काँडा र फूल
हेमन्त श्रेष्ठ, (भर्जिनिया)
चुपचाप खपि रह्यो
खपि नै रह्यो
फूलले
काँडाको ज्यादती
तर खप्नुकै बाँध भत्किए पछि
एक दिन
रगतले लथपथिएको
अनुहार लिएर
फूलले काँडालाई भनी-
"बैगुनी रहेछौ
गुनको बदलामा
तिमीले मलाई खुन दियौ"
लाजले
शीर निहुरायो काँडाले
र शालिन हुने चेष्टा गर्दै भन्यो-
"जन्मजात गुन,
अलिकति पोखिहालेछ
माफ पाउँछु कि ?"
विश्वासघातले
ढुँगा बनिसकेकी
फूलले आबेशमा भनिन्-
"सर्प रहेछौ तिमी
व्यर्थै मैले दुध पिलाएँ"
काँडा आखिर काँडा नै थियो
फूलको वचन पचाउनै सकेन
र एक्कासी
जाई लाग्न उफि्रयो फूलमाथि
तर वीचैमा रोकेर
फूलले काँढालाई सराप दिईन्-
"सास रहे सम्म तिम्रो हातले
मेरो शरीर छुन नसकोस्
तिमीबाटै असुरक्षित रहेछु म
त्यसैले अब आईन्दा
मेरो सुरक्षाको अभिभारा
तिमीले नै चुकाउनु परोस"
यही सरापबाट श्रापित
काँढाहरु
त्यही दिनदेखि आजन्म
फूलहरुका पहरेदार भएर
उभिरहेछन्, उभिरहेछन्