हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

महिलाहरुको संर्कीण मानसिकता या वाध्यता ?

कुमारी लामा, (काठमाण्डौं)


माघको चिसो अनि धुम्मिएको दिनले कुढाएको मनलाई एक कप तातो चियाले अलिक न्यानो बनाएर म र मेरी सहकर्मी गीता त्रिपाठी कार्यलयको काममा ब्यस्त भइरहेकै बेलामा अकस्मात् मेरो मोबाइल बज्यो । हेरेको नयाँ नम्बर थियो "मेरो मोबाइल”को । फोन उठाएँ । एउटी महिलाले 'हेलो' भनिन् अनि तपाई कुमारी राई हो भनी सोधिन् । म छक्क परे आफूले कहिल्यै कल्पना नगरेको थर आफ्नो नामको पछाडि जोडिँदा । मैले सहजै 'हैन' भनेँ । के को लागि होला तपाइँ को बोल्नुभयो जस्ता प्रश्नहरु मैले पनि गरेँ । उनले आफ्नो बारेमा बताउन चाहिनन् त्यसैले मैले फोन राखेँ । अलिक अनौठो लाग्यो अकस्मात यस्तो फोन आउँदा । गीता पनि छक्क परिन् । फेरि हामी आफ्नै काममा व्यस्त रहयौं । केही समय पछि पुनः मेरो मोबाइल बज्यो म झस्किएँ । अहिलेको फोन ल्याण्ड लाइनबाट थियो । तर अचम्म फेरि त्यही महिला थिइन् । उनले फेरि त्यही कुरा दोहोर्याइन् 'तपाई कुमारी राई मगर कि लामा ? तपाई विवाहित कि अविवाहित ?" अब मलाई अलिक रिस उठ्यो त्यसैले मैले पनि राम्ररी नै जवाफ दिएँ । तपाईलाई मेरो व्यक्तिगत कुरा सोध्ने कुनै अधिकार छैन । बरु तपाई को र कहाँबाट के को लागि मलाई सोधपुछ गर्दैहुनुहुन्छ भनी सोधेँ । उनी निकैबेर मौन रही मेरो कुरा सुनिन् अनि भनिन् मैले यो नम्बर मेरो श्रीमान्को नोटबुकबाट पाएको र बुझ्नको लागि फोन गरेको । मेरो कन्सिरी झन तातियो अनि मैले पनि भनेँ तपाई कस्तो श्रीमती हुनुहुन्छ श्रीमान्को नोटबुक जाँच गर्दै जथाभावी फोन गर्ने । यति भन्दा भन्दै पनि उनले फेरि सोधिन् 'के तपाई दिपकलाई (नाम परिवर्तित) चिन्नुहुन्छ ? म दिपककी श्रीमती ।'  म नै आश्चर्यमा परें आफूले कहिल्यै नचिनेको मान्छेको बारेमा मसँग सोधपुछ गरिदाँ । उनले यो पनि भनिन् कि आजकल मेरो श्रीमान् कुमारीसँग लागेको छ । उनको त्यो अन्तिम वाक्यले मलाई अक्क न बक्क बनायो । मैले सहन नसकी फोन राखें । म छाँगाबाट खसेंजस्तै भएँ । मुटुभित्र चसक्क सियोले घोचे जस्तै भयो । कहिल्यै सपनामा पनि नचिताएको मान्छेको नामसँग मेरो नाम जोडिँदा अनि उनकी श्रीमतीको लाछनाले भरिपूर्ण कुरा सुन्दा । ती महिलासँग भएको सम्पूर्ण कुरा सविस्तार गीतालाई सुनाएँ । उनी पनि आश्चार्यचकित भइन् । एकैछिन अगाडिको मेरो हँसिलो अनुहारमा एककिसिमको पीडाले धपक्कै ढाक्यो । गीताले मेरो पीडालाई सहजै महसुस गरी पीर नगर भनी सम्झाइन । तर म भित्र एकतमासको उथलपुथल चलि नै रहयो । म एउटी शिक्षिका जो विद्यार्थीहरुलाई नैतिकता र इमानदारीताको पाठ पढाउँछु तर मै माथि नै यस्तो लाछना मलाई सहिनसक्नु भयो । बाहिरको हुस्सुले ढाकेको नरमाइलो वातावरण जस्तै मेरो मन पनि झन झन अँधेरो र चिसो भयो ।

मलाई ती महिलाप्रति रिस पनि उठ्यो अनि दया पनि लाग्यो । यो वास्तवमा के हो त ती महिलाभित्रको संकीर्ण सोचाइको उपज या उनको श्रीमान्को कमजोरी । हामी अहिलेको आधुनिक नारीहरु जो समानताको लडाई लड्दै छौं पुरुषसँग काँधमा काँध राखी काम गर्ने र हक अधिकारको लागि लड्ने प्रण गर्दैछौं । यस्तै महिला अधिकार समानता अस्तित्वको लडाई आदि आदिको विषयमा बहस भइरहेकै बेला त्यस फोनले मलाई छुट्टै संसारमा डोर्यायो र एकपटक फेरि सोच्न वाध्य बनायो । के हामी महिलाहरु लोग्ने कोसँग बोल्छ कसको फोन नम्बर राख्छ भनी चियोचर्चा गरी अल्मलिँदै हिड्ने बेला हो यो ? के महिलाहरु यस्तै यस्तै कुराहरुमा अल्झीरहेका छन् ? सायद हो महिलाहरु यस्तै यस्तै कुराहरुमा अल्झीरहेका छन् । यो उनिहरुको रहर नभई वाध्यता पनि हुनसक्छ । उनिहरुको भित्रको डर या आत्मविस्वासको कमी हुनसक्छ । आफ्नो मान्छे कसैले लगिदिन्छ कि भन्ने पीर अथवा लोग्नेप्रतिको उनीहरुको अविश्वास । यो फोन त एउटा उदाहरण मात्रै हो । यँहा त दिनमा कैयौं कुमारीहरुलाई यस्तै फोनहरु आउँछन् होला । महिलाहरु आफ्नो व्यक्तित्व विकास र उन्नति भन्दा पनि विभिन्न शंका र समस्याहरुमा जेलिइरहेका छन् । यो किन त ? उनिहरुले आफूलाई पूर्णरुपमा साँघुरो मानसिकताबाट बाहिर निकाल्न नसकेर या यसो गर्नु उनिहरुको वाध्यता हो । किन लोग्नेहरु आफ्ना स्वास्नीहरुलाई विश्वास दिलाउन सक्दैनन् ? सायद ती महिलाको श्रीमान्ले उनलाई विश्वास दिलाएको भए जति जनाकै फोननम्बर राखे पनि उनले फोन गर्नेथिइनन् होला । लोग्नेहरु किन आफ्नो कर्तव्य र उत्तरदायित्वलाई बिसिएर स्वास्नीहरुलाई झन झन शंकालु बनाउँदै छन् । यो लोग्नेमानिसहरुको चाल हो या उनीहरुको प्राकृतिक गुण ? संसार त विश्वासमा नै अडेको छ । लोग्ने र स्वास्नी दुवैले एकअर्कालाई विश्वास दिलाउन सक्नुपर्छ एक सफल दाम्पत्य जीवनको लागि । अनि श्रीमतीहरुपनि आफ्नो काम कर्तव्यलाई चटक्क बिसिएर अनावश्यक रुपमा श्रीमानहरुको चियोचर्चा गर्ने पट्टि नलागेर बरु आफ्नो व्यक्तित्वको विकासपट्टि लाग्नुपर्छ । अहिलेको संसारसँग आफूलाई अगाडि बढाउन आफूभित्र आत्माविश्वास र ज्ञान बढाउने पट्टि लाग्नुपर्छ । अब समय आइसकेको छ हामी नारी बनी शीर ठाडो पारी हिड्ने । ती झिना मसिना कुराहरुबाट आफूलाई मुक्त गरी विशाल मन र स्वतन्त्र विचार लिई अगाडि बढ्ने । यदि सबै नारीहरुले आफूलाई ती संर्कीण विचारहरुको परिधिबाट बाहिर निकाल्न सके सायद यस्ता अनावश्यक फोन कलहरु कहिल्यै आउने छैनन् ।

Comments

samba dhakal

संस्मरणले आकर्षण गर्‍यो बा!!!

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |