हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

फिनिक्सको जीवनजस्तो पराजुलीय अनुराग

होमर श्रेष्ठ, (म्हेपीँ कामनपा-२९)

 'नेपाली भाषा र साहित्यजगतमा विद्वान साहित्यकार श्री कृष्णप्रसाद पराजुलीज्यू ७५ बहुमुखी प्रतिभाका धनी हुनुहुन्छ । नेपाली व्याकरण लोकसाहित्य वालसाहित्य गीत कविता लेख उखान टुक्का गाउँखानेकथा सम्पादन आदिको क्षेत्रमा वहाँले अमूल्य ऐतिहासिक योगदान पुर् याउनुभएको छ । यस अर्थमा वहाँ नेपाली भाषाका विश्लेषक सम्पादक र सुयोग्य संरक्षक हुनुहुन्छ भन्ने लाग्छ मलाई । वहाँ एक दानवीर हुनुहुन्छ आफ्नो बहुमूल्य ज्ञानको भण्डार निरन्तर बाँड्नुभएको छ । वहाँ योग्य अगुवा हुनुहुन्छ लाखौँ नेपाली छात्रछात्राहरुलाई मीठो भाषा र विशुद्ध वाणी सिकाएर तिनका अनन्त यात्रामा मार्गदर्शन गर्नुभएको छ । वहाँ महान् तपस्वी हुनुहुन्छ नेपाली भाषा र साहित्यको समृद्धिको निम्ति अनवरत साधना गरिरहनुभएको छ । अतः मैले वहाँलाई नेपालका सीमित सक्रिय सुयोग्य सर्जकहरुमध्येका श्रद्धेय गुरु ठानेको छु । वहाँ आफ्नो क्षेत्रमा साँच्चैका मर्मज्ञ हुनुहन्छ भन्ने जानेको छु।'
 
साहित्यकार श्री पराजुलीज्यूप्रतिको यो मेरो अभिव्यक्ति 'साहित्यिक मासिक जनमत' २०५८ वैशाख अङ्कबाट सभार गरेको हुँ । वहाँप्रतिको मेरो यो दृष्टिकोण उहिले मात्र होइन अहिले पनि जस्ताको तस्तै छ भविष्यमा पनि विल्कुल त्यस्तै रहने छ भन्ने कुरोमा म सन्देहमुक्त छु । मलाई सम्झना छ- तिनताक वहाँ चिनीरोगबाट नराम्ररी थलिनुभएको थियो र लामो समयसम्म अस्पतालको शैयामा मृत्युसँग संघर्ष गरिरहनुभएको थियो । वहाँका आफन्त एवम् शुभेच्छुकहरु एकपछि अर्को गर्दै वहाँको रोगको विरुद्ध सुस्वास्थ्य र शुभकामनाको कलम चोप्दै अक्षर लेख्दै पत्रपत्रिकामा छाप्दै थिए । कस्तो अनुपम संघर्ष थियो त्यो- एकातिर निर्मम रोगका जीवाणुहरु वहाँलाई लखेट्दै दपेट्दै थिए भने अर्कोतर्फ वहाँका शुभचिन्तकहरु वहाँको आरोग्यताको निम्ति तनमनले आराधना गरिरहेका थिए ! अन्ततः पृथ्वीले सूर्यलाई अनेकपल्ट फन्को मारेपछि रोगका जीवाणुहरु वशिकृत भए । शुभेच्छुकहरु विजयी भए । पराजुलीज्यू स्वस्थ हुनुभयो । हामी सबै खुसी भयौँ । यस्तो लाग्छ-रोग लाग्नु र स्वास्थ्य लाभ गर्नु पनि एक प्रकारको संघर्ष नै हो यद्यपि संघर्षमा एकपल्ट विजयी भई स्वास्थ्य लाभ गर्दैमा रोगका किटाणुहरु सदाका निम्ति निमिटन्नै हुन्छन् वा उन्मुलनै हुन्छन् भन्नेचाहिँ किमार्थ होइन । वास्तवमा रोग दबिएका मात्र हुन्छन् जीवाणुहरु कमजोर भएका मात्र हुन्छन् । जुन दिन जति बेला मान्छेको स्वास्थ्य कमजोर हुनजान्छ त्यतिनै खेर रोगका जीवाणुहरु फेरि बलिया हुन्छन् । यो त क्रान्ति र प्रतिक्रान्तिको प्रक्रियाजस्तै हो । यो अनन्त प्रक्रिया हो । जसले स्वस्थ जीवन जिउन चाहन्छ उसले रोगका जीवाणुविरुद्ध अनवरत जुझिरहनु पर्छ । संघर्षमय जीवन बाँचिरहनुभएका प्राज्ञ पराजुलीज्यूले पनि हामीलाई यही पाठ पढाउनु भएको छजस्तो लाग्छ ।
 
म किन वहाँलाई यति धेरै आदर गर्छु ? म किन वहाँलाई यति धेरै कदर गर्छु ? म किन वहाँलाई यति धेरै सदर गर्छु ? म आफैलाई प्रश्न गर्छु- के म भाट हुँ त ? अहँ म भाट अवश्य होइन ! म कुनै भजनमण्डलीको सदस्य छैन । म जे देख्छु त्यही लेख्छु । म जे देख्तिनँ त्यो लेख्तिनँ । म त्यो स्वतन्त्र व्यक्ति पनि होइन जसले आफु स्वतन्त्र भएको दावा त गर्छ तर ऊ वास्तवमा स्वतन्त्र हुँदैन । अतः म आफैलाई प्रश्न गर्छु- त्यसो भए के म मनोगतवादी हुँ त ? अहँ म मनोगतवादी पनि होइन । त्यसैले पराजुलीज्यूप्रतिको यो मेरो सद्भाव कुनै भावुक कविको प्रकृतिप्रेमजस्तो पनि छैन न त यो कुनै प्रणयमा संश्लिष्ट बैँसालु भावावेश नै हो । अतः म फेरि पनि एकपल्ट दोहर्याउँछु- वयोवृद्ध साहित्यकार पराजुलीज्यू नेपाली भाषाको अभिव्यजनाशक्ति बुझ्ने एक होनहार कवि सुयोग्य भाषाविद् र उत्कृष्ट साहित्यकार हुनुहुन्छ । वहाँका प्रत्येक सिर्जनाबाट भाषिक ज्ञान साहित्यिक कला र सुन्दर अभिव्यक्तिशैली सिक्न सकिन्छ । त्यसैले म वहाँलाई मुटुदेखि श्र्रद्धा गर्छु । त्यसैले म वहाँलाई मस्तकदेखि सलाम गर्छु । वहाँले नेपाली भाषासाहित्यलाई तिरिनसक्नुको गुन लगाउनुभएको कुरोमा सायद दुई मत नहोला । त्यसैले यदाकदा म मनमनै अन्तर्राष्ट्रिय जगतका कतिपय जानेमानेका साहित्यिक स्रष्टाहरुसँग वहाँलाई दाँज्छु, तुलनात्मक दृष्टिले हेर्छु अनि परिकल्पना गर्छु- यदि स्रष्टा कृष्णप्रसाद पराजुलीज्यू जर्मनीमा जन्मनुभएको भए र वहाँका कृतिहरु सबै जर्मनेली भाषामा छापिएका भए ! यदि पराजुलीज्यू बेलायतमा जन्मनुभएको भए र वहाँका सबै सिर्जनाहरु अङ्ग्रेजीमा प्रकाशित भएका भए ! यदि पराजुलीज्यू फ्रान्स वा रुस वा जापान वा अमेरिकामा जन्मनुभएको भए र वहाँका सबै कृतिहरु ती मुलुकका राष्ट्र भाषामा छापिएका भए कृष्णप्रसाद पराजुलीज्यूका रचनाहरु विश्वका अनेक मुलुकका अनगन्ती पाठकहरुका निम्ति प्रेरणाको स्रोत बन्थे होलान् र पराजुलीय भाषा र शैलीको छुट्टै पहिचान हुन्थ्यो होला भन्न्ने लाग्छ मलाई । यो कुनै निष्कर्ष होइन पङ्क्तिकारको निजी तर्क हो ।

कति सरल, कति सरस, कति चाखिला र कति ओजिला छन् वहाँका रचनाहरु । मलाई त वहाँका कतिपय गद्यसाहित्य समेत पद्यसाहित्यजस्ता लाग्छन्- एक-एक शब्द चुनिएर प्रयोग गरिएका हुन्छन् माऊ पन्छीले बचेराका निम्ति चारा चुनेजस्तै ! जसरी अन्तर्राष्ट्रिय ख्यातिप्राप्त उत्कृष्ट अमेरिकी उपन्यासकार एवम् घागडान व्यङ्यकार
Samuel Langhorne Clemens (1835-1910) उर्फ Mark Twain ले कुनै सन्दर्भमा लेखेका छन्- 'मिल्दोजुल्दो शब्द र ठेट शब्दबीचको अन्तर अत्यन्तै विशाल हुन्छ- त्यो त LightningLightning bug बीचको अन्तरजतिकै फरक हुनसक्छ !' ठीक त्यसरी नै प्राज्ञ पराजुलीको निम्ति पनि पर्यायवाची शब्दहरुबीच ठेट शब्दचयनको त्यतिकै ठूलो महत्व रहन्छ । वहाँको निम्ति शब्द र अर्थ परस्पर समपृक्त हुन्छन् अर्धनारीश्वरजस्तै ! वहाँका भाषिक तथा साहित्यिक सिर्जनामा अनुपयुक्त र फगत पदहरु बर्जित हुन्छन् । अशुद्धाअशुद्धिले टाउकै उठाउन पाउँदैनन् वहाँका रचनामा । त्यसैले त कति परिस्कृत कति प्रान्जल र कति सुललित छन् वहाँका भाषासिर्जनाहरु ! आदिदेखि अन्तसम्म झरनाभैष अविरल छङ्छङ् बगिरहन्छन् । पढ्दै जाँदा लोभ लाग्छ ! ईष्र्या जाग्छ ! र सम्मोहित भइन्छ !

वहाँ लेख्नुहुन्छ-'सृजना वासन्ती याम हो र शारदीय सुगन्ध पनि हो । सृजनाले नै बर्खे झरी र हिउँदै ठिहीसँग संघर्षरत रहन शक्ति प्रदान गर्दछ ।' पक्कै हो वहाँ आजीवन सङ्घर्षरत हुनुहुन्छ । वहाँ जीवनको हर क्षण सृजनामा डुबुल्किन चाहनुहुन्छ । वहाँ गाउन चाहनुहुन्छ, नाच्न चाहनुहुन्छ, रमाउन चाहनुहुन्छ र सलबलाउन उत्सुक हुनुहुन्छ । तर कहिलेकहीं समयक्रमका जटिलताले वहाँलाई जकट्छ उज्यालोमा मात्र खेल्न दिँदैन, घामले पनि पोल्छ, असिनाले पनि चुट्छ र वहाँका भावनात्मक अनुभूतिहरु सुक्छन् झर्छन् । यो वहाँको निजी अनुभूति मात्र नहुनु पर्थ्यो र सम्पूर्ण सच्चा स्रस्टाहरुका भोगाइ हुनुपर्छ । तथापि त्यस्तो प्रतिकुल परिवेशमा समेत विचलित नभई वहाँले आफ्नो फुलबारीमा थुप्रैथुप्रै रंगीबिरंगी सुन्दर मनोहर फूलहरु फुलाउनुभएको छ यद्यपि प्रत्येक प्राकृत फूल फुलेर झर्नकै निम्ति कोपिलाएका हुन्छन् भन्ने कुरामा वहाँ स्पष्ट हुनुहुन्छ । वहाँका सदाबहार शक्तिशाली उदाहरणीय सिर्जनाहरु यसरी बोल्छन्:

प्रभात फुट्यो क्वै दिन यौटा फुलबारी हाँसेथ्यो
बाबु र आमा दुबैका दिल इन्द्रेनी गाँसेथ्यो
पुर्वेली हावा सिरिरी चल्थ्यो जस्केली द्वारमा
ऊ रुँदा पनि गुज्दथ्यो गीत मनको तारमा…
'कथा आँसुको'बाट

आँसुको भाषा आँखामा हुन्छ छोएर छोइन्न
छातीको गीत छातीले सुन्छ गाएर गाइन्न…
'चित्रकुट'बाट

हिँउद बित्यो बर्षात बित्यो त्यो गाउँ उस्तै छ
घामले लाली चढाए पनि अँध्यारो खस्तै छ…
'सुन्तलीमैयाँ'बाट

कवि पराजुलीज्यूको सिर्जनाप्रतिको गाम्भीर्यले प्रसंगवश जर्मनेली महान् कवि गेटेको सोच र भावनालाई समेत स्मरण गराउनसक्छ । जसरी गेटेले आफ्नो गीतिनाटक फाउस्टको भाग-१ र भाग-२ चौबीस वर्षको लामो अबधिमा पूरा गरे त्यसरी नै हाम्रा पराजुलीज्यूले प्रस्तुत तीनवटा गीतिकाव्य दस-दस वर्षको अन्तरालमा दुई दशकको अबधिभित्र रच्नुभएको रहेछ । कति गम्भीर हुनुहुन्छ वहाँ आफ्ना सिर्जनाप्रति ! कति जिम्मेवार हुनुहुन्छ वहाँ नेपाली भाषा र साहित्यप्रति ! कति उत्तरदायी हुनुहुन्छ वहाँ आफ्ना पाठकहरुप्रति ! शुष्क र निरस कृति प्रकाशित गरेर पाठकलाई झुक्क्यानमा पार्न सकिन्थ्यो कि भन्नॆ भ्रममा वहाँ पटक्कै हुनुहुन्न । पाठकलाई कसैलाई पनि धोका दिने कार्य अपवादमा मात्र सफल हुनसक्छ भन्ने कुरो वहाँले राम्ररी बुझ्नुभएको छ !

बहुप्रतिभावान पराजुलीज्यू उत्तम निबन्धकार प्रबन्धकार र वालसाहित्यकार मात्र हुनुहुन्न लोकप्रिय गीतकार पनि हुनुहुन्छ भन्ने कुरो नेपाली प्रबुद्ध पाठकहरुसमक्ष भनिरहनु परोइन । वहाँको 'आँखाभरि सपना मुटुभरि गीत' गीतिसंग्रह २०२४ | २०६१ सालमा आइपुग्दा छैटौँ संस्करण निस्किसक्नु र उसै बखत 'मन सुसाउँदै छ' गीतिसंग्रह २०५० तेस्रो संस्करणमा आइसक्नु र दुबै कृति एकैपल्टमा पाँच-पाँच हजारको संख्यामा छापिनुले वहाँको गुनधर्मिता र जन प्रियताको पुनर्पुष्टि गर्दछ । १२८ वटा गीतहरुको सँगालो 'हृदयका पानासँगै' २०६२ गीतकार पराजुलीज्यूको नविनतम परिष्कृत गीतिसंग्रह हो । वहाँ गीतलाई यसरी परिभाषित गर्नुहुन्छ- 'गीत भनेको गाएर मात्र होइन पढेर पनि आनन्द लिन सकिने विधा हो । त्यसैले गीतमा गीतितत्व मात्र होइन कवित्व पनि रहनुपर्छ ।' यो वहाँको गहन दृष्टिकोण हो प्य्राग्माटिस्ट सोच हो डाउन टु अर्थ पस्रनालिटी हो । सरल संवेद्य र हृदयस्पर्शी हुनु गीतको मूल विशेषता मान्ने गीतकार पराजुलीज्यू भित्रभित्र नगुनगुनाई गीत रच्न पनि सक्नुहुन्न रे । त्यसैले त वहाँका गीतहरु जीवन्त हुन्छन्, हृदयस्पर्शी बन्छन् आगोजस्तो तातो र हिउँजस्तो चिसो हुन्छन् । वहाँका गीत सुन्ने कानहरु वहाँका गीत बुझ्ने मस्तकहरु र वहाँका गीत अनुभूत गर्ने मनहरु उदासीन असंवेद्य र निर्लिप्त हुनै सक्तैनन् भन्ने लाग्छ मलाई ।
जीवनमा कतिपय कुरो आफसेआफ भइदिन्छ र त्यो किन हुन्छ भन्ने कुरो मान्छेलाई थाहै नहुन सक्छ ! किन र कसरी हो कुन्नि यो कुरो मलाई पनि थाहा भएन- गत मे महिनाको १९ २० र २१ तारिख लगातार तीन दिन आधिरातसम्म निद्रा नपरेपछि म इन्टरनेटको शरणमा परेँ र 'पोयम अब् द डे' पढेँ- क्रमशः खलिल जिब्रानको 'द ब्युटी अब् डेथ', स्वामी विवेकानन्दको 'क्वेस्ट फर लव' र रवीन्द्रनाथ टैगोरको 'द सङ द्याट आइ केम टु सिङ'…अनि अन्तमा मैले तीनै रात कवि कृष्णप्रसाद पराजुलीज्यूका सय थुँगा फूल पढेर निदाएँ:

उत्तापका गीत गाई धर्ती-आकाश छुवाएँ मैले
मौन भाषाले एकान्तलाई करुण कथा सुनाएँ मैले
ताराको पिलपिल देखेर कैले ईष्र्या भयो मलाई
पृथ्वीमा जूनकीरी बाली तिम्रो स्वागत गरेँ मैले !
सय थुँगा फूलः पूर्वाश ५

जुनेली रात एकान्तमा गाएझैँ देखिन्छ
हावा पनि कतै लजाएर आएझैँ देखिन्छ
त्यो चलमलाउँदो ओठ फूल हो कि पात हो
वसन्तको आगमनमा स्वयं मुस्कुराएझैँ देखिन्छ ।
सय थुँगा फूलः उत्तरांश ३२

साँच्चै कुल्चन सक्छौ भने पहाडहरुलाई कुल्च
केही नउम्रने पथ्र् यानमा वसन्त छाउने गरी कुल्च
कमलो हृदयका वाणीलाई लत्याएर के हुन्छ
धर्तीमा पसिनाका दाना फुलाउने गरी कुल्च !
सय थुँगा फूलः उत्तरांश ९१

पराजुलीज्यूका गीत कविता र मुक्तकहरुमा भाव र कला कति विपुल र प्रचुरमात्रमा लुकेका हुन्छन् भने तिनले गम्भीर पाठकहरुलाई कता-कता ओमर खैयामका रुवैयातहरुको सम्झना गराउनसक्छन् अथवा गोर्कीका यी अभिव्यक्तिहरुको स्मरण गराउनसक्छन्-'भाइ मलाई एउटा कुरा बुझाइदेऊ ! आखिर यो कसरी भइहाल्छ-कागजमा बाङ्गाटिङ्गा रेखाहरु अङ्कित छन् तर मान्छेले पढ्दा ती रेखाहरु शब्द बन्छन् । ती शब्दहरु हाम्रै जीवन्त भाषाका हुन्छन् र म तिनलाई चिन्छु । म कसरी चिन्छु कसैले मेरो कानमा खासखुस गरेको हुँदैन । तस्वीर हुँदो हो त सहजै बुझ्न सकिन्थ्यो रे भनौँ तर यहाँ त फगत चिन्हहरु छन् बाङ्गाटिङ्गा रेखाहरुमात्र छापिएका छन् र त्यसमा मान्छेको विचार प्रतिविम्बित हुन्छ । यो कसरी हुन्छ ?'
 
पराजुलीज्यूका कविताहरु पढ्दा प्लेटोको उतोपियन गणराज्यमा कविहरुबारे उल्लेख गरिएका विचारको समेत स्मरण गराउनसक्छ । प्लेटोले लेखेका छन्-'कविहरु झन्डैझन्डै अपराधीजस्ता हुने भएकाले तिनलाई ग्रहण गर्नु हुँदैन ।' किन रे भने कविहरु अतार्किक हुन्छन् रे ! कविहरु कारण जान्नपट्टि लाग्दैनन् रे ! कविहरु अबोध हुन्छन् रे ! कविहरु जीवनलाई रहस्यको रुपमा ग्रहण गर्छन् रे ! जब कवि फूलबारी भएर कतैबाट आउँछन् वा कतै जान्छन् तब ती फूलहरुसित कुराकानी गर्छन् रे नाच्छन् रे गाउँछन् रे अनि फूलबारीको आनन्द लुट्नुसम्म लुट्छन् रे तर फूलका रङ किन राता वा पहेँला भए भन्ने कुरा तिनलाई मतलब हुँदैन रे ! कविहरु जस्तो देख्छन् त्यस्तै लेख्छन् रे ! तर मेरो नजरमा हाम्रा पराजुलीज्यू प्लेटोले बात लगाएका कविहरुभन्दा भिन्न र विशिष्ट कवि हुनुहुन्छ । पराजुलीज्यू हार्दिक हुनुहन्छ । पराजुलीज्यू मार्मिक हुनुहुन्छ । पराजुलीज्यू तार्किक हुनुहुन्छ र वहाँ सङ्क्रमणकारी समेत हुनुहुन्छ- जमेको पोखरीमा ढुङ्गो फ्याँकेर सुतेको पानीलाई तरङ्गित तुल्याइदिनुहुन्छ वहाँ ।

विद्वान कृष्णप्रसाद पराजुलीज्यूले प्रस्तुत गर्नुभएको 'नेपाली उखान र गाउँखाने कथा २०३९' वहाँका विविध महत्वपूर्ण भाषिक एवम् साहित्यिक सिर्जनाहरुमध्ये उत्कृष्ट कृति हो भन्ने लाग्छ मलाई । वहाँले नेपाली उखान तथा गाउँखाने कथाहरु सङ्कलन मात्र गर्नुभएको छैन तिनको गहन अध्ययन पनि गर्नुभएको छ र वहाँले अध्ययन मात्र गर्नुभएको छैन | तिनलाई गहिरो व्याख्या विवेचना र विश्लेषण पनि गर्नुभएको छ अनि तिनलाई उत्कृष्ट शैलीमा वर्गिकरण सम्पादन र संवद्र्धन पनि गर्नुभएको छ | तिनका अर्थ र उपयुक्त प्रयोगसहित वर्णानुक्रममा प्रकाशित गराउनुभएको छ । यसरी यो अत्यन्तै अब्बल दर्जाको शोधपरक गहन ग्रन्थ बन्न पुगेको छ । मान्छेको बुद्धि तिखार्ने र साहित्य सिँगार्ने यो ग्रन्थ नेपाली भाषा र साहित्यजगतमा अनन्तकालसम्म अमूल्य निधिको रुपमा रहिरहने ठोकुवा गर्न सकिन्छ । यो कृति अनुकरणीय नमुना र मानक दुबै बन्नेछ भन्ने कुरोमा म विश्वस्त छु ।
यसै सन्दर्भमा एउटा सानो प्रसंग जोड्ने अनुमती चाहन्छुः पराजुलीज्यूले प्रस्तुत गर्नुभएका नेपाली उखान तथा गाउँखाने कथाबाट अत्यन्तै प्रभावित भएर प्रवासमा छँदा मैले जर्मनेली उखान तथा उखानरुपी सूक्तिहरुप्रति गहिरो चासो लिएँ र सङ्कलन पनि गरेँ अनि तिनलाई नेपाली भाषामा अनुवाद गर्दै गएँ । जर्मनेली उखान अध्ययनकै सन्दर्भमा मैले के बुझेँ भने पराजुलीज्यूले प्रस्तुत गर्नुभएको नेपाली उखान र गाउँखाने कथा निकै उच्चकोटीको संग्रहग्रन्थ हो । जर्मनेली उखान तथा उखानरुपी सूक्तिका कृतिहरुसित पराजुलीज्यूको नेपाली उखान र गाउँखाने कथाको प्रस्तुतीशैलीलाई दाँज्दा कुनै पनि अर्थमा पराजुलीको सङ्ग्रह निर्बल देखिँर्दैन बरु निकै सबल पो देखिन्छ । मद्वारा अध्ययन गरिएका जर्मनेली उखानसङ्ग्रहमध्येको एउटा महत्वपूर्ण्ण कृतिको नाम
Beyer Sprichwörterlexikon हो । यस ग्रन्थभित्र सोह्रौँ शताब्दीदेखि बीसौँ शताब्दीसम्मका पन्ध्र हजार जर्मनेली उखान तथा उखानरुपी सूक्तिहरु सङ्ग्रहित छन् । यिनैमध्ये कसरी पनि उखान बन्नसक्छन् भन्ने सन्दर्भमा पराजुलीज्यूले प्रस्तुत गर्नुभएको ऐतिहासिक घटनामा आधारित हृदयस्पर्शी कथन देखौँला नि पाँडेको दीर्घायुसँग मिल्दोजुल्दो जर्मनेली ऐतिहासिक घटनामा आधारित एउटा उखान उपमाको रुपमा यहाँ प्रस्तुत गर्नु असान्दर्भिक हुने छैनः

सबभन्दा मूर्ख बाच्छा तिनै हुन्छन्
जसले आफ्नो बगरे आफैँ चुन्छन् ।

प्रस्तुत उखान जर्मनीमा सम्पन्न भएको सन् १९३२ को जुलाई आमनिर्बाचनको सन्दर्भमा प्रसिद्ध जर्मनेली हाँस्यव्यङ्यकार रुडोल्फ हेरमानले रचेका हुन् । उक्त निर्वाचनका उम्मेदवार एडोल्फ हिटलरको कोपभागी बन्नुपर्ने भयले गर्दा उनले यो अभिव्यक्तिलाई दुई टुक्रा पारेर दुईपटक व्यक्त गरेका थिए रे !
 
१) सबभन्दा मूर्ख बाच्छा तिनै हुन्छन् २) जसले आफ्नो बगरे आफैँले चुन्छन् ।

उक्त जर्मनेली ग्रन्थमा उखानका लक्ष्यार्थ खुलाउने उद्देश्यले तिनताक तयार पारिएका प्राचीन काष्ठकलाका २०४ वटा विशिष्ट तस्बीरहरुसमेत छापिएका छन् । यता हाम्रा विद्वान पराजुलीज्यूले सङ्ग्रह गर्नुभएका प्रचलित नेपाली उखानहरुका अभिधामूलक तथा लक्षणामूलक अर्थ छल्ङर्ग्याउने उद्देश्यले विविध नेपाली विद्वानहरुका लेखरचनामा प्रयोग गरिएका उखानका सन्दर्भहरु समाविष्ट गर्नुभएको छ । वहाँको यो प्रस्तुतीकला एकदमै विकसित अन्तर्राष्ट्रिय ढाँचा र स्तरको छ ।

समग्रमा भन्नुपर्दा साहित्यकार पराजुलीज्यूका निबन्ध र प्रबन्धहरु कथा र एकाङ्कीहरु भाषा र व्याकरणहरु लोकसाहित्य र बालसाहित्यहरु अनि कविता-काव्यका दर्जनौँ कृतिहरु एकपछि अर्को शृङ्खलाबद्ध सिर्जित हुँदै गएको देख्दा वहाँको साहित्यिक अनुराग कताकता फिनिक्सको जीवनकथाजस्तो प्रतिभास हुन्छ- एउटा सिर्जना अन्त्य भएको लगत्तै त्यसैको खरानीबाट नयाँ सिर्जना सुरु भइहाल्छ ! जगदम्बा पुरस्कार ग्रहण गरेर विद्वान साहित्यकार कृष्णप्रसाद पराजुलीज्यूले मदनपुरस्कार गुठीको ऐतिहासिक टोपीमा एउटा नयाँ सुनौलो कल्की सिउरीदिनुभएको छ । पानी दर्कनैपर्ने मौसममा मात्र दर्कन्छ ! जुन चीज दुई दशकपूर्व तपाईंको निम्ति अपेक्षा गरिएको थियो त्यो तपाईंले पाउनुपरेको छ !


फोन : ९८४१६११४६७

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |