हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

तिमी

दिप्स शाह, ()


तिमी
,

कहिले चाटिरहुँ जस्तो बेहिसाब मीठो

कहिले बेपत्तै तीतो टर्रो

ह्वाल्लै छाद्नु जस्तो !!

अरुलाई नटेरे'नी तिम्लाई त मैले टेर्नै परेकोछ ,

त्यही भएर होइन?

तिमी गमक्क फुल्दै

मलाई "बंचाइको" छातीबिच

घ्यार्‍ररररर घिसारिरहेको ??

 

चिसो जून ओढेर नीरव आकाशको छानो मुनी

बाँच्नुको तातो खोज्दै गर्दा 

तिमी मसँग टिपिक्कै टाँसिएर बसिरहेका हुन्छौ

तर

धेरै जसो मलाई तिमीले खिस्याइरहेको भान हुन्छ ,

अभाबका भंड्खाराभित्र

म हतासीइरहेको बेला

तिमी मेरै ढाडमा सवार भैरहेका हुन्छौ

तर

धेरै जसो मलाई तिमीले थपडि बजाइरहेको अनुभब हुन्छ।

त्यतिखेर त तिम्रो मुखै कोपरेर बिरुप पारीदिउँ जस्तो लाग्छ!!

अरुसँग नझुके'नी तिमीसँग त मैले झुक्नै परेकोछ,

त्यही भएर होइन?

तिमी घमण्डले मत्त भएर

मलाई "यो अस्थिर रंगमञ्चमा" छम्छमी नचाइरहेको??

 

फेरी कहिले त

आँखाको भित्री पटाङ्गिनिमा

सुटुक्क हेरफेर गर्दै 'भोली' को सपना देखाइदिन्छौ,

मीठा गुलिया सपना!

सुनका सपना

धूनका सपना

चाँदी पोख्ने सेता जूनका सपना ,

त्यतिबेला त तिमीलाई

श्वासै नरोकी लप्लपी चाटिरहुँ पो लाग्छ!

अरुलाई थुकेपनी

तिम्लाई त मैले चुम्बन गर्नै परेकोछ,

त्यही भएर होइन?

तिमी

जानिजानी आवरणभरि मह दलेर

मलाई "अन्तिम ओढार तिर बिसाउन"

पछीपछी तानिरहेको??

 

मेरा असंख्य
आँशुका भेलको पहिलो साक्षात्कार तिमीसँगै हुन्छ
,

अनी

बेपर्वाह

उन्मुक्त

हाँसोका फोहराहरुको पहिलो

सान्निध्यता पनि तिमी सँगै हुन्छ ,

हेर मलाई तिमीसँग इर्ष्या लाग्छ इर्ष्या !

मेरो आफ्नो कुनै निजत्व नहुने तिम्रो सामु??

भन मलाई कहाँबाट यहाँ ल्यायौ र किन?

अनी कहिलेसम्म यहाँ म तिम्रो औँलिमा नाच्नुपर्ने हो??

 

उफ्फ्फ्फ्फ!!

तिमी बोलि बोली केहि बोल्दैनौ

अनी नबोलेरै के के भनिसक्छौ,

घरिघरी

उल्काको इन्द्रेणी ल्याइदिने तिमी

कहिले

आँखाको चौकोस फट्ट्याएर हेरिरहुँजस्तो

अनी

बेला न कुबेला खग्रास ग्रहण निम्त्याइदिने तिमी

स्वात्तै सोहोरेर ब्ल्याकहोलमा बिसर्जन गर्नुजस्तो ,,

आह!

तिमी कहिले चाटिरहुँ जस्तो बेहिसाब मिठो

कहिले बेपत्तै तीतो टर्रो ह्वाल्ह्वाली छाद्नु जस्तो

तिमी!!

ओ! चटके जिन्दगी!!

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |