हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

कविता

सन्तोष थपलिया, (न्यूयोर्क)

कविता के खोलाको कल्कलमा बग्छ
के कविताले आकाश, धर्ती र पाताल मात्रै बोल्छ
रसरँग र स्वप्ना भएर कोरिन्छ कविता
या,
कविताले मेरो, तिम्रो र हाम्रो यथार्थ बोल्छ या बोल्नु पर्छ

कविता भावना हो
कविको इच्छा अनुसार बग्छ कविता
नदी जस्तो उत्तरबाट दक्षिण मात्र हैन
दक्षिणबाट उत्तरतिर पनि बग्छ कविता
यही बग्ने क्रममा,
कति कविताले घुंडा टेक्छन
कति कविताले घुंडा टेकाउँछन

पराधीनता स्विकार्ने कविता
स्वाधीनता पश्चात् सकिन्छन
जलाउनु या च्यात्नु पर्दैन, आफै चयातिन्छ्न कविता

निर्ध्कक उभिने कविताले
कविको घरमा सकिएको अन्नसंगै दुब्लाउनु पर्दैन
कविको छानोसंगै हुरीमा उड़नु पनि पर्दैन
भोक सहेर यथार्थता बोल्ने कविता पो कविता
थुन्दा, छेक्दा र जलाईदा पनि
सबैको मनभित्र बस्नसक्ने कविता पो कविता
अनि,
अन्याय बिरुध छाती खोलेर भिड्न सक्ने
नजन्मनु जन्मेपछि
यूग बदल्न सक्ने कविता पो कविता
ईतिहास लेख्न सक्ने कविता पो कविता

अत्याचारको आगोले पिल्सिएका मन
सन्तापको रापले खुम्चिएका इच्छा
एकपछि अर्को गर्दै
लुटिदै, लुटाउँदै सर्वस्व भएका
हरेक प्रताडित आँखाहरुमा
हिम्मतको सपना बाड़ने कविता पो कविता
अँध्यारा बस्तीहरुमा घाम झुल्क्याउने कविता पो कविता

लालुपाते ढकमक्क फूलेको वन
लालिगुरॉसले छपक्कै छोपेको वन
डोकाभरि सपना साँचेर वन पुगेको कलिलो मन
दिन दहाडै लालुपातेकै झ्यांगमुनि बलात्कृत हुंदा
कोइलीको कुहूकुहू मात्रै सुन्ने कविता के कविता
नलेखिनु लेखिनु परेपछि
उनको आँसुले लेखिने कविता पो कविता
उसको लागि काल भएर उभिने कविता पो कविता

छन्दमा बांधिएर निरुत्तर हुनुभन्दा
छन्द तोडेर उत्तरित हुनु पर्छ कविता
सुरा र सुन्दरीको रक्सिलो रातमा
वैशको सर्बांङ्ग लेख्न चिहाउनु हुन्न कविता
कविता सभ्य हुनुपर्छ
कविता सभ्यता सिकाउनु पर्छ !!!!!!!!!

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |