हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

वास्तविकता १

शर्मिला खड्का (दाहाल), (इटहरी, सङ्गीत चोक)

 

हाइ कोइली !

हाइ उल्लु !

हिजो किन नआएको डेटिङ्गमा ?’

माओवादीको बन्दले आउन सकिनँ ।

म आएर कुर्दाकुर्दा गरे यार ।

गफ दिन्छौ ! पत्याउन्न म ।

नपत्याए के गर्छौ ?’

केही गर्दिन चुप लागेर बस्छु ।

तिमी मलाई माया गछ्र्यौ हैन ?’

 मैले माया गर्छु भनेर मख्ख नपर है ।

माया नगर्ने भए किन डेटिङ्गमा बोलाएको त ?’

तिमीलाई उल्लुको पनि उल्लु बनाउन !

ए ! म हजुरउल्लु भए हैन ?’

कस्तो हजुरउल्लु ?’

बुवाको बुवा हजुरबुवा जस्तो उल्लुको उल्लु हजुरउल्लु !

तिमी गफ गर्न सारै सिपालु रहेछौ मलाई पनि सिकाइ देउ न गफ गर्न । 

ट्रेनिङ्ग लिनुपर्छ मसँग यार ।

ठीक छ लिउँला नि

मलाई माया गछ्र्यौ हैन त ?’

गर्छु तर तिमीले कठोर तपस्या गर्नुपर्छ ।

कस्तो कठोर तपस्या ?’

विस्वासको अग्लो पहाडमा  चढेर तपस्या गर्नुपर्छ ।

भो यो गारो छ । अलिक सजिलो उपाय बताउन न अहिले सबै कुरा डुप्लिकेट आइसक्यो । खासाको जस्तो क्या ।

तिमी त मान्छे नै डुप्लिकेट हौ कि क्या हो जहिले यस्तै कुरा गर्छौ । तिमी गफको पत्ता फ्याक्न सारै सिपालु छौ । तर असली फ्याक्दैनौ खाली नक्कली फ्याक्छौ ।

सक्कली माल तिमीसँग छ नि किन डराएको ?’

ए ! हो म्यारिज गेमको जस्तो कुरा ग¥यौ नि !

हो त तासको म्यारिज होइन लवको मैरिज क्या लव मैरिज !

आ ऽ तिमी ठीक पार्दैछौ । मलाई झुक्याएर सक्कली भन्दै नक्कली पत्ता फ्याक्छौ । केटाहरू यस्तै हुन्छन् । केटीहरूलाई मख्ख पारेर उसको भित्रको अन्तरकुन्तर छामेर फुत्त बाहिर भाग्छन् । म्यारिज खेल्दा आफ्नो माल लुकाएर अरुको माल चाहिँ तानेर खेल जितेझैँ गर्छौ ।

तिमीलाई म्यारिज खेल्न आउदोरहेछ हैन ! राम्रो भो । ल तिम्रो माल हेरौँ  न कति  ?’

मसँग मालैमाल छ । यो गेममा तिम्रो हार निश्चित छ ।

एकपल्ट हराइसक्यौ नि डेटिङ्गमा आउँछु भनेर अब कति पल्ट हराउछ्यौ यार ?’

भो नपत्याउ होला ! पचेन मलाई ।

हजमोला खाउ न पचिहाल्छ नि । जे आउँछ त्यहि पचाउँछ ट्वाक्क ।

तिम्रो हजमोला पनि तिमीजस्तै डुप्लिकेट होला नि ।

भन न म कति नम्वरमा पर्छु ?’

कस्तो नम्बर भन्या ?’

डेटिङ्ग जानेमा ?’

भो कुरा नगर । तिम्रोचाहिँ नि ।

मेरो फस्ट टाइम हो । त्यहिँ भएर तिमीलाई रिझाउन सकेको छैन ।

उस् फेरि नपत्याउ होला ।

साँच्चै म तिमीलाई पढ्न चाहन्छु ।

पढेर के गर्छौ ?’

तिम्रा सबै परीक्षामा  पास हुन चाहन्छु ।

रियली ?’

साँच्चै

फेल भयौ भने नि ?’

जे सजाय दिन्छौ भोग्न तयार छु ।

ल भन अहिले मेरो मनमा के छ ?’

यो केटाले मलाई ढाँटिरहेकोछ कि साँचो बोल्दै छ भन्दैछ्यौ । होकि होइन भन त ?’

हो पक्कै हो । ल तिम्रो टेन नम्बर आयो ।

ल अब अरु सोध ।

ल भन मलाई  कुन हिरोइन मनपर्छ ?’

दीपिका !

ठीक भन्यौ  तिमीलाई अर्काको मनको कुरा बुझ्ने शक्ति रहेछ । तर भन मलाई दीपिका नै मन पर्छ भनेर कसरी थाहा पायौ ?’

तिम्रो नाम पनि दी बाट उठ्ने भएकोले ।

ल तिम्रो फुल माक्स आयो ।

म पास भए हैन त ।

हो पास भयौ ।

तिमीलाई पनि त मैले परीक्षा लिनु पर्ला नि होइन त ?’

हो.. हो.. लेउ न । ल सोध । तर सजिलो सोध नि ।

तिमीलाई डेटिङ्गमा लादा मसँग पैसा भएन भने के गर्छौ ?’

तिमीलाई त्यहिँ होटलमा भाँडा माझ्न छोडेर म हिँड्छु ।

यस्तो खरो कुरा नगर न यार ।

अनि डेटिङ्गमा बोलाउँदा पनि पैसा नबोकी जान्छन् त ?

सरी बाबा सरी म सापटी मागेर भए पनि बोकुँला । यदि साथमा पैसा नभए तिमीलाई बोकेर भागँुला नि  हुन्न ।

फेरि उही ठट्टाका कुरा सिरियस गफ गर न सिरियस ।

कस्तो सिरियस ?’

हे प्राणप्यारी तिमीलाई म डेटिङ्गमा लगेर मीठामीठा खानेकुरा खुवाउँला अनि हातमा समाएर अँगलो मारेर घुमाउँला हो यस्तो कुरा गर न ।

खानेकुरा खुवाउन पैसा नभए किस मात्र भए पनि खुवाउला..... यो पनि भन्नु ?

फेरि ठट्टा.... तिमी फेल भयौ अघिको नम्बर काटियो ।

अहिले तिम्रो परीक्षा की मेरो ?

दुवैको ।

लौ बाबा लौ सरी । सरी भन्न पाइन्छ नि ।

त्यो पनि सापटी लिएर भन्छौ होला नि तिमीसँग च्याट नगर्नु नै वेश होला ।

केही छैन भन्छौ । यस्तो शरणार्थीसग के लव गर्नु  ?’

गर न गर अमेरिका जान पाउँछौ ।

भो भो तिम्रा सबै कुरा ठट्टा र नक्कली हुन्छन् । सिरियस गफ नै गर्दैनौ ।

तिम्रो रिस हेर्न ।

मेरो रिस हेरेर के हुन्छ ?’

गर्मी भा छ पानी पर्छ नि । ल साँच्चै म तिमीलाई प्रेम गर्छु भन न !

भो म भन्दिनँ ।

लौ भन डेटिङ्गमा कहाँ जाने भन न ।

भन्दिनँ अब म जान्छु ।

कोसँग ?’

तिमीसँग ...........मरे भन्दिनँ ।

साँच्चै मेरो कानलाई पवित्र बनाएर जाउ न आइ लव यु भनेर ।

 भो तिमी मलाई उल्लु बनाउँदैछौ ।

उल्लु होइन उल्लुनी !  उल्लुको उल्लुनी ।

आफूजस्तो छौ अरुलाई पनि त्यस्तै देख्छौ !

तिमीलाई फुटबल मन पर्छ । विश्वकपसगै बसेर हेरौ न ?’

के मलाई फुटबल बनाउने विचार छ, उल्लुनी  बनाई सक्यौ । गोल हुँदा मलाई मलाई खुट्टाले हान्न बेर लाउदैनौ ।

होइन के क्या मजा आउँछ ।

भो मलाई मन पर्दैन र्?’

के गर्न मन पर्छ ?’

मलाई सपिङ्ग गर्न मन पर्छ । मेरो हवी नै हो । सपिङ्गमा लान्छौ हैन ।

लान्छु नि पर्स खाली भएको दिन ।

फेरि ठट्टा । भो तिमीसँग च्याट नगर्नु वेश ।

भन न ?’

के ?’

डेटिङ्गमा भेट्छौ हैन ?’ 

कति डेटिङ्ग डेटिङ्ग भनेर रटन लगाउँछौ ? सुगाले जस्तो आ ऽ मलाई दिक्क लागिसक्या भन्या !

मेरो कथाको शीर्षक नै डेटिङ्ग छ नि !

के....... रे कथा रे ? तिमी कथाकार हौ ?’

हो .................इन । हुन खोजेको मात्र हो । हेर न एउटा केटा र केटीको लवको कथा लेख्नुपर्ने उनीहरूको भेट नै हुँदैन त्यसैले तिमी डेटिङ्गमा आयौ भने कथा समाप्त हुन्थ्यो ।

ए अघिदेखि तिमीले मेरो दिमाग चाटेको कथा लेख्नलाई पो हो ।

हो नि ।

मैले सोच्दै थिए तिमी मलाई साँच्चै प्रेम गर्छौ । तर मलाई पात्र बनाएर कापीमा कैद गर्दैरहेछौ । भो मलाई कापीमा कैद हुन मन छैन ।

भेट न भेट तिमीलाई अपहरण गरेर फिरौति त  माग्दिनँ नि !

भो तिमीले कति झुटा कुरा गरिरहेका रहेछौ । तिमी फेल भयौ अब तिमीले सजाय भोग्न पर्छ !

सरी बाबा सरी मलाई माफ गर न । बरु एउटा जोक्स सुनाउला नि ।

ल सुनाउन त ।

एकपल्ट एउटा प्रेमीले प्रमिकालाई भनेछ हेर तिमीलाई सपना म विहेको प्रस्ताव राख्दैथिए ।

अनि प्रमिकाले भनिछे तिमी त सपनामा मात्र विवेकको कुरा गर्दो रहेछौ ।

हा ..हा .लाइक यु .।

अब माफ गयौ होइन ?’

हुन्न पटक्क हुन्न म तिमीलाई डेटिङ्ग टाइम नै  दिन्न । अनि तिम्रो कथा अधुरो रहने सजाय दिन्छु ।

 ठीकै छ तिमीले दिन्नौ भने अर्को पार्टनर खोजिहाल्छु नि डेटिङ्गमा जाने ।

तिमीले अघि नै जे सजाय पनि भोग्न तयार छु भनेका हैनौ । अहिले किन आत्तिन्छौ नि । म डेटिङ्गमा पो जान्न भनेको च्याटमा त आइहाल्छु नि । किन पार्टनर खोज्छौ ?

ए ! ल त्यसो हो भने  तिम्रो आज्ञा मेरो कलम शिरोपर । यो कथा अधुरो नै रहनेछ । अर्को च्याटसम्मको लागि, विदा है त ।

साँच्चै तिमी इमान्दार छट्टु रहेछौ मैले माफ दिए ।

धन्यवाद,   बाइ बाइ सि यु नेक्टस टाइम ।

 

ल विदा बाइ बाइ ।

पर्सिपल्ट

 

हाई मैना !

मैना रे ?’

अस्ति मलाई सुगा भनेकी हैन ?’

ए त्यसो भए हाई सुगा ! 

अब त डेटिगको टाइम दिन्छौ होला नि यार ?’

फेरि उही कुरा अरु कुरा गर न !

पक्का भन त तिम्रो BF छ कि छैन ?’

के हो BF  भनेको ?’

व्याय फ्रेन्ड हो !

तिमीलाई किन चाहियो भए पनि नभए पनि ?’

त्यही भएर तिमीले मलाई डेटिङ्ग टाइम दिइरहेकी छैनौ जस्तो लाग्छ ।

छैन छैन ।

पक्कै मलाई रिजर्भमा राख्दैछौ । मलाई थाहा छ नि ?’

तिमी तड्पिदैनौ भने हो भन्छु ।

को हो त्यो भाग्यमानी मलाई बताउन यार । तिम्रो डेटिगमा मपनि आउँछु गफ सुन्छु अनि कथा लेख्छु ।

कथा, कथा, कथा.... म यो कवि कथाकार भनेकी टाउको दुख्छ ।

म थिचिदिऊ ?’

बरु थपिदिऊ भनन ?’

ल ल थपिदिऊ ?’

अझ कति थप्छौ भो म जान्छु ।

हेर अहिलेसम्म कुनै केटीलाई मैले यति लिफ्ट  दिने हो भने  ऊ एवरेस्ट चढिसक्थी यार ।

नपत्याऊ एभरेस्ट चढ्ने होइन अव रेस्ट चाहिँ भन्थिहोला । तिमी च्याटमा त यति गलाउँछौ ।

साँच्चै तिमी सारै राम्री छौ यार । ऐश्वर्या भन्दा पनि राम्री ।

भो प्रशंसा गर्नुको पनि हद हुन्छ नि । ऐश्वर्याभन्दा राम्री त यो ब्रद्याण्डमा पनि जन्मेको छैन होला ।

होइन यार तिमी त प्रशंसा गर्दा पनि रिसाउछौ , भगवानले तिमीलाई लोडसेडिगको बेला बनाएछन् कि क्या हो ।

भो भो म जान्छु ।

सुन न सुन एउटा मुक्तक सुनाउँछु ।

कल्पनाको सागरमा डुब्दै

डर लाग्छ कता कता तिमी साथ हुदाहुदै

पौडन थाल्छन् मनका भावाना

किन त्रास छु आफू आफू मै

लाग्छ शुन्यमा बिलाए भैm

तिम्रो याद नआएमा कतै                            

कहाँ बाट चोरेर ल्यायौ नि ?’

फेसवुकबाट चोरेर ल्याएको भन्दिनँ ।

हो तिमीले चोरेको नै हो यस्तो राम्रो मुक्तक तिमीले लेखेको भनेर म मरे पत्याउन्न ।

तिमी त केही कुरा पत्याउन्न यार । तिमीसँग त मेरो सहमति होला जस्तो छैन । तिमी त नेपालका प्रमुख दलका नेताजस्तै छौ । कहिल्यै सहमति नहुने ।

एउटा कुरा भनन पत्याउँछु ।

के कुरा ?’

म बाँदर हुँ, रुखमा चढ्दैछु भन न पत्याउँछु ।

ए हो यार हेर न अहिले म कस्तो डराएको नि ?’

किन नि ? के भयो ?’

रुखबाट अर्को  एउटी बादर्नीलाई झारिदिएको केटी पो रहिछे । त्यो को हो थाहा छ ?’

थाहा छ तिमीले पक्कै मलाई भन्नेछौ । तिमी त खाली ठट्टा मात्र गर्छौ ।

ल भन डेटिङ्ग जाने होइन ?’

जान्न भन्या , मीठामीठा गफ गर्नुपर्छ । मुटु हल्लाउनु पर्छ । दिलमा कुछकुछ हुनुपर्छ । अनि पो डेटिङ्गमा जान्छु त यस्तो बाँदरे कुराले पनि कोही डेटिङ्गमा जान्छन् ।

ए हो त यार... हिजो पशुपतिमा बाँदरसँग डराउने कालो जिन्सको पेन्ट लगाउने, रातो टिसर्ट लगाउने केटी चाहिँ को हो नि ?’

के रे बाँदरसँग डराउने रे ? कहाँ देख्यौ तिमीले मलाई ?’

खोई गुहेश्वरीको जङ्गलमा दुई बाँदर र बाँदर्नी डेटिङ्गमा थिए । अर्को साँच्चिकै बाँदरलाई रिस उठेर झम्टदै थियो ।

साँच्चै तिमी को हौ भन त ?’

उही बाँदर धपाउने बाँदर ।

तिमी मलाई कुरा छल्दैछौ । सबै कुरा भन त ।

अनि बाँदरले तिम्रो हातको व्याग खोसेर लाँदा तिमी झन्डै रुन खोजेकी थियौ । अनि कसले खोसेर ल्याइदियो । ल्याएवापत तिमीले गालामा दिएको बक्किस् के थियो ?’

यु सिल्ली दिपक ! मलाई आशिष बनेर यति धेरै ठट्टा गरिरहेछौ हैन ?’

होइन होइन त्यो केटी हिरोइन दिपीकाको डुप्लिकेट थिई अनि हिरोको काखमा सुतेर के के हो ....त्यो इलुइलु गर्दै थिई ।

भो.. भो.. नभन मलाई लाज लागेर आयो । तिमीले मलाई यसरी अर्कैको नाम राखेर फलो गर्छौ भन्ने कुरा मलाई के थाहा ? त्यो हिरोले डेटिङ्गको लागि कति धेरै परिश्रम गरेको थियो । दुई महिना च्याटमा र फोनमा । त्यो चाहिँ किन भन्दैनौ । आफ्नो कमजोरी चाहिँ किन लुकाउँछौ । सबै भन न ।

भन्छु पख न यार । अब त डेटिङ्गको कथा पनि पुरा भइसकेको छ । वास्तवमा तिमीले मेरो परीक्षा लिएको होइन मैले तिम्रो परीक्षा लिइरहेको थिएँ ।

यु छट्टु दिपक, आइ डन्ट नो वाट वुड आइ वी डुइङ टु यु । बट आइएम भेरी मच इमप्रेस्ट बाइ यु । आइ लव यु दीपु ।

आइ टु यु दीडु '

दीडु ?'

दीडु मिन्स दीपिका डुप्लिकेट । '

यु छट्टु, उल्लु, सुगा,एन्ड बाँदर दीपक !

नो नो योर लभली दीपु ।

आइ लव यु दीपु ।

माइ स्वीट हार्ट दीपा.... ।

बाई  बाई सि यु ।

बाई बाई

 

 

sakhada4@yahoo.com

www.shakhadasahitya.blogspot.com

Comments

BimalGiri

सरल र साधारण भाषामा ब्यक्त गरिएका,बातावरणको स्थानीयता, घटनावलीका तारतम्य र शैलीको सोझोपारामा रोचक ढङ्गबाट प्रस्तुत गरिएको यो सम्बादरहित कथा राम्रोछ।सफल कथाकार शर्मिला खढ्का बातावरणको तस्बिर खिच्न र चरित्र संगठनका स्वाभाबिकता दिन निकै सिध्धहस्त हुनुहुन्छ। 

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |