हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

वेदनाको क्यानभासमा पोतिएका रङ्गहरू(सत्यकथा)

शर्मिला खड्का (दाहाल), (इटहरी, सङ्गीत चोक)


प्रिय पाठक
, बिष्णु गौतमजी 'समयको क्यानभासमा' एउटा काल्पनिक कथा थियो । त्यसमा कथाकारप्रति हार्दिकता र आत्मीयता थियो । तर अहिले त्यसको विपर्ययको रूपमा तपाईँको यो कथा जीवन्त बनाउन गइरहेको छु । भन्नुको अर्थ त्यो काल्पनिक कथाको ठीक उल्टो यो पाठकप्रति आत्मीयता र हार्दिकताले समर्पित सत्यकथा लेख्न गइरहेको छु । यसका वाक्यवाक्य अझ भनू प्रत्येक शब्द सत्य छन् । कतै अयथार्थ र अवास्तविक पोतिएको छैन । वेदनाको क्यानभासमा मैले तपाईँको आदर्श जीवनको कथा थोरै भए पनि रङ्गाएको छु । यो मेरो तपाईँको वेदनाप्रति हृदयदेखि नै पोतिएको समवेदनाको थोरै रङ्ग हुनेछ ।

यो तपाईँको पीडाको रङ्गलाई थोरै मात्रमा भएपनि धमिल्याउने अर्को रङ्ग हुन सक्छ ।

 

पाठकवृन्द, अब म थोरै आफ्नो कुरा गर्छु है । धेरै ग्राहकसेवी झैँ म पनि आजकल फेसवुकमा निकै हराउने गर्छु वि.. २०६७ सावनको सोरह गते फ्रैन्डसिप डेको दिन  बिहान- साथीहरूसँग च्याटमा कुरा गरिरहेको बेला बिष्णु गौतम नाम गरेको ब्यक्तिले  च्याटमा अभिवादन गर्यो । मैले पनि अभिवादन फर्काए ।

उसले फेरि पठायो- 'आरामै हुनुहुन्छ ?'

'अहिले हजुरको ब्लगमा एउटा कथा पढेँ निकै आनन्दित भएँ । धेरै भित्रसम्म छोयो ।'

उसको नाम बिष्णु गौतम भनेर पढ्ने बित्तिकै म मेरो www.shakhadasahitya.blogspot.com को संसारमा हराउन पुगेको थिएँ । अहिले मैले मेरो आफ्नै ब्लग खोलेपछि पाठकहरूको बेग्लै रोमाञ्चक दुनियाँमा पसेको छु  । कहिलेकाही डर लाग्छ म कतै यही दुनियाँमा हराउने पो हुँ कि -  तर फेरि आफूलाई नियन्त्रणमा ल्याउँछु र लेखनमा भिड्न थाल्छु । धेरै पाठकहरूले जस्तै बिष्णु गौतमले ब्लगमा लेख्नुभएको थियो । यो लेखाइ थियो मेरो 'समयको क्यानभासमा' कथाको लागि कमेन्ट । जुन कथामा मैले आफूलाई मन पर्ने कथाकार दिवाकर नेपालीलाई भेट्दा मनमा छाएका खुसीका भावानाहरू पोखेको थिएँ, जुन कथालाई धेरै पाठकले मन पराएर बिष्णु गौतमजीले झैँ कमेन्टहरू पठाउनु भएको थियो । कमेन्ट यस्तो थियो । 

'शर्मिलाजी नमस्ते , धेरै सरल कथा लेख्नुभएछ । काल्पनिक हो कि यथार्थ छुट्याउन सकिनँ । तर छोटो कथामा नै संसार पस्कनु भएको देखेँ । बधाइ छ है, यस कथाले तपाईँको पात्र दिवाकर मेरा लागि शर्मिला हुनुभएको छ । धन्यवाद ।'

यस्तै खाले कमेन्ट फेसवुक को मेसेज र ब्लगमा पनि आएको थियो । यो कमेन्ट पढेर मैले श्रीमान र छोराछोरीसँग भावना सेयर गर्दै यसो भनेको थिएँ- 'हेर न कस्तो संयोग पहिला म कथाकार दिवाकरलाई आर्दश बनाएर कथा लेख्थेँ । अहिले आफै दिवाकर भएँ । खाना खाने बेलामा परिवारका सबैका सामु मेरो यो साहित्यिक घटनालाई यसरी फिँजाएकी थिएँ ।  एकछिन डाइनिग टेबुलमा हाँसोको फोहरा छुट्यो । छोरीहरू र श्रीमानले आ-आफ्नै प्रतिक्रिया दिए । मानिसको जीवन पनि अनौठो हुँदो रहेछ । समयको छालले कहिले कहाँ पुर्याउने अनि कहिले कहाँ - भविष्यमा के हुन्छ कसैलाई  थाहा हुँदो रहेनछ । अझ भनू पन्ध्र मिनेटभित्र जीवनको कथाले कस्तो मोड लिने हो केही थाहा नहुने रहेछ । यसरी मैले मनका कुरा परिवार माझ सेयर गरेको थिएँ । अहिले च्याटमा उही बिष्णु गौतम नाम पढ्दा ब्लगको कमेन्टले मेरो सस्मरणरूपी मस्तिष्कमा वर्तमानको हथौडीले हान्दै थियो । त्यसपछि फेरि च्याटमा  संवाद सुरु भयो । मैले भनेँ- 'अँ मैले थाहा पाएँ  । कमेन्ट पठाउनु भएको रहेछ । धेरै खुसी लाग्यो । धन्यवाद ।'

'हजुर धेरै राम्रो  लेख्नुभएको रहेछ ।'

'कुनै कुनै राम्रा हुन्छन् कुनै कुनै ठीकैको ।'

'त्यो हो, सिर्जना बनाउँदा बनाउँदै बन्दैनन् तर पनि बन्दै जान्छन् ।'

 उसको यो संवादले मलाई कताकता अनौठो लागेर आयो । के भनेको होला भनेर । फेरि अग्रेजीको रोमनमा केही त्रुटी भएर यस्तो भएको होला भन्ने सोचेँ मैले अनि छोटकरीमा भनेँ -'हो'

 उसले फेरि सोध्यो- 'हजुर इटहरी बस्नुहुन्छ -'

'हो तर अहिले केटीएम छु ।' प्रायः च्याटमा यस्तै संवाद हुन्छन् ।  शब्दहरुलाई कन्जुस्याइ गरेर लेखिन्छ ।

'हजुरको सर्भिस ?'

'छैन ।'

'रमाइलो लाग्यो शर्मिलाजी, च्याटमा कुरा गर्दा भविष्यमा पनि लेख्दै जानुहोला ।'

'हुन्छ थैङ्क यु ।'

'मेरो ब्लग पनि हेर्नुहोला भन्ने अनुरोध गर्न चाहन्छु ।'

 'हुन्छ एड दिनुहोला नि ।'

मैले सोचेँ ऊ कुनै लेखक हुनु पर्छ । अहिले प्रायः लेखकले आफ्नै ब्लग बनाउने लहर चलेको छ । मैले यस्तै सोच्दासोच्दै उसले ठेगाना टाइप गरेर पठाइसकेको थियो ।

मैले उसको ब्लग  खोलेर हेरेँ । माथि लेखिएको थियो लक्ष्मी प्रतिष्ठान अनि दुइ युवाको फोटो,तल लक्ष्मी गीति क्यासेट विमोचन गरेको तस्विर अनि तल समाजसेवा गरिएका फोटाहरू । मभित्र कताकता नकरात्मक भावनाले जन्म लियो । अहिले समाजसेवाको फोटोहरू देखाएर मपाईँ हुने र पैसा बटुल्ने छली काम समाजमा भैरहेको छ कतै यी फोटाहरूको तार्त्पर्य पनि त्यही हो कि मभित्र अविश्वास उम्रियो । तर पनि आफूभित्रको भावनालाई गुम्साउँदै भने -'तपाईँ समाजसेवी हो -'

'समयले बनायो । निर्विकल्पमा मसँग अरू बाटो थिएन ।'

 अहिलेको उसको प्रतिउत्तरले मलाई रन्थनाइदियो । कस्तो उत्तर दिएको होला भनेर । तर मैले आफूलाई सामान्य बनाएँ अनि फेरि च्याट सुरु गरेँ ।

'ए हो प्रतिष्ठान आफैले खोल्नुभएको -'

'हजुर ती दुई युवाहरू मेरा छोरा थिए ।'

'थिए' भन्दा मलाई कौतुहलताको आगोले झ्वास्स पोल्यो । म तर्सिएँ अनि जिज्ञासा रोपे च्याटमा ।

'थिए .......?'

'अँ अहिले मसँग छैनन् ।'

 उसले यसोभन्दा मभित्र कताकता नमीठो काल्पनिक दुःखले दुख्न पुगेँ । यति सुन्दर जवान केटाहरूको फोटो प्रतिष्ठानको सिरानमा राखिनु अनि उसले यसो भन्नु । म शोकको तरङ्गमा तैरन पुगेँ । मलाई लाग्यो पक्कै यो विरहको कुरा हुनुपर्छ । मैले आफ्ना जवान छोरीहरू र छोरा आँखामा झलझली सम्झन पुगेँ । उनीहरूका सानासाना दुखका कुरामा म कति मर्माहत हुन्छु । कति संवेदनशील बन्छु । लाग्छ उनीहरूलाई कतै चोट नपरोस् । कतै दुःख, पीडाले नलखेटुन वाधा र व्यवधानले नघेरुन् । म घरदेखि स्कुल र कलेज र सबैतिर आफ्नो ध्यानदृष्टि लगाउँदै सूक्ष्मरुपले पछ्याउँदै उनीहरूलाई सुरक्षित र सहुलियत प्रदान गर्न कटिबद्ध भएर लागेको हुन्छु । उनीहरूलाई हानी पुर्याउने कतिपय कुरा सेन्सर गर्दै र फाइदा हुने कुरा इन्सटल्ड गर्दै प्रत्येक पल उनीहरूको साथमा हुन्छु । तर यति जवान छोराहरू साथमा छैनन् भन्दा कसैले पत्याउन सक्ला -

त्यसैबेला फोनको घन्टी बज्यो । च्याटको कुराले हृदयभारी भएको समयमा बहिनी मिनाले फोन गरेकी रहिछ । अघिल्लोदिन उसको घरमा भएको पार्टीमा छोरी श्वेताले काम सघाएको र रमाइलो भएको कुरा एकएक प्रसङ्ग उघार्न थाली । हुन पनि  श्वेता छोरी यस्ती छे ऊ कही गई भने त्यो माहौलमा रौनकता छरी छाल्छे । जसरी हुन्छ त्यो वातावरण रमाइलो नबनाइ बस्नै सक्दिनँ ।उ सम्बन्धित यस्ता घटना  बहिनी रमाइलो मान्दै सुनाइरहेकी थिई । मेरो मन भने च्याटको कुराले बोझिलो भएको थियो । तर पनि मैले च्याटको कुरालाई मनको एउटा फोल्डरमा सेभ गरेर  राखेँ र उसको खुसीमा साथ दिइरहेँ। एकछिन पछि हाम्रो संवाद टुटेपछि म हतारिँदै ल्यावटपमा आएर बसेँ । त्यतिन्जेल च्याटको उक्त साथी गइसक्यो होला भन्ने सोचेको थिएँ तर गएको रहेनछ । उसले लेखेको रहेछ

'मेरा छोराहरू सारै ट्यालेन्ट थिए ।'

'अनि ..........-' म अधीर हुँदै सोध्छु ।

'दुइटामा एउटा स्टुडेन्ट अफ यियर २००८ युएसएमा भएको थियो ।'

'अनि........-'  मलाई  फेरि नमिठो संवेदनाको छालले बगाएर वियोगको काल्पनिक किनारामा लगेर पर्छायो । म छटपटिन थालेँ । उसले ढिलो टाइप गर्यो ।

'तिनीहरू अहिले मसँग छैनन् ।'

हे भगवान ! आज बिहानै मैले यो कस्तो पीडादायी कुरा के सुन्नु पर्यो । म विरहको आँधीमा विचलित हुँदै थिएँ । तर पनि आफुलाई संयमता र धैर्यताको बाँधले बाधेर मुटु दरो पारेर उसको उत्तरको प्रतिक्षामा थिएँ ।

'एउटा काठमाडौँ र अर्को युएसएको कार एक्सिडेन्टमा परेँ ।'

मैले जुन सम्भावित कल्पना गरेको थिएँ । त्यो अहिले सही भएको थियो । म निकै दुखित बन्न पुगेँ ।  निशब्द बनेँ र विचारशुन्य । अहिलेसम्म मेरो यस्तो व्यक्तिसँग भेट भएकै थिएन । भर्खर दिदी आरती गौतमको स्मृतिमा भानु पढेर एउटा शोकगाथाको महासागरबाट बल्लबल्ल उत्रेको मनस्थिति फेरि यो अर्को शोकको धुनमा नमीठो गरी तरङ्गति बन्न पुगेँ । मभित्र बैराग्य धुनले साम्राज्य फैलायो  र वातावरण नै शोकाकुल बनाएर तानाशाही शासन गर्न थाल्यो । मैले आफैलाई नियन्त्रित गदैँ भने-

'सरी है मैले तपार्इँलाई दुखी बनाएँ ।'

'हैन मैडम हजुरले कसरी दुखी बनाउनु जीवन जगतको कथा हो ।'

उसले यसो भन्दा मेरो हृदयदेखि नै बेदनाको छालले छोप्यो मलाई । आँखाभरि आँसु भरियो । यस्ता जवान छोरा गुमाएर कोही मानिस बाँच्न सक्छ -

तर सक्दो रहेछ किनभने प्रत्यक्ष प्रमाण विष्णु गौतम मेरा सामु थिए ।

कलिला तामाका मुना जस्ता खाउँखाऊ लाऊलाऊ उमेर भएका छोराहरू त्यो पनि होनाहार देशका रत्नहरू गुमाउनुपर्दा त्यो हृदय कस्तो भयो होला - मैले कल्पना पनि गर्न सकिनँ । शायद यस्तो विपत्तिमा नपर्ने कसैले पनि कल्पना गर्न सक्दैन । म स्तब्धित बनेँ । आफनो मुटुको टुक्रा चोइटिएर जाँदापनि आफूलाई समाजसेवामा व्यस्त राख्ने समाजसेवी विष्णु गौतमप्रति मेरो आदर्श चुलिँदै गयो । मैले उनलाई मेरो हृदयमा सामान्य पाठकभन्दा धेरै माथि राखेँ । अघिसम्म तपार्इँ भनेर गरिएको  सम्बोधन एकाएक हजुरमा परिवर्तन भयो । उनीप्रतिको मेरो सम्मानित हृदय यसरी पोखियो -

'हजुरजस्तो महान व्यक्तिसँग मेरो भेट भयो । त्यो पनि फ्रैन्डसिप डेको दिन ।'

त्यसपछ्रि्रउनले केही भन्न सकेनन् । केही समय पछि भने-

'हाम्रो प्रतिष्ठानको काम हेरेर हामीलाई प्रतिक्रिया दिनुहोला ।'

मैले भनेँ 'हुन्छ । म समयभएपछि पढेर कमेन्ट पठाउला ।' उनलाई यति आश्वासन दिएँ । तर भित्रभित्र उनको पीडाले आन्दोलित बनी रहेँ । मैले अनुकुल समयको प्रतिक्षा गर्न सकिनँ । तुरुन्त उनी र उनको प्रतिष्ठान www.laxmipratisthan.org.np र्सच गरेर पढ्न थालेँ । प्रतिष्ठान उनको धर्मपत्नी अर्थात ती छोराहरूकी आमा लक्ष्मी गौतमको नाममा राखिएको रहेछ । हुन पनि हो छोराछोरीमा पहिलो अधिकार आमाको नै हुन्छ । ती छोरा गुमाएर पनि आफूलाई सामान्य जीवनमा बाँच्न सक्नु उनको ठूलो महानता हो । म एकपल्ट  ख्याती श्रेष्ठको हत्या हुँदा सारै नराम्ररी दुख्न पुगको थिएँ । उनको बुवा र आमाको अवस्था देखेर  दुई लाइन कविता यसरी कोरेको थियो-

 'बाँच्न कति गारो छ एकपल्ट मरेर त हेर,

आफनै छाती साक्षी राखी वाचा गरेर त हेर'

त्यस्तै झुम्काको नहरमा मुनलाइट विद्यालयका तेहजना बालबालिका टेम्पो नहरमा डुबेर मृत्युहुदा म निस्तब्ध भएको थिएँ ,।त्यो खवर सुन्दा घन्टौ म विचलित भइरहे । त्यसको केही दिनपछि हामी त्यो दुर्घटनाको सिकार भएको गाउँ गएका थियौ । त्यो शोकमग्न गाउँ अझै पनि मेरा आँखामा झल्झली सम्झनामा आउँछ । शोकविवहल परिवार अनि आमाहरुको रोदन देखेर त्यहा नरुने प्राय कोही थिए होलान । नियतिको खेलमा सिकार भएका ती बालबालिकाहरुका बारेमा कैयौ दिनसम्म स्मृतिका पानामा जीवित भइरहे । अझ आफ्नो काख नै शून्य हुने गरी भएका कसैका दुइ सन्तान कसैका तीन सन्तान गुमाउदाको हृदयविदारक रोदनले सबैको मुटु हल्लाइदिन्थ्यो । त्यो देखेर मैले मन थाम्न सकिनँ र एउटा कविता लेखे । त्यो कविता त्यही को लोकल पत्रिकामा छापिएको थियो ।  त्यो यसप्रकारको थियो -

 

आयौ टपक्क टिपी लग्यौ

 

आयौ टपक्क टिपी लग्यौ काल , निठुरी  किन  भयौ  रे

पढ्न गएका हाम्रा लालाबाला, भन्छन् फर्केर आउदैनन

 

आकाश रुन्छ, धर्ती रुन्छ, जगत सारा रुन्छ रे

पानीभित्र निस्सासिदै तिनीहरू,् रोएको खै कसले सुन्यो हे ।

 

फूल बिनाको यो बगैचा, अब किन सिगारौ खै

ढुकढुकी बिनाको मुटु लिएर, अब हामी किन बाँचौ है ।

 

हाँस्दै गएका थिए विद्यालय, ठूलो मान्छ बन्नुपर्छ भन्दै

मुनामा नै चुडिलग्यौ दैव, कुन अपराध गरे तिनले

 

सृष्टिको फूल चुडेर तिम्ले , कुन ठूलो विजयी पायौ रे

आत्मा नै चुडी लग्यौ दैव,  शरीर किन बाँकी राख्यौ है ।

 

सृष्टि हो सिगार्न,  हैन है बिगार्नलाई

यस्तो भूल नगर दैव,  अब तिमी कहिल्यै नै ।

 

तयार छौ बरु लाखौ , दुख कष्ट काट्नलाई 

जीवन र मृत्युको दोसाधमा, अब कसैलाई फेरि नपुर्याऊ है ।

 

त्यस्तै अहिले विष्णु गौतम र उनको धर्मपत्नीको पीडामा भावुक हुन पुगेँ । प्रतिष्ठानले धेरै सामाजिक कार्यहरू गरेको रहेछ । आफ्ना छोराहरूको स्मरणमा विधालयलाई कोठा बनाइदिने, बालबालिकालाई छात्रवृत्ति दिने, सरसफाइ कार्यक्रम, वातारण क्षेत्रमा रुख विरुवा रोप्ने कार्यक्रम आदि धेरै थिए । त्यस्तै उत्त सामाजिक कार्यलाई सञ्चार माध्यमले प्रचारप्रसार गरेको कुरा पनि लेखिएको रहेछ । अनि त्यससम्बन्धि फोटोहरूले धेरै कुरा थाहा पाउन कति पनि गारो नहुने रहेछ । 

मैले ब्लगमा कमेन्ट पठाउँछु भनेको थिएँ । तर यति मात्रले मेरो उद्वेलित मन शान्त हुन सक्दैनथ्यो । मैले सोचेँ यो कथा जीवन्त हुनैपर्छ । शब्दमा बाँच्नुपर्छ । त्यसपछि 'समयको क्यानभासमा' को दिवाकरको आर्दशमा मलाई प्रत्यारोपित गर्ने मेरा प्रिय पाठकलाई जीवन्त बनाउने कल्पना गर्न थालेँ । त्यो कल्पनालाई यथार्थको धरातलमा अवतरण गर्राई उनलाई शब्दहरूमा र्छन थालेँ ।प्रिय पाठकवृन्द जुन शब्दहरु प्रिय पाठक विष्णु गौतमको वेदनासँगै जीवन्त बनेर सत्य कथामा रुपान्तरित भएको छ ।आज मलाई थोरै भए पनि मेरो लेखकिय दायित्व पुरा गरेको महसुस भइरहेको छ ।  

प्रिय पाठक विष्णु गौतमज्यु, तपाईँको  भावना, आदर्श, विचार र जीवनमा जस्तोसुकै परिस्थितिमा पनि बाँच्न सक्ने कलालाई म हृदयदेखि नै अभिवादन गर्दछु । सामान्य जीवनशैली, विचारभन्दा धेरै माथि पुग्नु भएका तपार्इँ र तपाईँका धर्मपत्नीप्रति मेरो श्रद्धासुमन स्वरूप मेरा यी शब्दहरू उपहार टक्रयाउँछु साथै तपाईहरुका छोराहरु प्रतिष्ठान मार्फत सधै अमर रहनेछन भन्ने कामनासहित हार्दिक श्रद्धाऩ्जली अर्पण गर्न चाहन्छु ।

 

sakhada4@yahoo.com

www.shakhadasahitya.blogspot.com

 

 

नयाँ वानेश्वर

२०६७--१७

 

Comments

nepaliman

विष्णु गौतमजीसँगको यो विद्युतीय सञ्जालको माध्यमबाट भएको वार्तालाई जुन शैलीमा प्रस्तुत गर्नु भएको छ शर्मिलाजी यसबाट तपाईभित्रको भावना र लेखन क्षमता प्रष्ट हुन्छ । म एक पाठक थपिएको छु ।

अन्जु ढकाल

कथा पढेर सक्न नै धेरै समय लाग्यो मलाइ किन कि आखा भिजे पछी  ओबाउन धेरै समय लाग्यो |म पनि बिष्णु गौतम सरका सन्तान अमर रहुन भन्ने कामना सहित हार्दिकश्रद्धाऩ्जली अर्पण  गर्दछु |  

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |