हालसालैका लेखहरु : ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री) ना....टक,(बासु श्रेष्ठ )

साहित्य

दिनकर नेपाल, (नेपाल)


सुकरातको दर्शन ! प्लेटोको राज्य ! चाणक्यको चातुर्य ! गीताको ज्ञान ! वेदको अविदित !

मैले भन्नै परेन -आँफै विविध छ छर्लङ्ग । त्यही हो साहित्य । भने पनि नमिल्ने तर भन्नै नपर्ने मिठो तरलता । कल्पनाको उडानमा मनचरीको खेल - ठुङ्गाइ जिस्काइ रमाइ - कहिले विवेक सँग कहिले विज्ञान सँग ।

शब्दहरुलाई साहित्य भन्ने सँग म रिसाउँछु। अक्षरहरु जोख्नेको कलिलोता देख्दा टीठ लाग्छ - तराजु यन्त्र नपगाले मन पलाउँदैन । छन्दमा साहित्य होला तर छन्द नै त पक्कै होइन । यथार्थ जे छ त्यो त तस्वीर हो । हेराइ फरक पर्छ। त्यही हेराइमा रङ्ग पोतिदिन्छ। चश्मा लगाइदिन्छ। छर्लङ्ग पार्न पनि सक्छ - धमिलो पार्न पनि। परिभाषा भए भाषामा बाँधिन्थ्यो - भाषा भन्दा बाहिर फुक्न सक्नु पर्छ बल्ल। त्यही भएर भाषाको साहित्य भन्नेलाई ..... भैगो नभनौँ । 

लेख्ने मात्र  साहित्यकार भन्ने पनि उस्तै। लेख्नेले के लेख्न सक्छ-देखेको? अनि साहित्य गर्‍यो कस्ले? स्रष्टा भनेर मक्खिनेहरु - स्रष्टा त वनको झ्याँइकिरी हो। निहुराउ टाउको हे कृतघ्न । स्रष्टा त सुसेली गाउने बतास हो जस्को गाथा विश्वभाषा हो। छहरिलो भेलको रङ तिमीले भनिदिनु पर्छ र विश्वको कुन हो कुना बाट आएको मान्छेलाई ? अहँ। चिनाउनै नपर्ने पहिचान हो साहित्य। औपचारिकता नभएको आईडेन्टिटी - प्राकृतिक माधुर्यको निकास हो साहित्य।

मान्छे स्वार्थी भए पनि प्रक्रिती दानी छन्। उनको भाषा प्रेम हो। मिठो कहिल्यै एक्लै खाउँ भन्ने भावना छैन। त्यो बाँडी-चुंडी को भावना हेरौं त -फुलले सुगन्ध किन बाँड्छ? आँफु मात्रै ढकमक्क प्लास्टिक फुलेझैं त हुन्थ्यो नी! वनै रसाएर चरा-चुरुङ्गी रमाउँदाको आनन्द कल्पनातुल्य छैन। कल्प्य छैन , लेखिसक्नु  भनिसक्नु त कुरै जाओस् । झर-झर झरनाको सेफदीमा भाषाले के शान झार्छ र ? अहँ। बरु भावना फुलाउँछ रुन् झुन्। नत्र टाँकुराको हिउँ गमक्क परेर स्वर्णलेपमा आभुषित बसे त हुन्थ्यो। वात्सल्य पगाल्दै बेसी सुसाउनु किन? माधुर्य निकासको लागी। प्रक्रितीमा छन सुन्दरता- माधुरी - हामी हौँ माहुरी। रङ्गहरुको मिश्रण सेतो - सुर्यकिरण आँफै ठुलिंदै डुले पनि हुन्थ्यो तर फुटेर इन्द्रेणी बन्छ। आँफैँले उडाएका वाष्प-बिन्दुहरुका अगाडी विवश भै उधोमुन्टो लाउँछ - के का लागि ?

 रङ्गहरु नचिन्नेलाई इन्द्रेणी मुस्लो - त्यस्तै साहित्य भाव नबुझ्नेलाई।  

अघि भनेझैं राम्रो भावना, मिठो भावना सबैलाई सुनाउँ भन्ने तलतल लाग्छ कविलाई। कवि भन्दा साँघुरिएको भन्नुहोला- पद्य लेख्ने मात्र कवि होइन नलेख्ने अझै ठुला कवि हुन्छन्। काग कवि हुन्छ - भावना पढेर सन्देश बनाइदिन्छ, सबैले हेंला गरे पनि। उसको निकासको माध्यम मन परेन भनेर हुन्छ र ? मलाई बौलाहा भने पनि भन्नुस्,(यै बेला काँ काँ सुनिरहेको छु।) म चाँही ढुक्कै भन्छु –

सबै भन्दा सानो कविता - "काँ काँ!"।

थोरै शब्दमा धेरै भन्छ कविले - कागले त संसारै फलाकिदिन्छ! कहिले सन्देश समाचार दु:खको कहिले बुझाई सम्झनाको। बुझ्ने अनुसार फरक पर्छ त्यो कविताको अर्थ। पृष्‍ठभूमी अनुसार फरक-फरक रंग -  हर्ष र वेदना - शब्द कोट्याउनुस् शब्दकोशमा कागको कविताको वर्णन गर्न - मात्र यत्ति पनि पाउनु हुन्छ कि कुन्नि - काँ काँ।

 

जसलाई कल्पनाले पाचुके दिइसकि उसले कोशै खाएपनि भेट्टाउदैन साहित्य - उ शब्दार्थको भुलभुलैयामा भुल्छ। बिन्यासको बित्यासको बिज्ञानमा बिचरण गर्छ। उड्दैन उसको मनचरी कल्पनाको पखेटा चलाएर साहित्याकाशमा।

 

कविता फुर्यो भन्छन् तर म भन्छु तिमी कवितामा फुर्यौ -कल्पनामा फुल्यौ! ए साहित्यकारहरु - प्रकृतिमा झरना कहिले देखी छ ? फुलमा सुगन्ध कहिले देखी छ ? आकाशमा सुर्य चन्द्रको रमझम ताराहरुसँगको मितेरी-चुल्बुल कहिले देखी छ ? अनी कहिले देखी छ क्षितिजको त्यो सुनौला बिहानी ? भन त भन्न मिल्छ कविता फुर्यो ? कविता यहीं थिइ पवनको सुगन्धमा- तिमी आएर बेसी बाट बल्ल ठोकियौ। तिम्रा गिर्खाहरुले बल्ल भेटे कल्पनाको उन्माद -उस्को रेजोनेन्स त करौडौं अनगिन्ती तरङ्गहरु बनी घुम्दै छ कहिले देखी। गुरुत्वाकर्षणले तानिएका थियौ- यान्त्रिकताको, कृत्रिम कर्तव्यताको, अबुझ उदासताको - पत्रै पत्रा पहेलीहरुको।

अब जालो फालेर माथि आयौ- संचार बढ्यो अनी भेट्टायौ - कविता। तर तिमी नआउँदा साहित्य एक्लिएको थियो र ? कविता बिछोडमा थिइ र ? तिमी त फुर्सद भए कविता लेख्छौ - मन परे फलाक्छौ - राम्रो लाए मात्र डाक्छौ। उ सरिता हेर - अविरल सहेली कविताकी ! सुसेलीमा अविच्छिन्न कविता छ - भेलमा उन्माद रस। उनको जीवन नै साहित्य हो। ए तुच्छ! कुन घमण्डमा छौ ? तिमी त कि पेटका लागि लेख्छौ कि यशका लागि कविता गाउँछौ, साहित्यकार भनी नाक ठडाउँछौ। माहुरी हेर एक सेकेन्डमा नै चार सय गीत गाँउछ तर फूल सँगै मक्ख छ। माहुरीको गीतमा स्वार्थ यदि छ भने त्यो खाली प्रेमको मात्रै स्वार्थ छ -त्यै पनि लजाउँछ एक्लै पचाउन - मह बनाएर माधुर्य जुन लिएथ्यो त्यो अझै मिठो पार्दछ। त्यै मिठास बाड्नु हो साहित्य - शब्दका कृषकहरु!

 

ब्राम्हण आफुलाई भन्ने वेद्का ज्ञाताहरु - तिमीहरु त वैश्य हौ शब्द का किसान। विचार शुद्ध्याउछु भन्ने विग्याता हरु - शुद्र हौ तिमी म छुन्न तिमीलाई , प्रक्रितीले छुन्न तिमीलाई - प्रेमले छुन्न। प्रक्रिती र प्रेमको आलाप हो साहित्य - तिम्रा पोथीहरु पोलिदिए हुन्छ यदि तिनमा प्रेम छैन भने - सती जान देउ तिम्रो मरी सकेको आत्मा सँगै। प्रेमलाई दोष मान्ने नियमका थान्का जीवन चित्र बन्नै सक्दैनन्। साहित्य झन् कसरी बन्न सक्छ?

 

प्रकृति र प्रेमको संसर्गले उमालेको कल्पनाको सुगन्ध नै साहित्य हो। बुझ्न खोजे आँ गर्दा अलन्कार! बाझ्ने लाई कट्टी , भैगो बोल्दिन - ठुस्किन्छु रिसाउँछु बरु कविता झैं । त्यै हो पहिल्यै निर्णय खुट्ट्याउनुस् बुझ्ने बिचार  छ कि बाझ्ने ?

 

अब, प्रक्रिती बाट प्रेम बाट टाढिएको पो के छ र ? आजका मशीनहरु कि मशीन जस्तै मान्छे? मशीन चल्छ प्रक्रितीका अद्भुत सन्तुलन र नियमहरुले। आकाशमा बिजुली प्राणी भन्दा पहिल्यै थियो - बिजुलीमा लेख्नेले आधुनिकताको आडम्बर लगाएर मै हुँ भन्ने ठाउँ छ र ?

 

तिखो  बोल्दो रैछ, तितो लेख्दो रैछ - भन्नेले भन्नुन्।
बिचार  खोक्रो धोक्रो पुरानो रैछ - मान्नेले मानुन्।

 

म त मन सारीदिन्छु - रिस उठे रिसै झर्छ, माया लाए माया नै बग्छ। डर मान्ने हैन - कर मान्ने छैन! पाँच सय बर्ष न्युटनले बलले चलाएको बिज्ञान त आईन्स्टाइन को कल्पनाले एकै चोटी पगाल्यो भने आजको हिउ त के …। अब घुमेर विज्ञानले तरलता ओढ्यो - छैन केही ठोस। त्यही कल्पनाको संसारमा संसारको कल्पना हो साहित्य। त्यही भएर पहिल्यै भनेको थिएँ - मनचरीको ठुँगेरी विज्ञान सँग। विज्ञान फर्कन लागेको छ कल्पनाकै संसार तिर। प्रक्रिती नै परम हो, परम नै प्रेम हो! नारा जस्तो भयो - हुन त यै हो नारा - मन्त्र - मोटो - वाणी - जीवनको। अहा! कल्पना सँग मितेरी गाँस्दा मनचरीले कहाँ कहाँ डुलाउछे । डुलाइसकी! भुलाइसकी! रुलाइसकी! त्यै रोदन पो साहित्य ।

अहिले सम्म आड थियो अब पग्लें ! बौलाएछ भन्ने भए।

घरी माधुर्य साहित्य भन्छु घरि रोदन साहित्य भन्छु। घरि घरि फेरिंदो  रैछ भन्लान् - छेपाराको रंग। तर बुझे पो रोदनको मिठास। पीडाको मिठास। कसको मन छैन वेदनाको प्यासी? रातमा पातले शबनम चुहाउँदा दिनकर सँगको बिछोड रोएको हैन भने  के ? रातको एक्लोपना भएन सह्य - पग्ल्यो आँसु। अनी त्यै बिन्दु बन्यो अमुल्य मोती हिरा - सुनगाभाको पातमा दिनकरले नरम चुम्बन गर्दा! यो साहित्य हैन भने के साहित्य? रोदन साहित्य हैन भने के साहित्य? रोदन साहित्य नमान्ने हरु - आमाको प्रसव वेदनाको कविता  खै तिमीले बुझेको? सिर्जनाको उद्गार - अनी पीडा हुन्छ साकार सफल ! कथा कविता जन्माउँदा जननी साहित्यकारले - त्यो रोदन साहित्य।

 

पहिलो श्वासको प्रिथ्वीमा चित्कार नै गीत- कसले सिकायो लय? केको छ र वेदना तर रुनु त भाषोपरि-सर्वोपरि- विश्व साहित्य। किन भाषामा बाँध्ने नियममा साहित्य- नवजातको भाषा छैन तर बुझेनौ भवोद्गार? जीवनको पहिलो गीतले कती छर्छ हर्ष जताततै। अमेरिका देखी नेपालसम्म, अफ्रिका देखी अस्ट्रेलिया सम्म, सिंगो प्रिथ्वीमा नवजातको साहित्यको छ एउटै भाषा - एउटै गीत - जीवन गीत। भाषाले नछुट्टिने त्यही रोदन साहित्य।

 

सृश्टीको निरन्तर श्रीजनोन्मुख तलतल- कर - उद्वेग! मादकता! नशा! नशा हो साहित्य। कल्पनाको र श्रीजना को मधुमा डुबेकी स्रिश्टीको नशा।

 

शृष्टिले कोरेको ज्यामिती अनन्तसम्म रहिरहन्छ । त्यही अनन्त हो साहित्य - साहित्यकार भनाउँदाहरु- तिमी भन्दा मिठो साहित्यकार बगरको ढुँगा हो - तरलता को शक्ति बुझेको छ। विरोध गर्दैन पानीको - बालुवा बनी दिन्छ कती बुझाउ। प्रेम पानी हो - मान्ने लाई समाहित गर्छ आफुमा नै - नमान्नेलाई लतार्छ र फुटाल्छ। तर बाँध बनाएर छेक्न खोज्नेहरु -  बुझ बाँध फुट्दा खेरीको बाढी । कहिले काही बाढी बनेर आउछ । उर्लेर आउछ। 

 

वनमा पलाउने टुसा हो साहित्य - सिर्जना। स्रष्टा लेखेर मुकुट पहिरिने हरु - किसलय वनमा नआए तिम्रा पानाहरुमा वसन्त आउँथ्यो त ? खै कुन शब्दले बयान गर्छौ रोपिएको बिउ उम्रने कविता ? के हो त्यो लघुकथा जुन दुई पाते आँकुरा बन्छ ? शब्द खाएर शब्द ओकल्ने निर्जीव पानामा तिमी - फल खाएर पनि बीउ फुलाउँछ जीवन चारै देश, त्यो चिडीया चाहीं हैन साहित्यकार?

साहित्य छाँट्ने भन्छौ शब्दहरु क्लिष्ट भुन्-भुनाएर - ल छाँट साहित्य मही पारेर नौनी निकाल्दाको! अनी के सक्छौ त्यही सिर्जनशीलता उमार्न तिम्रा शब्दहरुका ढाडिलोमा ? ती पाखुरा पो साहित्यकार ! घ्यार्रघ्यार्र- कति छन्द कति मिठास बुझेको छ। अभ्यासको आधारमा कस्तो मजाको अड्कल - छन्द ! कनिका पौष्टिक मोती मन्थनको निकाल्छ - बाँकी मही छ सर्वहित। हे ! मोही विलासताका! दुई चार शब्द घोकेर छाँट्ने छाँट होइन , मदानीको ठेको सँगको प्रेम लीला हो साहित्य। दहीको तालमा जलक्रीडा।

 

मान्छेले साहित्य छाँट्ने होइन साहित्यले मान्छे छाटिन्छ। शब्द सुनौला भएर के भो र शब्दले भाव भिजेन  भने? सरुभक्तहरु सुनौलीमा सुगन्ध र सुनौला प्रातकिरण पाउँदैनन्, 'पोखरा' खरो शब्द छ झर्रो तर भाव हेर कति राम्रो - मेरै कल्पना र सिर्जना को देश।

 

भावनामा डुबिल्को मार्दा मार्दै पौडिन सिक्नु हो साहित्य। फेवातालको माछा तपस्वी त्यै माछा साहित्यकार। उस्ले देखेको हिमाल, उस्ले कल्पेको हिउँचुली  त्यही फेवाको गहिराइमा छ। दर्पण सत्य हुँदैन भन्नेहरु, फेवाताल गएर हेर - तिम्रा दर्शनका दर्पणनै फुट्नेछन्। फेवातालको माछालाई हिउँ कै पानीमा स्नान गर्नु छ निरन्तर। तपस्या उसको- वायु विहिन जस्तै बाँची रहेको छ। कल्पना साँचो उसको - फेवातालमै उ माछापुछ्रे चढीरहेछ। कति सबल उसको साहित्य - विशाल हिमालय झुक्यो उस्कै लागि। घुस्रियो लुसुक्क गएर फेवातालमा। त्यै कल्पना सत्यको अपार शक्ति हो साहित्य।

अक्षरले शब्दले भाषाले छुट्ट्याउन खुट्याउन नसकिने संगीत जस्तो हो साहित्य। माध्यम त अनेकौँ हुन्छन तर लक्ष्य त एउटै हो - मन। कसैले श्रिङ्गारमा रुप निखार्न खोज्छन्, क्सैले वस्त्राभुषणले चिनिएला भन्छन्। तर मनको बुट्टा कुदिएँको तस्वीर सँग रुपको के मोहनी? रुप त ओइलाउछ - साहित्य अनन्त झुल्कीरहन्छ सधैं- सबैको सेवामा! सेवा नै साहित्य!

दिन होस् कि रात होस्- छर्लङ्गपना हो साहित्य। शुन्यतामा नीलो आकाश, भरिपूर्ण छ आँफैमा रिक्त भए पनि, चित्रकारी , अद्भुत साहित्य। अन्डर -ग्राउन्ड बंकरहरुमा वर्षौं लुकी बस्नेहरु लाई सोध शुन्य आकाशको उपन्यास कति लोभलाग्दो छ ? पढुँ पढुँ हुने - छोड्नै नमिल्ने। त्यो छर्लङ्गपना जीवनमा भए यै जीवन अनन्त साहित्य। प्रत्येक जीवन एउटा उपन्यास - प्रत्येक प्राणी उपन्यासकार! प्रत्येक पहरा र पाखा एउटा प्लट - सेटिङ्ग!

 

तर के थाहा तरंगमा विश्व नबुझेर ठोस खोज्नेहरु लाई ? विज्ञानले अल्मलाएकाहरु न्युटनको बल मान्छन् , उचालिएकाहरु आईन्स्टाइनको विम्ब सम्झन्छन्। विवेकले प्रस्ट्याउनेले भेउ पाउँदैन!

 

आत्माको स्फुरण हो साहित्य।

 

 

Comments

शर्मिला खड्का दाहाल

दिनकरजी, तपाईको यही लेख पढेर मैले राम्रो छ भनेको रहेछु । तपाईको लेखमा भाव र अनुभुतिको तीव्र वेग छ । भावलाई कल्पनामा मिसाएर कलात्मकतामा ढाल्नसक्नु तपाईको खुवी हो । जति पढे पनि पढिरहु जस्तो लाग्छ । मैले यस्मा निबन्धकार शंकर लामिछाने र देवकोटाको भाव र शैली पाएको छु । निकै ठूलो साधना गरेपछि मात्र यत्तिको निबन्ध लेख्न सकिन्छ । केही राम्रा निबन्धकारको पं... अरू हेर्नुहोस्त्तिमा तपाईको परिचय यस निबन्धले दिइसकेको छ । तर एउटा कुरा तपाईले आफ्नै लेखनको शैली स्थापित गर्नसक्नुपर्छ । अनि मात्र तपाईको छुट्टै पहिचान हुनसक्छ । त्यस्तो पहिचानका थुप्रै सम्भावाना तथा शुभसकेत तपाईको निबन्धले दिइसकेको छ । भविष्यमा एउटा राम्रो निबन्धकारको जन्मभएको पाए मैले यस निबन्धमा तर तपाईको साधनामा धेरै कुरा भर पर्छ । धेरै धेरै शुभकामना छ । <br /> अहिलेको समयमा वेव पत्रिका मार्फत हामीले यसरी साहित्यलाई नजिकबाट सरल र सुलभ ढगले बुझ्न र छाम्न पाएका छौ । आफ्नो अथक परिश्रम खर्च गरेर हामीलाई यो साहित्यिक चिन्तनको थलो प्रदान गर्नु हुने साहित्यसेवक तथा स्रष्टा वासुदाइप्रति हामी सबै आभारी छौ ।

sushil aryal

aja yo lak padhan paeiyo ramro lago lakha ramro 6 aru pani yasti lakha laknuhola

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |