के थियो तिनका दोष ?
बासु श्रेष्ठ, (उडब्रिज, भर्जिनीया)
आखिर फेरी आफ्नो
क्रुरताको रुप देखाएरै छाड्यौ
शान्त र सुन्दर अनि विशाल भएर
सदियौँ देखि चुपचाप
चुपचाप बसिरहेकी तिमीले
आज आफ्नो विकराल रुप देखाएरै छाड्यौ
ति जसले तिम्रो विशालताको
महिमा र सुन्दरताको गीत गाएर
तिम्रो वक्षमा खेल्न थाक्दैनथे
तिनैको हुर्मत लियौ
के के रिस थियो यो ?
के को आवेग थियो यो ?
कोहि कर्मबाट फर्कदै गरेका थिए
कोहि कर्ममा जान तयारी गर्दै थिए
कोहि कर्मबाट फर्केर अधिकारपूर्ण
मस्त निद्रामा थिए
तर तिमिले कसैको परवाह गरेनौ
कसैप्रति दया, माया जताएनौ
ति सबैलाई आफ्नो क्रुरताको शिकारमा जाक्यौ
तिनलाईमात्र होइन
तिनका बाटाघाटा बास निवास
नातागोता कुटुम्ब
बन्धु बान्धव
भनौ तिनका जे जति थिए
सबैलाई आफ्नो क्रुरताको रापाग्नीमा
बगाएर लग्यौ
ति सबैलाई एकै ठाउँमा राखेर
समाहित गर्यौ
मानौ
त्यो तिम्रो आहार थियो
वर्षौंदेखि असाध्य भोकोले
आफ्नो हँस देखाए झै
तिमिलेपनि देखाएरै छोड्यौ ।
त्यतिले नपुगेर
तिनले जोहेका तापपनि हर्यौ
प्रकाशपनि हर्यौ
हुँदा हुँदा तिनका हिँडने बाटोपनि हर्यौ
आखिर
यत्रो रिस र आक्रोसको कारण के नै थियो र ?
तिनका विराम के नै थियो र ?
सिवाय विहान कर्ममा जानु र
बेलुका बासमा फर्कनु
अनि फुर्सदमा तिम्रो
विशाल छातीलाई हेरेर प्रशँसामा रमेका थिए
तर
तिनका भद्रता र सज्जनताको धज्जी उडाउँदै
न बृद्ध भन्यौ
न बालक भन्यौ
न युवा
न युवती
न अशक्त
न बिरामी सबैलाई अनि
आफ्नो बाटोमा पर्ने सारा
वस्तुलाई
आफ्नो विकराल मुखमा
ककटेल घोलेर
अजिँगरले झै समाहित गरेरै छाड्यौ
बाँचेर भाग्यमानी बनेरपनि
निर्दोष रोईरहेका तिनका आँखा
अनवरत आफन्त खोजी रहेका तिनका आँखा
नानी हराएर नानीको खोजमा रहेका आमाका ति आँखा
न्यानो र ताप हराएर अविरल रोईरहेका निर्दोष नानीका ति आँखा
भोलीको विहानको भरोसा गुमाएरपनि
जीवनको आसमा पर्खिएका ति आँखाहरु
देखेर म बारम्बार
तिमिलाई सोध्न चाहन्छु
आखिर के थियो तिनका दोष ?
के कोलागी थियो तिम्रो त्यो आक्रोस ?
के अब फेरी आफ्नै गुँडमा फर्केर
चुपचाप
पश्चातापको नजरले तटमा
हेरेर बस्छौ ?
आखिर के थियो र तिनको दोष ?