हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

रूथ

राजेश नतांश, (सुनसरी)

म जस्तीलाई कसले पो बिहे गर्ला र सम्पादकज्यू ?”

तिमी फूलझैँ राम्री छौ, गरिहाल्छन् नि !

रूथ सोफामा लडिरहेकी थिइन् । उनको हातमा मेटासिडको बोतल थियो जसमा प्वाइजनलेखिएको थियो । रूथ आँखा चिम्लिएर गहिरो निद्रामा परेकीझैँ कञ्चन देखिन्थिन् । उनको मुखमा सेतो पदार्थ जमेको देखिन्थ्यो । कोठाको चारैतिर सरसामानहरू असरल्ल छरिएका थिए । मान्छेहरूको भीडभाड निकै देखिन्थ्यो । प्रहरीहरू लासको मुचुल्का उठाउन लागिरहेका थिए । उनीहरू वरिपरिका सबुत प्रमाणहरू एकत्रित गर्नमा तल्लीन थिए । पत्रकारहरू फोटो खिच्नमा व्यग्र थिए । मैले उनको अनुहारमा धेरै बेर हेरिरहन सकिनँ, उनको तस्बिर लिनै सकिनँ, मेरा हातहरू अनायासै कामिरहेका थिए । हृदय वाचाल भएको थियो । म रूथको नजिकको मान्छे । छोटो समयमै उनी मसँग नजिकिएकी थिइन् तर एक्कासि यो के हुन गयो.....? आफैँलाई पत्यार लागेको थिएन ।

 

मलाई रूथ निक्कै अचम्मकी लाग्ने गर्दथ्यो । उनीजस्तो युवती मैले यसअघि देखेकै थिइनँ । पातलो शरीर, छोटो पातलो अनि रिठ्ठा जस्तो कालो केश, हँसिलो अकिञ्चन चेहरा र निर्दोष गाजलु आँखा भएकी थिइन् । नीलो जिन्स पेन्ट अनि रातो टिसर्टमा सजिएको भेषमा उनलाई मैले पहिलो पल्ट देखेको थिएँ, उनी मेरो अफिसमा आएकी थिइन् । उनी निक्कै मिजासिली र बोलैया स्वभावकी थिइन्, उनको बोल्ने शैली देखेर मलाई एकदमै रिस उठेको थियो । कस्ती केटी होली ?” मनमनै सोचेको थिएँ, “के बोल्दैछु भन्ने पनि थाहा छैन होला, यसलाई त ।

म स्थानीयस्तरको दस्तावेजदैनिक पत्रिकामा सम्पादक भएर काम गर्न थालेको १० वर्ष भइसकेको थियो । मोफसलमा हाम्रो पत्रिका निकै चर्चित थियो । बिस्तारै हामी राजधानीतिर आफ्नो शाखा खोल्न उद्यत थियौँ । हाम्रो पत्रिकाका प्रभाव क्षेत्रहरूमा पत्रकारहरूलाई सबैले इज्जत गर्ने गर्दथे । हामीले विशेषतः आपराधिक समाचारहरूलाई प्रश्रय दिने गरेका थियौँ । हाम्रो उद्देश्य भनेको समाजमा हुने गरेका आपराधिक कार्यलाई निमिट्यान्न पार्नु थियो । यस्तै सिद्धान्तमा रहेर हामी समाचार सम्प्रेषण गरिरहेका थियौँ । यसैकारणले हाम्रो साख बढेको थियो । स्वच्छ, निर्भीक र निष्पक्ष हाम्रो पत्रकारितालाई सबैले विश्वास गरेका थिए ।

 

म आफ्नो सम्पादक डेस्कमा बसेर सम्पादकीय लेखिरहेको थिएँ । उनी मेरो क्याविनको ढोकामा उभिएकी थिइन् । आफ्नो क्याविनअगाडि यति राम्री केटी कताबाट आएकी होली भनेर म अचम्ममा परेको थिएँ । हृदयमा ताता भावनारूपी म्याग्मा तछाडमछाड गरिरहेका थिए । उनलाई देखेर एकप्रकारको लज्जा महसुस भइरहेको थियो । मन एक्कासि उज्यालो भएको थियो । खै किन हो थाहा पाउन कठिन भइरह्यो ।

 

मे आई कम इन सर ?”

अफ कोर्स ।

भन्नुस्, केही थियो कि ?”

हजुर, मैले एउटा लेख लेखेकी थिएँ ।

खै ! लेखको शीर्षक के हो त ?”

नारीको जिन्दगी ।

उनको लेख सरसर्ती पढ्न थालेँ । एकदमै फोकटिया लेख लेखेकी रहिछन् । उनको भाषाशैली एकदमै कमजोर रहेको थियो । विचारहरू सामान्य थिए । विषयमा कुनै नौलोपन पाइनँ । एकचोटि उनको अनुहार हेरेँ । उनी एकटकले मेरो अनुहारतिर हेरिरहेकी थिइन् । हाम्रो पत्रिका नवप्रवेशी लेखक/पत्रकारहरूलाई उत्साहित गर्ने हुनाले मैले उनलाई आश्वासन दिँदै भनेको थिएँ ।

लेख ठिक छैन, थोरै सम्पादन गर्नुपर्छ

के छैन र त्यस्तो ?”

विचार सामान्य छ, फरकपना केही छैन तर सम्पादन गर्न सकिन्छ ।

त्यसो भए सम्पादन गर्नुस्, तपाईँको काम के ?”

तपाइँले मेरो काम सिकाउनु पर्छ ?”

एक्सट्रिमली सरी, मेरो बोली नै यस्तै हो । अलिकति सम्पादन गरिदिनुहोस् न ।

उनको बोली देखेर मलाई एकदमै रिस उठेको थियो तर उनको माफी मगाइले हाँस उठ्यो, उनको जिब्रो चिप्लिएको भनेर माफ गरिदिएको थिएँ किनकी यति राम्री लेखिकालाई म गुमनाम बनाउन चाहन्न थिएँ । भलै उनी लेखनीमा राम्रो नभएपनि शारिरीक रूपले निकै सुन्दर थिइन् । उनको लेख केटीकेटी खालको भएपनि सम्पादन गरेर वयस्क बनाईदिएँ अनि टाईपिङ्ग कक्षमा पठाइदिएँ ।

 

रूथ आफ्नो लेख प्रकाशित भइसकेपछि बारम्बार मेरो अफिसमा आउन थालिन् । उनी आफ्नो लेख दिन्थिन् । उनले बिस्तारै राम्रो लेख्दै गएकी थिइन् अब भने उनको लेखलाई सम्पादन गर्न आवश्यक थिएन । उनको लेखनी दिनानुदिन परिपक्व भइरहेको थियो जसरी हाम्रो भेटघाट परिपक्व भएको थियो । एकदिन बाबालाई एक्कासि ब्लड प्रेसर हाई भएर हस्पिटल लगिएको रहेछ । थाहा पाउँनबित्तिकै म दौड्दै हस्पिटल पुगेको थिएँ । म पुग्दा बाबाको स्थिति सुध्रिसकेको रहेछ । उहाँ आराम गर्दै हुनुहुँदो रहेछ । उहाँलाई रुथले हेरचाह गर्दै रहिछन् अनि पो थाहा भो, रूथ नर्स रहिछिन् । निलो कुर्ता सुरुवाल र माथिबाट सेतो एप्रोनले निकै सुहाएको थियो उनलाई, मलाई देख्ने बित्तिकै उनी मुस्कुराएकी थिइन् । बाबाप्रतिको त्यतिबेलाको सम्मान र हेरचाह देखेर मेरो मनले उनलाई सम्मानको माला पहिर्यायो ।

 

मलाई यो पार्क एकदमै प्राकृतिक लाग्छ भलै यो कृत्रिम भए पनि ।

किन नि ?”

म यहाँ अक्सर आइरहेकी हुन्छु, यो ठाउँ निक्कै रोमान्टिक लाग्ने गर्छ । चिसो हावाले सिधै शरीरलाई स्पर्श गर्छ, यहाँ बसेर सफ्ट ड्रिङ्कपिउँदा निकै रोमाञ्चित हुन्छु ।

त्यसबेला रूथ निक्कै रोमान्टिक बनेकी थिइन् । शनिबारको दिन थियो । म अफिसमा बसिरहेको थिएँ । उनले मलाई फोन गरेर त्यहाँ बोलाएकी थिइन्, । म चराझैँ उडेर उनलाई भेट्न दौडिएको थिएँ । उनी कालो साडी र कालै चोलीमा पुतलीझैँ देखिएकी थिइन्, उनको अधर देखेर उनलाई चुमूचुमू झैँ लागेको थियो । उनी साथीको बर्थडेमा पुगेर आएकी रहिछन्, हामी त्यहाँ बसेर लामो समय गफ्फिएका थियौँ ।

 

म जस्तीलाई कसले पो बिहे गर्ला र सम्पादकज्यू ?” यो प्रश्नले मलाई गहिरिएर सोच्न बाध्य तुल्यायो, रातभर निदाउनै सकिन । आखिर के चाहन्छिन् रुथ ?, किन यस्तो निरस लाग्ने गफ गरिन् मसँग ? यस्तै प्रश्नहरूसँग पौँठेजोरी खेल्नुपर्यो रातभर । मैले त्यतिखेर सामान्य प्रत्युत्तर दिएको थिएँ, त्यसपछि उनी चुपचाप बसेकी थिइन् । यस्तै कुरा मनमा खेलाउँदै कतिखेर निदाएछु, पत्तै भएन । एकाबिहानै संवाददाताले फोन गर्दा झसङ्ग भएँ, “सर, हाम्रो अफिसमा आइरहने रूथले त आत्महत्या पो गरिछन्, अवस्था एकदमै गम्भीर छ । तपाई यहाँ झट्टै आउनुपर्यो ।

 

प्रिय, सम्पादक

यो पत्र तपाईँको हात लाग्दा म यो संसारमा सायदै हुनेछुइँन । तपाईँको हृदयको रफ्तार बढिरहेको होला यसबेला, तर तपाईँको ढुकढुकलाई अनुभूत गर्न सक्दिनँ किनकी अब म यो दुःखी संसारमा रहनेवाला छुइँन । म बाहिरबाट जस्ती भर्भराउँदी देखिएपनि भित्रभित्रै जलिरहेकी हुन्थेँ । कति कोशिस गरेँ आफूलाई बदल्न, परिवारलाई बदल्न अनि समाजलाई बदल्न तर फगत म सधैँ असफलताको शिकार बनेँ । खै, मेरो भाग्यरेखामै कालो लत्पतिएको रहेछ, खाली एक से एक पीडाहरूको बन्दी बनिरहेँ । मेरी ममी मानसिक रोगको शिकार हुनुहुन्थ्यो, उहाँ जहिले पनि बर्बराइरहनुहुन्थ्यो, असाध्यै कमजोर बन्नुभएको थियो । हामीले ठूलाठूला हस्पिटलमा देखायौँ तर उहाँलाई कसैले पनि ठिक पार्न सकेनन् । बाबा यसबाट हतास हुनुभयो । उहाँले भएजति धन ममीको उपचारमा लगाउनुभयो । अन्ततः बाबाले अर्की बिवाह गर्नुभयो । यसबाट आमालाई झन् चोट पुग्यो । उहाँ दिनभरी केके सोचेर बसिरहनुहुन्थ्यो । हामीसँग एक शब्द पनि बोल्नुहुन्नथ्यो, केही पनि खानु हुन्नथ्यो । अन्ततः एक रात उहाँले साडीमा बेरिएर फ्यानमा झुण्डिएर आत्महत्या गर्नुभएछ । म यो देखेर बेहोस भएँ, सबै सपना चकनाचुर भए, मैले आफूलाई होसमा पाउन हम्मेहम्मे पर्यो । ममीको झुण्डिएको मृत शरीरले तस्बीर बनेर सताइरह्यो ।

जब तपाइँसँग भेट भयो मैले आफूलाई बिस्तारै होसमा ल्याउँदै गएँ । तपाईँसँग समय बिताउन म हरपल लालायित हुने गर्दथेँ । तपाइँले मलाई एकदमै सम्मान गर्नुभयो । म तपाईँबाट प्रेम पाउन चाहन्थेँ । तपाईँकी जीवनसंगिनी बनेर जिन्दगीभर साथ दिन चाहन्थेँ तर यत्तिमै सीमित रहेनन् मेरा आशाहरू । तपाईँसँगको अन्तिम भेटपछि मेरा जीवनका अँध्यारा पाटाहरू फेरि झ्याँगिन थाले, फेरि पीडा र बेइज्जतीका कोर्राहरू निर्मम बर्सिन थाले । बाबाले घरमा काम गर्ने केटीलाई बलात्कार गर्नुभएछ, दाइले रिसको झोँकमा बाबाको हत्या गर्नुभएछ, सानु ममीले पुलिसलाई खबर गरिछन् । दाइलाई प्रहरीले पक्राउ ग¥यो । बाबाको जीवन त नष्ट भयो नै, साथमा दाइको जीवन पनि नष्ट भयो । भन्नुहोस्, यस्तो भयानक अवस्थामा अब म बाँचेर के फाइदा, कसको लागि बाँच्नु म अब ? भोलि समाजले हामी र हाम्रो परिवारलाई के भन्छ ? तपाइँले मलाई के भन्नुहुन्छ ? निश्चय नै मलाई थुक्नु हुनेछ । आपराधिक मानसिकता भएको  दाइ र अपराधी यौनपिपासु बाबु भएकी मलाई तपाइँले कहिल्यै पनि स्वीकार गर्नुहुनेछैन, त्यसैले म जानीजानी तपाईँको  अस्मितामा चोट पुर्याउन चाहन्नँ । म आजैबाट यो संसारलाई छाड्दैछु, तपाइँको जीवन सुखमय बितोस् ।

उही

तपाईंकी रूथ

 

प्रिया रूथ,

तिमी छोटो समयमै मेरा लागि प्रिय बन्यौ, मेरो रोजाइको पहिली स्त्री बन्यौ तर मलाई  तिमीदेखि घिन लागिरहेको छ, तिमीप्रतिको मेरो सम्मानको वृक्ष ढलेको छ । रुथ भनेको दया हुन्छभनेकी थियौ तर तिमी दयाकी पात्र पनि रहिनौ, कायरहरूप्रति कसैको दया पलाउँदैन । निश्चय पनि तिमीले सबैभन्दा बढी पीडा पाएकी रहिछौ तर ती पीडाहरूलाई घटाउने कहिल्यै प्रयास गरिनौ, सधैँ पीडाकै पल्ला भारी भएको देख्यौ । समस्याहरूसँग जुध्न सक्ने पो मान्छे त । समस्यालाई समस्या ठानेर कहिल्यै समस्याको समाधान हुँदैन । अलिकता विवेक लगाउनुपर्छ, सकारात्मक सोचको विकास गराउनुपर्छ । मानिसको जीवन सधैँ सुखमय भएर बिते जीवनको मूल्य के ? अनि मानिसको मूल्य के ? तिमीले वर्तमान ठूलो देखेर भविष्यको भयावह स्थितिको कल्पना गर्यौ त्यसैले तिम्रो जीवन अर्थहीन रूपले सकियो । मानिसले आशाको सानो बिरुवा हुर्काउन जान्नुपर्छ । आफूसँग प्राप्त भएका कुराहरूसँग रमाउन जान्नुपर्छ तर तिमीले त्यस्तो कहिल्यै गरिनौ, मात्र बेहोशीमा निर्णय लिन खोज्यौ । अब तिमी  यो संसारमा छैनौ, कसलाई सम्झाउनु म यस्ता कुरा ? तिमीजस्ती निस्सार युवती मेरी जीवनसंगिनी कदापि हुन सक्दिन थियौ, माफ गर म जानीजानी रूढ बनिरहेको छु तर सत्य यही हो । आशा गर्छु यो धर्तीमा तिमीजस्ता कायरपात्रहरू फेरि नजन्मिऊन् । भन्छन्, आत्महत्या गर्नेको आत्माले कहिल्यै शान्ति पाउँदैन रे, भड्किरहन्छ रे ! तर हृदयदेखि तिम्रो आत्माको चीरशान्तिको कामना गर्छु ।

उही

सम्पादक

 

यस्तै भावनाहरू लेखेर एउटा पत्र तयार पारेँ र एउटा रातो गुलाफको साथमा उनको समाधिमा गई चढाएँ । सरासर अफिस आएर थचक्कै बसेँ, जारमा राखिएको चिसो पानी पिएँ । मेरो दिमाग एकत्रित बनाउनै सकिनँ, हरपल उनका सम्झनाहरूले डस्न थाले, म मूर्तिवत् भएँ । आफूलाई सम्हाल्दै भोलिका लागि  समाचार लेख्न बसेँ, भोलिको एक्सक्लुसिभ न्युज हुनेछ

युवतीको रहस्यमय आत्महत्या,

सम्पादकलाई युवतीको मृत्युपत्र ।

Comments

Jit Limbu

dherai ramro chha tapaiko katha malai ta  sarai mann paryo tara alik chhoto lagyo alik laamo lekhnu hola 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |