हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

म अर्थात् पराजित वर्तमान

गीता त्रिपाठी, (काठमाण्डौं)


कुनै दिन थियो

प्रश्नविहीन थिए तिम्रा आँखाहरु

उत्तरै-उत्तरले पूर्ण थिए मेरा ओठहरु

 

कुनै दिन थियो

अहँ थिएन तिमीसँग

मेरानिम्ति कुनै प्रश्नै थिएन

न्यानो घाममा निदाएको

बालक-शान्तिजस्तो

मैभित्र निदाउँथे मेरा उत्तरहरु

 

आज यो दिन छ

तिमी प्रश्नैप्रश्नको सूचीपत्र छौ

प्रश्नार्थक छन् तिम्रा आँखाहरु

प्रश्नार्थक छन् तिम्रा दृष्टिहरु

प्रश्नार्थक छन् तिम्रा सोचहरु

 

आज यो दिन छ

उत्तरविहीन छन् मेरा ओठहरु

उत्तरविहीन छन् मेरा आवाजहरु

उत्तरविहीन छन् मेरा अनुभूतिहरु

 

मौनताका चाङ खोतलिरहेछ इतिहास

कोलाहलबीच सुतिरहेछ वर्तमान

मौनता र कोलाहलबीचको विन्दुमा

म अलिकति उज्यालो पर्खेर थाकेकी छु  

 

सारा प्रश्नहरुबाट आजित

सारा उत्तरहरुबाट विभाजित

दुखिरहने घाउ भएको छु म

अनन्त अँध्यारोबाट पराजित

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |