विश्वास बेचिएको रात
संतोष थपलिया, (न्युयोर्क)
एउटा चुक कालो रात
हुरी, बतास र गर्जन बोकेर
मेरो छाती
निर्धक्क फोरेर पस्छ
कठोर बोल्दै जान्छ लगातार
देखिस तेरो विश्वास?
अतितका रातहरु
माया र विश्वासका पहाडहरु बोकेर
मुसुक्क मुस्काऊँथे
सपनी माया बोकेर
बिपनी विश्वास बोकेर
काउकुती लगाऊँथे
मानौं, मेरी हराएकी प्रियसी
बोकेर ल्याइदिए !!
कति उकाला चढिए
कहिले थाकिएन
कति ओराला झरिए
कहिले लडिएन
तर
यो कालो रात
परेड खेल्छ छातीमा
गिज्याऊँछ, होच्याऊँछ
अनि भन्छ
देखिस तेरो विश्वास?
थाहा छैन
किन निचोर्छ छाति?
किन निथार्छ आँखा?
किन खोसिन्छ फुल?
किन ओछयाऊँछ काँडा?
यो कालो रात
किन खोस्छ विश्वास ?
मेरो विश्वासको सगरमाथा
कसरी ढाल्न सक्छ मुसाले?
मेरो विश्वासको पहाड कसरी
मुसासंग सुम्पीइन सक्छ?
तर
यो निठुर कालो रात
मान्दै मान्दैन
पानी ओकलेकै छ
हुरी फुकेकै छ
हेर्दा हेर्दै मेरो विश्वासको पहाड
आँखै अगाडि
टुक्रा टुक्रा हुँदै
मेरै सामुन्ने ढल्छ
म
मेरो विश्वास ढलेको
लाचार र निसहाय हेर्दै
रुँदै, रुँदै अनि फेरी रुँदै
झर्दैछु विश्वास संगै
मेरो विश्वास बेचिएको रात
मेरो उज्यालो अस्ताएको रात !!!
01/17/2010