हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

गजलको अनलाइन बहस संवन्धी अवधारणा पत्र

केशु बिरही, ()


विषय प्रवेशः
अरविक माटोमा जन्मिएर उर्दु, हिन्दी भाषा हुदै भित्रिएको गजल विधाले नेपाली माटोमा आज एउटा लामो काल खण्ड विताइसकेको छ । दसौ शताव्दीमै इरानी अन्धा कवी रौदकीले जन्माएको विस्वास गरिएको यो विधालाई नेपाली माटोमा भित्रिएको पनि आज लामो समय भैसकेको छ । गजललाई नेपाली माटोमा भित्र्याउने श्रेय भने मोतीराम भट्ट (वि.स.१९२३ –१९५३)लाई जान्छ । मोतीरामले भारतबाट यो विधालाई भित्र्याएको मानिन्छ । यसरी नेपाली मोटोमा भित्रिएर सवा शयको भन्दा लामो काल खण्ड विताइसकेको छ ।

स्थापानकाल देखि नै गजलले ठूला ठूला हाँक र चुनौतिका सामना गर्दै आएको छ । लामो समय सम्म सुसुप्त अवस्थामा वसेको यो विधाले तीसको दशक पछि मात्र मौलाउने अवसर पायो । झाँगिने अवसर पायो । वि. स. २०३६ (जसलाई गजलको आधुनिक काल मानिन्छ) साल पछि भने गजलले व्यापक रुप नै लिन पुग्यो । त्यसमा पनि वि. स.२०४६ साल पछि त झन गजल लेखनको एउटा लहर नै चलेको पाइन्छ । के बुढा के तन्नेरी आज सवै गजल लेख्नमा तम्सिएका पाइन्छन । आफ्नो पनि गजलमा छाप छोड्न वा आफ्नो प्रभावलाई कायमै राख्न सवै हत्तारिरहेका देखिन्छन । यति सम्म कि हिजो गजल केही होइन । यो कनिष्ट एवम् तुच्छ विधा हो भन्नेहरु पनि आज चोरी चोरीकन भए पनि गजल लेख्न थालेका छन । कतै यो विधामा आफ्नो नाम नआउने पो होकि । कतै आफू पछि परिने पो हो कि भन्ने डरले होला । त्यसैले हत्तारिएका हुनसक्छन । यो नेपाली गजलका लागि । हामी गजल प्रेमीहरुका लागि सफलताको कुरा पनि हो । यो हाम्रो लागि खुसीको कुरा पनि हो । अझ भन्दा यसलाई गजल प्रेमीहरुले एउटा जीतको रुपमा पनि लिएका छन । 

 

हुन त यति भएर मात्र गजलको विकाश भएको मानिदैन । नेपाली गजलमा आज त्यस्ता थुप्रै समस्या छन । दुविधाहरु विध्यमान छन । ती समस्या तथा दुविधाको अन्त्य गरिनुको साटो यदि यतिलाई नै गजलको प्रगति भएकोे ठानियो भने त्यो किमार्थ सत्य हुदैन । त्यो हाम्रो भ्रम मात्र हुने छ । नेपाली गजललाई माथि उठाउन थुप्रै कामहरु वाकी छन । थुप्रै वाटो हिड्नु छ । थुप्रै चुनौतिहरुको सामना गर्नु छ । चुनौतिलाई चिर्नु छ । नेपाली गजलमा आज थुप्रै अवरोधहरु छन । थुप्रै चुनौतिहरु छन । तिनीहरुलाई पन्छाउदै जानु नै आजको आवश्यकता हो । गजलमा देखिएका वाधा अवरोधहरुको निराकरण गर्दै जानु हाम्रो कर्तव्य पनि हो ।

 

नेपाली गजलका केही समस्या तथा चुनौतिहरु

 

गजल नितान्त गेय विधा हो । यसलाई अलग्याईनु हुदैन । गजलललाई गेय विधाको रुपबाट अलग्याइदै मात्र पाठ्य विधाको रुपमा वदल्ने प्रयासहरु भैरहेको छ भन्ने आवाज पनि आइरहेका छन । गजललाई बहर वा लयबाट टाढा पारिदै छ । कतै यसले गजलको मुल्य मान्यतालाई त खतरामा पर्ने होईन भन्ने शंका उपशंकाहरु पनि उव्जीरहेका छन । यदि साच्चै यस्तै भयो भने यो राम्रो हुने छैन । यसको वारेमा सचेत हुनु पर्ने वेला आएको छ । यसका वारेमा गजल प्रेमीहरु एक जुट हुनु पर्ने वेला आएको छ ।

 

गजल नेपाली माटोमा भित्रिएको यतिका साल भै सक्दा पनि गजलमा देखिएका विवाद तथा दुविधाको अन्त्य गर्ने काम हुन सकेको छैन । विवादहरु ज्यूँका त्यूँ छन । अझै पनि हामी अन्योल मै छौ । ती अन्योलका अन्त्य गरिनु पर्छ । समाधान हुनु पर्छ भन्ने मान्यता हो ।

 

हुनत अपेक्षाकृत रुपमा नभए पनि गजलले धेरै ठूलो फड्को मारिसकेको भने पक्कै हो । गजल आज अन्य विधाको तुलनामा चर्चित तथा लोकप्रिय विधाको रुपमा स्थापित भैसकेको छ । आज के वुढा के तन्नेरी सवैले यो विधालाई मन पराएका छन । गजलमा आफ्ना मनका भावनाहरु पोख्न आतुर देखिदै आएका छन । हुनत गजलमा संख्यात्मक प्रगति मात्र भएको छ । यसमा आलाकाचाको मात्र सहभागिता वा वढी आकर्षण छ भन्ने गरिए पनि संख्यात्मक मात्र नभएर गुणात्मक प्रगति पनि प्रसस्त भएका छन । आलाकाचा मात्र नभएर हाल यस विधामा अन्य विधामा स्थापित श्रष्टाहरु पनि आकर्षित हुदै छन । यो विधा उनीहरुको आकर्षणको केन्द्र विन्दु वन्दै आएको छ । पछिल्ला समयमा सुन्दर भन्दा सुन्दर गजल कृतिहरु पनि आईरहेका छन र आउने क्रममा छन । यसरी हेर्दा यो विधाको भविष्य उज्जल देख्न सकिन्छ । तर दुःखको कुरो के छ भने गजलले यति धेरै प्रगति गरिसक्दा पनि आजसम्म गजललाई एउटा छुट्टै विधाको रुपमा स्वीकार्न कन्जुस्याई भैरहेको छ । आज पनि केही मानिसहरु गजललाई कविताको संज्ञा दिने र त्यही अनुसारको व्यबहार गर्न पनि पछि परिरहेका छैनन । उनीहरुमा पुरातन एवम् अग्रगमन विरोधी सोच हावी देखिदै आएको छ । उनीहरु आफ्नो सोचलाई परिवर्तन गर्न चाहिरहेका छैनन । त्यसैले कहि गजललाई कविता र कही गीतकै श्रेणीमा राखिरहेको पाईन्छ । त्यस्तै कतिले छोटो भएकोले मुक्तक वा गाउन सकिने भएकोले गीत भनेर पनि वुझ्ने वा त्यही मुताविक व्यवहार पनि गरिएको पाइन्छ । गाउँदैमा गीत र छोटो हुदैमा मुक्तक हुन्छ भन्ने सोचमा परिवर्तन आउन सकेको छैन । त्यो सोचमा परिवर्तन ल्याउन जरुरी छ ।

 

हुन त त्यसो हुनुमा हाम्रो पनि ठूलो कमजोरी रहेको छ । हामी हाम्रो रचना प्रकाशन मात्र भए होस भन्ठान्छौ । तर यसको अस्तित्व के छ । यसको प्रभाव कस्तो पर्छ भन्ने कुरामा ध्यान दिदैनौ । अर्थात हामीलाई मात्र हाम्रो रचना छापिदिए पुग्छ । त्यो गीतको नाममा छापियोस या कविताको नाममा । अझ गीत नै भनेर छापिदिइयो भने पनि हामी मख्ख हुन्छौ । मुक्तक नै भनिदिए पनि केही छैन । मेरो रचना छापियो भनेर मख्ख पर्छौ । छाती फुलाऔछौ । तर यो गलत हो । रचना छापिनु नै सवै थोक होइन । एक पटक सोच्नु आवश्यक छ । यदि कसैले हामीलाई अरु नै कसैको नाम लिएर वोलायो भने वा त्यही अनुसार व्यवहार गर्र्न खोज्यो भने कस्तो होला । के त्यो हामीलाई पाच्य हुन्छ ? के हामी त्यसलाई सहज रुपमा लिन सक्छौ ? त्यस्तै गजललाई गजल नभनेर कविता वा गीत वा मुक्तक भन्दा कस्तो होला ? कस्तो लाग्ला ? के यो न्यायोचित व्यवहार हो त ? के तपाईलाई यो चित बुझ्छ त ? के यसले गजलको विकाशमा टेवा पुग्छ र ? यसले गजलको अपमान भएन र ? अनि गजलको अपमान भए पछि हामी गजलकार भनेर छाती फुलाउनेको चाही के मान भयो र ? आफ्नै अपमान भएको मन पराउने हामी कस्तो मानिस ?

 

हो, यसको लागि अव सोच्नु पर्ने वेला आएको छ । यसबाट वच्न के गर्नु पर्ला भन्ने जिज्ञासा आउनु स्वभाविक नै हो । र आउदै गरेका छन पनि । यसको एउटा मात्र उपाय हुन्छ त्यो हो संघर्ष वा तिरस्कार । हामीले त्यस्ता गजलको अस्तीत्व नस्वीकार्ने पत्र पत्रिकालाई वा संचार माध्यमलाई तिरस्कार गर्नु पर्छ । हामी हाम्रा रचनाहरु नदिन पनि सक्नु पर्छ । र नदिनु नै वेश हुन्छ । वा संघर्ष गर्न सक्नु पर्छ । वुझाउन सक्नु पर्छ । गजल गजल नै हो यो न गीत वन्न सक्छ न कविता वा मुक्तक नै । वुझाउन नसक्नु भनेको चाही हाम्रो कमजोरी हो ।

 

हामी कलम चलाउछौ र चलाउदै आएका छौ पनि । तर किन हाम्रो कलम त्यस वारेमा चल्दैन ? गलत कुराको विरोध गर्न किन डराउने ? त्यस्ता गल्ती जस्ले सुकै गरोस । ती मधुपर्क होस या गरिमा जुन सुकै हुन तिनीहरुको कमजोरीको वारेमा लेख्नु पर्यो नि । (यहा आएका मधुपर्क वा गरिमा एउटा दृष्टान्त मात्र हुन ।) आफ्ना रचनाहरु प्रकाशित नगरिदेलान कि भनेर हामी कमजोरीलाई पनि कमजोरी भनेर भन्न डराउ छौ । अर्थात हामी चाकरी चाप्लुसी तर्फ अभिप्रेरित देखिन्छौ ।

 

अर्को कुरा भनेको हामी हामी विचमा पनि एकता छैन । नेपाली राजनीतिको प्रभाव गजलमा पनि नराम्ररी छिरेको छ । हामी पूर्वमा वस्ने पूर्वेली पश्चिममा वस्ने पश्चिमेली । हामी झापाली झापाली एक हुनु पर्दछ । हामी काठमाण्डौ वस्ने एक हुनु पर्दछ । भनेर गुट उप गुटमा विभाजित छौ । अथवा झापा नै गजलको गढ हो । चितवन गजलको गढ हो । अथवा काठमाण्डौ काठमाण्डौ नै हो भन्ने सोच लिन्छौ । (यहा काठमाण्डौ, झापाली वा चितवन दृष्टान्तको रुपमा मात्र प्रयोग भएका छन) अनि यही अनुसार हामी व्यवहार गर्छौ पनि । नेपाली गजलका हामी पुजारी भएर पनि राजनीतिमा प्रभावित भएर व्यवहार गर्छौ । अनि यसतो कार्यले कहा गजलको विकाश हुन्छ त । यस्तो कार्यले त गजललाई झन कमजोर वनाउछ । एउटाले उठाएको सही कुरा नै भए पनि हामी विरोध जनाइहाल्छौ । त्यही क्षेत्रीयता र जातीयतामा अडिएर । त्यही अघिल्लो र पछिल्लो पुस्ताको संज्ञा दिएर । क्षेत्रीयता वा पुस्ताको धङ्गधङ्गी हामीबाट कहिलै पनि हराउन सकेको छैन । हामी स्थानलाई मात्र महत्व दिन्छौ । अर्थात केन्द्रमा वसेकोमा गर्व गर्छौ । त्यहा वसेर रचिएका रचनाहरु अत्कृष्ट हुने र मोफसलमा वसेर रचिएका रचनाहरु कमसल हुन्छन भन्ने हामीमा भ्रम छ । कतै हामी भिडलाई त विश्वास गरिरहेका छैनौ ? कतै हामी साहित्यलाई प्रदर्शनीमा राख्ने सामान त ठानिरहेका छैनौ ? अनि हामी (माथि) उचाईमा पुगे पछि उधो देख्दैनौ पनि । अर्थात देख्नै चाहादैनौ पनि ।

 

अनि अर्को कुरा हामी बिच श्रेय कस्ले लिने भन्ने वारेमा लडाइै नै हुन्छ । होड नै चल्छ । यदि मैले उस्को कुरामा सहमती जनाएँ भने त उसैले श्रेय लिईजान्छ नि । उस्लाई सवैले चिनिजान्छन नि । म त पछि परि जान्छु नि भन्ने सोचबाट ग्रशित छौ । यही सोचेर हामी असहयोगी वन्न पुग्छौ । असहमती जनाउन पुग्छौ । सवैलाई थाहा छ यो आवस्यक्ता हो । तर जुँगाको लडाईले गर्दा राम्रै कदमको पनि असहयोग हुन सक्छ । अनामण्डली एवम् पल्लव लगायतका  समूह तथा केही व्यक्तीहरुले गजलमा बहर आन्दोलन नै छेडेका छन । कसैले बहरवादी आन्दोलनको नाम दिएका छन भने कसैले परिस्कारवादी आन्दोलन । गजलमा परिस्कार चाहनु भनेको राम्रो कुरा हो । यो आजको आवस्यक्ता पनि हो । नेपाली गजलको चिन्ता हुनु । गजललाई सही बाटोमा लैजान पाए हुन्थ्यो भन्नु । अर्थात गजललाई परिस्कार गरेर अझ सुन्दर पार्न पाए हुन्थ्यो भन्ने सोच आफैमा स्वागत योग्य कुरा हुन । यो सवैमा हुनु पनि पर्छ । (यहा माथि उल्लेखित संघ संस्था वा व्यक्तीहरुले मात्र यो आन्दोलन चलाएका छन अरु सवै चुप छन भन्ने चाही होईन । त्यस्ता थुप्रै संघ संस्था तथा व्यक्तीहरुले पनि यस्ता खाले आन्दोलन चलाउदै आएका छन ।)

 

त्यस्तै बहरवादी र बहर विरोधी बिचको टकरवाव पनि देखिन थालेको छ । एउटाले अर्कोको अस्तीत्व माथि प्रश्न चिन्ह उठाईरहेको आभाष हुन थालेको छ । बहरको वारेमा चर्चा परिचर्चा हुनु त राम्रो कुरा हो तर यसरी एक आपसमा लड्नु चाँही गजलको लागि राम्रो संकेत मान्न सकिन्न ।

 

यहा अभियानकर्ता भने प्रष्ट छ । उसले कुनै पनि वादको प्रतिनिधित्व गरेको छैन र गर्दैन पनि । मात्र उसले त गजलमा बहरको आवश्यक्ता छ । बहरको प्रयोगले गजललाई विगार्ने होइन अझ सुन्दर वनाउछ  । यस तर्फ सोच्नु पर्छ । बहरको वारेमा अध्ययन गर्नु पर्छ भन्ने आसय मात्र हो । यहा प्रष्ट हुनु जरुरी छ कि यो अवधारणा अर्थात यो अभियान कुनै वादको वकालत गर्न भने आएको होइन । कुनै एउटा कुरालाई मात्र प्रश्रय दिन चाहेको पनि होईन । अभियानले कुनै पनि अतिवादको वकालत पनि गर्दैन । बहसको क्रममा यी सारा कुराहरु त आउन सक्छन । चर्चा परिचर्चा हुन सक्छन नै । र हुनु पर्छ पनि । सवैलाई आ–आफ्नो विचार राख्ने स्वतन्त्रता छ । आफूलाई मन परेको विचार राख्न पाउछन । र राख्दै आएका छन पनि । तर ती विचारले गजललाई नकारात्मक वाटो तर्फ लैजानु चाही हुन्न भन्ने आसय मात्र हो ।

 

 

नेपाली गजल आजको यो अवस्थामा आई पुग्नमा तपाईहरु जस्ता तमाम गजल प्रेमीहरुको ठूलो योगदान रहेको छ । हाम्रा अग्रजहरुको अथक प्रयासले नेपाली गजल आजको यो अवस्थामा आइपुगेको हो । यस क्रममा गजलले थुप्रै आरोह अवरोहहरु झेल्नु पर्यो । थुप्रै चुनौतीहरुको सामना गर्नु पर्यो । हाम्रा अग्रजहरुले ती चुनौतीहरुको डटेर सामना गरे र आजको यो अवस्था सम्म ल्याई दिएका छन । उनीहरुले वचाएको यो विधालाई हामीले पनि वचाउन सक्नु पर्छ ।  हामीले पनि होष्टेमा हँैसे लगाउनु पर्छ । र लगाइरहेका छौ पनि । त्यसैले त आज गजल गजल भनेर चिनिन सफल भएको छ । गजल गजलको रुपमा स्थापित हुन सफल भएको छ । यस्ले आज आफ्नो छुट्टै आकाशको निर्माण गरिसकेको छ । हुनत अझै पनि गजललाई देखिनसहने हरुले यसको विरोधमा आफ्ना अभिमतहरु निमार्ण गरिरहेका छन । यो भेल हो । किर्ने काँडा जस्तै हो भनिरहेका छन । तर हामीले वुझेका छौ गजल एउटा भेल मात्र होईन । यो कुनै कमजोर किर्ने झार जस्तै होइन र हुने वाला पनि छैन । गजल एक सशक्त विधा हो । गजल सफल एवम् वयस्क विधा हो । यसले अन्य विधाका हजारौ पानामा लेखिएको ग्रन्थ या महाग्रनथले पनि उठाउन नसकेका वा वर्णन गर्न नसकेका विषय वस्तुहरुलाई पनि सरल र सशक्त रुपमा उठाउदै आएको छ ।

 

यो विधा विचार र विषय वस्तुका दृष्टिले पनि उतिकै सशक्त छ । उतिकै सवल हुदै आएको कुराको प्रमाणित हुदै आएको छ । र भै रहेका छन पनि । त्यसैले पनि उनीहरुका ती गजल प्रतिका विचार वा धारणा गलत सावित भैसकेका छन ।

 

आज कहि अस्तित्वको लागि लड्नु पर्ने वेला आएको छ भने कहि सुद्धीकरणको लागि । त्यस्तै कही परिस्कारको लागि पनि । यो हाम्रो आन्दोलन प्रेमपूर्ण हुने छ । आफ्नो अस्तित्वको लागि अरुको अस्तित्वलाई संकट पार्नेखाले होईन । सह अस्तित्व र सहयोगको भावले अग्रसर हुनु पर्छ । त्यसको लागि हामीले वोलेर होइन सिर्जनामा ध्यान दिनु पर्ने हुन्छ । संख्यात्मकता भन्दा पनि गुणात्मकता तिर ध्यान दिन सकेमा नै गजलको अस्तित्व नस्विकार्नेहरु र गजललाई फाल्तु विधाको संज्ञा दिनेहरुका ती धारणाहरु आफ्से आफ हटेर जाने छन । गलत सावित भएर जाने छन । र उनीहरुले पनि यो विधाको अस्तित्वलाई स्वीकार्ने छन ।

आज गजलमा त्यस्ता थुप्रै दुविधाहरु रहदै आएको कुरामा कुनै दुई मत छैन । प्रयोगका नाममा होस या अन्य नाममा होस गजललाई क्लिष्ट एवम जटिल वनाइने कार्यको अन्त्य हुनु पर्छ । गजलमा देखिएका विवाद वा दुविधालाई सर्वजना वसेर छलफल गर्नु पर्ने वेला आएको छ । सार्वजनिक बहस चलाउनु पर्ने वेला आएको छ । आज यिनै यावत कुरालाई ध्यामा राख्दै यो अभियानको संचालन गरिएको हो । यीनै माथिका उदेश्य पुर्तीका खातिर यो सार्वजनिक बहस आउनु परेको हो । त्यसैले आउनु होस हामी एक जुट भएर नेपाली गजल संवन्धी यो महान यात्रामा अघि वढौ । गजल संवन्धी अनलाइन अर्थात इन्टरनेट बहसमा सहभागी वनौ । बहसमा भाग लिऔ ।

 

बहसमा भाग लिन चाहने संपूर्ण गजल प्रेमीहरुले आफ्नो विचार सोझै लेखक वा अभियान कर्ताको इमेल ठेगाना keshubirahi2008@yahoo.com वा birahikeshu@gmail.com मा पठाउन सक्ने छन । तर इमेल गर्दा युनिकोर्डमा नलगी (प्रिति फन्टमा लेखेर) पठाउन अनुरोध गरिन्छ । साथै बहस संवन्धी जानकारी वा बहसका वुँदाहरु विभिन्न साहित्यिक अनलाईन पत्रिकामा राखिने छ  । त्यस्तै फेसवुकमा रहनु हुने महानुभावले सवै जानकारी फेसवुक मार्फत पनि पाउनु हुने छ ।

।। इति ।।

 

 

 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |