हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

धब्बा

विद्या सापकोटा, (हालः शंकरदेव कलेज काठमाण्डौं)


'
मेरी आराधना नाच्ने छे' सम्झदैंमा मन प्रफुल्लित हुदै थियो । अफिस त बिदा लिएको हुँ तर कैहिल्यै छिटो निस्कन सके पो । म उस्ती सुस्त त छैन तर बाहिर निस्कने मामलामा सधैं यस्तै हुन्छ । आमा भन्नुहुन्थ्यो 'यसले छिटो भनेर जिन्दगीमा कैहिल्यै गर्न जानिनु अहिले छोरीले भन्न थालेकी छ । धन्न मेरा पति त्यसो त भन्दैनन् भन्यो तर हाँसेको भरमा बाबुछोरी कुरा मिलाइरहेका हुन्छन् ।  

छोरीको स्कूलको बार्षिकोत्सव थियो । सकेसम्म घरको काम छिटो निम्ट्याएर हामी स्कूल पुग्यौं ।  कार्यक्रम शुरु भैसकेछ । यसैपनि पहिलोपटक हामी अविभावक बनेर कुनै समारोहमा जादैं थियौं त्यसमा पनि हाम्री छोरी जमेर नाची ।  

"देख्यौ भावु बच्ची कसकी हो" आराधनाको बाबा फुरुक्क थिएँ ।  

"त्यो त हो ।"

आफ्नी छोरीलाई चुम्न हामीबीच अदृश्य प्रतिस्पर्धा चल्दैं थियों ।  

 

"वाह ! नानु वाह ।"  कतै सुनेसुनेजस्तो लाग्ने स्वर मेरो कानैमा आएर बल्ड्याङ खायो ।  

"नानु बधाइ छ सधैं जित्नु । आफ्नी मामूले जस्तै जिन्दगीलाई नै जित्नु ।" साखिले पल्टदैं कोही हामीतर्फ अगाडी बढ्यो ।  

के भन्नु न के भन्नु अलमल्ल परें म । मेरा पतिका आँखा 'तिमी चिन्छ्यौं' भन्ने शैलीमा मलाई निहार्दै थिए ।   

त्यसको अनुहार सम्झनै पर्ने खालको थिएन तर म कसरी बिर्सन सक्थे ।

"ए तपाई यहाँ कसरी " यो नसोधि नहुने प्रश्न थियो मैले सोधें ।  

"तिमीलाई थाहा छैन  यो बोर्डिङ मेरै हो । …… खुसी लाग्यो आराधना तिम्री छोरी हो भन्ने थाहा पाएर । साह्रै प्यारी बच्ची छ ।" अग्रसर भएर बोल्यो ऊ।  

मलाई बोल्नु थिएन तर जंगली भएर भाग्ने कुरा पनि आएन ।  

"उहाँ मेरो पति ।"

उसको साहित्यिक नाम घायल पछिल्ला दिनमा अनमॊलमा आएर अड्कियथ्यो पछि के के बन्यो कि मलाई थाहा थिएन ।

"उहाँ चाहिँ मिस्टर…………" औपचारिकता पुरा गर्न खोज्दैथें म ।  

अदबसाथ मेरा पतिसँग हात मिलाउदैं ऊ आफैं बोल्यो "म चाहिं घायल । "

सोचें फर्केर घायल नै भएपनि पैसा चाहिं कमाएछ ।

"आज एकदिन बिदा लिएको धेरै काम भ्याउनु , जाउँ न भन्या ।" एकाएक कहिल्यै नउठेको रिस उम्लेर आयो उसको हात झड्कादैं आरधनाको बाबालाई ताने मैले   

 

 

मेरो कलेजको अन्तिम बर्ष चल्दै थियो । खूव रमाइलो गर्नुपर्ने खुला मिजासकी केटी म ।  त्यसमा पनि कलेज जीवनका अन्तिम क्षणहरुमा छौं भन्ने आभास हुदैंमा मन चंचल भएर आउथ्यो । आकाक्षांमा रुझ्दै हिड्थे म । लाग्थ्यो साथीहरु बीच सबैभन्दा प्यारी मै हुँ  । हुनपनि मलाई केही खास बनाइदिएको थियो भर्खरै मात्र थालेको कामले । हुन त त्यो जागिर थिएन मात्र मेरो रुची थियो । म एउटा एफ.एम.मा कार्यक्रम चलाउन थालेकी थिएँ । त्यो थोरै साहित्यिक र सन्देशमूलक कार्यक्रम थियो । मेरो भाग्य मान्नुपर्छ कार्यक्रम छिटै चर्चित भयो । धमाधम श्रोताहरुको चिठी इमेल आउन लागें । बिस्तारै धेरैजना मेरा श्रोताप्रशंसक  बनेर उदाए । कोही हराए केही नयाँ आए तर एकजना सज्जनका प्रेमले भरिएका पत्रहरु र दुइचार रचनाहरु मेरा लागि आइरहें/आइ नै रहें । ती साहित्यप्रेमी थिए भावुक थिए पत्रको पुछारमा लेखिएको हुन्थ्यो 'उही घायल' 

 

मेरो कक्षा चलिरहेको थियो, कसैले खबर दियो कलेज गेटमा कोही मलाइ पर्खेर बसेकॊ छ । थोरै लजाउदै धेरै गम्कदै एकजना केटो उभिइरहेको रहेछ आफ्नै उमेरको । अचम्म लाग्यो पहिले कहिँ कतै नदेखेको मान्छे मलाई भेट्न आएको रे । तल्काल थाहा भयो ऊ उही रहेछ मेरो प्यारो श्रोता 'घायल'। हामीले एकसाथ चिया पियौं । केही गन्थन गर्यौं । म सानैदेखी बाबाको जागिरको पछि लाग्दैलाग्दै हुर्किएँ गाउँको बारेमा खास जानकारी थिएन । उसले सकेसम्म सुनायो बुझायो । सधैं अरुको प्रशंसक बनेर घुम्ने मलाई आफ्नो प्रशंसकको रुपमा उसलाई भेटेर खुसी लाग्यो । जादाँजादैं उसले भन्न भ्यायो "तिम्रो स्वरका जादु छ तिमी बास्तव मै राम्री छौं भावना ।"  

 

त्यसपछिका दिनहरुमा ऊ अरु जोशका साथ लेख्न थाल्यो । उसका रचना राम्रा हुन्थे तर बढी नैं निराशावादी । ऊ दुःखी थियो मलाई पनि दुख छ परिस्थितिबश उसले उच्च शिक्षा लिन पाएन । बाबा भन्नुहन्थ्यो 'दुःख/पीडा कहाँ कसलाई हुदैन र मात्र जीवनलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ ।' मैले त्यही सिकें त्यही भने उसलाई पनि अरुलाई पनि । थोरै प्रभाव यसकै हुनुपर्छपछिल्ला पत्रको अन्तमा लेखिन थाल्यॊ 'कसैका मनका मल्हमले घायल रहिरहन पाइनँ अब म अनमोल ।'

 

केही समयपछि मैले एफ.एम. छोडें । मलाई त्यो दुनियाँ ती मान्छेहरुसँग चासो पनि रहेन रपनि उसको चासोमा म परिरहें । उसका काम थिए-थिएनन् संयोग पर्यो-परेन म जान्दिन बेलाबखत ऊ मेरो बाटोमा आइरह्यो ।आफ्ना रुची चाहना बिवशता जगजाहेर गरिरह्यो ।पढाइरह्योगाउँठाउँका मान्छे निस्वार्थी हुन्छन् मायालु हुन्छन् । उसलाई सुनि रहँदा लाग्थ्यो सबैकुराको ज्ञाता उही नै हो ।  

 

बिस्तारै हामी साथी जस्ता भयौं । अनेक बहानामा ऊ मेरो घर बाटो कलेज झुल्किरहन्थ्यो अनि धाराप्रवाह बॊल्न लाग्थ्यो । भन्थ्यो शहरमा प्रेमको किनबेच हुन्छ । शहरमा यो हुन्छ ऊ हुन्छ । मानौं ऊ मेरो बस्तिको बारेमा पि.एच.डी. नै गर्दैछ ।

म पनि प्रेम गर्थे/गर्छु गाउँलाई मेरो देशलाई । मलाई पनि आफ्ना गाउँ-गाउले मन पर्छन् । मेरा आफ्नाहरु पनि गाउँ मै बस्छन् समयको ताँदोमा घुम्दैघुम्दै म यहाँ आइपुगें । गाउँका आफ्नै समस्याहरु छन् त्यस्तै शहरका जटिलता र गुनासाहरु । कुनैपनि ठाँउ र मान्छेहरुको बारेमा नजरअन्दाज गर्दै मनलाग्दो तरिकाले परिभाषित गरेको र एकतर्फि दृष्टिकोणले मात्र हेरेको मलाई मन पर्दैनथ्यो, पर्दैन । फेरी जहाँ बस्यो त्यहीको बदख्याइ गर्नु किन ?

तर उसले बुझे पो ? म सुन्थे, सुन्नु मेरो बाध्यता बन्यो । आफ्नो श्रोता/गाँउले साथी म गुमाउन चाहन्नथे । अझ भनुँ म लगाउन चाहन्नथे 'स्वार्थीपनको टीका' 

 

पढाइ पनि सकिदै गयो । 'तेइस बर्षे उमेरलाई बेला नभएको भनिन्न नानी, अव बिहे गर्नुपर्छ' आमा गनगन गरिरहनुहुन्थ्यो । त्यस्तैमा अर्को विपत्ति आइलाग्यो ।  

"मनैदेखि चाहेमा जे पनि सम्भव छ" मैले बोलेको यही वाक्य यति भारी पर्ला अझ यसकै आडमा कसैले मलाई नै चाहला भन्ने त मैले रत्तिभर सोचेकै थिइनँ तर त्यही नै भयो ।  

ऊ सुनाउन थाल्यो " भावना ! म तिम्रो दिवाना भैसके । "  

"म तिमीलाई अति प्रेम गर्छु । "

"यो शहरमा मेरो घर हुँदो हो त ……………"

"………………………………।"

प्रेम हुनु र नहुनुलाई पनि उसले गाँउ र शहरसँगै जोडेर हेर्यो । मैले उसलाई साथी जरुर मानें | यो बाहेकका कुनैपनि सत्य मैले महशुस गरेकै थिइनँ | गर्ने सम्भावना पनि शून्य बराबर नै थियो । ऊ मेरो रोजाइ थिएन । मेरो सोचाइको छायाँछवी न उसको शरीरमा थियो न अरु केहीमा ।  

 

जीवन चलचित्र जस्तै हो भन्दैमा तीन घण्टामा सकिनेवालामा त थिएन । भन्नु र गर्नु/ हुनु र देखिनु फरक कुरा हो । म सम्झाउन खोज्थें मेरो दुर्भाग्य उसलाई त्यही प्रेम नजर आउथ्यो । जे बोल्थे नारीसुलभ लज्जा भन्ने लाग्थ्यो । ऊ मेरो अघिपछि घुमिरह्योघुमि नै रह्यो ।

"भावना ! मैले जत्ति खुसी तिम्लाई कसैले दिन सक्दैन । "  

"भावना ! तिमी शहरकी पढेलेखेकी मान्छे हैं सोचेर भन । "  

"भावना ! तिमी मै मेरो ज्यान अल्झेको छ तर तिम्रो खुसी देख्न म बाँच्नेछु । "  

" ……………………………………॥ "

 

जसरी कसैलाई प्रेम गर्न सजिलो छैन त्यसैगरी घृणा गर्न पनि । कसैलाई नालायकीको पगरी गुथाउने हक मलाई थिएन फेरी सहनुभूतिको पैरोमा आफैंलाई पुर्न पनि त सक्दिनथेंं । नजानिदो पाराले संकटको भुमरीमा फस्दै थिएँ म । बोझिलो लाग्न थाल्यो समय । अरे बाबा कसलाई के भन्ने उसलाई त सम्झाउनु नै बेकार थियो हरेक कुराको गलत मतलव निकाल्छ । अन्यौल नै अन्योलको अबस्थामा म सरिताकोमा पुगें । ऊ मेरो सबैभन्दा मिल्ने साथी थिई | त्यहाँ पुगेर त झन् मेरा हातखुट्टा लुला भएँ । ऊ आफैंलाई हराएर बसेकी थिई । लागुपदार्थको पूर्व दुर्व्यसनी उसको लोग्नेको रगतमा एच.आइ.भि. देखियो रे ।  

दिक्क लाग्यो मन भरिएर आयो । 'सब ठिक हुन्छ पीर नगर' सान्त्वनाका फोस्रा शब्द ओकलेर फर्किएँ ।  

 

"भावना ! के भयो तिम्लाई "  के के न भएछ जसरी चिच्याउने अरु कोही नभएर अनमोल नै थियो ।   

मेरो हातको झोला खोस्दै फेरी बोल्यो ऊ "हिडं म केहीपर छोडिदिन्छु ।"  

हतास अवस्थामा आत्मिय साथले आभारी भएँ म ।  

"ए ! के भयो भनन ।"  

ढाँट्ने कुरै के थियो रत्यसमा पनि साथीसँग  बताउन खोजें कुरा नसिद्धिदैं ऊ बोल्यो ।   

" भावना ! तिम्रा साथीहरु कति धेरै छन् हैं " गदगद हुदैं सोचेंमेरो दुःखको कत्रो फिक्री छ यसलाई त्यसैले कुरा मोड्दैछ ।  

"अँ  किन र " कुरा नबुझे झैं गरें ।  

"तिम्रा पनि धेरै केटा साथी छन् कतै ……। तर केही छैंन ।" त्यो उसैको आवाज थियो ।

"तिमी रिसायौं मैले त ठट्टा गरेको ।"  

निमेषभर मैं मेरो आस्थाको पर्खाल गल्र्यामगुर्लुम ढल्यो । कम्पन छुटेर आयो । साहाराको नाममा उसले छोएको आफ्नै हात सिकसिक लागेर आयो । सरिताको पतिमा देखिएको भाइरसभन्दा कयौं गुणा हानिकारक भाइरसहरु उसको मनस्थितिमा सलबलाइरहेको पाएँ मैले । त्यो भन्दा ठूलो अपमान अविश्वास र तिरस्कारपूर्ण शब्द अरु के नै हुनसक्थ्यो   

 

त्यसपछि मेरो वास्ताको विषय ऊ कहिल्यै बनेन । मेरो बेवास्तालाई उसले उही पुरानो विभेद गाउँ-शहरत्यागी-स्वार्थी सँगै जोडेर बुझ्यो । मेरो स्वाभिमानप्रतिको त्यो आघातसदासयताप्रतिको त्यत्रो अपमानलाई हल्काफुल्का ठट्टा हो भनेर म कसरी भुल्न सक्थें, सुनेको थिएँ प्रेम आदर्श हुनुपर्छ अन्धो हैन । मेरो त प्रेम नै थिएनउसको आत्मविश्वासलाई भर्खरै छाम्न मात्र खोजेथें । बस् जीवनमै पहिलोचोटी विश्वासमा ठेस लाग्योसकियो ।  

 

आफ्नो कुरा सकेर मैले पतिको मुखमा हेरें ।  

"मान्छेको मनस्थिति मै ऐंजेरु फुलेपछि कसको के लाग्छ र" प्रेमका आभाहरु उनको अनुहारभरी छताछुल्ल थिएँ     

छोरी निदाइसकेकी थिई ।

"राजा …………" अतीतको त्यो धब्बा मेरी छोरीको प्रतिबिम्बमा सर्न लागेको आभासले ककि्रदैं पुनः घोप्टिएँ म उनको छातीमा ।  

"अरे छोड न हाम्रो प्रेमलाई अझ मजबुत पार्न भगवान्ले निमित्त पठाएका हुन् क्या त्यसलाई ।" आफ्नो अंगालोलाई अझैं कसिलो पार्दै उनी बोले ।  

भोलिपल्ट विहानै हामी आफ्नी बच्चीको लागि अर्को स्कूलको खोजीमा निस्कियौं ।   

 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |