हालसालैका लेखहरु : आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं ) बोर्डरसाइटको बब्लु,(नीलम कार्की निहारिका) समुद्र र सपना,(संजु बजगाईं ) कार्लोस मेरो दर्पण छायाँ,(सुन्दर श्रेष्ठ) मैले नजन्माएको छोरो,(पारिजात) विदेसिनु रहर कि बाध्यता,(जेबी खत्री)

अतृप्तताको क्यानभासमा

शर्मिला खड्का (दाहाल), (इटहरी, सङ्गीत चोक)



( यो कथा कथोपन्यास
'क्यानभासमा कोरिएका कथाहरू' को एउटा श्रृङ्खला हो । कथाकार अनामिकाको अचानक कथाकार दिवाकर नेपालीसँग 'समयको क्यानभासमा' कथामा भेट भएपछि  जन्मिएका कथाहरू हुन् यी । त्यसैले यस कथामा कथाकार दिवाकर नेपालीलाई सम्बोधन गरिएको छ । - लेखिका )

कथाकार दिवाकर नेपालीज्यू, मानिसभित्र अतृप्त चाहनाको शृंखला कसरी खडा हुँदोरहेछ र कसरी भत्कँदो रहेछ अनि फेरि कसरी उठ्दो रहेछ भन्ने कुराको प्रत्यक्ष उदाहरण हामीबीच भएको एउटा घटनाबाट म यहाँ उदधृत गर्न गइरहेको छु । यो घटनाको नायक नायिका हामी दुवै हौँ तर तपाई यस घटनाको पहिलो चरणसम्म तपाई विज्ञ हुनुहुन्छ भने दोस्रो चरणप्रति पुरै अनभिज्ञ । आज यो कथाको माध्यमबाट त्यस घटनालाई मेरो कथालयको स्क्रीनमा लग इन गर्न गइरहेको छु ।

कथाको प्रारम्भको घटनाप्रति त तपाई पनि विज्ञ हुनुहुन्छ । जब तपाईले मसँग भेट गर्ने मनसाय मेल
मार्फत व्यक्त गर्नु भयो  तब म काठमाडौ आउने प्रयोजन मिलाउन थालेँ । तपाईसँग भेट गर्नका लागि नै भनेर मलाई काठमाडौँ आउन घरबाट अनुमति नमिल्न सक्थ्यो । त्यसैले अफिसियल काम देखाउने बहाना गर्न थाले । नभन्दै क्याम्पसमा पुस्तकालयका लागि समालोचना, साहित्य, राजनीति शास्त्र, अर्थ शास्त्रसम्बन्धी पुस्तकहरु चाहिने भयो । यसको लागि म नै काठमाडौँ आउने तारतम्य मिलाउन थालेँ । नभन्दै मलाई अफिस र घरबाट जाने अनुमति मिल्यो । काठमाडौँ आउने भएपछि तपाईसँग बारम्बार मोबाइलमा सर्म्पर्क भइरहेको थियो । मेरो फ्लाइट बिहानको थियो । मलाई भेट्नका लागि तीनकुनेमा कान्तिपुर पब्लिकेशनको अगाडि कुरा भएको थियो । शायद तपाईँको त्यहाँ कुनै काम हुनसक्थ्यो ।

तपाईसँग भेट हुने कुराले म रोमाञ्चित थिएँ । तपाईको मप्रतिको अनुग्रहिताले म नत मस्तक थिए । मलाई लाग्थ्यो मैले ठूलो नदी
  पार गर्नुछ र मलाई पारि पुर्याउन मत्स्यगन्धाले राजा शन्तनुलाई नदीको किनारमा उभिएर पर्खिएझैँ मलाई पनि  आत्मीयता र हार्दिकताको वासना बोकेर कोही पर्खिबसेको छ ।

हाम्रो मोबाइलमा बारम्बार
सम्पर्क भइरहेकोथ्यो तर दुर्भाग्यवश त्यो दिनको फ्लाइट  डिले हुँदै गयो । अन्तिममा त्यो दिनको फ्लाइट  नै नहुने सूचना एयरलाइन्सले दियो । आकाशमा हुस्सु वा बादल बढी भएको कारणले यस्तो भएको हो भन्ने जानकारी एयरलाइन्सले दिएको थियो । त्यो दिन हाम्रो भेट हुन सकेन मन खिन्न भयो । भोलिपल्ट पनि निकै ढिला मेरो फ्लाइटको पालो आयो । काठमाडौँ आउँदा झमक्कै साँझ परिसकेको थियो । हाम्रो भेट हुने सम्भावना नै भएन । त्यसपछि म ट्याक्सी लिएर सिधै बहिनीजुवाइको घर कोटेश्वर गएँ । बहिनीको घरमा बहिनीजुवाइसँग भलाकुसारी भयो । उनीहरु दुवै कानुनव्यवसायी हुनाले खासै साहित्यिक गफ हुनसकेन । त्यहीबेला तपाइँले फोन गरेर भोलिपल्ट माइतीघर मण्डला छेउमा रहेको रत्नपुस्तक भण्डारमा  २ बजे भेट गर्ने खबर गर्नुभयो  । मैले "हुन्छ" भने ।

कथाकार दिवाकर नेपालीज्यू
, यहाँसम्मको  घटनाप्रति तपाईपनि बिज्ञ हुनुहुन्छ किनभने हाम्रो दुरभाषबाट सर्म्पर्क भइरहेको थियो । यसपछि को घटना अत्यन्त नाटकीय जस्तो छ । तर यो यथार्थ हो । किनभने यसको प्रमुख पात्र तपाईँ नै हुनुहुन्छ । त्यसैले अविश्वास गर्ने कुरै भएन ।

भोलिपल्ट माइतीघरमा भेट्ने कुराले म सारै पुलकित र हषिर्त भएकी थिएँ । यति ठूलो साहित्यकारसँग जीवनमा पहिलो पल्ट भेट्दै थिएँ । कसरी बोल्ने होला भनी मनमा अनेकौ भावनाका तरङ्गहरु तरङ्गति भइरहेका थिए । सदाझैँ विहान उठेँ । तर आजको विहान किन हो अर्कै लागि
हेकोथ्यो । काठमाडौँको उत्तर दिशामा कुन हिमाल हो मुसुक्क हाँसिरहेको जस्तो लाग्यो  । हावाको चिसो स्पर्शले मनलाई उमंगित बनाइरहेको थियो । तराइको वातावरणभन्दा यहाँको बेग्लै थियो । चारैतिर घरैघर, यत्रा मानिस को भीडमा म कसैलाई भेट्न जाँदैछु । मन रोमाञ्चित भयो । कोटेश्वरबाट माइतीघर आउन खासै अलमलिनु परेन । म नयाँ मान्छे भएपनि सजिलै आइपुगेँ । समयको अडकल राम्ररी गर्न नसकेर म एक घण्टा अगाडि नै आइपुगेछु । तर रत्नपुस्तक भण्डारमा प्रशस्त पुस्तक हुने हुनाले समय बिताउन मलाई खासै गारो भएन । घडीमा दुइ बजिसकेको थियो । अब त  पक्कै आउनुभयो होला भन्ने ठानेर यताउता हेरे तर कतै देखिनँ । तपाईले चिन्नु नभए पनि म चिनिहाल्छु नि भनेर कल पनि गरिन । दुइबाट घडीको सुई अढाईमा पुग्यो । तर पनि तपाईँ आउनु भएन । त्यसपछि मन बेचैनजस्तो भयो ।

यसरी समय दिएर पनि समयमा नआउने मान्छेको के
सङ्गत गर्नुजस्तो लाग्यो । मनमा अनेकौँ शंका उपशंकाको आँधिबेरी चल्न थाल्यो । काठमाडौँको मान्छे कस्तो खालका हुन् । लाग्नेमान्छेको जात नारीलाई खेलौनाजस्ता ठान्छन् उनीहरुको भावनामाथि खेलवाड गर्छन । अनि आफ्नो स्वार्थ पूरा भएपछि छोडिदिन्छन् । प्राय: लोग्ने मान्छेको बारेमा मैले यस्तै पढेकी र सुनेकी छु । मनका कुभावनालाई नियन्त्रण गर्न धेरै कोशिश गरें तर सकिनँ । त्यसपछि मोबाइल डायल गरें, सम्पर्क भएन । यसो पसलबाट बाहिर हेरेको त्रिपुरेश्वरबाट र वानेश्वरबाट दुइवटा जुलुस आउँदै गरेको देखेँ । राष्ट्रपतिले सेनापति प्रकरणमा हस्तक्षेप गरेको भन्दै माओवादीले विशाल जुलुस निकालेको रहेछ । पसलले आत्तिदै भन्यो "मैडम तपाईँ घर जानुहोस् । हामी पसल बन्द गर्र्छौ ।"  म आत्तिदै कता जाउँ कता भयो । अब ट्याक्सी लिएर घरै र्फकनु पर्यो भनेर बाहिर निस्कें र सिहदरवारतिर लागेँ । बाटो क्रस गर्न मात्र लागेको थिए परबाट स्पिडमा आएको मोटरसाइकलले मलाई हान्यो । त्यसपछि के भयो मैले थाहा पाउन सकिनँ । मलाई होश आउँदा म हस्पिटलमा थिएँ । छेउमा  बाहिनीजुवाइ बसेका थिए ।

मलाई मोटरसाइकलले हानेपछि कुनै भद्रपुरुषले मलाई हस्पिटल ल्याइदिएछन् । हस्पिटलमा मेरो बहिनीको जेठाजु डाक्टर हुनुभएकोले मलाई चिन्नुभएछ र
ट्रीटमेन्ट चलाउनु भएछ । मलाई होश नआएकोले दुइदिनसम्म  आइसियूमा राखिएछ । दुइ दिनसम्म तिनै भद्रपुरुष मलाई हेर्न आएछन् । त्यसपछि मलाई होश आएछ र वार्डमा सारिएछ । त्यसपछि  ती भद्रपुरुष पनि आउन छाडेछन् । मेरो मोबाइलसहितको ब्याग त्यही भीडमा कसैले  गायब गरिदिएछ । यी कुरा मेरी बहिनीका जेठाजु तिनै डाक्टर जुवाइले सुनाएका थिए । जो त्यहाँका डाक्टर थिए ।  ती भद्रपुरुष को थिए जसले मेरो ज्यान बचाएका थिए, तिनलाई भेटेर धन्यवाद दिने औधी इच्छा थियो । तर ती डाक्टरले ती भद्रपुरुषको नाम सोधीखोजी नगरेको हुनाले मेरो इच्छालाई बाध्यताको डोरीले नराम्ररी बाँधिदियो ।

मेरो अवस्था अझै पनि त्यति राम्रो थिएन । बिस्तारै चक्कर लाग्न कम हुँदै गएको थियो र सबै पुर्वस्मृतिहरुको झल्का मस्तिष्कमा आउन थालेका थिए । मलाई तपाईँप्रति वितृष्णा जाग्यो । तपाईँले मलाई ठूलो धोका दिनुभएको भनी मन सारै कुण्ठित भयो । तपाईँ मलाई समयमा भेट गर्न आउनुभएको भए म एक्सिडेन्टमा पर्ने थिइन
भन्ने लाग्यो । मेरो शरीर र सम्पत्तिमा ठूलो क्षति भएको थियो । बहिनीजुवाइँ पनि काठमाडौँको व्यस्तताले चुटेका मान्छेलाई धेरै गारो भएको थियो । तपाईको व्यवहारबाट कुण्ठित भएको मनमा अनेकौँ भावानाले उथुलपुथुल मचाउन थाल्यो । मेरो व्यथा कसैलाई सुनाउन सक्दिनथेँ । व्यथाले हृदयलाई विनायोले रेटेझै रेट्न थालेपछि भावानाहरु सारगीका धुन बनेर यसरी शब्द पग्लन थाले ।

यो मन
, मन नै हो

यो मन मन नै हो, त्यसैत्यसै चर्किएर फुट्न खोज्छ
विश्वासमाथि विश्वासघात गर्नेहरु देखि

कुँ
डिएर यो मन त्यसै टुट्न खोज्छ
जताजतै रुखो जमिन छ
, फल नलाग्दै बोट मर्न खोज्छ
रसायनिक मलले थेग्न सक्दैन यो मनलाई


कुहिएर फल नपाक्तै
झर्न खोज्छ
वारिपारि जोड्ने केवुलकार, तार हुँदाहुँदै अलग्गिन खोज्छ
लोडसेडिगको मारमा विरक्तिएको यो मन
विजुली आउँदा पनि चिम निभ्न खोज्छ


सपना रोप्ने यो मन
, विना सहारा लडखडाउन खोज्छ
हजारौ आकांक्षाको विपना फुलाउने यो मनलाई
किन हो आकाशले पनि थिच्न खोज्छ
सुनामीमा भौतारिएको यो मन, हावा आउँदा पनि बतासिन खोज्छ


मनले मनसँग व्यापार गर्ने व्यापारीदेखि
यो मन आर्थिकमन्दीको अभावमा तडपन खोज्छ
यो मन मन नै  हो त्यसैत्यसै टुक्रिएर र्झन खोज्छ
मनको परिभाषालाई कुण्ठित पार्नेहरुदेखि
नबल्दै आस्थाको दियो निभ्न खोज्छ । 

यो एउटा राम्रो कविता तयार भएपछि व्यथित मनमा केही मात्रामा भएपनि शीतलताको लेपन लाग्यो ।  अब म निकै जाती भइसकेको थिए । मेरो डिस्चार्ज हुनेदिन थियो । बिहान उही बहिनीकी जेठाजु डाक्टर डेली भिजिटिङ्गमा म भए ठाउँमा आए । म नागरिक पत्रिका पढेर बसेको थिएँ । त्यहाँ तपाईँको फोटो सहित कथा छापिएको थियो । कथा विनिमार्णवादको उत्कृष्ट नमूना थियो ।

म पढदै थिएँ । नागरिकको
तपाइंको रंगिन फोटो देखाउँदै उही डाक्टर जुवाइले भने  "हेर्नोस् दिदी तपाइंलाई हस्पिटल ल्याउने मान्छे  यिनै हुन्, अहिले फोटो देखेपछि मलाई सम्झना आयो ।"

यो सुनेपछि म
छाँगोबाट खसेजस्तै  भएँ । कथाकार दिवाकर नेपालीज्यू हस्पिटलमा मलाई ल्याएर  मेरो प्राण बचाउने महान पुरुष तपाईँ नै हुनुहुँदो रहेछ । तपाईप्रति मैले कति नकरात्मक धराणा राखेकी थिएँ । अहिले ती सबै सलिदै जान थाले । तपाईको मानवताप्रतिको महान भावना देखेर मन त्यसै प्रफुल्लित भएर आयो ।  यसरी को हो को हो नचिनेको मान्छेको उद्धार गर्नु कति ठूलो उदार हृदयको परिचय थियो । मानवताविहीन मानिसका भीडमा तपाईको मानवीय भावना देखेर म अत्यन्त प्रभावित भएँ । अहिले यो कुरा थाहा पाएर तपाईँ पनि अचम्मित हुनुभयो होला ।

त्यसपछि म घरमा ल्याइ
एँ। तपाईँसँग मोबाइलबाट सम्पर्क गर्न खोज्दा मेरो मोबाइल नै हराइसकेको थियो । म घरमा ल्याइए पनि बेडरेस्टमा थिएँ । मन र मस्तिष्कमा तपाईँकै विषयमा अनेकौँ कुरा खेलिरहेका थिए । तपाईँसँग कसरी सम्पर्क गर्ने होला भनी मनमा अनेकौँ उपायहरु पत्ता लगाउन थालें । सायद तपाईले पनि मलाई सम्पर्क गर्न खोज्नुभयो होला ।

एकान्तिक समयमा मनको भावनासँग खेल्ने र कल्पना गर्ने उपर्युक्त हुँदोरहेछ । यही समय तपाइको विषयमा मनमा अनेकौँ जिज्ञासा
, उत्कण्ठा र धारणाहरु जन्मिए । तपाईको पारिवारिक सम्बन्ध कस्तो होला - घर कस्तो होला - छोराछोरी कति होलान् - आदि विषयमा मनमा अनेकौँ जिज्ञासाहरु उम्रे । तपाईभित्र भएको मानवताको उच्चताको परिचय तपाईले दिइसक्नु भएको थियो । त्यसले तपाईको व्यक्तित्व, आचरण र व्यवहारको आधा झिल्को प्रकाशित भइसकेको थियो । अरु धेरै व्यक्तिगत कुराप्रति म अनभिज्ञ थिएँ । मनमा तिनै तपाइँका व्यक्तिगत कुरासँग तपाईसँग भेट भएको समयसँग लुकामारी खेल्दै दिन बिताउन थालेँ ।  म यति ठूलो एक्सिडेन्टमा पर्दा पनि मेरा श्रीमानले खासै चासो देखाएका थिएनन् । मन त्यसै रित्तोजस्तो भएको थियो । यसरी मृत्युको मुखमा पुगर फर्केका मान्छेको मन कोमल हुँदो रहेछ अनि रित्तो पनि । त्यसमा माया, स्नेह र सान्त्वानाले भरिदिनु पर्दो रहेछ । तर यी कुराबाट म बञ्चित थिएँ । मन त्यसै भौतारिन थाल्यो ।  तपाईले यो कुरा थाहा पाउनुभएको भए के गर्नुहुन्थ्यो होला मनमा यिनै कल्पनाका लहराहरु बेरिए । छेउमा तपाईको कथा छापिएको उही नागरिक पत्रिका थियो । उठाएर तपाईको फोटो हेरेँ । तपाईको रङ्गीन फोटोले मलाई नै हेरेर हाँसेजस्तो लाग्यो । कथा नयाँ प्रयोगको अत्यन्त सुन्दर भाव र शैलीमा थियो । अनासय मेरो रित्तो मन के केले भरिदै आयो । कसैको मीठो र्स्पर्श, आत्मीयभावको तरंगित ध्वनि मेरो कानमा प्रतिध्वनित भयो । मन त्यसै हर्ष र खुसीले छचल्किन थाल्यो । कतै पोखिएला कि पोखिएला भएर उकुसमुकुस हुन थाल्यो । तपाईँको फोटो हेरिरहन सकिनँ । आँखा चिम्म गरें । सबै भावहरु ओठबाट तपाइँको तस्बिरमा पोखिइ रहेका थिए ।

म वेहोश हुँला जस्ती भएँ । तन्द्राजस्तै एकछिनपछि तस्वीरबाट तपाइँको शरीर बाहिर निस्केर मसँग बेडमा
टाँसीएर बसेको थियो । मलाई अचम्म लाग्यो हेरेँ उही तपाईँको प्रतिरुप थियो त्यो । तपाइँले बिस्तारै मेरो हात सुमसुमाउनु थाल्नुभयो  र चुम्नुभयो । मेरो आँखामा अविरल प्रेमको प्रवाह फैलाउँदै भन्नुभयो  "मैले गर्दा तपाईँले यति ठूलो दुख भोग्नुपर्यो अनामिकाजी -" अहिले तपाईँ मलाई बहिनीबाट अनामिकाजी भनेर सम्बोधन गर्दैहुनुहुन्थ्यो 

म अकमक्क परे यो भ्रम हो
कि यथार्थ हो - म केही बोल्न सकिरहेको थिइनँ । तपाईँका सुन्दर आँखामा असिमित प्रेमका छालहरु सलबलाइ रहेको मैले पाइरहेको थिएँ । तपाईँले मेरो अन्तर्मन बुझेझै गरि भन्नुभयो  "यो भ्रम होइन अनामिकाजी यथार्थ हो । तर कुनै पनि यथार्थ अन्तिम हुँदैन  तपाईँले यो अवस्था भोग्नु रेकोमा म अत्यन्त दुखी छु ।" तपाईँले आत्मीय भावले पोखिएको शब्द शब्दमा म स्वयम पोखिइरहेको थिएँ । मनको खुसीले भ्रमका सबै सिमानाहरु भत्काउँदै थिए ।  मेरो मन त्यसै उमंगितहर्षित भयो । मनको हर्ष नशा नशामा घोलिएर शरीरभरि छरियो । कस्तो मिठास थियो त्यो मिलनमा । मेरो मन रोमाञ्चित भयो । मेरो मनले भन्यो यो अन्तिम सत्य भैदिए हुने नि । तपाईँले फेरि मेरो मनको पाठ बुझेझै गरेर भन्नुभयो  "होइन यो अन्तिम सत्य होइन अनामिकाजी । हामी फेरि विनिर्मित भएर भेटिनेछौ ।"

यति भनेर तपाईँले मेरो ओठमा गहिरो चुम्बन गरेर बिलाउनुभयो । मेरा आँखा चिम्म नै थिए । सबै खुसीहरु आँखाभित्र नै लुकाएर राख्न
चाहन्थेँ कतै खोलेपछि पोखिएर वा उडेर हराउने पो होकि - म त्यो खुसी हृदयभरि सँगालेर बाँच्न चाहन्थेँ । त्यसैले मैले आँखा खोल्ने इच्छा नै गरिन।

बाहिर कसैले ढोका ढकढक गरिरहेको थियो । म झस्केँ । आँखा
खोलेँ । अघिको तन्द्रा सपना हो कि विपनाजस्तो लाग्यो । अझै पनि तपाइँको फोटो मेरो ओठमा टास्सिरहेको थियो । निकाल्न थोरै बल गर्नु पर्यो । फोटो चिसो ओठले भिजेर सुकिसकेको थियो ।

ढोका निकैबेर ढकढक गरेपछि खोल्न पुगेँ । बाहिर बहिनी जुवाइ रहेछन् । उनीहरुले मैले क्याम्पसमा लानुपर्ने किताब ल्याइदिएका थिए । बहिनीले सोधी
"दिदी के गरेर बस्नुभएको थियो - निकैबेर पछि ढोका खोल्नुभयो । "

म अकमकिए " ˜.... ˜ 

जुवाइँले जिस्काउँदै भन्नुभयो "दिदी रोमान्टिक मुडमा हुनुहुन्थ्यो होला । अब त चाडै घर पुगिहालिन्छ अनि दाजुसँग भेट भइहाल्छ  भनेर ।"

जुवाइँले यसो भन्नुहुँदा कताकता भित्र दुखेर आयो । श्रीमानको मप्रतिको कुण्ठित मनको तिक्तता जुवाइँलाई अप्रत्यक्षरुपमा पोख्तै भने "हैन अस्ति म मरेको भएपनि आज दसौँदिन भइसक्थ्यो । आज त कोराको ढिकुरो पनि फुटाइसक्थे होलान् भनेर सम्झेको ।"

बहिनीले झर्कंदै भनी "˜ दिदी पनि कस्तो नराम्रो कुरा सोच्नुभएको । राम्रोराम्रो कुरा सोच्नुपर्छ नि । आखिर तपाईँलाई जाति भइहाल्यो नि ।"

अघिको खुसीलाई मनमा जतनसाथ सँगाल्दै भने "तिमीहरुलाई कस्तो दुख भयो । के गर्नु -"

बहिनीजुवाईँसँग  केही समय यस्तै कुराको दोहरी चल्यो । उनीहरु आफ्नो कोठामा गए । म भने तपाईँसँग बिताएको अघिको तन्द्रामा अल्झन पुगेँ । वरिपरि तपाइको छायाले पछ्याएझै लाग्यो । त्यो मीठो अनुभुति कतै हराउला वा फुत्केर जाला भनेर फेरि ओछ्यानमा पल्टेर आँखा चिम्ले  तर अहिले सबै यथार्थ थियो । दिनभरि उही तपाईँको सम्झनामा र मीठो स्पर्शमा डुबेको क्षणमा आफूलाई डुबाइरहे । उही सम्झनामा अल्झिरहेँ अनि ठोक्किरहेँ । कोठा भरि जता हेरे पनि म उही दृस्यमा ठोक्किन पुग्थें । बहिनीजुवाईले ल्याएका कितावमा तपाइँको बाल्यकालको सस्मरण भएको पुस्तक रहेछ । त्यो पढें, मन आनन्दित भयो  । तपाइँले आफूलाई कति पनि नढाटी नछली सत्यकुरा छर्लंग पोख्नुभएको रहेछ । तपाईँको पारदर्शी बिचारधारा देखेर मन अझ प्रफुल्लित भयो । साँझ दसबजेसम्म तपाईँको किताव पढेँ । त्यसपछि निन्द्रादेवीको निमन्त्रणामा आँखा चिम्लन पुगेँ ।

मध्यरातमा अचानक मेरो आँखा उघ्रियो । मैले अनौठो सपना देखेको रहेछु ।
ब्युंझंदा आफैलाई अचम्म लाग्यो कस्तो सपना देखें भनेर सपना यस प्रकारको थियो ।

कुनै अग्लो पहाडमा तपाईँ मलाई हात समाउँदै लाँदै हुनुहुन्थ्यो । मलाई चढ्न मुश्किल परिरहेको थियो । तर तपाईँले मलाई तान्दै लाँदै हुनुहुन्थ्यो । पहाडको चुचुरोमा पुगेपछि यसो बेशीतिर हेर्यौँ हामीहरुले गाउँबेशीका मनमोहक दृश्यले हामी रोमाञ्चित थियौँ । धेरैपर क्षितिजले मनमोहक मधुर प्रकाश छरिरहेको थियो । यति सुन्दर प्राकृतिक दृश्य देखेर म भावविभोर भएकी थिएँ । त्यहाँबाट तल सबै घरहरु साना देखिन्थे । मानिसहरु पनि मसिना देखिन्थे । हामी दुवै खुवै रमाउँदै दृश्यावलोकन गरिरहेका थियौ ।

एकछिन पछि तेस्रो गोरेटो हुँदै अलिक पर पुग्यौँ ।
त्यहाँ एउटा अति सुन्दर मूर्ति थियो । मूर्तिको छेउमा एउटा सूचना पाटीमा यस्तो लेखिएको थियो  "यो मूर्तिमा जसले आफ्नो मुटु र मस्तिष्क दिन्छ र यदि दिइएको त्यो मुटु र मस्तिष्कबाट यो मूर्ति चलायमान भयो भने यसले संसारलाई नयाँ प्रकाश दिनेछ र मानवहितको कल्याण गर्नेछ । मूर्ति छेउमा यस्तो लेखिएको देखेर तपाईँ टक्क अडिनुभयो र मलाई भन्नुभयो  "अनामिकाजी तपाईँ यो पढनुस त !"

मैले भने
"मलाई किन तपाईँ भन्नुभएको मलाई तिमी भन्दा पनि हुन्छ  तपाईँ विराट व्यक्तित्त्वको धनि कहा सूक्ष्म जीव !"

"हैन अनामिकाजी सबैको आत्माको सम्मान गर्नुपर्छ । मेरो बसमा भए त म निर्जीववस्तुलाई तपाइँ भनेर सम्बोधन गर्दथे किनभने त्यो पनि चलायमान बस्तु हो त्यस्का प्रत्येक परमाणु अस्थिर हुन्छन् त्यसैले सृष्टिको सबै बस्तुलाई म सम्मान गर्न चाहन्छु ।" तपाईँको यो दर्शनबाट म अनुत्तरित भएँ । तपाईँले फेरि भन्नुभयो "आउनुहोस् अनामिकाजी मानवकल्याणको लागि यो नश्वर शरीर उर्त्र्सग गरौँ। तपाईँ र म भएर यो अदीप्यमान मुर्तिलाई जीवित बनाऔँ तपाईँ आफ्नो मुटु दिनुहोस् र म आफ्नो मस्तिष्क दिन्छु ।"

तपाईँले यसो भन्नुहुँदा म अकमकाएँ र भनेँ "मैले मेरो मुटु दिएमा भने म मरिहाल्छु नि कथाकारज्यु, अनि मेरो छोराछोरी, सम्पत्ति, मेरो यो सौर्न्दर्य -"

तपाईँले फेरि भन्नुभयो "यी सब बित्था हुन्, क्षणिक हुन, भ्रम हुन अनामिकाज्यु । हामी भ्रममा धेरै नबाचौँ । यदि यो मूर्तिले हाम्रो मुटु र मस्तिष्क लिन मानेर चलायमान भएमा हामी अमर हुन्छौ । हामी कहिल्यै मर्ने छैनौँ । हामी तबसम्म अन्तिम सत्य हुन्छौँ जब सम्म कुनै पनि सत्यको प्रारम्भ हुँदैन । फेरि मूर्तिले मानवसमाजको कल्याणको लागि नया प्रकाश  र्छर्नेछ।"
यतिञ्जेलसम्म हामी भावनात्मकरुपले
, सैद्धान्तिकरुपले र प्रायोगिक रुपले एक भएका थियौ  । मभित्र तपाइँको वैचारिक सिद्धान्तले विजेताको झन्डा गाडिसकेको थियो । त्यसैले मैले अस्वीकार गरिन । तपाईँले भन्नुभयो अनामिकाज्यु म मेरो मस्तिष्क यो मुर्तिलाइ प्रत्यारोपण गर्छु यसपछि यो मूर्ति चलायमान भयो भने तपाईँ आफ्नो मुटु प्रत्यारोपण गर्नुहोला ।
स्वयम ज्ञान र विवेकको पुजारीको आराधनामा मपनि स्वीकृतिको आरती उतार्न पुग्छु

एकछिनपछि तपाईँले आफ्नो मस्तिष्क प्रत्यारोपण गर्नुभयो । तपाईँको मस्तिष्क प्रत्यारोपण
  भएपछि तपाईँको निर्जीव शरीर भुइमा लडिरहेको थियो । म तपाईँको निर्जीव शरीर र मूर्तिलाई पालैपालो हेरिरहेकी थिएँ । एकछिनपछि मूर्तिका आँखाहरु पिलपिल गरेर चल्न थाले । मलाई अचम्म लाग्यो तर डर भने पटक्क लागेको थिएन । ती आँखामा तपाईका आँखाका प्रतिविम्व देखिन्थे । मलाई लाग्थ्यो मूर्तिमा तपाईँका आँखा नै राखिएका हुन् । त्यसपछि मलाई ठूलो साहस आयो र सूचनापार्टी लेखिएको कुरा सत्य रहेछ भन्ने कुरामा विश्वास लाग्यो । मैले पनि निर्धक्क आँखा चिम्म गरेर आफ्नो मुटु त्यो मूर्तिमा प्रत्यारोपण गरे । मेरो मुटु त्यसमूर्तिमा प्रत्यारोपण गरेपछि साँच्चै नै त्यो मूर्ति चलायमान हुन थाल्यो । छेउमा मेरो सुन्दर भौतिक शरीर लडिरहेको थियो । हामी मूर्तिभित्र नै संवाद गरिरहेका थियौँ ।


 "अनामिकाज्यु यो मूर्ति समाजको लागि प्रज्जल्यमान दीपक हुनेछ । अमेरिकाको स्टाच्यु अफ लिवरटीजस्तै यसले धेरै टाढा टाढा परादेशीय दाजुभाइ दिदीबहिनीको उद्धार गर्नेछ ।"

 म भन्दै थिएँ "हो कथाकारज्यु हामी यो मूर्तिसँगै युगौयुग बाँच्नेछौँ । अहिले मलाई आफू जन्मेको र मरेकोमा गर्व अनुभव भइरहेछ । तपाईँको समिप्यताले मलाई सौभाग्यको उच्चविन्दुमा पुयाएको छ । "

साच्चै हामीदूइ यस मूर्तिबाट जीवित भएका थियौँ । हेर्दाहेर्दै धेरै मानिसहरु आए हाम्रो दर्शन गर्न । तिनीहरुले हाम्रो भौतिक शरीर कहाँ लगे के गरे हामीले थाहा पाएनौँ । तिनीहरु
  र मूर्तिबाट निस्केको अलौकिक प्रकाश अलिकति बोकेर जान्थे । यसरी आउन नसक्नेलाई तपाईँ मस्तिष्कबाट  हात र खुट्टाहरुलाई अहाउनुहुन्थ्यो । त्यो अदभूत मूर्तिका हात र खुट्टाहरु जहाँ पनि पुग्न सक्थे र आफ्ना प्रकाश छर्न सक्थे । हेर्दाहेर्दै त्यो मूर्तिको विरोध गर्ने मान्छेहरु पनि निस्किए । यसरी विरोध हुँदा त्यो मूर्ति आफै रुप फेर्ने गर्दथ्यो । त्यो मूर्ति कहिले गौतम बुद्धको रुप धारणा गर्दथ्यो , कहिले प्रमिथस कहिले जिजस क्राइष्ट त कहिले गौतम वुध्द आदिको विभिन्न महापुरुषहरुको रुप धारणा गर्दथ्यो । यसरी मायावी शक्तिले रुप धारणा गर्न थालेपछि विरोधी मान्छेहरु पनि विरोध गर्न छाडे । उनीहरु साँच्चै त्यो मायावी मूर्तिको शक्तिमा विश्वास गर्न थाले । त्यस मूर्तिबाट प्रेमको नयाँ किरण फैलिएको थियो  । जसलाई मानिसहरुले मायाकी देवी अर्थात स्टयाच्यु अफ  लव को नामले  पूजा गर्न थाले । नयाँ युग, नयाँ चेतना र नयाँ धारणा बोकेर प्रज्ज्वलित भएको त्यो मूर्तिले प्रेमको सन्देश दिइरहेको थियो 

मलाई अचम्म लागिरहेको थियो मैले कस्तो सपना
देखें भनेर । त्यसपछि म निदाउन सकिन । नयाँ बिहानीको पर्खाइमा समय बिताएँ । उज्यालोले घुम्टो खोलेपछि पुन: तपाईँको सम्झनाको पर्खालमा ठोक्किन पुगेँ । मनमा छटपटी बढ्न थाल्यो । छटपटीको बिछ्यौनामा पल्टदापल्टदै एउटा उपाय पगार्न पुगेँ । त्यसपछि  एकजना भाइ पर्ने जो साहित्यमा रुची राख्थे  र केही साहित्यिक व्यक्तिसँगै उसको सम्पर्क पनि थियो, उसलाई तपाईको मोबाइल नम्बर पत्ता लगाउन पठाए । उसले पनि कसरी हो पत्ता लगाएर लिएर आयो । मैले सम्पर्क  गरेँ तर  स्वीच अफ  गरिएको छ भन्ने प्रतिउत्तर आयो । मैले बारम्बार सम्पर्क गरेँ तर यस्तै भनीरहयो । झर्को लागेर सम्पर्क गर्न छाडें

के भएछ यस्तो भनेर उही भाइपर्नेलाई सोधीखोजी गर्न पठाए । उसले पनि साहित्यिक माहौलमा तपाई अन्तर्राष्टय सम्मेलनमा भाग लिन जानुभएको सामाचार लिएर आयो । त्यसपछि
  भने मन केही शान्त भयो ।  तपाईलाई भेट गर्ने मनको तृष्णाले मलाई खाइरह्यो । अझ भेट्नेभन्दा पनि यो घटनाको जानकारी दिने कुतुहलताले  मलाई छोपिरह्यो । तपाईसँग सम्पर्क गर्ने अर्को उपाय मेल थियो । तर घरबाट बाहिर जान नसक्ने अवस्थाले मेल गर्न  पनि पाइनँ । केही दिन यस्तै अतृप्त चाहनाको बादलमा मडारिदै दिन बिताएँ । राम्ररी निको भएपछि घर जाने अघिल्लो दिन साइवरको मेलमा बसेँ । इनबक्समा तपाईको मेल आएको रहेछ जुन यस प्रकारको थियो -

"
प्रिय बहिनी अनामिका
तपाईलाई भेट्न म आउदै थिएँ । बाटोमा जुलुसले गाडी जाममा पर्यो
मोबाइलमा सम्पर्क गरेँ, सम्पर्क  हुन सकेन । तपाईलाई यसरी पर्खाएर राख्नुपर्दा म सारै लज्जित भएको छु । म आउँदा तपाई त्यहाँ हुनुहुन्नथ्यो । छेउमा चोकमा एउटा लेडिजलाई मोटरसाइकलले हानेर तनाव थियो । म त्यतै लागें । ती लेडिजलाई अस्पातल पुर्याएँ तिनी बेहाश थिइन्, अहिले कस्ति भइन् कोनी - तपाईलाई धेरै सर्म्पर्क गरेँ, हुन सकेन । म अहिले बाहिर छु । फर्केपछि सम्पर्क गर्नेछु ।"


दिवाकर नेपाली


दिवाकरज्यू
, तपाईको मेल पढ्नु अघि नै मैले यो कथा लेखिसकेको
थिएँ । अब मेलबाट जानकारी दिनुभन्दा कथा छापिएपछि थाहा पाउनु अर्कै रोमाञ्चकता हुन्छ भन्ने ठानी यो कथा काठमाडौँको एउटा पत्रिकामा छोडेर घर फर्किएँ

sakhada4@yahoo.com

www.shakhadasahitya.blogspot.com

2009/12/28

Comments

Palpasa Cafe

What a great Story de !!! Keep going .......

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |