हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

एउटा नाटकले खोतल्यो टोरोन्टोको आतङ्ककारीको कथा

गोबिन्दिसंह रावत, (टोरोन्टो)


साहित्य र समाज एक अर्काका पूरक हुन् । त्यसैले साहित्यलाई समाजको दर्पण पनि भनिन्छ । संसारका जुनसुकै भाषामा पनि साहित्य र समाजबीच घनिष्ठ सम्बन्ध रहेको  हुन्छ । समाजबिना साहित्यको कल्पना गर्न सकिँदैन र साहित्यबिना समाज पनि अधुरो  हुन्छ । समाजमा साहित्यले निकै ठूलो प्रभाव पारेकॊ हुन्छ । साहित्यका कथा कविता उपन्यास निबन्धजस्तै नाटक विधाले समाजमा बेग्लै प्रकारको प्रभाव छोडेको पाइन्छ । नाटक साहित्यका अरु विधाभन्दा बेग्लै स्वरुपको हुन्छ । नाटक एक वर्णनात्मक कला हो यसमा कथाको वर्णन हुन्छ
, घटनाको वर्णन हुन्छ, परिवेशको वर्णन हुन्छ अनि यसमा पात्रको सम्पूर्ण जीवनको वर्णन हुने गर्दछ । नाटकको प्रभाव समाजमा चाडै नै पर्ने भएको हुनाले यसलाई साहित्यको सशक्त माध्यमका रुपमा पनि लिने गरिन्छ । साहित्यका अरुविधा पठनीयमात्र हुन्छन् |  तर नाटक पठनीय सँगसँगै मन्चनीय पनि हुने गर्दछ । त्यसैले नाटकलाई श्रव्य र दृश्य दुवै काव्यका रुपमा लिईन्छ ।  

सामाजिक जागरणकालागि होस् वा राजनैतिक विरोधकालागि नाटकले राजनैतिक विषयवस्तुलाई समातेको हुन्छ । रुसको क्रान्तिसँगै राजनैतिक नाटकले गतिलिन थालेको देखिन्छ । राजनैतिक नाटक दलहरुकालागि जनमानस समक्ष सजिलै पुग्न सक्ने सशक्त माध्यम भएकोले यसलाई दलहरुको सांस्कृतिक हतियार पनि भनिन्छ । विरोधका लागि जनसभामा प्रस्तुत हुने राजनैतिक नाटककले रुसमा राम्रो छाप छोडेपछि यसको प्रभाव युरोप अमेरिकामा पनि पर्न थाल्यो । अनि बिस्तारै बिस्तारै सम्पूर्ण विश्वमा राजनैतिक नाटकको विभिन्न रुपहरु देखापर्न थालेको पाइन्छ । राजनैतिक नाटकले समाजको अतीतका विसंगतिपूर्ण पाटाहरुलाई वर्तमानको खुला र व्यक्ति स्वतन्त्रताबीच भिन्नता देखाएर मानवीय अधिकारबाट वन्चित समुदायलाई आफ्नो हककालागि मुठ्ठी कस्न प्रेरित पनि गराउँछ । राजनैतिक नाटककै रुपमा सडक नाटकको पनि जन्म भएको मानिन्छ । सडक नाटक भन्नुनै राजनैतिक नाटक हो र सडक नाटकले राजनैतिक विचारलाई मुखारित गरिरहेको हुन्छ ।  

माथिको प्रसङ्गले तलको विवरणलाई टेवा दिने भएकोले चर्चा मात्र गरिएको हो । यही राजनैतिक नाटकले समाजमा घटेका चर्चित घटनालाई विषयबस्तु बनाएर समाजको ध्यानाकर्षण गराउन मंच पाउने गर्छ जसलाई अतियथार्थवादी प्रस्तुति भन्न सकिन्छ । त्यस्तो सामाजिक अतिविसंगतिपूर्ण घटनालाई विषयवस्तु बनाएर एकाथरीका रंगकर्मीहरु घटनालाई मंचमा ल्याएर त्यसको वास्तविकता खोतल्ने प्रयत्न गर्न थाल्छन् । पात्रको जीवनशैलीमा आएका उतरचढाउहरुका माध्यमबाट उक्त घटनाको कारण समात्ने प्रयास गर्छन् र वास्तविकताबाट दर्शक समाजलाई अवगत गराउन चाहन्छन् । अपराध गरेपछि सजाय दिनु सामाजिक कानून हो । तर अतियथार्थवादी नाटककारले अपराधी हुनुको कारण खोतल्दै वास्तविकतामाथि प्रकाश पार्ने प्रयास गरेको हुन्छ । यहाँ चर्चा गरिएको नाटकका नाटककारले पनि सम्भवतः यही प्रयास गरेको हुनुपर्छ । यस्तो द्विविधापूर्ण र विवादास्पद विषयवस्तुलाई निडरताका साथ प्रस्तुत गरेकोमा नाटककार क्याथरिन फ्रिडप्रति आभार प्रकट गर्न चाहन्छु ।  

जुन २००६ मा क्यानाडाकै इतिहासमा सबै भन्दा ठूलो आतंककारी घटना घटेको थियो । जुन टोरोन्टो १८ को नामले परिचित हुन पुग्यो । टोरोन्टोको विभिन्न ठाँउमा बम हमला गराउने १८ जना आतंकारी समुहलाई प्रहरीले समातेको थियो र अहिलेसम्म पनि तिनिहरुको मुद्दा अदालतमा विचारधिन अवस्थामा सुनवाईको मिति कुरेर बसेको छ । ती १८ जना आतंकारी घोषित समूह मध्येका एक हुन शरिफ अबदेल्हालिम । यही शरिफ अबदेल्हालिमलाई विषयवस्तु बनाएर टोरोन्टोका नाटककार क्याथरिन फ्रिडले एउटा नाटक तयार गरिन । जसलाई रङ्गकर्मी ब्याटिज पिजानोको निर्देशनमा ल्वाम गेब्रेहारिएटको शीर्ष भूमिकामा २०१० को अगस्त ५ कादिन सफलता पूर्वक मंचन गरिएको थियो । अतियथार्थवादी कथामा आधारित 'होमग्रोन' शीर्षकको यस नाटकको लेखनका लागि यसका लेखिका क्याथरिन लगभग १८ महिनासम्म शरिफ अबदेल्हालिमलाई भेट्न र कुरा गर्न विशेष स्वीकृति लिएर जेलमा जाने गर्थिन । टोरोन्टो गृष्मकालिन नाट्य उत्सवकालागि तयार पारिएको होमग्रोनको अन्तिम मंचन अगस्त १४ का दिन भएको थियो । नाटकका मुल पात्र शरिफ अबदेल्हालिमलाई अदालतले गत जनवरी २००९ मा अपराधी घोषणा गरेपछि हाल उनी जेलमा आफुले पाउने सजायको समयावधि कुरेर बसेका छन् । उनीमाथि आतंकारी गतिविधिमा सम्लग्न रहेको प्रमाणित भएपछि दुईवटा मुद्दा लागेको छ ।  

यस नाटकमा नाटककारले यसका मूल पात्रलाई आफुले गर्ने आतंकवादी बम प्रहारको खतरा बारे जानकारी भए पनि ऊ विगार गर्न नचाहने व्यक्तिको रुपमा देखाइएको छ । मुलपात्रप्रति नाटककारको दयामाया रहेको र उनलाई असल तर अरुको कुरामा लागेर फसाइएको भन्ने देखाउन खोजिएको छ । उनीमाथि सहानुभूतिको जनमत ल्याउन खोजिएको देखिन्छ । तर वास्तविकता भने त्यसको विपरित रहेको अदालतको बयानले बताएको छ । शरिफ अबदेल्हालिमले आफैले टोरोन्टोको स्टक एक्चेन्जमा भन्दा कुनै ठुलो सपिङ्ग सेन्टर मलमा बम प्रहार गरेर बढी नरसंहार गर्ने तथा कुनै खाद्यान्न बनाउने फेक्टरीमा विष हालेर खादान्न पदार्थलाई विषयुक्त बनाउने सल्लाह दिएकोबारे खुल्न आएको कुरा अदालती बयानमा रहेको छ । उनलेनै बम बनाउन चाहिने फर्टिलाईजर किनेका थिए जुन बमको शक्ति सन् १९९५ मा ओक्लाहोमा शहरमा गरिएको बम प्रहारभन्दा तीनगुणा ठूलो थियो । यस्ता तथ्यलाई नाटककारले नाटकभन्दा टाढै राखेर मुलपात्रको जीवन कथालाई अघि सारेकी छिन् । यसलाई लेखकको अधिकार पनि मानिन्छ ।  लेखकले कुनै पनि यथार्थपरक वा ऐतिहासिक कथामा कलम चलाउँदा आफ्नो परिकल्पनाबाट कथालाई गतिमयता दिनेकाम गर्ने गरिन्छ र वास्तविकताबाट दर्शकलाई अल्मलाउने प्रयास पनि गरिन्छ । शेक्सपीयरको नाटकले बेलायती समाजसंगै राजनैतिक दाउपेचको थालनी दरवारबाट भएको देखाउदै तत्कालीन समाजको जुन चित्र आफ्ना नाटकमा देखाएका छन् | त्यही समाजको स्वरुपलाई हामीले स्वीकार्दै आई रहेका छौं । रामायण र महाभारतमा वर्णित समाज अनि देव तथा असुरबीचको भिन्नतालाई पच्छ्याउँदै हामीले राम र कृष्णलाई शक्तिशाली एवम् ईश्वरीय शक्तिका रुपमा स्वीकार्दै आईरहेका छौं । यस नाटकमा पनि नाटककारले यस्तै परिकल्पनालाई अगाडि सारेर नायकको वास्तविक चाहना आतंकारी बन्ने नरहेको देखाउन खोजिएको छ । त्यसैले नाटकले आजको युगमा मानिसलाई अझ विशेष गरेर युवाहरुलाई यस आतंककारी समूहमा युवाहरुको संख्या बढी रहेको थियो कसरी धर्मको आस्था र भविष्यको सपना देखाएर गलत मार्गमा लगाउने गरिन्छ भन्ने वास्तविकतालाई देखाउन खोजिएको छ । उनलाई एउटा भिन्नै प्रकारबाट आतंककारीका रुपमा प्रस्तुत गरिएको छ । नाटककारले शरिफ अबदेल्हालिमलाई अभियुक्तका रुपमा नभएर एउटा पीडित र सहानुभूति पात्रका रुपमा उपस्थित गराएको छ । उनलाई पनि  स्टेभेन ट्रस्कोट वा डोनाल्ड मार्शल जस्ता क्यानाडाका दुईजना गलत रुपमा अपराधी बनाइएका पीडितका रुपमा प्रस्तुत गरिएको छ । दर्शकले यस नाटकमा एक पीडित नागरिकले भोग्नु परेको पीडाको कथाव्यथा हेर्न पाउने छन् । जसलाई यसका निर्देशकले यथार्थपरक द्दष्टिकोणबाट निर्देशन गरेका छन् भने अभिनयमा पनि यसका नायकले यथार्थतालाई कतै खस्कन दिएका छैनन् । एउटा जीवन्त अभिनय गरेर नायक ल्यामले दर्शकको वाहावही लुट्न सफल भएका छन् भने नाटकका अर्का पात्रले पनि चरित्रलाई जीवन्तता दिएर अभिनय गरेका छन् । नाटकपछिको पत्रकार भेटघाटमा केही दर्शकले कलात्मक र जीवन्त प्रस्तुतिकालागि सबै रङ्गकर्मीलाई बधाई दिई रहेका थिए भने २००१ सेप्टेम्बर ११ मा आफ्ना बुवा गुमाएकी  इरिका बास्निकीले चाही आतंककारी जस्ता अमानवीयताकालागि आफुमा कुनै प्रकारको सहानुभूति नरहेकोले नाटकको विपक्षमा बोलेकी थिइन् । नाटककारको विचारबाट सबै सहमत हुनु पर्छ भन्ने पनि केही छैन । यो सब विचारको आदानप्रदान मात्र हो । लेख्नेले लेखेर दिएको विषयलाई देख्ने वा पढनेले कुन रुपमा ग्रहण गर्छ त्यो ग्रहणकर्ता माथि निर्भर पर्छ ।  

टोरोन्टो गृष्मकालिन नाटक महोत्सवकालागि तयार पारिएको प्रस्तुत नाटकले सरकारबाट पनि राम्रो आर्थिक सहयोग पाएको छ । तर नाटक प्रस्तुत हुनअघि हार्पर सरकारका एकजना प्रवक्ताले जनताको करको पैसालाई आतंककारी जस्तो विषयवस्तुमा आधारित नाटकलाई सहयोग गर्नु आतंकवादलाई प्रोत्साहन दिनुसरह भएको टिप्पणी गरेका थिए । नाटकले मंच पाएपछिपनि यसको प्रसङ्ग अझ सेलाएको छैन । अहिले केन्द्र सरकारको वृतभित्र सरकारी सहयोगमा सम्पन्न गृष्मकालिन नाटक महोत्सवमा कुनै आतंकारीको विषयवस्तुमा निर्मित नाटकमा वास्तविक खलपात्रमाथि सहानुभूति सिर्जना गराउन नाटक तयार भएको बारे चर्चापरिचर्चा चल्न थालेको छ । क्यानेडियन हेरिटेज विभागबाट पाएको सहयोगको रकममा ४५ हजार डलर केन्द्र सरकारबाट उपलब्ध गराएइकोले जनताको कर तिरेको पैसाले यस्तो आतंकारी गतिविधिमा संलग्न भएको व्यक्तिलाई सहानुभूति दिने खालको काम भएकोमा संचार जगत पनि तात्दै आएको छ । यस पटकको गृष्मकालिन नाटक महोत्सवकालागि सरकारबाट लगभग ९५ हजार डलरको अनुदान पाएको थियो ।

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |