हालसालैका लेखहरु : उड्ने रहर छ,(उमा शर्मा ) तब पो दशैं आउँथ्यो,(गोतामे साँहिलो) नाप्नै सकिएन ,(रजनी श्रेष्ठ) धेरै सिकायो यो कोरोनाले,(उमा शर्मा) गिद्धहरु रमाउँदैछन्,(बासु श्रेष्ठ) आव्हान,(रजनी श्रेष्ठ) ग्रीन कार्ड,(सुदीपभद्र खनाल) लश्कर,(गोविन्द गिरी प्रेरणा) अभिनन्दन !!!!,(ऋषिराम अर्याल) गड्यौला उर्फ सत्यराज ,(कृष्ण बजगाईं )

कागबेनी हेरेपछि

बासु श्रेष्ठ, (भर्जिनिया)

समिक्षा: 


 

अर्थोपार्जनकोलागी मलेशिया गएकॊ कृष्ण (निमा रुम्बा) दुई महिनाको छुट्टीमा आफ्नो गाउँ कागबेनी फर्कन्छ । त्यहाँ आफ्नो बाल्यकालका साथी रमेश (सौगत मल्ल) सँग भेट हुन्छ र रमेशको व्यापारको सिलसिलामा यात्रामा साथदिन तयार हुन्छ र शुरु हुन्छ यात्रा । यात्राक्रममा बास बस्दा एक जोगीबाट कृष्णले मायावी बाँदरको पंजा उपहार स्वरुप पाउँछ जुन पंजाले मनले चिताएको आकाँक्षा पुरा गर्छ । यहि यात्राक्रममा रमेशले आफुले मन पराएकि केटी तारा (दिया मास्के)  को विहे कृष्णसँग हुनलागेको कुरा कृष्णबाटै थाहा पाएपछि आफ्नै मित्रको कुभलो चिताउन थाल्छ तर कृष्णको पहाडबाट लडेर मृत्यु हुन्छ । यसरी रमेशको प्रेमको बिचको काँडा समाप्त भएपछि चिताएको र चाहेको प्रेमिकासँग घरजम उद्योग गरेर रमेशको जिवन चलिरहेको हुन्छ । मनको आँकाक्षा पुरा गर्ने त्यस पंजामा आसुरी शक्तिपनि भएकोले फल्दै फुल्दै गएको व्यापारमा अचानक हानी नोक्सानी हुन्छ भने रमेशको छोराको दुर्घटनामा मृत्यु हुन्छ । अन्तत त्यस पंजाले रमेशलाई सुख होईन दुख नै दिएकोले रमेशलाई पश्चाताप हुन थाल्छ र कुनैदिन आफ्नो मनोकाँक्षा पुरागर्न स्तुति गरेको त्यहि बाँदर पंजाबाट वितृष्णा जागेर त्यसलाई फालेपछि चलचित्रको अन्त्य हुन्छ ।

सन् २००६ को अन्त्यतिर निर्माण थालनी गरिएको यो कागबेनी चलचिलत्रको निर्देशन भुषण दाहालले गरेको हुन् र यो उनको पहिलो निर्देशन हो भन्न गाहारै पर्छ । किनभने निर्देशनमा उनले कतै कुनै खोट छोडेका छैनन् । कलाकारहरुपनि आफ्नो अभिनयमा चुर्लुम्म डुबेको अनुभुति हुन्छ जसले गर्दा दर्शकलाई कतै नछोडि क्रमशः अटुट रुपमा चलचित्रको अन्त्यसम्म डोर्याउन सफल भएको छ ।

विषय वस्तु जे जस्तो भएपनि यस चलचित्रको विशेषता हो प्रस्तुती, निर्देशन, छायाङ्कन र अभिनय । मुस्ताङ्गजस्तो विकट ठाउँमा यति उच्चस्तरिय चलचित्रको छायाङ्कन गर्न निर्देशक भुषण दाहाल, कलाकारहरु निमा रुम्बा, पुजा गुरुङ्ग, सौगत मल्ल तथा दिया मास्केहरुले आफ्नो अभिनयप्रति कुनै अन्याय गरेका छैनन् । अझ दिया मास्केको अभिनय त झन् सशक्त छ । स्थानिय भेषभुषा, रहनसहन, दिनचर्या तथा परिवेशलाई सुक्ष्म रुपले ध्यान दिईएको छ जसले गर्दा दर्शक स्वयँ त्यहि स्थानमा पुगेर देखेको भोगेको अनुभव गराउँछ । त्यस्तै सँवादमापनि निकै ध्यान पुर्याइएको छ । सामान्य नेपाली चलचित्रका सँवादले जुन तिक्तता दिने गर्छ त्यो तिक्तता यस चलचित्रमा पटक्कै छैन भनेपनि हुन्छ ।

चलचित्रको कमजोरीको रुपमा भने कतिपय दृश्य तथा परिदृश्यहरु अनावश्यक ढङ्गले लम्ब्याईएको छ । दिनको दृश्यपनि साँझको या अँध्यारोका दृश्यजस्तै लाग्नेगरि छायाङ्कन गरिएको छ । यसो हुनुको कारण डिभीडी बाट चलचित्रहलमा प्रदर्शन गरिएकोले हो या निर्देशकको उदेश्य नै यहि थियो भन्ने चाहि बुझ्न सकिएन । डब्ल्यु डब्ल्यु ज्याकब्सव्दारा लिखित मँकिज पको नेपालीकरण गरिएको कागबेनीको परिवेशमा अन्धविश्वास तथा अदृश्य शक्तिको पृष्ठपोषण गरिएको छ भन्दा अत्यूक्ति नहोला । पात्रहरुको मन तथा मस्तिष्कमा खेलिने विभिन्न अन्धविश्वासका कथा या चिन्तनलाई प्रश्रय नदिई चलचित्र आफैंले एक बहुलाई नारीको परिकल्पना गरेर अदृश्य शक्ति र सम्भावित अपसगुन तथा दुर्घटनाहरुको चित्रण गरेको छ । यदि यहि कुरालाई पात्रका मथिङ्गलमार्फत चित्रण गरिएको भए अझ सशक्त हुने थियो कि ?

नेपालको विकट ठाँउको परिदृश्यमा निर्माण गरिएको यस चलचित्रमा झण्डै एक मिनॆट लामो 'बेड सिन' अनौठो लागेपनि अमेरिका बासिन्दा नेपाली दर्शकहरुलाई भने यो स्वाभाविक नै लाग्नसक्छ ।

तर जे होस् बलिउड र कलिउडको फिल्मिधारबाट धेरै नै पृथक चलचित्र कागबेनीको नाम धेरै सुनिएपनि हेर्ने मौका भने बल्ल आज मिलेको थियो । स्थानिय रेडियो दोभानको सहयोगार्थ लोमन्स थिएटरमा प्रदर्शन गरिएको यस चलचित्रको टिकट भने १७० बिक्री भएको सम्बन्धित श्रोतबाट थाहा लागेको छ । यस अघि अमेरिकाका विभिन्न १५ राज्यमा प्रदर्शन भईसकेको यो चलचित्र अब क्यालिफोर्नियामापनि गरिने कुरा थाहा भएको छ ।

Comments

सम्पर्क माध्यम

khasskhass@gmail.com
Share |