हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

मेरो देश मेरो संस्मरण,(शेखर ढुङ्गेल)



कुरा सामान्यजस्तै लाग्छ तर विगतको पेशागत दौरानमा बटुलेका विभिन्न अनुभवमध्ये निम्न दुई घटनाले पेशाप्रति नै वितृष्णा जागी सो पेशामात्र होइन त्यो प्रशासनिक संरचना र वातावरणदेखि वाक्क भई देशै छाड्ने विचार मनमा आयो । जहाँ इच्छा त्यहीं उपाय भनेझैं विश्वको विकसित अविकसित गरी १७ देश आफ्नै आर्थिक क्षमतामा भ्रमण गर्नसक्ने पनि बनायो ।

एक
२०४४ साल पौषमा इलाका प्रमुखको रुपमा मेरो सरुवा रामेछापको इलाका प्रहरी कार्यालय चोप्राङ्गमा भयो । त्यसबेला सो ठाउँमा पुग्नको लागि सिन्धुपाल्चोक जिल्लाको मुडेबाट सैलुङ्गडाँडा काट्दै जानुपर्ने थियो । अर्को बाटो काभ्रेको दोलालघाटबाट जान्थ्यो । दोलालघाट दोभानटारमा बासबसी भोलिपल्ट बिहानको १०-११ बजे मात्र चोप्राङ्ग पुगिन्थ्यो । यदि प्लेनबाट जाने हो भने काठमाडौंबाट १७ मिनेटको उडानमा मन्थली पुगी ८ घण्टाको पैदल यात्रापछि मात्र त्यो विकट ठाउँमा पुगिन्थ्यो ।
 
पञ्चायत कालको चरम दबदवा र प्रहरी ज्यादतीको नमुनाजस्तै थियो त्यो जिल्ला । प्रहरी पञ्च को कठपुतली र पञ्च  र प्रहरी मिलेपछि संविधान नियम कानुन कुन चराको नाम हो गाउँका जनतालाई पत्तो थिएन । एउटा उदाहरण दिउँ म जानुभन्दा ६ महिनाअघि त्यस ठाउँमा लामा थरका एक व्यक्ति प्रमुख थिए । उनले स्थानीय हाट-बजारबाट एक युवतीलाई आफ्ना सहायक समेतको सहयोगमा जबरजस्ती अपहरण गरेर ल्याएछन् र रातभर सामूहिक बलात्कार गरेछन् । त्यो घटना तत्कालीन समयका धेरैजसो पत्रपत्रिकामा पनि छापिएको थियो । तर कुरो के रहेछ भने निज लामा तात्कालीन प्रहरी प्रमुख डिवी लामा का प्रिय पात्र रहेछन् । त्यसैले उनको एक तह घटुवाको कारबाही मात्र भयो । अनुमान गर्नुस् कस्तो रहेछ नेपालको कानुनी स्थिति । त्यो स्थानमा बसुन्जेल  मैले आफूलाई कार्यालय प्रमुखभन्दा पनि अपराधीको संरक्षक प्रमुखको रुपमा पाएँ । सबै प्रहरी उस्तै हुँदैनन् भन्दा पनि विश्वास गर्नेको खडेरी नै परेको वातावरण मैले पाएँ ।

अर्को मार्मिक प्रसङ्ग त्यो कार्यालयअन्तर्गत जिल्लाको दोस्रो एसएलसी परीक्षा केन्द्र थियो पकरवासमा । त्यहाँ प्रत्येक बर्षको परीक्षामा प्रहरीको काम प्रत्येक 'चिट'  पास गरेबापत पचास रुपियाँ लिने चलन रहेछ । त्यो कुरा मलाई थाहा थिएन । परीक्षा सुरु भयो । मैले परीक्षा केन्द्रको चारैतिर सय मिटरको दुरीमा 'नो इन्ट्री' भनी प्रहरीलगायत कोही पनि प्रवेश गर्न नपाउने व्यवस्था गरेको थिएँ । त्यसैको कारण होला भोलिपल्ट आवा आयो । त्यस बेला संचारको एउटै साधन आवा मात्र थियो । जिल्ला प्रमुखबाट आदेश आयो- 'तपाईं सहायकलाई परीक्षाको जिम्मा दिई तुरुन्त जिल्ला कार्यालय फर्किनुहोला' । भएछ के भने विगतमा परीक्षा केन्द्रबाट त्यसरी उठाएको पैसा जिल्लामा पनि पठाउने चलन रहेछ । डिबी लामाले त्यसबेला धेरैजसो मधेशी मूलका प्रहरीलाई घुस्याहा भनी सजाय दिन पहाडतिर लखेट्ने गरेका थिए । उनीहरुको पनि कमाई खाने भाँडो परीक्षा केन्द्र नै थियो । अभिभावकले पनि आफ्ना छोरा नाति नातिना पास गराउन विगतको परम्पराको निरन्तरता चाहेका रहेछन् । उनीहरुले पनि मलाई त्यति रुचाएका थिएनन् । मेरो सोचाइ र पेशाको अवैध अमर्यादित व्यवहारको बीचमा अन्तर विरोध रह्यो ।

दुई

माघको अन्तिम हप्ता थियो । सिरेटो हावासंगसगै पारिलो घाम पनि थियो । म त्यै पारिलो घाममा टेवुल राखी काम गर्दै थिएँ । कार्यालयको आँगनमा एकसरो चोलो मात्र लगाएकी अन्दाजी दुई बर्षजतिको कट्टुमात्र लगाएको छोरो च्यापी त्यस्तै २२/२४ कि जस्ती देखिने महिला आइन् । मैले अनुमान लगाइसकेको थिएँ- पक्कै घर झगडा भएको हुनुपर्दछ । कठ्यांग्रने जाडोमा नाङ्गो बच्चा बोकेकी उनलाई देखेर उनको वाध्यता र गरिबीको अन्दाज लगाउन पनि मलाई गाह्रो भएन ।

सोधेँ 'के भयो बहिनी?  "सर ! श्रीमान् घरमा हुनुहुन्न । सासूले खान नदिएको दुईदिन भयो । आज त घरबाटै निकालि दिइन् । माइतीमा बाबुआमा मरिसके । एउटा दाइ थियो शहर गएको त्यसको पनि केही खबर छैन । सर मेरो जाने ठाउँ कही छैन म के गरौं ?" उनले एकैसासमा बताइन् । उनी तीनघण्टा लामो पैदल यात्राबाट आएकी थिइन् ।

उनले समस्या बताउँदा बताउँदै प्रहरी पठाई उनको सासूलाई सम्झाउनु पर्ने निर्णय मैले गरिसकेको थिएँ । मैले उनको मौखिक बयानलाई लिखित निवेदनको रुप दिइसकेको थिएँ । उनको ल्याप्चे सही लिई तुरुन्त प्रहरीसाथ लगाई पठाउन सहायकलाई आदेश दिएँ ।

यतिकैमा ती महिला आफ्नो दुइ हातले कम्मरको पटुका खोतल्न थालेको देखेर म कौतुहलले हेर्दै थिएँ कि उनको त्यो हातमा खुचुमुच्च भएको सयको नोट सीधा बन्दै मतर्फ बढ्दै थियो । मेरा आँखा रसाएर आए । गला अबरुद्ध भएजस्तो भयो- उनको बढ्दो हात र त्यो नोटले । प्रहरी हुनु भनेको गर्बको विषय नभएरआश्रित हुनु हो जस्तो लाग्यो ।

'सर !' उनको बोलाहटले म झस्किएँ । म त्यो प्रहरी थिइनँ जो त्यो स्वीकार गरोस् । मैले उनको हात राख्दै भने 'बहिनी प्रहरीलाई काम गरेबापत पैसा दिनुपर्दैन । हामीलाई सरकारले तलब-भत्ता रासन दिएको छ । मेरो शब्दले उनलाई विश्वास लागेनछ । फेरि सोधिन् 'के प्रहरी जान्छन् त ?  अगाडि तयारीमा रहेका प्रहरीलाई देखाउँदै भनें 'ऊ हेर्नुहोस् तयार भैसके ।'  उनी ढुक्क हुनसकेकी थिइनन् किनकि त्यहाँ प्रहरीले बिनापैसा काम गरेको आजसम्म कसैले सुनेकै थिएनन् रे । नियम के रहेछ भने जस्तोसुकै समस्या भएपनि निवेदनका साथ सय रुपियाँ राख्नैपर्ने र प्रहरी खटाएवापत कुखुराको मासु खुवाउनै पर्ने ।

अशिक्षित गरिब र देशको विकट पहाडी गाउँमा प्रहरी कसरी राज गर्दो रहेछ सामान्य उदाहरण मात्रै थियो यो । नोकरी प्रवेशको छोटो समयमा नै भोगेको विकृतिपूर्ण ब्यवहारले मलाई त्यो सेवाप्रति वितृष्णा बढाउँदै लगेको थियो । एक हप्तापछि काठमाडौं आई सरुवा मागेको त फेरि नवलपरासी जिल्लाको रुद्रपुर इलाका प्रमुख बनाइदिए ।

Comments

Purushottam Gautam

सेखरजी खुशी लाग्यो पढेर । देश वास्तवमै केही खराब तत्वको बोल्वाला भएर नै बिग्रिएको हो । पुलिश भन्ने बित्तिकै हामी सानोमा पनि साह्रै घ्रिना गर्थ्यौ । र खैरे भन्थ्यौ । बहुदल्को बेला लग्भग ९ बर्षको थिएँ होला म । बातावरण नै त्यस्तै थियो । त्यस्मा पनि झापाको गौरादह पुलिश्को कडा निगरानीमा थियो होला अहिले सम्झँदा । पछी पछी आफ्नै आफन्त भाईहरु पनि क्रमस पुलिशमा भर्ती भये । सामान्य लाग्न थालयो सबै कुरा । तर पनि केही पुलिश हरुको घटिया हर्कतले पुलिस बद्नाम भएको हो । त्यस्लाई सुधार्न समय लाग्छ अबस्य । तर पनि असम्भब भने छैन शायद । 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |