शुभकामना
आनन्दप्रसाद शर्मा, (हाल: वाशिंगटन डि.सी)
हातमा लक्ष्मीको वास मुखमा सरस्वतीको ।
गाथमा सर्वदासाथ माता दुर्गा भवानीको ॥
जीउमा साच सुविस्ता मनमा शान्ति चैन होस् ।
शोक सन्ताप चिन्ताको छायाछर्को हुदै नहोस् ॥
शत्रुको शक्ति सामर्थ्य बुद्धि होस पराजित ।
हार स्विकारी पाउमा पर्न आउन् निरन्तर ॥
मित्रको एकता शक्ति बाहु बुद्धि पराक्रम ।
वृद्धि यो दिनमा दुई रातमा होस चौ गुणा ॥
नलागोस् ठेश खुट्टामा घाउचोट शरीरमा ।
नझरोस नुहाउदा कोरदा केश भुइमा ॥
सन्तान दरसन्तान सुखी सम्पन्न शिक्षित ।
धर्तीका श्रोतले धान्ने होउन 'अधिक वर्जित' ॥
यस ऐश्वर्य आरोग्य विद्या बुद्धि कला धन ।
क्षमता योग्यता आदि वृद्धि होउन दिन दिन ॥
मान सम्मान दायित्व क्षमता अनुसारको ।
प्राप्त होस् काम कर्तब्य गर्नु सोही हिसाबको ॥
फैलियोस् नाम सत्कर्म धर्तीको परिधि भरी ।
चन्द्रसूर्य र ताराको ज्योति कान्ति गएसरी ॥
जवानी फूलको जस्तो सदावहार यौवन ।
चाहना अरुले राखुन् सरी त्यो पुष्प वासना ॥
वुद्ध झै शान्ति सन्देश शीतल वर पिपल ।
छरी कल्याणका कार्य गर्नु नित्य निरन्तर ॥
राम झैं शासन गर्नु वुद्ध झै ज्ञान आर्जन ।
प्रतिज्ञा भीष्मको जस्तो भगीरथ परिश्रम ॥
उज्यालो घामले जस्तै शीतल सरी जूनले ।
छरी युगान्त युगान्त जीवन्त वन्नु नामले ॥
अरुको भावना वुझ्ने क्षमता होस चाहना ।
वुद्धि विवेक सद्भाव सवै गुण टनाटन ॥
एकता मौरीको जस्तो क्षमता प्राण वायूको ।
मित्रता साथीभाईको दीगो जीवन्त आयुको ॥
परोपकार उद्दार गर्नु
ब्यवस्था छैन जो जस्को गांस वास कपासको ॥
घृणा त्यो पाप हो भारी भेदभाव अपराध हो ।
भेदभाव घृणा त्यागी पुज्नु पवित्र कर्म यो ॥
सेवा चाकर त्यो गर्नु रोगी अशक्त वृद्धको ।
यही नै पुन्य कार्य हो यही महान धर्म हो ॥
आगामी दिनमा होस उन्नति प्रगति शुख ।
सुस्वास्थ्य दीर्घ आयू होस् सौभाग्य धन दौलत ॥
कार्य सम्पूर्ण सिद्ध होस् पूर्ण होस् मनकामना ।
शुभेच्छा यही नै मेरो यही नै शुभ कामना ॥
Comments
dilli poudel
rhidayasparsii kabita pls keep it up