हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

चितवनको साहित्यिक उन्नयनमा कविडाँडाको योगदान

रमेश प्रभात, (भरतपुर)


आमुखः
 
 कविहरुको सङ्ख्या अत्यधिक रहेको भरतपुर नगरपालिका वडा नं. १३ भित्र पर्ने कल्याणपुर रामवाग गुलाफवाग कैलाशनगर वडा नं. १४ मा पर्ने तोरीखेत र फूलबारी गाविसमा पर्ने फूलबारी क्षेत्रलाई स्थानीय सर्जकहरु 'कविडाँडा' भन्न रुचाउँछन् । 
 भरतपुर-मेघौली सडक खण्डको कल्याणपुरभन्दा दक्षिणतर्फ पर्ने र नारायणी लिफ्ट िसंचाइको नहरभन्दा केही उचाइमा रहेको भूभाग भएकाले समथर भएर पनि कविडाँडा भनिएको उक्त भूमिले डाँडा नै नभएर पनि हाल कविडाँडाका रुपमा परिचय बनाउँदै लगेको पाइन्छ । प्रशासनिकरुपमा नामकरण नभएको र मान्यता नपाएको भए पनि जनजिब्रो र जनह्दयबाट बिस्तारै अनुमोदित हुँदै गएको हुनाले उक्त क्षेत्रले कालान्तरमा कविडाँडाकै नामबाट परिचय दिने सङ्केत देखाएको छ । उर्वरशील चितवनको साहित्यमा समेत महत्वपूर्ण स्थान ओगट्ने उक्त क्षेत्रलाई आधार बनाएर साहित्यिक योगदानको चर्चा गर्नु यो आलेखको मुख्य अभीष्ट हो । 
 
 चितवनको साहित्यसँग कविडाँडाको सम्बन्धः-
 
 चितवनको साहित्यिक इतिहासलाई हेर्ने हो भने जनकलाल शर्मा र कृष्णबम मल्लद्वारा लिखित 'रापती उपत्यका २०१४ पहिलो कृति हो र कलानाथ अधिकारीद्वारा सम्पादित/सङ्कलित थारु भाषाको 'जितिया पावनी' २०१६ दोस्रो प्रकाशित रचना मानिन्छ । पहिलो मौलिक कृतिका रुपमा भने जोशिलो प्रकाशन नारायणगढद्वारा प्रकाशित र सागर श्रेष्ठद्वारा रचित 'दुःखी परिवार' गीतसङ्ग्रह २०१९ लाई लिन सकिन्छ भने प्रेमविनोद नन्दनको 'सपनीबाट व्युँझेर' २०२३ रविकिरण 'निर्जीव' को 'नवजीवनको फूलबारी' २०२३ आरम्भिक कृति देखा पर्छन् । त्यस्तै अनिल सिग्देलको 'केही समालोचनात्मक रेखाङ्कनहरु' २०३३ पहिलो समालोचनात्मक कृतिका रुपमा देखिन्छ । यो आलेख तयार पार्दासम्म सिर्जनात्मक र समीक्षात्मक कृतिहरुको सङ्ख्या करिब ३०० जति पुगिसकेको पाइन्छ जसमध्ये दुई दर्जन जति कृति कविडाँडाका स्रष्टाहरुका रचना भएको पाइन्छ । यहाँका चर्चित स्रष्टाहरुमध्ये अनिल सिग्देल, डा. खुमनारायण पौडेल, डा. हरिहर पौडेल, सङ्गीत आयाम, सुरेन्द्र अस्तफल, सिर्जन अविरल, गोपाल पौडेल, जी. शर्मा, एल. बी. क्षेत्री आदिले राष्ट्रियस्तरमै चर्चा कमाइसकेका छन् । यसरी राष्ट्रिय चर्चा पाएका स्रष्टाहरुसमेत हुनुले चितवनको साहित्यसँग कविडाँडाको सम्बन्ध पुष्टि गर्दछ । 
 चितवनको साहित्यिक उन्नयनमा कविडाँडाको योगदान :
 चितवन जिल्लाको साहित्यमा कविडाँडा क्षेत्रका स्रष्टाहरुले महत्वपूर्ण भूमिका खेलेका छन् । यस्तो हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै आएको कविडाँडा क्षेत्रले पुर् याउँदै आएको साहित्यिक योगदानलाई निम्नानुसार विविध उपशीर्षकमा चर्चा गर्न सकिन्छः- 
 संघसंस्थाहरु 
 जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता भएका र नभएका केही साहित्यिक संस्थाहरु र क्लबहरुले पनि कविडाँडा क्षेत्र र समग्र चितवनको साहित्यिक गतिविधिमा महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । तीमध्ये प्रमुख संस्थाहरु निम्न छन्ः- 
 १) समाजसेवा युवा क्लब २०४१:- तत्कालीन नारायणपुर गाउँ पंचायतका प्रधानपंच मुक्तिनाथ अधिकारीको निवासमा वि.सं. २०४१ सालमा स्थापित समाज सेवा युवा क्लबले करिब १००० को सङ्ख्यामा पुस्तकहरु साहित्यिक तथा समाचार पत्रिकाहरु राखेर लगभग ५-६ वर्षसम्म नियमितरुपमा सेवा गरेको पाइन्छ । २०४६ सालको राजनैतिक परिवर्तनपछि बन्द भएको उक्त क्लबले धेरै साहित्यानुरागीहरुमा साहित्यिक अभिरुचि पैदा गराउनुका साथै साहित्यिक कार्यक्रमहरु गरेर उत्सुकता बढाएको पाइन्छ । 
 २) दुर्गा युवा वाचनालय २०४६:- समाजसेवा युवा क्लब विघटन भएपछि कैलाशनगरमा स्थापित दुर्गा युवा वाचनालयले पुस्तकालय  संचालन गर्ने पालो बाँधेर नियमित पुस्तकालय खोल्ने साहित्यिक गोष्ठीहरु संचालन गर्ने प्रतियोगिताहरु गर्ने काम गरेको पाइन्छ । हाल आएर सुस्ताएको यो क्लबले साहित्यिक अभिरुचि भएका युवाहरुलाई सङ्गठित गर्नुका साथै सहयोग पुर्याएको पाइन्छ ।
 ३) चितवन वाङ्मय प्रतिष्ठान २०५१:
 विशुद्ध साहित्यिक संस्थाका रुपमा वि.सं. २०५१ मा स्थापित चितवन वाङ्मय प्रतिष्ठान हालसम्म क्रियाशील संस्था हो । जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता भएको यो संस्थाले मुखपत्रका रुपमा 'मधूलिका' को प्रकाशन गर्नुका साथै जिल्लाभित्र र अन्यत्र पनि कार्यक्रम गरेको पाइन्छ । विभिन्न स्रष्टाहरुका कृतिहरु प्रकाशन गर्ने साहित्य गोष्ठी एवं प्रतियोगिताहरु गर्ने सम्मान गर्ने जस्ता कार्यक्रमहरु गर्ने यो संस्थाले सङ्ख्यात्मकरुपमा थोरै कार्यक्रम गरे पनि राष्ट्रियरुपमै चर्चा कमाउने कार्यक्रमहरु गरेको पाइन्छ । 
 ४) अभिव्याजना साहित्य प्रतिष्ठान २०५९:-
 युवा पुस्ताका साहित्यकारहरुले आफ्नै छुट्टै पहिचान र साहित्यको सेवालाई मूल लक्ष्य बनाएर वि.सं. २०५९ मा स्थापना भएको अभिव्याजना साहित्य प्रतिष्ठान जिल्लाभित्र स्थापित नाम हो । आफ्नो मुखपत्रका रुपमा 'अभिव्याजना' साहित्यिक पत्रिकाको प्रकाशन गर्नुका साथै अभिव्याजना साहित्य सम्मानको वितरण कृति प्रकाशन एवं विभिन्नखालका साहित्य गोष्ठीहरुसमेत गर्दै आएको छ । विभिन्न विधाहरुमा प्रतियोगिता, अन्तरक्रिया जस्ता कार्यक्रमहरुसमेत गर्ने यो संस्थाले चितवन जिल्लामै पहिलोपटक एकल रचनापाठको थालनीसमेत गरेको पाइन्छ । 
 ५) कविडाँडा साहित्य समाज २०६०:- 
 कविडाँडामा बसोबास गर्ने साहित्यकारहरुद्वारा वि.सं. २०६० मा स्थापित कविडाँडा साहित्य समाज कविडाँडा क्षेत्रमै क्रियाशील साहित्यिक संस्था हो । विभिन्न विधामा केन्द्रित रहेर अन्तरक्रिया एवं जमघटहरु गर्ने यो संस्थाले पनि थोरै तर स्तरीय कार्यक्रमहरु गरी साहित्यकारमाझ चर्चा कमाएको पाइन्छ ।
 ६) समर्पण साहित्य परिषद् २०६२:-
 नारी हस्ताक्षरहरु बढी सक्रिय रहेको समर्पण साहित्य परिषद् युवा जमात क्रियाशील  भएको संस्था हो । विभिन्न साहित्यिक प्रतियोगिता एवं गोष्ठीहरु गर्दै आएको यो संस्थाले त्यति धेरै गति लिएको पाइँदैन । 
 यीबाहेक हिमालय गुराँस क्लब, कैलाशनगर प्रगतिशील युवा क्लब, रामबाग तथा एक्टिभ युथ क्लब, रामबाग जस्ता क्लबहरुले साहित्य गोष्ठीहरु संचालन गरी साहित्यको सेवा गरेको पाइन्छ । त्यस्तै कल्याणीदेवी मन्दिर कल्याणपुरले २०६४ मा गरेको कवि गोष्ठी तथा कैलाशनगर मा.वि. द्वारा २०६४ मा गरिएको गजल प्रतियोगिताले पनि यो क्षेत्रको साहित्यलाई उर्वर बनाउन सहयोग पुर्याएको छ । यो श्रृङ्खलालाई घरदैलो साहित्यिक अभियानका दुईवटा श्रृङ्खलाले समेत थप योगदान दिएको पाइन्छ । 
 
 पत्रपत्रिकाहरुः-
 कविडाँडा क्षेत्रका संघसंस्थाहरुले मुखपत्रका रुपमा प्रकाशित गरेका तथा सोही क्षेत्रबाट सामूहिक तथा व्यक्तिगत प्रयासमा प्रकाशित पत्रपत्रिकाले नेपाली साहित्यको विकासमा महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । त्यस्ता केही पत्रिकाहरु निम्न छन्ः- 
 १) बुलबुल २०३३- कवि अनिल सिग्देलद्वारा सम्पादित 'बुलबुल' पत्रिका कविडाँडाका स्रष्टाद्वारा सम्पादित पहिलो पत्रिका हो । जिल्लाभित्र र बाहिरका स्रष्टाहरुका रचनासमेत सङ्कलन गरिएको यो पत्रिकाको एउटामात्र अङ्क हाल उपलब्ध छ । वर्ष र अङ्कसमेत उल्लेख नभएको यो पत्रिका निकै स्तरीय भएर पनि नियमित हुन सकेन । कविडाँडाको पहिलो प्रकाशन भएकाले पनि 'बुलबुल' पत्रिकाको छुट्टै परिचय स्थापित भएको छ । 
 २) मधूलिका २०५१- चितवन वाङ्मय प्रतिष्ठानको मुखपत्रका रुपमा नियमित प्रकाशित हुँदै आएको 'मधूलिका' को आरम्भदेखि हालसम्म १० अङ्क प्रकाशित भइसकेको पाइन्छ । जिल्लाभित्र र बाहिरका स्रष्टाहरुका रचनाहरु समेटेर प्रकाशित हुँदै आएको यो पत्रिकाले २०६० सालमा 'ध्रुवचन्द्र गौतम विशेषाङ्क' प्रकाशित गरिसकेको छ । हरेक वर्ष प्रकाशित हुँदै आएको यो पत्रिका स्तरीय पत्रिका हो । 
 ३) 'सौदामिनी' २०५४- व्यक्तिगत प्रयासमा कविडाँडाबाट प्रकाशित 'सौदामिनी' पत्रिका हवाईशैलीको पत्रिका हो । आरम्भदेखि नै रमेश प्रभात र सुरेन्द्र अस्तफल सम्पादक मण्डलमा रहेको यो पत्रिकामा छुट्ने र जोडिने क्रममा हरि अधिकारी, दीक्षा सापकोटा, गणेशप्रसाद र दीपकप्रसाद गौतम सम्पादक मण्डलमा देखिन्छन् । द्वैमासिकरुपमा प्रकाशित यो पत्रिकाले नौवटा अङ्कहरु प्रकाशित गरेको छ । हाल स्थगनमा रहेको यो पत्रिकाले चितवन विशेषाङ्क र गजल विशेषाङ्क प्रकाशित गरिसकेको पाइन्छ । 
 ४)अभिव्यन्जना २०६०- अभिव्यन्जना साहित्य प्रतिष्ठानको मुखपत्रका रुपमा प्रकाशित र जिल्ला प्रशासन कार्यालय चितवनमा दर्ता भएको यो पत्रिका हालसम्म एउटा अङ्कमात्र प्रकाशित भएको पाइन्छ । जिल्लाभित्र र बाहिरका प्रतिनिधि स्रष्टाका रचनाहरु समावेश भएको यो पत्रिका उत्कृष्ट भएर पनि दोस्रो अङ्क निस्कन सकेको छैन । 
 यसैगरी यो क्षेत्रबाट विभिन्न समयमा प्रकाशित भित्तेपत्रिकाहरु तथा सीताराम कोइरालाद्वारा सम्पादित/प्रकाशित 'पल्लव' पत्रिकाको पहिलो अङ्कको विशेष भूमिका देखिन्छ । विसं २०५२ मा कथा विशेषाङ्कका रुपमा प्रकाशित 'पल्लव' कविडाँडाबाट प्रकाशित पत्रिका हो । पछि आएर पल्लव प्रतिष्ठान दर्ता गरी उक्त पत्रिकालाई नारायणगढबाट मुखपत्रका रुपमा प्रकाशन गरेको भए पनि आरम्भबिन्दु कविडाँडा नै हो । 
 कविडाँडाका कृतिकार र तिनका कृतिहरुः-
 यो आलेख तयार पार्दासम्म कृति प्रकाशित गराइसकेका कविडाँडा क्षेत्रका स्रष्टाहरुलाई पुस्तक प्रकाशन मितिका आधारमा निम्नअनुसार क्रमबद्धरुपमा प्रस्तुत गर्न सकिन्छ । 
 १) अनिल सिग्देलः- सिङ्गो चितवनको समालोचना विधाका आरम्भकर्ता एवं खण्डकाव्य लामो कविता तथा गद्य कवितामा समेत महत्वपूर्ण स्थान ओगट्न सफल कवि एवं समालोचक अनिल सिग्देलका प्रकाशित कृतिहरुमा 'मिलन' खण्डकाव्य २०३३, 'केही समालोचनात्मक रेखाङ्कनहरु समालोचना २०३३, 'जीवन क्षितिजमा' लामो कविता २०३६ देखिन्छ । यिनका रचनाहरु स्वयंद्वारा सम्पादित 'बुलबुल' पत्रिका तथा 'आरन', मधुपर्क, रुपरेखा जस्ता साहित्यिक पत्रिकाहरुमा पनि प्रकाशित भएको पाइन्छ ।
 २) डा. खुमनारायण पौडेलः- कविता विधामा राष्ट्रिय पहिचान बनाइसकेका डा. खुमनारायण पौडेल कविडाँडाका भएर पनि हाल राजधानीबासी भएका छन् । यिनका प्रकाशित कविता सङ्ग्रहहरुमा 'अन्तिमेत्थम्' २०४९ र 'नरमेध' २०५६ छन् । त्यस्तैगरी सहलेखन र सहसम्पादन गरिएका कृतिहरु हुन्- 'आख्यान पुरुष डा. ध्रुवचन्द्र गौतम अभिनन्दन ग्रन्थ' २०६० र 'साहित्यका नोवेल पुरस्कार विजेताहरु २०६२ । यिनी विज्ञानका अध्येता हुन् र राम्रा कवि पनि हुन् । 
 ३) डा. हरिहर पौडेलः- कथा विधामा राष्ट्रिय पहिचान बनाइसकेका डा. हरिहर पौडेल कवि कथाकार निबन्धकार एवं गजलकार पनि हुन् । यिनका प्रकाशित कथा सङ्ग्रहहरुमा 'इतिवृत्त' २०५१, 'कालो उज्यालो' लघुकथा २०६२, 'अनुभ्रम-प्रतिभ्रम' २०६६ हुन् । यिनका सहलेखनमा तयार पारिएका कृतिहरु 'भौतिकशास्त्रका नोवेल पुरस्कार विजेता' २०५८, 'विज्ञान शब्दकोश' २०६० र 'साहित्यका नोवेल पुरस्कार विजेताहरु '२०६२ हुन् । यिनले विज्ञानलाई साहित्यमा प्रयोग गरेका छन् । 
 ४) गोपाल पौडेलः- कविता गीत गजल एवं समीक्षा विधामा कलम चलाउने गोपाल पौडेलको एकल कृति हो- 'छातीभरि तिम्रो माया' गीत-गजलसङ्ग्रह २०५९ । त्यसो त शब्दहरु अविराम यात्रामा' संयुक्त कवितासङ्ग्रह २०५७ भित्र पनि समेटिएका यिनी हाल लेखनमा कममात्र सङ्लग्न देखिन्छन् ।
 ५) सिर्जन अविरल- कविता, कथा जीवनीजस्ता विधामा कलम चलाउने सिर्जन अविरलका प्रकाशित कृतिहरु 'म आकास हेरिरहेछु कवितासङ्ग्रह २०६१ र 'आदिगायक सेतुरामदेखि दिलमाया खातीसम्म' जीवनीसङ्ग्रह २०६२ हुन् । 
 ६)शम्भु गिरी 'निर्दोषजीवन'- कविता, गीत, गजल, मुक्तक, हाइकुजस्ता विधामा कलम चलाउने शम्भु गिरी 'निर्दोषजीवन' को विविध विधाका रचनाहरु सङ्कलन गरी तयार पारिएको कृति हो- 'आशीर्वाद' २०६१ । फुटकर लेखनमा रमाउने यिनको एउटै विधाको कृति छापिएको छैन । 
 ७) सुरेन्द्र अस्तफलः- कविता गजल मुक्तक र समीक्षा विधामा कलम चलाउने सुरेन्द्र अस्तफलको एकल कृति हो- "बिम्बशिविर' कवितासङ्ग्रह २०६२ । 'शब्दहरु अविराम यात्रामा' २०५७ भित्र पनि समेटिएका यिनी लेखनमा सक्रिय देखिन्छन् । 
 ८) सङ्गीत आयामः- कविता कथा निबन्ध गजलजस्ता विधामा सक्रियतापूर्वक कलम चलाउने हाल पत्रकारिता पेसामा समेत सङलग्न सङ्गीत आयामको प्रकाशित एकल कृति हो- 'चक्रव्यूह र युद्धपीडाहरु लामा कवितासङ्ग्रह २०६२ । खसखस डट कम, समकालीन साहित्य, गरिमा, मधुपर्कजस्ता राष्ट्रिय पत्रपत्रिकाहरुमा समेत लगातार देखा पर्ने सङ्गीत आयाम क्रियाशील युवा हस्ताक्षर हुन् । 
 ९) सीताराम कोइरालाः- कथा विधामा कलम चलाउने युवा हस्ताक्षर सीताराम कोइरालाको प्रकाशित कथासङ्ग्रह हो- 'अनर्थ' २०६२ । 'पल्लव' पत्रिकाको सम्पादनसमेत गरेका यिनले चितवनका स्थापित सर्जकहरुसँगको अन्तर्वार्तालाई कृतिगतरुपमा 'संवादमा स्रष्टाहरु' शीर्षक राखेर २०६४ मा प्रकाशित गराएका छन् । 
 १०) एल. बी. क्षेत्रीः- शिक्षण पेसामा लामो समय गुजारेका र प्रशासनको अनुभवसमेत बटुलेका परिपक्व स्रष्टा एल. बी. क्षेत्रीको प्रकाशित कृति हो- 'त्रिशङ्कुको देशमा' लघुकथासङ्ग्रह २०६४ । कथा विधामा कलम चलाउने यिनका कथाहरु विभिन्न पत्रिकाहरुमा प्रकाशित भएका छन् । 
 ११) जी. शर्माः- कविता र लघुकथामा कलम चलाउने जी. शर्मा युवा पुस्ताका सशक्त हस्ताक्षर हुन् । यिनको प्रकाशित कवितासङ्ग्रह हो- 'शब्दक्रान्ति' २०६६ । 'शब्दहरु अविराम यात्रामा' २०५७ भित्र पनि समेटिएका यिनका रचनाहरु निकै सशक्त हुनुका साथै यिनको साहित्यिक नाममा समेत समयानुसार परिवर्तन पाइन्छ । 
 १२) पूर्णबहादुर अधिकारीः- शिक्षण पेसामा संलग्न पूर्णबहादुर अधिकारी विशेषतः संस्मरणात्मक निबन्धहरु लेख्छन् । यिनको प्रकाशित संस्मरणसङ्ग्रह हो- 'अनुभूतिका त्रिवेणी' २०६६ । 
 समग्र चितवनको साहित्यमा प्रभावकारी भूमिका निर्वाह गर्ने कविडाँडा क्षेत्रका करिब चार दर्जनजति स्रष्टाहरुको योगदान तिनका कृतिहरु प्रकाशित पत्रिकाहरु एवं संघसंस्थाहरुको समग्र योगदानको मूल्याङ्कन गर्दा यो क्षेत्रको भूमिका महत्वपूर्ण देखिन्छ । 
 हाल आएर यहाँका स्रष्टाहरु अन्यत्र बसोबास सर्ने ठूलो जमात सिर्जनाबाट विमुख हुने र नयाँ पुस्ताले हस्तक्षेपकारी भूमिका खेल्न नसकेकोबाट कविडाँडाको भविष्यका बारेमा चिन्ता देखिए पनि पुरानो पुस्ताले बेलैमा सोच्ने हो भने सुन्दर भविष्यको आशा गर्न सकिन्छ । अस्तु । 

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |