वभाव भएको हतभागीले बिरोध गर्दछ । लाहुरे छँदा उनी गाउँ कैलाशनगर आउँथे । अरु औसत लाहुरेहरु तास र दारुमा लिप्त हुन्थे अझै हुन्छन् । तर उनी कितबसित मायापिरति लगाउनैमा व्यस्त मायापिरतिको हकमा पनि हाम्रा लाल साँची नै बहादुर यता नजाउँ । बाटोमा एम्बुस हुन सक्छ । यी बन्दुके दादा कलमसित रमाउन थाले । अङ्ग्रेजी साहित्यका विद्यार्थी छँदै थिए । भावनाका धनी थिए- रामबाबु सरको भाषामा एक्सन ओरिएन्टेड पनि । उनी काममा विश्वास गर्दछन् । सपना देख्दछन् । शब्दप्रेमीहरुका प्रेमी हुन् । मैले भूपिन व्याकुलको कविता सङ्ग्रह पाँचथान किन्दा उनी २० थान किन्छन् । धनराज म मनराज मेरा दाजै एल. बी. अर्थात् मेरो हृदयको भाषामा लभ्ली ब्रो । हाँ धनराज भाइ कविडाँडामा एक नाइट हो जाये मेरै निवासमा । मसित प्रस्ताव राख्नुहुन्छ- बाँदरलाई लिस्नु साहित्य भनेपछि जहाँ पनि पुग्ने भनेर बदनाम भइसकें । साहित्यकै कारणले कति ठाउँमा जागिर छोड्नुपर्ने हो थाहा थाहा छैन । जे होस् मोरी साहित्य गोरीले हृदय चोरी …। तो मैं क्या करुँ रमेश प्रभात सुरेन्द्र अस्तफल भूपिन व्याकुल जी शर्मा उदय अधिकारी संगीत आया आदि इत्यादिहरुसित सल्लाह भयो । राष्ट्रिय सहमति कायम भयो । प्रस्ताव पारित भयो- ह्वाइट हाउसमा एक रात, अब सुरु गरौं बात |
 
 २०६६ साल फागुन १३ गते बिहीबारका दिन बालकुमारी उच्च माविमा हाम्रो बैठक बस्यो । सामान्य खाका तयार भयो । मित्र प्रभाकर पण्डितको निशुल्क सहयोग पनि अर्थपूर्ण र सार्थक रह्यो । अलि चर्चित स्रष्टाहरुको लोभ कसलाई हुँदैन र ? नारायण ढकाल, हरि अधिकारी, विमल निभा, पुरुषोत्तम सुवेदी, श्यामल, गोविन्द वतमानादि राजधानीबाट । उदय र व्याकुलले यसमा विशेष सहयोग गरे । हेटौंडाबाट नाम कल्पना गरिए जतिलाई उतार्न सकिएन  । त्यही दिन हेटौंडासित हाम्रो कार्यक्रम जुध्यो । भाइ निमेष निखिलले हेटौंडाको प्रतिनिधित्व गरे । दिनको ठीक तीन बजे कार्यक्रम सुरु गर्ने भनिएको भए तापनि विविध कारणले कार्यक्रम सुरु हुन दुईघण्टा ढिला भयो । विनोदजी व्याकुल र म पनि हेटौंडाबाट ढिलै आयौं । मलाई हेटौंडामा बस्न भनिदैथियो आर.सी. रिजाल र हयग्रीबहरु कर गर्दै थिए । विनम्र भाषामा अनुरोध गरें 'लाहुरे दाइले मलाई गोली ठोक्छन् ।' आउनुथियो आइयो । निमेष निखिल र मेरो कथा अनुरुप उनी हेटौंडाबाट एक्लै म पूर्वी चितवनबाट िसंगल लगभग ६०जनाको अनुमान गरिएको थियो । उपस्थिति जनाउने कापीमा ५४ नम्बरमा मैले दस्तखत गरें । पक्कै पनि साठी कट्यो । हाम्रा आदरणीय अग्रज प्रेमविनोद नन्दनज्यूको प्रमुख आतिथ्यमा कार्यक्रमको शुभारम्भ भयो । राजधानीबाट आउनु हुने स्रष्टाहरु फगत् तीन- विमल, श्यामल र पुरुषोत्तम  उहाँहरुलाई पर्खदा यता जम्मा भएका स्रष्टाहरुको धीरताको बाँध भत्किने डर । देखाजायेगा । एल.बी. दादा सभापति, जी. शर्माको उद्घोषण, उदय अधिकारीको स्वागत मन्तव्य । बहुत मीठो कविता सुनाए प्यारा भाइ संगीत आयामले । बोहजी सुन्दर र आकर्षक भने ूआज हामी कविडाँडाका सर्जकहरुले सुनाउने होइन सुन्ने दिन हो । पाहुनाहरुलाई मौका दिनुपर्दछ । ध्यवाद उनको यो शैलीको राम्रो तारिफ भयो । रमेश प्रभातको कार्यपत्र पूर्णप्रसाद अधिकारी र भूपिन व्याकुलको टिप्पणिले कविडाँडाको इतिहास खोतल्यो । भाइ खुमनारायण पनि हाजिर । साँच्ची नै साहित्यमय भयो कविडाँडा । ढिलै भएपनि राजधानीबाट आउने भनिएका पाहुनाहरु पनि आइपुगे । वाफ रे कैलालीबाट पनि । उनै कोकिलकण्ठी । सरस्वती दिदी अलि ढिलो उदाउनुभयो । दिदीभाइको गफारम्भ । कार्यक्रम चलिरहेछ सबै बोलिरहेछन् । एउटा उक्ति त्यहाँ पनि चरितार्थ भएझैं लाग्यो । उक्ति हो "सबैले बोले कसैले सुनेनन् ।" अचेल यो एउटा साहित्यिक रोग नै भएको छ । म क्षमा माग्दै मनको कुरा भन्छु । हामी सर्जकहरु सुन्न भन्दा सुनाउन पाउँदा बढी आनन्दित हुन्छौं कि ? कसैले सिर्जना वाचन गरेर टुङ्ग्याएपछि निखित भाइ "राम्रो राम्रो" भन्थे र म तिर पुलुक्क हेर्दै श्वेत पत्र जारिगर्थे 'के गर्ने दाइ ध्यान दिएर सुनिएन । यति त भन्नै पर्यो ।' त्यहाँ कस्तो सिर्जना सुन्न पाइन्छ भन्दा पनि के के खान पाइन्छ भनेर त सोचेनन् मानिसहरुले यस्तो खुराफात पनि आयो दिमागमा । भीडमा साहित्यको मूल्य हुँदैन भन्ने कुरा बुझेर कतिपय मानक स्रष्टाहरु भीडबाट टाढा रहन्छन् । रामबाबु सर अक्सर भन्नुहुन्छ- कविता र सुन्दरताको रसस्वादन एकान्तमा गर्नुपर्दछ । त्यो रात मेरा लागि ज्यादै महत्वपूर्ण रात रह्यो । बालकुमारी उच्च माविमा कार्यरत मेरा स्थायी पाठकहरुले मलाई धेरै प्रेरणा दिए । नारायण भुसाल, यादव पाठक, अधिकारी बन्धु, इश्वरी कँडेल अर्का मितवा युवराज भुसाल धेरै धेरै । त्यसैगरि आफ्नो कान्छो छोरोभन्दा पनि कान्छो र सिर्जनामा दम भएको अपार सम्भावनाको स्रोत सुमनराज श्रेष्ठ सित मीठो भलाकुसारी भयो । धेरै घतलाग्दा इतिहासहरु स्मरण सम्झाए प्यारा सुमनले । वाह एल.बी. ब्रो को सचमुच कमाल करदिया । पहिलो चरणको कार्यक्रमको बीट मार्ने क्रममा 'होस्ट' एवम् 'दोस्त'  दादाले कमाल गर्नुभयो । त्यो चित्र बिचित्र । शब्दातीत 'यो उदय अधिकारी फुच्चे मकहाँ आउँथ्यो । एक दिन सुम्निमा छोड्यो । एक दिन पारिजात छोड्यो । जबर्जस्ती मलाई नेपाली साहित्य पढ्ने बनायो । आखिर म पनि …। के भन्ने …।'  दाजुको खुसीको सीमा नै थिएन । आफ्नै आँगनमा यति धेरै इष्टमित्रहरु डाकेर रमाइलो गर्दा कसलाई आनन्द आउँदैन र ? पढेका र पढाएका क्षेत्रीका लागि धनभन्दा मन ठूलो हो । मान्छेसित रमाउन पाउँदा साँच्ची रमाउँछ मान्छे । त्यहाँ त्यो रात हामी एउटा इतिहास निर्माण गर्दै थियौं । त्यो दिन कान्तिपुरमा शारदा शर्माको सारगर्भित लेख छापिएको थियो । वर्तमान' लाई शारदाजीले धेरै महत्व दिनुभएको थियो । मलाई लाग्यो एल.बी. दादा पनि वर्तमानमा रमाउन चाहनुहुन्छ । एक एक 'लम्हा' लाई चाड बनाउन चाहनुहुन्छ । 'जिन्दगी लम्बी नहीं बढी होनी चाहिए बाबु मोशाय' म आनन्द हिन्दी चलचित्र राजेश खन्ना र अमिताभ बच्चनलाई सम्झिन पुग्दछु । 
 दोस्रो चरणमा जलपान रसपान रमाइलो । अब वातावरण झन् रङ्गीन बन्दछ । आ-आफ्नो रुची अनुसारको भोजन ग्रहण गरिन्छ । नास्ता पछि डिनर । दुईपटक माइक समाएं मैले । के के वाचन गरियो भुलियो । स्रोताहरुले गजल मन पराएझैं लाग्यो । कविता साँच्ची नै कविताजस्तै हुनुपर्दछ भन्ने दृढ मान्यताका धनी श्यामलको एक वाक्य 'कविता कुनै केटीको नाम होइन'ले बजार लियो । म धेरै बोल्न र गाउन पर्ने मान्छे । त्यो रात साथीहरुलाई मैदान खाली गरिदिएं । भाइ अर्जुन अस्तफल र श्यामलजीको बर्चस्व कायम रह्यो । १२.३० सम्म कार्यक्रम चलेछ । बिचरी पातली मसितै आएर लुपुक्क । मेरी पातली अरु कोही होइन नि । राताफूल दाजै चेतकान्त चापागाईं । कुनै पनि सिद्धान्तको पर्खालभन्दा हाम्रो नाता धेरै अग्लो बटारिएका पात्रले विमल निभा दाजुहरुको सकेलमा मेरो बारेमा राम्रो विज्ञापन गरेका रहेछन् । विमल निभा र श्यामलजी बिहानै मलाई प्रेमामृत पिलाउँछन् 'धनराज गिरी पनि भलाद्मी नै रहेछ । बेकारको भ्रम सिर्जना भएछ राजधानीमा ।' मज्जाले हासियो । धेरै रमाइलो भो । दाजु विमल निभाको शैली ज्यादै प्यारो । अलिखित दादाका बारेमा धेरै चर्चा पायो । सबैभन्दा महत्वपूर्ण कुरा 'यात्री' कविताले सम्मान पायो । 'देवकोटा पनि जुवाडे थिए' यो सुन्न पाउँदा मभित्रको भूतपूर्व ग्यारिज खेलाडिले राहत अनुभूत गर्यो । 'सेन्स अफ ह्यूमर' प्रशस्त रहेछ दाजु निभामा । 'सिउँडी' त्यसै लोकपिय भएको छैन । मलाई धेरै धेरै हिन्दी साहित्य पढ्ने सुझाव दिनुभयो । श्यामल 'म्यान अफ द म्याच' बन्न सफल हुनुभयो । 
 दाजु एल.बी. क्षेत्रीको आकाशजत्रो छातिलाई सलाम गर्न चाहन्छु । 'कविडाँडा' नाम सार्थक होस् । घडेरी प्लटिङ्ले कुरुप भएको कैलाश नगर खडेरी होइन मनसुनप्रेमी बनोस् । 'White House को त्यो रात' सार्थक रह्यो । धेरै धेरै सर्जकहरुले साथ दिनुभयो । आउन असमर्थ हुनेहरुसित पनि कुनै गुनासो छैन । भाभीश्रीलाई विशेष नमस्कार । एल.बी. दादा हमने गुस्ताखी की इस खता की इक दी सजा है- अपनी दिल में हमें उम्र कैद किजिये । आइ रियल्ली लभ यू ब्रो खुदा गवाह ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |